‘नागरिक नायक’ का बहुआयामिक अभिव्यक्ति


नेपाल रिपब्लिक मिडियाको १७औं वार्षिकोत्सव तथा १६औं नागरिक नायक सम्मान–२०८२ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कैलालीकी वन संरक्षण अभियन्ता नन्दादेवी कुँवर, बुटवलका शिक्षक घनश्याम पाठक र महिला क्रिकेटर पूजा महतो सम्मानित भए।

नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नागरिक नायक’ सम्मानबाट प्रोत्साहन र प्रेरणा प्रदान गर्दै आएको छ। यही सन्दर्भमा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर उदाहरणीय शैक्षिक–प्रशासनिक व्यक्तित्व बनाउनुभएका पाठक र वन संरक्षणका उल्लेख्य योगदानकर्ता कुँवरसँग क्रमशः नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र राजनीतिक ब्युरो संयोजक बालकृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश

‘शिक्षक बनेकोमा गर्व लाग्छ’

सय वर्षपछिको नेपालको परिकल्पना गर्नुभएको हो?

मैले त्यो परिकल्पना गरेकै हो। तर मैले जति गर्ने कोसिस गरिरहेको छु, त्यसले सय वर्षलाई होइन, हजारौं वर्षलाई नेतृत्व दिनुपर्छ। त्यसले मार्गदर्शन गर्नुपर्छ। मैले त मेरो जीवन कालमा गरेँ। म पछाडिका आमशिक्षकले पनि त्यही बाटो पच्छाऊन्। म त्यो आशा गर्छु।

कालिका विद्यालयलाई तपाईंले नमुना विद्यालयका रूपमा स्थापना गर्नुभयो। धेरै मान्छेले सकिराखेका हुँदैनन्। किन पनि हुँदैन भने शिक्षकले नै आफ्ना सन्तानलाई आफूले पढाउने विद्यालयमा पढाउँदैनन्। तपाईंले त पढाउनुभयो नि हैन?

हो। मेरा छोराछोरी म जहाँ पढाउँछु, त्यहीं पढाएँ। सबै इन्जिनियर नै भए।

सरकारी विद्यालय पढेका पनि इन्जिनियर बन्दा रहेछन् नि ?

धेरै नि। अहिले एमबिबिएस, इन्जिनियर, फरेस्टी र एग्रिकल्चरमा ९१ जना पूर्ण छात्रवृत्तिमा गएका छन्। १२ कक्षा पास गर्नेबित्तिकै पूर्ण छात्रवृत्तिमा जाने ९१ जनाको संख्या अहिले हाम्रोमा छ।

आजकाल धेरैजसो सामुदायिक  विद्यालयले विद्यार्थी पाउनै मुस्किल छ। तपाईंको विद्यालयमा त खचाखच छन् नि विद्यार्थी?

घनश्याम पाठक

त्यही विद्यालय पढाउन पाए मेरा छोराछोरीको भाग्य भविष्य बन्थ्यो भन्ने अभिभावकको चाहना छ। अरूको जस्तै छात्रवृत्तिमा पढ्न पाउँथ्यो भन्ने आशा हुन्छ। तर ठाउँ छैन। करिब एक सय ५० कक्षा कोठा छन्। ती सबै भरिभराउ छन्। त्यसमा राख्न सक्ने ठाउँ नै छैन। हामीले ४, ५ र ६ मा मात्रै भर्ना लिन्छौं। हाम्रोमा माथिल्लो कक्षामा भर्ना गर्ने ठाउँ नै हुँदैन।

एक समय गंगाजमुनाको चर्चा आएको थियो। गंगाजमुनाले त तपाईंलाई हजुरबा नै भन्नुहुन्छ। सामान्य बच्चालाई चिकित्सकमा परिवर्तन गराइदिनुभयो।

२०६९/७० सालमा नेपालमा निकै चर्चा पाएका नानी हुन्। गंगाजमुना जुम्ल्याहा हुन्। बुबा भारतको सवारी दुर्घटनामा बित्नुभएको थियो। उनीहरूको परिवारको नाममा एक टुक्रा जमिन पनि छैन। घर पनि छैन। आमाले एउटा चिया पसल चलाएर उनीहरूलाई हुर्काउनु भएको हो। गंगाजमुनाको भाइ पनि छ। ती तीन वटै बच्चा नर्सरीदेखि कक्षा १२ सम्म हाम्रै विद्यालयमा पढे। विज्ञानमा उत्कृष्ट अंकसहित उत्तीर्ण भए। बायोलोजी पढिरहेका तिनीहरूलाई मेडिकल पढ्न सल्लाह दिँदा बाटो खर्च नभएको बताए।

मैले व्यक्तिगत रूपमा १०÷१० हजार दिएर इन्ट्रान्सको परीक्षा दिन पठाएको थिएँ। दुइटैले नाम निकाले। त्यस बेला खुसी लाग्यो। त्यो भन्दा बढी त उनीहरू एमबिबिएस पढेर गएपछि कोभिडको बेला म बिरामी पर्दा ती दुइटै नानी मेरो घरमा खटेर मेरो उपचार गरेर मलाई बचाए। त्यो मेरो सबैभन्दा हर्षको दिन थियो।

अहिले देख्छु, सडकमा बालबालिका चुरोट पिउँदै बोरा बोकेर कवाडी जम्मा गर्दै हिँडेका रहेछन्। म एउटा शिक्षाकर्मीका नाताले तिनलाई विद्यालयमा ल्याएर पढाउने कोसिस गरेँ। यिनीहरू के कारणले सडकमा गए भन्ने तथ्य पत्ता लगाएँ– तिनीहरू माया नपाएर गए, बुबा आमा नभएर गए। तिनलाई रेखदेख गर्ने मान्छे नभएर गए। त्यो बुझिसकेपछि मैले दुई÷तीन सय बच्चा अट्ने गरी होस्टेल तयार गरेँ। त्यो होस्टेलमा बाबुआमा नभएका मान्छे र द्वन्द्व पीडित, सेना प्रहरी माओवादीका टुहुरा छोराछोरीलाई ल्याएर चारदेखि १२ कक्षासम्म उनीहरूलाई पढ्ने, बस्ने, खाने, औषधोपचारको व्यवस्था पनि त्यहाँ गरिरहेका छौं। विदेशमा बस्ने मेरा विद्यार्थीहरूले अक्षय कोष खडा गरिदिएका छन्। यसरी ती बच्चालाई हेर्ने व्यवस्था पनि मिलाइएको छ।

म कहिलेकाहीं होस्टेलमा पुग्छु। उनीहरू निकै खुसी हुन्छन्। त्यहाँ पुग्दा उनीहरूले बुबा आएजस्तो अनुभव गर्छन्। निकै खुसी लाग्छ।

बेलायतको राजधानी लन्डन पुग्दा त विद्यार्थीले धेरै नै सम्मान गर्नुभएको थियो नि।

मैले धेरै विद्यार्थी उत्पादन गरेछु। अहिले मात्रै कक्षा १२ मा १६ सय ५८ जना विद्यार्थी परीक्षाको तयारीमा छन्। प्रत्येक वर्षको हिसाब गर्दा त कोही लन्डन पुगेका छन्, कोही कतै पुगेका रहेछन्। ब्रिटिस काउन्सिलले मेरो पार्टनर स्कुलको निमन्त्रणामा म बेलायत पुगेको बेला त्यहाँ पुगेको कुरा सामाजिक सञ्जालमा लेख्नेबित्तिकै। मेरो फेरि एकदमै व्यस्त कार्य तालिका थियो। ब्रिटिस काउन्सिलको कार्यतालिकाअनुसार मैले चल्नुपरेको थियो। किनभने त्यहाँ अनुशासनको कुरा हुन्छ। देशको कुरा हुन्छ। त्यसकारण मेरो आफ्नो समय थिएन।

गाइडलाई विद्यार्थीले साह्रै गरे भनेर आधा घण्टाको समय मिलाएर विद्यार्थी भेट्न जाँदा ४० विद्यार्थीहरू मैले त्यहीं भेटाएँ। शिक्षक भएकोमा यो सबैभन्दा खुसी लाग्दो रहेछ। मैले पुलचोकमा नाम निकालेर इन्जिनियर बन्न पाइनँ। तर अहिले मलाई गर्व लाग्छ। झन्डै झुक्किएर इन्जिनियर बनेनछु। म शिक्षक बनेँ, यसकारण मलाई गर्व छ।

टर्कीका पूर्वराष्ट्रपति कमाल अतातुर्कले भनेजस्तै असल शिक्षक भनेको मैनबत्ती जस्तो हुन्छ। आफू जलेर अरूलाई उज्यालो प्रदान गर्छ। सरले यही उज्यालोको यात्रा गर्नुभयो।

मेरा मामा प्राविका हेडशिक्षक हुनुहुन्थ्यो। उहाँलाई गाउँभरि सबैले सम्मान गरेको मैले केटाकेटी हुँदा देख्ने गर्थें। शिक्षक सबैभन्दा सम्मानित पेसा हो भन्ने मलाई त्यहींबाट लागेको थियो। शिक्षा संकायमा सजिलै छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि त्यही पढेर गएँ। त्यहाँ मैले सिकेका सैद्धान्तिक कुराहरू कक्षा कोठाभित्र कसरी लैजाने, विद्यालयमा कसरी प्रयोग गर्ने, त्यस किसिमले मैले प्रयोग गर्दै गएँ।

पछिल्लो समय बुढो भइरहेको अनुभूति भइरहेको छ। उमेर ढल्किँदै गयो। मैले तयार गरेका बालबच्चाहरू जतासुकै भेटिन्छन्। विभिन्न क्षेत्रमा उनीहरूले सेवा गरेको देख्दा मलाई गर्व लाग्ने गर्छ। कुनै प्रोजेक्टमा जाँदा इन्जिनियर हुनुहुन्छ, वनमा जाँदा विशेषज्ञ हुनुहुन्छ। मैले पढाएका शिक्षक पनि छन्।

मैले पढाएका सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई आफ्नै विद्यालयमा कामको अवसर दिने गरेको छु। उसैलाई विद्यालयमा शिक्षकका रूपमा भिœयाउने कोसिस गर्छु। जसका कारण विद्यालय पनि राम्रो हुँदै गएको छ। म अहिले क्याम्पसचिफ छु। त्यो सामुदायिक क्याम्पस हो। अनेत्र स्ववियुको चुनावका लागि मारामार हुँदा उम्मेदवारी दर्ता गर्ने दिन मेरा विद्यार्थीहरूले रक्तदान कार्यक्रम राखेर देशभर एउटा सन्देश दिए। अनेत्र रगत बगाए, हाम्रा विद्यार्थीले रक्तदान गरेर अरूको ज्यान बचाए।

अन्य समयमा लामो कुरा गरौंला, अहिलेलाई धन्यवाद !

राष्ट्रप्रमुख, मन्त्रीज्यू, उच्च पदस्थ व्यक्तित्वका अगाडि राखेर नागरिक नायकका रूपमा सम्मानित हुन पाएँ। यसले मलाई थप प्रेरणा के दियो भने आराम गर्ने बेला अझै भएको रहेनछ। अझै मैले मेरो उमेर शिक्षा क्षेत्रमा खर्च गर्नुपर्ने रहेछ। शिक्षामा अझै लाग्नुपर्ने रहेछ। मैले दुई सयभन्दा बढी पालिकामा गएर शिक्षकहरू, हेडसरहरूलाई तालिम दिएँ। विद्यालय व्यवस्थापनबारे सिकाएँ। अब पाँच सयभन्दा बढी विद्यालय बाँकी छन्। ती सामुदायिक विद्यालयमा पुगेर, सामुदायिक विद्यालयलाई प्रमोट गर्न अझै लाग्नेछु।

सानो, तीन–तीन पटकसम्म कारबाहीमा परेको, सरकारले अनुदान रोकिदिएको विद्यालयलाई नेपालको सबैभन्दा ठुलो र उत्कृष्ट विद्यालय बनाउन सकियो। ठुलो उदाहरण त्यहीं नै छ। मैले निजी विद्यालय चलाएको भए थुप्रै पैसा कमाउँथेँ होला, तर मैले यो सम्मान पाउने थिइनँ होला। सामुदायिक विद्यालयमा जब कार्यरत रहन्छु, तबसम्म निजीमा लगानी गर्दिन। मेरो डिउटी जहाँ हो, त्यहीं छोराछोरीलाई बढाइयो।

राज्यलाई म एउटा अनुरोध गर्न चाहन्छु– राज्य कोषबाट तलब खानेहरूका छोराछोरीलाई सामुदायिक विद्यालयमा लैजानुस्, स्वतः सामुदायिक विद्यालय सुध्रिएर जान्छन्। यसका लागि राज्यबाट पहल गरिनुपर्छ। सामुदायिकमा जागिर खाने, निजीमा लगानी गर्ने प्रवृत्तिले अहिले विद्यालय र क्याम्पस बिग्रेका हुन्। यसलाई आत्मसात् होस्। म सम्माननीय राष्ट्रपतिज्यूसँग पनि आभारी छु।

‘वन बचाउनुहोस्, जीवन जोगाउनुहोस्’

‘नागरिक नायक’ का बहुआयामिक अभिव्यक्ति

 

नेपाल रिपब्लिक मिडियाको १७ औं वार्षिकोत्सव तथा १६ औं नागरिक नायकको सम्मान पाउँदै हुनुहुन्छ, यहाँलाई हार्दिक बधाई तथा शुभकामना !

धन्यवाद ! आज अति खुसी लागिरहेको छ। राष्ट्रपतिज्यूसहित सबैलाई धन्यवाद र नमस्कार गर्न चाहन्छु। बुबा बितेर टुहुरी भएकी मलाई तपाईंहरूको यो सम्मान कार्यक्रममा सहभागी हुन पाएकोमा आमाबुबा नै पाएजस्तो खुसी भएको छु।

नेपाल रिपब्लिक मिडिया एउटा सञ्चार गृह, जसले सिंहदरबारको बेथिति र विसङ्गतिलाई मात्र होइन, भुइँमान्छेका सफलताका कथा र व्यथालाई  उजागर गर्दै तपाईंहरूजस्ता मुलुकका नायकहरूलाई पनि खोज्छ र सम्मान गर्छ। नेपालको पहिलो पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडियाबाट नागरिक नायकको सम्मान पाउँदा कस्तो लागेको छ?

पुरस्कार र सम्मानहरू त पहिला पनि पाएको थिएँ। तर यस्तो सम्मान राष्ट्रपतिज्यूबाट पाउँला भन्ने लागेको थिएन। अति नै खुसी लागेको छ।

तपाईंले यसअघि विभिन्न सम्मान र पुरस्कार पाइसक्नु भएको छ तर नागरिक नायक बन्छु भन्ने सोच्नुभएको थियो?

‘नागरिक नायक’ का बहुआयामिक अभिव्यक्ति
नन्दादेवी कुँवर

थिइनँ। घरमा काम गरिरहेकी थिएँ, पुष्प सर (पुष्पराज पराजुली)ले फोन गरेर भन्नुभयो अनि अरूहरूले पनि। म अति नै खुसी भएँ। पत्रकारहरू अरू नपुगेको ठाउँमा पनि पुग्नुहुन्छ। त्यहाँका कुरा लेख्नुहुन्छ। मेरो कुरा पनि पहिला पहिला धेरै आएका थिए। तर, अघिको जस्तो होइन रहेछ, यो त मनैदेखि गरिएको रहेछ। जहाँको त्यहीं थाँती नराखिदिनुहोला।

सुदूरपश्चिमको डोटीमा जन्मनुभयो, विवाह गरेर अछाम पुग्नुभयो अनि कैलालीलाई कर्मथलो बनाउनुभयो। तपाईंलाई सामुदायिक वन संरक्षणमा लाग्ने प्रेरणा कहाँबाट कसरी आयो? बोटबिरुवासँग खेल्ने मन कहाँबाट पलायो? परिवारका सदस्यहरू पहिलादेखि नै वन संरक्षणमा लाग्नुभएको थियो?

डोटी र अछामको सिमानामा जन्मेको म वनमै हुर्केको भन्दा पनि हुन्छ। त्यहाँको पोखरी गाविस वडा नम्बर ९ मा म जन्मेको हुँ। वरिपरि थोरै मात्र घरहरू थिए, धेरै वन थियो। वरिपरि रहेका लालीगुराँससँग खेल्दै, चराचुरुङ्गीसँग रमाउँदै त्यसकै अध्ययन गरेकी थिएँ। औपचारिक शिक्षा लिने अवस्था थिएन। म नजन्मँदै बुबा बित्नुभएको रहेछ। उहाँहरू कृषक हुनुहुन्थ्यो। त्यसबाट नै आफ्नो जीवन धान्नुभएको थियो। पढ्ने अवस्था नै भएन। अनि सानैदेखि वनमै खेल्न थालेँ।

पढ्न पाउनुभएन?

जन्मदिने बुबा पहिला नै बित्नुभयो। तर, कर्म दिने बुबा चाहिँ हुनुहुन्छ। उहाँले मलाई राम्रोसँग पाल्नुभएको थियो। स्कुल जान नपाए पनि अलिअलि आउँछ।

नेपाल जैविक विविधतामा धनी राष्ट्र हो। यहाँको कुल भूभागको झन्डै ४६ प्रतिशत वन क्षेत्रले ढाकेको छ। त्यसमध्ये २१ हजार वर्ग किलोमिटर भन्दा बढी वन क्षेत्र सामुदायिक वनले ओगटेको छ। २२ हजार दुई सय ६६ सामुदायिक वनहरू छन्। झन्डै ३१ लाख घरधुरी यसका उपभोक्ता छन्। राष्ट्रिय वन र निजी वनहरू पनि हाम्रो देशमा छन्। तपाईंको घरछेउमा रहेको वनमा घाँसदाउरा गर्न पाइने थियो?

नाइँ, घरसँगै पालेको वनमा हात पनि लगाउन नपाइने थियो। घाँसदाउरा भने त्यहाँबाट गर्न पाइन्नथ्यो। त्यहाँ आफ्नै कानुन बनाएको थियो। आफूलाई चाहिने घाँसदाउराका लागि आफ्नै खेतमा रुख तथा वृक्ष लगाएका थियौं। पाल्तु जङ्गलमा कोही पनि प्रवेश गर्दैनथे। ढकमक्क लालीगुराँस फुल्ने। त्यसको हाँगा काट्यो भने त्यो पनि फुल्दैनथ्यो। त्यहाँ त पस्नै पाइँदैनथ्यो। त्यसबाट नै वन संरक्षणमा लाग्न प्रेरणा मिल्यो। अहिले पनि वन संरक्षणमै लागौं भन्ने लाग्छ र मन पनि त्यतै जान्छ।

नेपालको सामुदायिक वन व्यवस्थापन प्रणालीलाई विश्वकै सफल र अनुकरणीय मोडल मानिन्छ तर तपाईंले यस क्रममा तस्करहरूको आक्रमणदेखि अन्य के कस्ता चुनौतीहरू सामना गर्नुपर्‍यो? तपाईंमाथि यति धेरै आक्रमण र अप्ठ्यारा आउँदा पनि वन जोगाउनै भनेर किन लाग्नुभयो?

वन छैन त जल पनि छैन, जल छैन त जीवन पनि छैन। त्यसैले वन नभए पानीको स्रोत पनि हुँदैन, वन्यजन्तु तथा चराचुरुङ्गी पनि हुँदैनन्। गाईभैंसी पनि हुँदैनन्। हर कुरा वनमा जोडिएको छ। त्यसलाई जोगाउनुपर्छ। मान्छे एक दिन मर्नैपर्छ। त्यसैले एक नन्दा म¥यो भने सयौं नन्दा जन्मन्छन् भन्ने अठोट गरेर तस्करहरूको आक्रमण गर्दा पनि लागेकी हुँ। मार्ने हुन् भन्ने थाहा भएरै लागेकी हुँ। तर हजुरहरूको आशीर्वादले गर्दा यहाँ आएर नागरिक नायक सम्मान थाप्न पाएँ, अहिलसम्म बाँचिरहेकी छु।

‘वन मेरो हो, म जोगाउँछु वन’ भन्ने नारासहित सामुदायिक वनको संरक्षण त भयो। तर वन क्षेत्रको घाँसदाउराका साथै ढलेगलेका काठसहितको व्यवस्थापन र संरक्षणमा कति सहज छ ? हामीले वनको मात्र संरक्षण गर्‍यौं तर त्यसको व्यवस्थापन पक्ष कमजोर हुँदा आफ्नो वनबाट उत्पादन भएका काठदाउरा कुहिएर जाने र विदेशबाट काठ खरिद गरिरहने अहिलेको अवस्थाको अन्त्य कसरी गर्न सकिएला?

वन जसले जोगायो उसले सही सलामद उपभोग पनि गर्न पाउनुपर्ने हो। अहिले त्यस्तो छैन। गाउँमा धेरै गरिबी छ। सहरको जस्तो वातावरण र पैसा छैन गाउँ र बस्तीहरूमा। सहरमा जस्तो घरघरमा ग्यास छैन। दिनभरि मजदुरी गरेर तीन/चार सय कमाएर साँझ दुई/तीन किलो चामल लगेर खानेको संख्या मेरै वरिपरि धेरै छन्।

परीपरी आएका मान्छेलाई केही पनि कमी नहुने तर गरिब निमुखाका लागि दुई थुँगा दाउरा पनि नपाउने अनि घर लगाउँदा थोरै काठ पनि नपाउने अवस्था छ। वन जोगाउनका लागि पनि सामुदायिक र राष्ट्रिय वनका रुख काट्नुपर्ने हुन्छ। साथै, ढलेगलेका काठहरू पनि हुन्छन्। त्यसलाई मट्टै (माटो) नबनाएर संकलन गरेर प्रयोग गर्नुपर्छ।

त्यसका लागि आवश्यक पर्ने ऐनकानुन निर्माण गर्नु आवश्यक छ भने बनाउनुप¥यो। गरिबलाई प्राथमिकतामा राख्नुपर्‍यो। राष्ट्रपतिज्यू, वनमन्त्रीज्यू र वन कर्मचारीसहित सबैलाई मेरो आग्रह छ, ढलेका रुखलाई गलेर जान नदिऊँ, त्यसको उपभोग पहिला गरिब जनताले गर्न पाउनेगरी व्यवस्था मिलाइदिनुहुन आग्रह र अनुरोध छ।

सामुदायिक वनको संख्या वृद्धि हुँदै अहिले २२ हजार दुई सय ६६ पुगेको छ। त्यसमा ३१ लाख घरधुरी जोडिएका छन् भने हाम्रो जमिनको झन्डै ४६ प्रतिशत जमिन जङ्गलले ढाकेको छ। तर, सामुदायिक वनका उपभोक्ताहरूले आफूलाई चाहिने न्यूनतम कुराहरू पनि उपभोग गर्न नपाएको गुनासो छ। साथै वन्यजन्तु र मान्छेबिचको लडाइँ चलिरहेको छ। खेतीबाली वन्यजन्तुले नष्ट गर्दा किसान आहत हुने गरेका छन्। यस्तो अवस्थामा तपाईंले संरक्षण गर्नुभएको सामुदायिक वनबाट त्यहाँका उपभोक्ताले के कस्तो सुविधा पाएका छन् ?

मैले संरक्षण र दर्ता गरेको मधुमालती नन्दादेवी महिला सामुदायिक वनको क्षेत्रफल त सानो, साढे २७ बिघा मात्र छ। त्यो पनि नदी संरक्षण क्षेत्रमा पर्छ। त्यसबाट उपभोक्ताले धेरै फाइदा पाइहाल्ने धेरै कुरा छैन। थोर थोरै भएको पनि बिचौलियाले जुठो लगाउँछन्। त्यसबाहेक अरू वन छन् त्यहाँ। जहाँ काठ दाउरा छन्, त्यसमा हुनेखानेले मात्र पाउने गर्छन्। गरिबका लागि अनेक बहाना गरेर चिरेर एक कडी मात्र दिने गरिन्छ। एक कडीले त के हुन्छ र, केही हुँदैन।

विधानमा लेखिएअनुसारको कार्यान्वयन हुनुपर्ने हो, त्यो हुँदैन। विधानमा लेखिएको छ, त्यो लागु हुँदैन। त्यो कार्यान्वयन नगर्ने वन कर्मचारीदेखि सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ। यो मेरो ठाउँमा मात्र होइन, सबैतिर होला। जहाँ जहाँ भए पनि विधान र कानुनको पालना हुनुपर्‍यो।

सम्माननीय राष्ट्रपतिज्यू हामीसँगै हुनुहुन्छ। उहाँले वन, वातावरणका विषयमा चासो र चिन्ता व्यक्त गर्दै आउनुभएको हामीले पाएका, सुनेका र पढेका छौं। देशमा केही हुँदैन भनेर निराशाको खेती भइरहेका बेलामा राष्ट्रपतिज्यूसहित विशिष्ट व्यक्तिहरूलाई यो संवादबाट छुटिनुअघि के भन्न चाहनुहुन्छ ?

हामी निराश मात्र होइन, आशा लाग्दा कामहरू पनि धेरै गरेका छौं र भएका छन्। सामुदायिक वनले मात्र सबै कुरा धान्छ भन्ने होइन। यसले उपभोक्तालाई सहयोग त आवश्यक गर्न सक्छ। वन संरक्षणसँगै वन्यजन्तुका कारण समस्या भएका छन्। तराईका जिल्लामा छाडा गोरुले खेतीपाती संरक्षण गर्न समस्या पारेको छ। त्यसलाई पनि ध्यान दिनुपर्‍यो। खेर जाने चिजलाई अँगालेर राख्नेभन्दा समयमा उपभोक्ताले उपयोग गर्न सकून्। वृक्षरोपण पनि गर्दै जानुपर्‍यो। सड्न र  गल्न सक्ने चिजलाई सहज रूपमा उपभोक्ताले उपभोग गर्न सके समाजले पनि फाइदा उठाउन सक्नेछ। त्यसले वन संरक्षणमा थप सहयोग पुग्नेछ। कानुन सहिसलामत निर्माण हुनुपर्छ। जसले गलत गर्छ, उसले संरक्षण नपाओस् र राम्रो गर्नेले सम्मान पाउनुपर्छ। त्यसतर्फ तपाईंहरू सबैको ध्यान जानेछ भन्ने मलाई लागेको छ।

हस् धन्यवाद, तपाईंलाई फेरि पनि बधाई तथा आगामी जीवन थप सुखमय बनोस्, शुभकामना !

धन्यवाद, मलाई यो अवसर र सम्मान गरिदिनुभयो। आगामी दिनमा वन संरक्षणमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको छ।

प्रकाशित: २० वैशाख २०८२ १०:२८ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School