अज जेठ १७ गते । जेठ १५ आयो र गयो पनि । गणतन्त्रवादीहरूले सो दिनलाई गणततन्त्र दिवसका रूपमा मनाए । तर, यसपटक पृथक् विचार राख्नेहरूले सो दिनलाई राजा फर्काउने आन्दोलनका रूपमा समेत मनाए । सायद उनीहरूको आन्दोलन जारी छ क्या र ! आन्दोलनकारीको रापले झापा पुगेका पूर्वराजा फर्केर इटहरीसम्म त फर्के कि ! थाहा छैन काठमाडौं आइपुग्न कति दिन लाग्ने हो !
नारायणहिटी दरबारमा विराजमान हुन त कति लाग्ने अन्दाजसम्म गर्न मुस्किल छ । जंगी पोसाकमा ठाँटिएर ‘ठीक छ, ठीक छ’ र ‘मैले बुझें मैले बुझें’ मर्जी हुने सपना सोम शर्माको सातु नै पो हुने हो कि ! जे होस् अब पर्सि जेठ १९ आउँदै छ । त्यस दिन स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई श्रद्धाञ्जली टक्र्याउने एउटा जमात देखिनेछ । तर, यसपटक वीरेन्द्रको परिवारलाई श्रद्धाञ्जली चढाउनेहरूका लागि धर्मसंकट पर्न सक्छ ।
मौजुदा ‘राजा’लाई यो मन नपर्न सक्छ । उनी सायद दाजु वीरेन्द्रको उत्तराधिकारीका रूपमा आफूलाई चिनाउन चाहन्नन् । उनी प्रतापी महाराजाधिराज महेन्द्रका छोरा एवं वीरेन्द्र वा महेन्द्रभन्दा पहिल्यै श्रीपेच पहिरिसकेका परम प्रतापी व्यक्तित्व पो हुन् त ! राजाका रूपमा उनका पूर्वाधिकारी त दीपेन्द्र हुन् । साँच्चिकै हेर्ने हो भने उनी महेन्द्रका छोरा भएका कारणले राजा भएका होइनन् । उनले ‘हकवाला’का रूपमा दीपेन्द्रको अपुताली पाएका हुन् । नपत्याए उनलाई राजा घोषणा गरिएको तत्कालीन राजपरिषद्को विज्ञप्ति हेरे हुन्छ । त्यसमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज दीपेन्द्रको स्वर्गारोहण भएको हुँदा मौसुफका नजिकका हकवाला काका श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषित गरिन्छ ।’
ज्ञानेन्द्र शाह महेन्द्रका छोरा वा वीरेन्द्रका भाइ भएर होइन, दीपेन्द्रका निकटतम् हकवाला भएर राजा भएका हुन् ! आमजनताको जायजेथा नामसारी गर्नुपरेको भए काका हकवाला हुन्थे कि अरू कोही हुन्थे ? बहिनीका सन्तान पो हुन्थे कि ? नेपालको अपुताली कानुनका ज्ञाताहरूले बताउलान् ।
जेसुकै होस्, ज्ञानेन्द्र शाहले भतिजोको अपुतालीका रूपमा नै राजगद्दी पाएका हुन् । अहिले त्यही अपुताली हक पुनस्र्थापित गराउन उद्यत छन् । ‘पूर्खाले आज्र्याको’ भएको हुँदा वंशानुगत सम्पत्ति हकवालाले पाउँछ भन्ने तर्क एकदमै जोडदार ढंगले उठाइँदै छ ।
नेपाल राष्ट्र कसैको व्यक्तिगत आर्जन हो कि होइन र पुस्ता दरपुस्ता हकवालाले भोग गर्न पाउने सम्पत्ति हो कि होइन ? मज्जैसँग बहस हुनसक्छ । यदि, हो नै भने पनि आजका मितिमा राजगद्दीको हकदार रवीन्द्र शाहका जेठा छोरा पवीन्द्रविक्रम शाह हुन् वा जगतप्रकाशजंग शाहका छोरा नवीनप्रकाशजंग शाह हुन् ? राम्रै तर्कसंगत बहस गर्न सकिन्छ ।
नेपालका राजनीतिक दलहरूमा पनि ‘हकवाला’ खोज्ने प्रवृत्ति निरन्तर रहिआएको छ । म आज सबैभन्दा ठूलो र सक्रियमध्येको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसमै केन्द्रित रहन चाहन्छु । कांग्रेसको सुरुवाती कालखण्डमा बीपी र मातृकाबीचको झगडा पनि त्यही ‘हकवाला’का रूपमा स्थापित हुने लडाइँ नै थियो भन्दा अत्युक्ति नहोला । बीपी कोइरालामा चातुर्यता, नेतृत्व क्षमता र आकर्षण सबै थियो । तर, मातृकाप्रसाद कोइराला पनि कम्ती थिएनन् ।
नेपालका राजनीतिक दलहरूमा पनि ‘हकवाला’ खोज्ने प्रवृत्ति निरन्तर रहिआएको छ । म आज सबैभन्दा ठूलो र सक्रियमध्येको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसमै केन्द्रित रहन चाहन्छु । कांग्रेसको सुरुवाती कालखण्डमा बीपी र मातृकाबीचको झगडा पनि त्यही ‘हकवाला’का रूपमा स्थापित हुने लडाइँ नै थियो भन्दा अत्युक्ति नहोला । बीपीमा चातुर्यता, नेतृत्व क्षमता र आकर्षण सबै थियो । तर, मातृका पनि कम्ती थिएनन्
बौद्धिकताका दृष्टिले उनी बीपीभन्दा धेरै पछाडि थिएनन् । तर, पिता कृष्णप्रसाद कोइरालाको राजनीतिक विरासतमा दुवैको हकदाबी रह्यो । स्वाभाविक रूपमा बीपीले यो ‘हकवाला’को लडाइँ जित्नुभयो । स्वर्गीय कृष्णप्रसाद भट्टराईका शब्दमा कांग्रेसका ‘चार महान्’मा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर जबरा र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । अर्को शब्दमा भन्ने हो भने यी चार जना नेता आफ्नो स्वतन्त्र विरासत सिर्जना गर्ने हैसियतमा हुनुहुन्थ्यो । सुवर्णजीका सन्तानहरू कसैले पनि उहाँको विरासतलाई महिमामण्डन गरेर त्यसमा हकदाबी प्रस्तुत गरेनन् । हुनसक्छ उहाँहरूमा त्यस्तो गर्ने ल्याकत नै भएन । परिणामस्वरूप सुवर्णजी आज कांग्रेस कार्यालयको भित्तामा एउटा तस्बिरका रूपमा सीमित हुनुभएको छ । सूर्यप्रसाद उपाध्यायका छोरा नै भएनन् । उनकी एक छोरी सक्रिय नै रहिनन् । छोरीका छोरा अर्थात् नाति र त्यसै पुस्ताका अरूहरू प्रवासमा छन् । उनीहरू सबैजना सूर्यबाबुको एउटा तस्बिरसम्मले कांग्रेस कार्यालयमा ठाउँ पाओस् भनेर भरमग्दुर कोसिस गर्दै छन्, तर सफल भएका छैनन् । सूर्यबाबुलाई स्विकार्ने औपचारिक बचनका बाबजुद शेरबहादुरजी चुप हुनुहुन्छ । सायद सूर्यबाबुको नाम अगाडि आयो भने बीपीको ‘चमक’ फिक्का पर्छ भन्ने डरले धेरैलाई सताएको छ कि ? गणेशमान सिंहका जेठा छोरा प्रदीपमान सक्रिय छैनन् । कान्छा छोरा प्रकाशमान सक्रिय छन् । लोकतान्त्रिक संघर्षमा र कांग्रेस निर्माणमा प्रकाशमानको व्यक्तिगत योगदान प्रशस्तै छ । तर, गणेशमानको ‘हकवाला’का रूपमा उनले फाइदा नपाएका होइनन् । यति भन्दाभन्दै पनि प्रकाशमान आफ्नै नालायकीपनले हो वा गणेशमानजी स्वयंको अत्यधिक निष्ठा र सेवाभावका कारणले हो गणेशमानको ‘हकवाला’ बनेर शीर्ष स्थानमा पुग्ने अवस्था देखिएन ।
अब आउँ बीपी कोइरालातर्फ । जे जस्तो कारणले होस्, आज पनि कांग्रेसीहरूबीच सबैभन्दा चल्ने सिक्का बीपीकै हो । गिरिजाप्रसाद कोइरालाको पार्टी र लोकतान्त्रिक संघर्षमा अतुलनीय योगदानको उच्च कदर गर्दागर्दै पनि उहाँको उल्लेखनीय सफलताका लागि उहाँले बीपीको ‘हकवाला’ भएर पाउनुभएको लाभांश धेरै हदसम्म जिम्मेवार छ भन्नैपर्ने हुन्छ । उहाँ बीपीको भाइ नहुनुभएको भए बीपीको निधनपश्चात् ‘नेतात्रय’का रूपमा ठाउँ पाउनुहुन्थ्यो होला ? घोत्लिएर सोच्नुपर्ने हुन्छ । २०४८ सालमा निर्वाचनमा किसुनजीको हारपछि प्रधानमन्त्रीका रूपमा महेन्द्रनारायण निधिको नाम आएको थियो । तर, स्वयं गणेशमानजी र किसुनजीले ‘गिरिजाबाबुको हक’ भन्दै ‘हकवाला’ घोषित गरिदिनुभएको थियो । गिरिजाबाबुका उपलब्धि एवं योगदान आफ्ना ठाउँमा छन् । तर, ‘हकवाला’का रूपमा पार्टीलाई कसरी हाँक्नुभयो भन्ने बिर्सन मिल्ला ? सुशील कोइराला पनि त्यही ‘हकवाला’ शृंखलाका अर्का कडी होइनन् ? गिरिजाबाबुले अर्को पुस्ताको ‘हकवाला’का रूपमा छोरी सुजातालाई स्थापित गर्न खोज्नुभएको होइन ? के सुजाताको उपप्रधानमन्त्री वा परराष्ट्रमन्त्री बन्ने हैसियत थियो त ? यहाँनेर, आफ्नै स्वतन्त्र पहिचानसहित विरासतको हक अर्को पुस्तालाई सुम्पिनसक्ने औकात भएका दुई नेताहरूको नाम उल्लेख गर्नैपर्ने हुन्छ । उहाँहरू हुनुहुन्छ, स्वर्गीय कृष्णप्रसाद भट्टराई र स्वर्गीय महेन्द्रनारायण निधि । मैले ‘हकवाला’ बन्लिन् भन्ने डरकै कारण सुनियोजित ढंगले पन्छाइएकी शैलजा आचार्यको नाम उल्लेख गरिनँ । किसुनजीका तमाम कौशल एवं क्षमताका बावजुद उहाँलाई ‘ल्याङ्फ्याङे’ र अत्यन्तै ‘हल्का व्यक्तित्व’का रूपमा प्रस्तुत गरियो र प्रचारप्रसार गरियो । सर्वाधिक योग्य भएर पनि ‘अविश्वसनीय’ नै रहनुभयो । निधिजीको राष्ट्रिय व्यक्तित्व त उजागर हुन नै दिइएन । उहाँलाई मधेशकेन्द्रित क्षेत्रीय व्यक्तित्वकै रूपमा सीमित गरियो । अहिले बिमलेन्द्र निधि त्यही पीडाबाट गुज्रिरहेका छन् । वास्तवमा यी किसुनजी र निधिजी दुवैप्रति अघोषित रूपमा ‘हकवाला’हरूका तर्फबाट गम्भीर षड्यन्त्र भएको हो भन्न पटक्कै हिच्किचाउनुपर्दैन ।
‘हकवाला’का विरुद्ध निरन्तर संघर्ष गर्ने र अन्ततः त्यस शृंखलालाई तोड्ने व्यक्ति शेरबहादुर देउवा नै हुन् । उनले पनि सुशील कोइराला जीवित भएको अवस्थामा सकेनन् । कांग्रेसीले ‘हकवाला’ सुशीललाई चुने । पछि ‘गम्भीर हकवाला’को अभावको अवस्थामा मात्र जितेका हुन् । दोस्रोपटक उनले हकवाला दाबेदार शेखर कोइरालालाई हराएका हुन् । शेखर कोइरालाले राम्रो मत ल्याए पनि शेरबहादुरजीलाई जित्न सकेनन् । सायद शेखरजीलाई ‘हकवाला’का रूपमा आमकांग्रेसीजनले पुरै स्विकारिसकेको थिएन । सुजातालाई त पुरै नकारेको देखियो । सशांक पनि हकवालाको दौडमै हुन् । तर, उनको गाम्भीर्यतामा पनि मतदातालाई ठूलो शंका रहेको देखियो । सुजाता र सशांकको अवस्था हेर्दा के देखिन्छ भने कांग्रेसीहरू रक्तसम्बन्ध वा पारिवारिक साइनोका कारणले मात्र कसैलाई टाउकामा राख्न तयार हुन्नन् ! कोही व्यक्ति फगत कसैको सम्बन्धी भएको मात्र कारणले स्थापित हुन खोज्यो भने ऊ त नराम्ररी पछारिँदो रहेछ । सुजातालाई हेर्नोस् त ! गिरिजाबाबु हुँदासम्म उनको जे जति रजगज चल्यो–चल्यो, अहिले उनी लगभग परित्यक्त छिन् । मरेको हात्ती पनि सवा लाख भनेझैं केही मूल्य अवश्य होला, तर निर्णायक भूमिकामा हुनै सक्दिनन् । सायद सशांकको पनि यही अवस्था होला । शेखरजी अब ‘स्वीकार्य हकवाला’ भइसके त ? परीक्षण होला ! हकदाबी गर्नेहरूले बुझ्दा हुन्छ– सम्बन्धका कारण दाबी होला तर स्वीकार्य नहुन सक्छ !
पुनः शेरबहादुरजीमै फर्कौं ! के उहाँले हस्तान्तरण गर्न सकिनेगरी विरासतको निर्माण गर्नुभएको छ ? छ नै भने इच्छित सम्बन्धीलाई हस्तान्तरण गर्ने क्षमता राख्नुहुन्छ ? उहाँलाई इच्छा त निश्चित रूपमा आफ्नी श्रीमतीलाई पार्टी बुझाउने नै होला ! शेरबहादुरजीको व्यक्तिगत सम्पत्तिझैं पार्टी पनि आफुखुसी हस्तान्तरण होला त ? आमकांग्रेसीले आरजु राणा देउवालाई पनि सुजातालाई जस्तै व्यवहार गर्ने सम्भावना कति छ ? मूल्यांकन गर्ने हो कि ? आज शेरबहादुरजीसँग शक्ति हुँदा आमकांग्रेसीले ‘भाउजू’प्रति प्रदर्शन गरिरहेको आदरभाव उहाँ औपचारिक रूपमा शक्तिबाट अलग भएको दिन कुन स्तरमा गिर्ला ? आँकलन गर्ने काम शेरबहादुरजीको । इतिहासले उहाँलाई कसरी सम्झेला त भन्ने कुरो यसैमा निर्भर छ ।
The post नजिकका ‘हकवाला’को खोजी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….