शिक्षा राष्ट्रको सरोकार हो तर त्योभन्दा पनि बढी व्यक्ति र बालबालिका स्वयंको सरोकार हो । बालबालिकालाई शिक्षा दिनु अभिभावकको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । उनीहरूले आफ्नो सन्तानलाई सफल र सक्षम बनाउने लक्ष्य लिएका हुन्छन् र यो प्राथमिक दायित्व हो पनि । यो राष्ट्रको पनि प्राथमिक दायित्व र जिम्मेवारी हो । तर नेपाल जस्तो कमजोर अर्थतन्त्र, अस्थिर राजनीति र कमजोर नेतृत्व भएको देशमा आशा गर्न सकिंदैन र सम्भव पनि छैन ।
विश्वमा एकजना नेताको दृढताले परिवर्तन भएका धेरै देश छन् जसको इतिहास संसारले पढिरहेका छन् । सिंगापुर होस् या मलेसिया यसका उदाहरण हुन् ।
विद्यालय छनोटको विषय नेपालका ग्रामीण क्षेत्रका लागि खासै महत्वको विषय होइन किनभने त्यहाँका अभिभावकसँग छनोटका धेरै विकल्प छैनन् । आफ्नो घरबाट नजिक पर्ने विद्यालयमै पठाउनुपर्ने बाध्यता हुन्छ । तर काठमाडौं उपत्यका, अन्य प्रमुख शहरहरू र तराई क्षेत्रका लागि यो गम्भीर विषय हो किनभने अभिभावकले विद्यालय छान्दा गर्ने निर्णयले बालबालिकाको जीवन र परिवारमा ठूलो प्रभाव पार्दछ । त्यसैले आफ्नो परिवारको भविष्य रहेका बालबालिकालाई विद्यालय भर्ना गर्दा अभिभावकले केही महत्वपूर्ण सवालमा ध्यान दिनुपर्छ ।
हल्लाको पछि नलाग्ने
जब नयाँ भर्नाको लहर चल्छ अनि नानाथरी हल्ला सुरु हुन्छन् । एकातिर सरकारी विद्यालय र केही अभियन्ताले ‘राज्य, राज्य, सरकारी स्कुल’ भनेर नाङ्लो ठटाउँछन् । अब राज्यले के के न गर्न लाग्यो भने जस्तो पारिदिन्छन् । अर्कोतिर सरकारले सिन्डिकेट सुरु गर्छ । सरकारीमा पढे के के अवसर पाइन्छ, डाक्टर लगायत पढ्न छात्रवृत्ति पाइन्छ आदि । अल्छी गोरुलाई घाँस देखाएर जोते झैं !
निजी विद्यालय सञ्चालन र उनीहरूका सरोकारवालाहरूले आँधीबेहरी नै सिर्जना गरिदिन्छन् । घर घर पुग्ने, न्वारानमा भोटोसम्म दिन गएको नाता लगाउने, भैंसी किन्दा पाडो उपहार भने झैं उपहारको बाढी बगाउँछन् । आफ्नो विद्यालय अब्बल देखाउन दुनियाँ नौटंकी सुरु गर्छन् ।
विद्यालय घाटामा हुन्छ, शिक्षकले महिनौंको तलब खान पाएका हुँदैनन्, उनीहरूलाई न्यूनतम तलब सुविधा नदिएर लाखौं खर्च गरेर दिवस र उत्सवहरू मनाएर अभिभावक, समुदाय र सरकारलाई रिझाइरहेका हुन्छन् । कतै विदेशी अनुहार उभ्याउँछन् त कतै तिखो मुखाले वक्ताहरू हाजिर गराउँछन् । छुटको भारी देखाउँछन् । यसैमा अभिभावक लट्ठिन्छन् । त्यसैले यस्ता सबैखाले हल्लाबाट टाढा रहनुपर्छ ।
शैक्षिक व्यापारिक मेला– हेर्ने, सुन्ने तर बिक्री नहुने
विभिन्न शिक्षण संस्था खास गरेर निजीले डोर वा प्रतिनिधि समूह (मिसन) नै पठाएर विद्यार्थी आकर्षण गर्ने गर्दछन् । भारतका विभिन्न संस्थाबाट नेपाल आई महँगो होटलमा बसेर सम्भावित अभिभावकसम्म पुग्ने गरेका घटना ताजै छन् । नेपालका संस्थाहरूले पनि यस्तो गर्ने गरेका छन् । त्यसैले अभिभावकले त्यस्तो कुराहरू सुन्ने, विचार लिने तर निर्णयको आधार त्यसलाई बनाउन हुँदैन ।
प्रधानाध्यापक पहिचान
सरकारी विद्यालय हो भने त्यहाँको प्रधानाध्यापक कस्तो छ भन्ने अध्ययन गर्नुपर्छ । किनभने प्रधानाध्यापकले चाहेमा विद्यालय राम्रो हुन्छ भन्ने तथ्य धेरै विद्यालयले पुष्टि गरिसकेका छन् । स्यूचाटारमा करिब सात आठ आना (अन्दाजी) मा रहेको अमरज्योति माविका प्रधानाध्यापकको क्रियाशीलतामा अट्न नसक्ने गरी विद्यार्थीहरू पढिरहेका छन् । यस्ता धेरै उदाहरण छन् । त्यसैले प्रधानाध्यापकको पेशागत क्षमता, लगनशीलता र मर्यादालाई हेरेर मात्र बच्चा भर्ना गर्नुपर्छ ।
सञ्चालक वा नेतृत्वको पहिचान
निजी विद्यालय हो भने सञ्चालक वा निर्देशक वा प्रधानाध्यापकको पृष्ठभूमि हेर्न जरूरी छ । विद्यालय चलाउनु उसको अन्तरमनको भावना हो कि व्यवसाय भन्ने बुझ्नुपर्छ । धेरैले कमाइ गर्ने सजिलो व्यवसायका रूपमा विद्यालय सञ्चालन गरेको कुरा प्रष्ट छ । त्यसैले नेतृत्वमा शैक्षिक गुण र व्यवहार भएको मानिस छ भने मात्र बच्चा भर्ना गर्नुपर्छ ।
जनशक्ति
निजी होस् वा सरकारी जहाँ कक्षागत, विषयगत र अतिरिक्त कार्यक्रमलाई सहजीकरण गर्ने पर्याप्त दक्ष जनशक्ति छ त्यहाँ बच्चा भर्ना गर्नुपर्छ । सरकारको न्यूनतम शिक्षक सङ्ख्याको अवधारणा अर्थात् ५ कक्षा चलेको विद्यालयमा न्यूनतम ३ जना शिक्षक हुनुपर्छ भन्ने जुन मान्यता त्यस्तो विद्यालय सरकारी होस् वा निजी बच्चा भर्ना गर्नुहुँदैन । त्यस्तो विद्यालय अभिभावकले बहिष्कार गर्नुपर्छ । सरकारलाई दबाब दिनुपर्छ किनकि जनशक्ति विना सिकाइ हुन सक्दैन ।
त्यसै गरेर हेल्मेट मास्टरहरूको भरमा विद्यालय सञ्चालन गरिरहेका निजी विद्यालयहरू पनि अभिभावकको रोजाइमा पर्नुहुँदैन । किनकि मोटरबाइक कहाँ जाममा पर्छ थाहा हुँदैन । यी सबै बच्चाको भविष्य बिगार्ने काम मात्र हुन् ।
विद्यालय भवन र कक्षाकोठा
बाख्रा जस्तै कोचिनुपर्ने विद्यालय बहिष्कार गरौं । निजी होस् वा सरकारी कतै एउटै कक्षामा ६०÷७० जना कोचिनुपर्ने अवस्था छ भने कतै व्यक्तिका पारिवारिक घर भाडामा लिएर भान्सा वा टहरोमा कक्षा चलाएका धेरै उदाहरण छन् । यी दुवै अवस्था प्रभावकारी सिकाइका लागि बाधक हुन् ।
त्यसैले सरकारी होस् वा निजी यस्ता हुलमा बस्नुपर्ने वा खोरमा बस्नुपर्ने दुवैखाले विद्यालय बहिष्कार गरौं । बाल अधिकार सुनिश्चितताका लागि राज्य र सञ्चालकलाई दबाब दियौं ।
खुला ठाउँमा विद्यालय भवन होस् । कम्तीमा सबैजना चौरमा सँगै जान पर्यो भने कुम नठोकिएर बस्न मिलोस्, एकछिन कसैबाट टाढिन पाइयोस्, यसो पर गएर छहारीमा लामो श्वास फेर्न पाइयोस् । अनि कक्षाकोठामा बस्ने ठाउँको लागि तानातान नहोस्, झ्याल खोजेर बस्न नपरोस्, कक्षामा खुलासँग कसैसँग नठोकिएर प्रशस्त उज्यालो र हावा प्रवाह भएको ठाउँमा बस्न पाइने विद्यालय छान्नुपर्छ ।
विद्यालयको दूरी
धेरै लामो समय गाडी चढ्नुपर्ने वा बच्चा पढाउनकै लागि घरबाट डेरामा जानुपर्ने अवस्था सिर्जना गर्नुहुँदैन । यो दुवै अवस्था अभिभावक र बच्चा दुवैलाई लामो समयसम्म दबाबमा राख्ने कुराहरू हुन् । त्यसैले सकेसम्म यस्तो अवस्था अभिभावकबाट सिर्जना हुनुहुँदैन । यसको समाधान विकल्पका रूपमा अर्कोतिरबाट योगदान गर्न सकिन्छ ।
अन्य पूर्वाधारहरू
विद्यालयले विद्यार्थीका लागि खेल्ने ठाउँ, फर्निचर, शौचालय, पिउनेपानी आदि कसरी व्यवस्था गरेको छ त्यो कुरा महत्वपूर्ण हुने भएकाले भर्नाको बेलामा अभिभावकले त्यस्ता सबै कुराहरू अवलोकन गरेर मात्र निर्णय लिनुपर्छ ।
यसरी हेर्दा उक्त कुराहरू पर्याप्त छन् कि छैनन् र गुणस्तरीय छन् कि छैनन् भन्ने ध्यान दिनुपर्छ । राम्रो छन् तर पर्याप्त छैनन् भने प्रष्ट हुन्छ कि साना बालबालिकाहरू यसबाट वञ्चित हुन्छन् । कमजोर विद्यार्थीहरू पनि यी सुविधाबाट वञ्चित हुन्छन् । यसको प्रभाव सिकाइ र स्वास्थ्य दुवैमा पर्छ ।
के सिकाउँछन्, कसरी सिकाउँछन् ?
सबैले दाबी गर्छन् कि बालकेन्द्रित, बालमैत्री, सिर्जनशील, प्रयोगात्मक, जीवन उपयोगी शिक्षा, प्राविधिक सीप दिइरहेका छौं । त्यसैले हरेक सचेत अभिभावकले यो कुरा पहिचान गर्नका लागि कुनै विशेष डिग्री लिनुपर्दैन । विद्यालय अवलोकनमा गएको बेलामा प्रवेशद्वारबाट भित्र पसेर कक्षा कोठासम्म पुग्दा के के देखियो, त्यहाँ आयातित कुरा र कलाहरू देखिए कि सिर्जना गरिएका । यदि आयातित देखिए भने त्यो व्यापारिक संस्था हो । समयमै फर्किनु बेस । सिर्जना गरिएका कुराहरू देखिए भने कसले सिर्जना गरेका भन्ने विषयमा केही समय खर्च गर्नुपर्छ ।
अनि जताततै शिक्षककै सिर्जनाले सिगारिएका र नियम कानुन पोतिएको छ भने त्यहाँ पनि बच्चा नराख्न राम्रो । तर विद्यालय हाता भित्र र कक्षा कोठामा शिक्षक विद्यार्थीको संयुक्त सिर्जनाले स्वागत गरेको छ र ती सिर्जनाहरू जीवन र पद्धतिसँग जोडिएका छन् भने त्यहाँ बच्चा भर्ना गर्न राम्रो हुन्छ ।
यसबाट बालबालिकालाई सिक्ने वातावरण छ र शिक्षकहरूबाट सहजीकरण हुन्छ भन्ने कुराको प्रत्याभूति गर्न सकिन्छ । यसपछि मात्र विद्यालयको नेतृत्व वा विषय शिक्षकसँग बसेर विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ विधिका बारेमा कुरा गर्न राम्रो हुन्छ ।
सुन्छन् कि सुनाउँछन् मात्र
अभिभावक विद्यालय अवलोकन वा बच्चा भर्नाको कुरा लिएर जाँदा अभिभावकलाई नसुन्ने र आफ्नो स्कुलको नियम कानुन मात्र पढाउने विद्यालयमा बच्चा राख्नुहुँदैन । असाध्यै स्थापित र महँगो विद्यालय किन नहोस्, त्यस्तो अवस्थामा बच्चा उपेक्षित हुन्छ, उसमा विद्यालयको कुराहरू मात्र लादिन्छ । अभिभावकहरू निरीह हुन्छन् । त्यसैले राम्रो विद्यालय भन्दैमा सञ्चालकको पाउमा शिर राखेर बच्चा भर्ना गर्नुहुँदैन । जहाँ सञ्चालक र शिक्षकहरूले विद्यार्थी बारे अभिभावकको सरोकार सुन्छन्, समय दिन्छन् त्यहाँ विद्यार्थीको सिकाइ प्राथमिकतामा हुन्छ । बच्चा भर्ना गर्नुपर्छ ।
परिवारको आर्थिक अवस्था
यो अन्त्यमा लेखिए पनि महत्वपूर्ण कुरा हो । कुनै पनि अभिभावकले परिवारको समग्र जीवन नै प्रभावित हुने गरेर एकजना बच्चाको शिक्षाको लागि लगानी गर्नुहुँदैन । किनभने नेपालको सन्दर्भमा मध्यम वर्गका लागि शिक्षा नै प्रमुख विकल्प हो भन्ने भाष्य सार्थक हुनसकेको छैन ।
अस्थिरता, बेरोजगारी जस्ता कुराहरूले राम्रो विद्यालयमा पढेको वा साधारणमा पढेको वा नपढेको मानिसलाई एउटै जेट विमानमा समान लक्ष्य र गन्तव्यमा धकेलिरहेको छ । त्यसैले जीवनको समग्रतालाई शिक्षाको एकाग्रताले अप्ठेरोमा पार्न हुँदैन ।
समग्रमा नेपालको शिक्षा प्रणाली बदल्नु छ तर केही साना–साना कुराहरू गरेर रूपान्तरणलाई निरन्तरता दिऊँ ।
(शिक्षाविद् शाही हाल दैलेखको दुल्लूमा सरकारी स्कुल करारमा लिएर नमूना बनाउन क्रियाशील छन् ।)