नर्वेमा पदयात्राका क्रममा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला



प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार


नर्वेजियन राष्ट्रिय निकुञ्जमा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला परेका छन्। नर्वेजियन रेडक्रसका अनुसार, लुहनलाई फोल्गेफोना राष्ट्रिय निकुञ्जको नजिक हेलिकप्टर टोलीले बुधबार बिहान फेला पारेको हो।

३८ वर्षीय जलवायु पत्रकार लुहन पदयात्राका लागि गएको केही दिनपछि सम्पर्कविहीन भएका थिए। उनी फेला पर्दा होशमा रहेको तर अत्यन्त थकित र खुट्टामा केही चोट लागेको जनाइएको छ। तत्कालै उनलाई चिकित्सकीय उपचारका लागि अस्पताल लगिएको थियो ।

उनको श्रीमती भेरोनिका सिल्चेन्कोले सोमबार उनी हराएको जानकारी दिएको थिइन् । लुहन अमेरिका फर्किने उडानमा नपुगेपछि उनी चिन्तित भइन्। लुहन अन्तिमपटक बिहीबार सम्पर्कमा आएका थिए।

रेडक्रस स्वयंसेवक टोलीका प्रमुख स्टिग होपले भने, “यति धेरै दिनपछि कसैलाई जीवित भेटिएको दुर्लभ कुरा हो। आजको परिणाम सबै खोजी टोलीका लागि ठूलो राहत हो।”

खोजी कार्यमा विशेष पर्वतारोहण टोली, ड्रोन र दर्जनौं स्वयंसेवकहरू परिचालित भएका थिए। भारी वर्षा र कठिन भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण भएको थियो।

लुहनले नेशनल जियोग्राफिक, द गार्डियन, द न्यु योर्क टाइम्स र द एटलान्टिक जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका छन्। हाल उनी लन्डनमा बसोबास गरिरहेका छन्।

रेडक्रसले सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिंदै उद्धार सफल भएकोमा खुसी व्यक्त गरेको छ।





Source link

Leave a Comment