नजन्मँदै सांसद र मन्त्री भइसकेका ‘बा’ हरूसँग प्रतिस्पर्धा : RajdhaniDaily.com


काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका केही उम्मेदवार आफ्नो संसदीय यात्राको अवधिभन्दा पनि कम उमेरकासँग प्रतिस्पर्धामा उत्रिएका छन् । जेनजी आन्दोलनपछि भएको संसद् विघटनले राजनीतिको पाको पुस्ता विस्थापित गराउने घोषणा गरेका जेनजी समर्थक उम्मेदवार आफ्नो सिँगै उमेरभन्दा बढी संसदीय यात्रा गरेका नेता पराजित गर्न भन्दै मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा भइरहेको झापा–५ मा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष ८औं पटक प्रतिस्पर्धामा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले टक्कर दिँदै छन् । ७४ वर्षीय ओलीले २०४८ मा पहिलो संसदीय निर्वाचन लड्दै गर्दा शाह २ वर्षका थिए । ओलीको ३४ वर्षे संसद्ीय यात्राभन्दा कम उमेरका उम्मेदवार मात्रै ५ जना छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली २०४८ र २०५१ को निर्वाचनमा झापा–६ बाट निर्वाचित भएका थिए । त्यसयता २०५६ मा झापा २ र ६ बाट जितेका उनले २०६४ मा भने पराजय ब्यहोरे । २०७० मा झापा–७ बाट चुनाव जितेका उनले २०७४ र २०७९ मा झापा–५ बाट जिते । ४० वर्षको उमेरमा पहिलो पटक चुनाव लड्न सुरु गरेका ओली उम्मेदवार हुन थालेका ३४ वर्षमा ८औं पटक संसदीय निर्वाचनको मैदानमा छन् ।

झापा–५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुशान्त साम्पाङ राई सबैभन्दा कान्छा उम्मेदवार हुन् भने एमालेका तर्फबाट उम्मेदवार भएका ओली सबैभन्दा पाको उमेरका उम्मेदवार हुन् । ओलीको ३४ वर्षे संसद्ीय अवधिसरहको उमेर भएका उम्मेदवारमा श्रम संस्कृति पार्टीका ३३ वर्षीय समीर तामाङ, नेकपा माओवादीका ३२ वर्षीय सञ्जय राई, स्वतन्त्र उम्मेदवार ३३ वर्षीय विपुल गुरागाईं र ३० वर्षीय पुष्कर खतिवडा छन् ।

रास्वपामा ४० वर्षमुनिका उम्मेदवार ४० प्रतिशत
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले दलहरूतर्फमा सबैभन्दा बढी युवा उम्मेदवार बनाएको छ । रास्वपाका कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये झन्डै ४० प्रतिशत उम्मेदवार ४० वर्ष मुनिका छन् । रास्वपाले उठाएका ४० वर्षमुनिका ६५ उम्मेदवारमध्ये ९ जना महिला छन् । निर्वाचन आयोगका अनुसार ३० वर्षमुनिका १७ जना युवा रास्वपाबाट चुनावी मैदानमा छन् । सबैभन्दा कम उमेरका मकवानपुर–२ का उम्मेदवार प्रशान्त उप्रेती र मुगुका उम्मेदवार भुवन टम्टा छन् । उनीहरू दुवै २५ वर्षका छन् ।

नेपाल सांसद बन्दा जन्मिएकै थिएनन् ६ प्रतिस्पर्धी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि उनको संसद्ीय राजनीतिक अवधिभन्दा कम उमेरका प्रतिस्पर्धी चुनावी मैदानमा छन् । ३९ वर्षको उमेरमा राष्ट्रिय सभाबाट संसद्ीय राजनीतिमा प्रवेश गरेका नेपालको पनि संसद्ीय राजनीति ३४ वर्ष लामो छ । नेपालले ३४ वा सोभन्दा कम उमेरका ६ जना प्रतिस्पर्धी सामना गर्नु पर्ने भएको छ । दल र स्वतन्त्रबाट उम्मेदवार भएका ती उम्मेदवारसहित ३९ जनाको रौतहट–१ उम्मेदवारी छ ।

नेपालको संसदीय यात्रा सुरु हुँदा नजन्मेका उनका प्रतिस्पर्धीहरू नेपाली जनता दलका ३७ वर्षीय सञ्जयकुमार यादव, जय मातृभूमि पार्टीका ३२ वर्षीय रञ्जितकुमार पटेल, सार्वभौम नागरिक पार्टीका ३८ वर्षीय सुनिलप्रसाद कुशवाह, उज्यालो नेपाल पार्टीका ३३ वर्षीय उमेशकुमार शाह, राष्ट्रिय मुक्ति पार्टी नेपालका ३७ वर्षीय मो. तनवीर अख्तर मिकरानी, जनअधिकार पार्टीका ३६ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारहरू ३३ वर्षीय राजुकुमार मुखिया, ३४ वर्षीय श्यामबाबु यादव, २६ वर्षीय विवेक चौधरी, ३९ वर्षीय सञ्जीवकुमार यादव, मृणालकुमार साह, ३० वर्षीय अमृताकुमारी यादव र ३१ वर्षीय अभिषेक मिश्र छन् ।

प्रचण्ड सांसद बन्दा ८ वर्षका थिए रोल्पाली प्रतिस्पर्धी
संसदीय राजनीति अस्वीकारदेखि अनेकखाले गठबन्धन गर्दै संसद्ीय राजनीतिमा आफूलाई केन्द्रमा राख्न सफल अर्का नेता हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड पहिलोपटक २०६४ को संविधानसभा निर्वाचनपछि संसद्ीय राजनीतिमा प्रवेश गरेका हुन् ।

त्यसयताका झन्डै २० वर्षमा प्रचण्डले सिराहा, काठमाडौं, रोल्पा, चितवन, गोरखा हुँदै यसपटक रुकुम पूर्व पुगेर उम्मेदवारी दिएका छन् । प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादीको एउटा समूह २०४८ सालको आमनिर्वाचनमार्फत संसद्मा समेत प्रतिनिधित्व गरेको थियो ।

७० वर्षे प्रचण्डलाई प्रगतिशील लोकतान्त्रिक पार्टीका २८ वर्षे सन्दीप पुनदेखि राप्रपाका ३० वर्षे रोशन शाहसहित ४० वर्षमुनिका ५ जना उम्मेदवारले टक्कर दिँदै छन् । पुन र शाहसँगै ४० वर्षमुनिका अरू उम्मेदवारमा नेसनल रिपब्लिक नेपालका ४० वर्षीय धर्मकुमार बुढा, नेपाली कम्युनिस्ट पार्टीका ३८ वर्षीय लीलामणि गौतम रहेका छन् ।

महिन्द्र राजनीतिमा आउँदा जन्मिएकै थिएनन् प्रतिस्पर्धी
८८ वर्षीय महिन्द्र राय यादव अर्का चर्चित राजनीतिक खेलाडी हुन् । उनी सर्लाही–२ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार छन् । २०५१ र २०५६ सालमा सर्लाही–१ बाट चुनाव जितेका यादव २०७४ र २०७९ मा सर्लाही–४ बाट उम्मेदवार थिए । उनको संसद्ीय यात्रा ३१ वर्षको भयो भने यसपटक ३१ जना उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । उनी राजनीतिमा आउँदा यस क्षेत्रका धेरै प्रतिस्पर्धी त जन्मिएकै थिएनन् भन्ने उनीहरूको उमेरले देखाउँछ । उनीसँग ४० वर्षमुनिका १० प्रतिस्पर्धीसहित ३१ उम्मेदवार मैदानमा छन् । यादवको राजनीतिक करिअर ६० वर्षभन्दा लामो छ । आफ्नो राजनीतिक करि यरसरह उमेर भएका धेरै नेताहरूसँग उनी चुनाव लडिरहेका छन् ।

भण्डारी सांसद बन्दा जन्मिएकै थिएनन् २० प्रतिस्पर्धी
नेपाली राजनीतिमा मूलधारदेखि क्षेत्रीय राजनीति, एकतादेखि विभाजन र स्वतन्त्रसमेतका अनेक अभ्यास गर्दै आफ्नो राजनीतिक विजय केन्द्रमा राख्न सफल पात्र हुन् शरदसिंह भण्डारी । महोत्तरी–२ बाट उम्मेदवार भएका ७१ वर्षीय शरदसिंह भण्डारी २०३८ सालदेखि संसद्ीय राजनीतिमा छन् । २७ वर्षमा पहिलोपटक राष्ट्रिय पञ्चायतमा सांसद भएका भण्डारीले राज्यमन्त्री र मन्त्री गरी २० पटकभन्दा बढी मन्त्रालय नै सम्हालिसकेका छन् ।

उनको ४४ वर्षे संसदीय राजनीतिक अवधिसरहको उमेरसम्मका २० जना उम्मेदवार छन् । भण्डारीको संसदीय राजनीतिक अवधिसरह उमेरका उम्मेदवारमा २६ वर्षीय स्वतन्त्र उम्मेदवार राजगुरु यादवदेखि नेपाली कम्युनिस्ट पार्टीका ४४ वर्षीय लक्ष्मणकुमार यादवसहित २० जना छन् । जम्मा ३७ जना उम्मेदवार यस क्षेत्रमा छन् ।

भण्डारी सबैभन्दा धेरै मन्त्री बन्ने र धेरै दल बदल गर्ने नेतामा चिनिन्छन् । महोत्तरीबाट २०३८ देखि निरन्तर उम्मेदवार रहँदै आएका शरतसिंह भण्डारी यसपटक १०औ पटक उम्मेदवार बनेर मैदानमा छन् । पञ्चायतमा २०३८ र २०४३ मा महोत्तरीबाट विजयी भएका भण्डारी २०४९ मा महोत्तरी–५ बाट विजयी भए ।

२०५१ मा क्षेत्र नम्बर ४, ०५६ मा क्षेत्र नम्बर ३ बाट विजयी भएका उनी २०६४ र २०७० मा भने पराजित भए । २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट जितेका भण्डारीले २०७९ मा क्षेत्र नम्बर २ बाट जितेका उनले यस निर्वाचनमा पनि पुन उम्मेदवारीलाई निरन्तरता दिएका छन् । ७१ वर्षीय भण्डारीको यो पटक संसद्ीय उम्मेदवारी हिसाब गर्दा ४४ वर्षदेखि निरन्तर छन् ।

स्वतन्त्रमध्येका आधा ४० वर्षमुनिका
नेपाली राजनीतिको शीर्ष तहमा रहेका नेताहरूको सक्रिय संसद्ीय यात्रा ३० देखि ४० वर्षको छ । पहिलो पुस्ताका नेताहरूको संसद्ीय यात्रा अवधिसरह उमेर रहेका ५ सयभन्दा बढी उम्मेदवार त स्वतन्त्र नै लडिरहेका छन् ।

राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नभएको आक्रोशसमेत पोखिएको जेनजी आन्दोलनपछि युवामा राजनीतिको जोस बढेको भए पनि स्वतन्त्रमै युवाहरू जुधेको तथ्यांकले देखिएको छ । कूल १ हजार १ सय ८८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकोमा कूल उम्मेदवारीको ४२ प्रतिशत अर्थात् ५ सय जना ४० वर्षमुनिका रहेका छन् ।

(Visited 69 times, 1 visits today)





Source link

Leave a Comment