धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com


विवेक विवश रेग्मी

इटहरी । झ्याम्टा र मादलको तालमा मधुर–मधुर गुञ्जिन थाल्यो एक साँझ । जहाँ गुञ्जिरहेको थियो– एक पुरानो लोकधुन । लोकधुन गुञ्जिनेबित्तिकै उपस्थित मानिसहरू एकत्रित भए । र, मौनतामा केन्द्रित भए । साँझमा भेला भएका दर्शकहरूमा मौनता छायो । तर, साँझ भने गुञ्जिरह्यो, मीठो संगीतमा । यो दृश्य कुनै सिनेमा वा कथाको होइन । सुनसरीको रामधुनीस्थित थारू समुदायले प्रस्तुत गरेको धुम्रा नाचको हो । थारू समुदायले पुरातात्विक एवं ऐतिहासिक धुम्रा नाचलाई विशेष पर्व वा कुनै विशेष दिनमा प्रस्तुत गर्ने गरेका छन् ।

धुम्रा नाचकी प्रशिक्षक उमादेवी थरूनीका अनुसार सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक उक्त नाचप्रति अहिले नयाँ पुस्ता आकर्षित छन् । नयाँ पुस्ता आकर्षित हुँदा संस्कृति थप जगेर्ना हुने उनी बताउँछिन् ।

करिब डेढ दशकअघि उनी एकदिन धुम्रा नाच हेर्न गइन् । नाचबाट उनी निकै प्रभावित बनिन् । र, अग्रजहरूसँग उनले प्रस्ताव गरिन्, ‘मलाई पनि नाच सिकाइदिनु !’ त्यसपछि उनले बिस्तारै नाच सिकिन् । र, अहिले प्रशिक्षण दिँदै हिँडेकी छन् । नयाँ पुस्तालाई पनि आकर्षित गराइरहेकी उनले भनिन्, ‘पहिले दुई वटा टिम मात्रै थियो, अहिले धेरै छन् । खुसी लाग्छ ।’

एउटा टिममा न्यूनतम १० जना हुन्छन् । न्यूनतम १० मिनेटदेखि रातैभरीसमेत नाच प्रस्तुत हुने गरेको छ । ‘धामीको र कृष्ण भगवानको नाच छ भने ज्यादा समय लाग्छ,’ उनले भनिन्, ‘रातैभरि पनि हुन्छ । कोही कृष्ण पात्र भएर नाचमा हुन्छन्, कोही राधा । जसले दर्शकलाई प्रभावित पार्छ ।’

धुम्रा नाच केवल नृत्य होइन, यो थारू समुदायको मौनता, इतिहास, श्रद्धा र प्रेमको अभिव्यक्ति हो ।

धुम्रा नाच त्यो नाच हो, जसमा थारू समाजका कथा बाँचिरहेका हुन्छन् । राधा–कृष्णको प्रेमदेखि ग्रामथानका गीतसम्म, हर्षको चाचैरदेखि विरहको विरहैनसम्म । विशेष पर्वहरू, छठ पूजाका समय वा सन्तान प्राप्तिको मनोकांक्षा बोकेका दिनहरूमा यो नाचले झन् विशेष अर्थ राख्छ ।

धुम्रा नाचले गाउँका घाटहरूलाई रंगीन बनाउँछ र थारू समुदायको मौनतालाई जीवनको धुनमा रूपान्तरण गर्छ ।

‘नाचका लागि महिला र पुरुष दुवै सहभागी हुन्छन् । सुरुआती दिनमा पुरुष मात्रै थिए, अहिले महिलाहरू अग्रपंक्तिमा छन् । धुम्रा नाचका अग्रज पुरुषहरूको निधन हुँदा ठूलो क्षति भएको भएपनि अहिले महिलाहरू नै अब्बल छन्,’ रामधुनी नगरपालिका १ की वडासदस्यसमेत रहेकी उनी भन्छिन्, ‘नयाँ पुस्ता थपिइरहेकाले खुसी लाग्छ ।’

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

उनका अनुसार धुम्रा नाच एक मौलिक लोकनाट्य हो । जसमा राधा र कृष्णको पात्र बनेर कलाकारहरू स्वयं गीत गाउँदै र अभिनय गर्दै कथावस्तु प्रस्तुत गर्छन् । राधा–कृष्णको प्रेम, मिलन, बिछोड, विरह र हर्षका पलहरूलाई यसमा जीवन्त रूपमा देखाइने गरिएको उनले सुनाइन् ।

खासगरी दशकौँ पहिले सिनेमा हलहरू थिएनन् । अहिले अधिकांशले सिनेमा हलमा गएर मनोरञ्जन लिन्छन् । तर, त्यसबेला भने मनोरञ्जन लिने उपयुक्त माध्यम भनेको धुम्रा नाच नै थियो । सिनेमा हलको अभाव भएको समयदेखि नै यो नाच मनोरञ्जनको प्रमुख माध्यम थियो । यसमार्फत कृष्ण लीला, रामायण र अन्य पौराणिक कथाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिन्थ्यो । धार्मिक आस्थासँग पनि यो नाच गहिरोसँग जोडिएको छ । जसले आम मानिसलाई आकर्षित बनाउँथ्यो ।

नाचमा मिलन, बिछोड, विरह, हर्षका भावहरू, लोकभाषा, लोकधुन र लोक अभिनयमार्फत प्रस्तुत गरिन्छ । कलाकारहरू आफैँले गीत गाउँछन्, अभिनय गर्छन् र दर्शकलाई भावनाको यात्रामा लैजान्छन् ।

नाचमा झ्याम्टा, मादल, जुन थारू भाषामा झ्याल र मृदंग भनिन्छन् । ती प्रयोग हुन्छन् ।

यस नाचसम्बन्धी जानकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरीका अध्यक्ष सुनिल चौधरी भन्छन्, ‘यो नाच मनोरञ्जन मात्रै नभई पौराणिक र धार्मिक आस्थासँग जोडिएको छ ।’ उनका अनुसार बालबच्चा नभएमा छठ पर्वमा कबोल गरी यो नाच नचाइने प्रचलन छ । यसरी छठ पर्वमा कबोल गर्दै नाच नचाएमा बालबच्चा हुनेसमेत विश्वास रहेको उनी बताउँछन् ।

‘छठ पर्वमा जहाँ घाटमा पूजा हुन्छ, त्यहीँ कबोल गरिन्छ र त्यहीँ धुम्रा नाच नचाइन्छ,’ उनी भन्छन्, ‘चाचैर, विरहैन, परातिका गीतहरूमा नाच नाचिन्छ । चाचैर भनेको हर्षमा गाइने गीत हो । पराति भनेको झिसमिसे साँझमा गाइने परम्परा हो । र, विरहैन भनेको विरहमा परेको क्षणको कथा हो ।’

खासगरी ग्रामथानको संरक्षण र कुलदेवताको नाममासमेत गीत गाएर नाच नाचिने उनले सुनाए ।

उनका अनुसार पहिले पहिले पुरुषहरू बढीजसो नाचको नेतृत्व गर्थे । महिला स्वयंले नै नेतृत्व गरी ‘नटुवा’ (नाच) प्रस्तुत गर्ने उनी बताउँछन् । महिलाहरू धुम्रा नाचमा अब्बल बनेको र उनीहरूको सहभागिता प्रभावशाली बनेको चौधरीले उल्लेख गरे । उनले थपे, ‘पहिले पहिले पुरुषहरू नै महिला नटुवाका रूपमा नाच्थे । तर समयसँगै महिला स्वयं अगाडि बढे । उनीहरूले नृत्य मात्र होइन, गीत, अभिनय र नेतृत्वमा पनि आफ्नो सशक्त उपस्थिति जनाए । झ्याल र मृदंगको तालमा उफ्रिँदै, घुम्दै नाच्ने यी महिलाहरू आज गाउँको गर्व बनेका छन् ।’

उनका अनुसार धुम्रा नाच केवल मनोरञ्जन मात्रै होइन, धार्मिक आस्था, सांस्कृतिक पहिचान र लोकभावनाको समन्वय हो ।

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

ग्रामथान संरक्षण समिति रामधुनीकी अध्यक्ष सीता थरूनीका अनुसार मौलिक परम्परा लोप हुन नदिनका लागि नयाँ पुस्तालाई आकर्षित गरिएको छ । ‘बुढापाका गर्दैछन् भनेर भन्दै गर्दा पनि युवाहरू जाग्नुपर्छ भन्ने बोध भएको छ,’ उनी भन्छिन्, ‘नयाँ पुस्ता मौलिक परम्परा जगेर्ना गर्न केन्द्रित हुँदा मौलिक र ऐतिहासिक परम्परा जोगिने विश्वास गर्न सकिन्छ ।’

उनका अनुसार धुम्रा नाचको पुस्ता हस्तान्तरण भइराखेको छ ।

‘धुम्रा नाचको जरा थारू समुदायको गहिरो सामाजिक संरचना र पुर्खाहरूको जीवनशैलीमा रोपिएको छ । धुम्रा नाच दुई–तीन किसिमका हुन्छन् । कहिलेकाहीँ पुर्खाहरूको, पितृको स्मरणमा, कहिले मनोरञ्जनको रूपमा, कहिले दिनभरको काम सिध्याएपछि रमाइलो स्वरूपमा नाचिन्छ,’ उनी भन्छिन्, ‘पहिले पहिले यस्ता कार्यक्रममा पटुवारीहरूको संयोजनमा सम्पन्न हुने गथ्र्यो । जसमा समुदायका सबै उमेरका मानिसहरूको सहभागिता हुन्थ्यो ।’

उनका अनुसार थारू समुदायका हवेलीवाला घर थिए । उक्त समुदायमा प्रथाजनित कानुन थियो । जुन ग्रामथानका अगुवाहरूले पटुवारी राख्थे । ग्रामथानका अगुवाहरू जो धार्मिक–सामाजिक नेता थिए । उनीहरूले पटुवारी नामक सहयोगीहरू राख्थे । जसले गाउँको धार्मिक, सांस्कृतिक र प्रशासनिक कामहरू सम्हाल्ने गर्थे ।

खासगरी ठूला–ठूला हवेलीहरूमा पटुवारी राख्ने प्रचलन थियो ।

‘धेरैजसो नाच गाउँको सामाजिक चौतारीमा, चिया कटुवारी हेर्ने ठाउँमा वा हवेलीवाला घरहरूमा आयोजना गरिन्थ्यो, जहाँ ठूलो आँगनमा गाउँलेहरू भेला भई गीत–संगीतमा डुब्थे,’ उनले विगत स्मरण गरिन्, ‘एक लहरमा एकै किसिम तीन–चार वटा घर हुन्थे र दरबाजा नै चार–पाँच कट्ठा जमिनमा हुन्थ्यो । त्यही दरबाजामा सबैलाई बोलाइन्थ्यो र भगवानको गीत गाएर त्यसमै रमाइन्थ्यो ।’

दरबाजाको अर्थ भनेको आँगन हो । थारू समुदाय यहाँको भूमिपुत्रसमेत भएका कारण उनीहरूसँग जग्गा जमिन पर्याप्त थिए । जसले एउटै आँगन चार–पाँच कट्ठा जमिनमा हुनु र पूरै गाउँले त्यहाँ भेला भएर मनोरञ्जन गरिने थरुनी बताउँछिन् । खासगरी पहिले पहिले सिनेमा हल नहुनु, आधुनिक गीत नहुनु र अहिलेकोजस्तो फेसन नहुँदासमेत मौलिक परम्पराले ध्यान खिच्ने गरेको उनले उद्धृत गरिन् ।

धुम्रा नाच पितृ खुसी पार्नका निम्ति स्मरणमा, छेवरमा, बिहेमा, कुनै कुनै भाकलमा प्रस्तुत गरिने उनले उद्धृत गरिन् । ‘कसै–कसैको देउतालाई धुम्रा नाच नभइकन हुँदैन । धुम्रा नाच थारूहरूको पहिचान नै हो । पहिला चाडपर्वको अवसर पारेर दरबाजामा सबैलाई बोलाइन्थ्यो । केटा मान्छे नै केटी बनेर नाच्ने प्रचलन थियो । अहिले भने केटीहरू पनि अब्बल भएका छन्,’ उनले भनिन् ।

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

पोसाकले बोल्थ्यो नाचको कथा
धुम्रा नाचको सौन्दर्य मात्र ताल र धुनमा सीमित छैन । त्यसमा लुकेको हुन्छ, नाच्ने पात्रको पोसाक, जुन स्वयं एक मौन भाषाजस्तै हुन्छ । पहिला धुम्रा नाचमा पुरुषहरूले नै महिला पात्र बनेर नाच्ने प्रचलन थियो । ती पात्रहरूलाई चिन्ने मुख्य माध्यम थियो– घाघ्रा । घाघ्रा कुनै सामान्य कपडा नभई तीनदेखि चार तहको, हातैले सिइएको सूतीको कपडा हो । जुन रातो र हरियो रंगको हुने गरेको छ । जसलाई देखेर गाउँलेहरू भन्थे, ‘यो त नटुवा हो ।’ अर्थात् नाचमा नटको भूमिका खेल्ने पात्र ।

घाघ्राको गहिराइ, मोटाइ र रंगहरू नै पहिचानको संकेत हुन्थे । को–को पात्र हुन्, के भूमिका खेल्ने हुन् भन्ने कुरा घाघ्राबाटै बुझिने गरेको थरुनी बताउँछिन् । उनले थपिन्, ‘आजकाल मोडेल डिजाइनहरू आएका छन्, केही परिवर्तन भएको छ । तर पारम्परिक घाघ्राको ठ्याक्कै रूप भने अझै पनि महत्वपूर्ण मानिन्छ ।’

धुम्रा नाचमा प्रयोग हुने पोसाकको गरिमा नेवार समुदायले प्रस्तुत गर्ने लाखे नाचमा प्रयोग हुने पोसाकजस्तै आवश्यक मानिन्छ ।

पात्र, कथा र परिवेश सबै पोसाकमार्फत दर्शकसामु झल्किने उनी बताउँछिन् ।

खासगरी रामधुनीमा थारू कल्याणकारीको टिम, थारू चलचित्र संघ, पौराणिक धुम्रा नाचसहितको टिमले धुम्रा नाच प्रस्तुत गर्ने गरेका छन् । पूर्वजहरूले बोलेको शब्द ठ्याक्कै नबुझिएपनि लय र संगीताले नाच’bout प्रस्ट हुने उद्धृत गर्दै उनले भनिन्, ‘अग्रजहरूको शब्द र भाषा नै बुझिँदैनथ्यो । तर, करिब पाँच वर्षयता नयाँ पुस्ता यसमा आकर्षित भएपछि पाहुनाहरूले पनि भाषा बुझ्न थालेका छन् ।’

धार्मिक भाकल
धुम्रा नाच केवल सांस्कृतिक मनोरञ्जन मात्रै होइन, यो भाकल पूरा गर्ने धार्मिक आस्था पनि हो । कसै–कसैको घरमा ‘देउता बिग्रियो’ भन्ने भएका कारण रातभर नाच्ने भाकल गर्ने चलन अझै छ । त्यस्तो अवस्थामा धुम्रा नाच टोलीलाई विशेष निम्तो दिइन्छ । र, भाकल गर्ने व्यक्ति स्वयम् पनि नाचमा सहभागी हुन्छन् । यसले नाचलाई एक किसिमको धार्मिक तपस्यामा रूपान्तरण गर्ने उनले उद्धृत गरिन् ।

पहिलेका दिनमा नाचमा नटुवा दुई जना मात्रै हुन्थे । जसले राम–कृष्ण, राधा–जोकर, उँधो जस्ता विविध पात्रको भूमिका खेल्थे । नारदमुनि जस्तो ‘कुरा मिलाउने’ पात्रले कथा–संवादलाई बाँध्ने भूमिका खेल्थ्यो । आज पनि केही नृत्य प्रशिक्षण केन्द्रबाट १५ दिनको तालिम लिएर युवाहरूले यो परम्परा सिक्न थालेको उनले जनाइन् ।

खासगरी खस समुदायको रत्यौली नाच लोप हुने संघारमा पुगिसेको अवस्थामा थारू समुदायको धुम्रा नाच जोगाउनुपर्नेमा उनले जोड दिइन् । ‘जुनसुकै समुदायको पुराना संस्कृतिहरू जोगाउनुपर्छ । ’cause नाचहरू केवल नृत्य होइनन्, तिनमा लुकेको समाजको इतिहास र पहिचान झल्किन्छ । कुनै पनि संस्कृति लोप हुँदै गएको छ भने त्यो सांस्कृतिक संरक्षणका निम्ति चिन्ताको विषय हो,’ उनले भनिन् ।

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

राधाकृष्णको स्मृतिमा, देवी देउताको धुनमा
धुम्रा नाच थारू समुदायको लागि केवल परम्परा होइन, श्रद्धा र स्मृतिको मिलन हो । यो नाच प्रायः खेतीपाती सिद्ध्याएपछि, जब गाउँमा फुर्सद र हर्षको वातावरण छाउँछ, तब गरिन्छ । कहिलेकाहीँ छठपर्वको घाटमा, विशेषतः कुनै इच्छा पूरा भएपछि, भाकल गरेर यो नाच गरिन्छ । जहाँ राधाकृष्णको स्मृति, देवीदेवताको गीत, र रासलीला एउटै साँझमा समाहित हुन्छन् । धुम्रा नाचमा कृष्ण भगवानका बाल–लीला देखि प्रेमकथासम्म, सबै कुरा दृश्यात्मक रूपमा प्रस्तुत गरिन्छ ।

आज सिनेमा र टेलिभिजन सजिलै उपलब्ध भएपनि पहिलेको समयमा यही नाच नै पौराणिक कथा बुझ्ने, देख्ने र अनुभूत गर्ने माध्यम थियो । त्यसैले, धुम्रा नाच केवल मनोरञ्जन मात्रै थिएन, यो मौलिक र जीवित पाठशाला थियो । जहाँ आस्थाले, संगीतले र नाटकले थारू समुदायलाई आपसमा बाँधेको थियो ।

धुम्रा नाच कुनै संग्रहालयमा थन्किएको स्मृति होइन । अहिले पनि यो नाच जीवन्त छ । घाट घाटमा बज्ने तालमा, छोरीहरूले गाउने लोकभाकामा, र विश्वासले भरिएका आँखाहरूमा भेटिन्छ धुम्रा नाच । आजका पुस्ताले धुम्रा नाचलाई संरक्षण गर्न सके यो केवल एउटा नाच होइन, संस्कृतिको अभिमान बन्न सक्ने बताइन्छ ।

पूर्वको सिद्धभूमि : रामधुनी मन्दिरको इतिहास
सुनसरी जिल्लामा पर्ने रामधुनी मन्दिर प्रसिद्ध धार्मिक स्थल हो । रामधुनी मन्दिर खासगरी बाला चतुर्दशी, रामनवमीका दिन भीड हुने गर्छ । शतबीज छर्नेहरूको भीड लाग्ने यस मन्दिरमा जतिबेलै धुवाँ आइरहेको मुढा हेर्नेहरूको पनि भीड लाग्छ । भगवान रामको गुरुकुल रहेको र शिक्षा अध्ययन गरेको थलो हो भन्ने विश्वास छ ।

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

रामधुनी मन्दिर जति प्रसिद्ध छ, त्यति नै यो पौराणिक र ऐतिहासिक पनि छ । वाल्मीकि रामायणका अनुसार ऋषि विश्वामित्र क्षेत्रीय थिए । उनले कौशिकी नदीका तटमा घोर तपस्या गरे र आफूलाई ब्राह्मणका रूपमा परिणत गरे । त्यति मात्रै होइन, उनले अझ कठोर साधना गरेर गायत्री मन्त्रको प्राप्ति गरे । कठोर साधना गरेर गायत्री मन्त्र प्राप्त गरेको यही कोशी किनारमा विश्वामित्रको आश्रम थियो ।

सप्तकोशीको जलले सिञ्चित र पहाडको फेदीमा फैलिएको मैदानी क्षेत्र घनघोर जंगलका रूपमा प्रख्यात थियो । यहाँ विश्वामित्र, ऋष्यश्रृङ्गलगायतका ऋषिमुनीहरूको आश्रम थियो । यो वन ठूलाठूला शाकाहारी जनावरहरूको वासस्थान थियो । क्षेत्रलाई वाल्मीकि रामायणको बालकाण्डको २९ औँ सर्गमा सिद्धाश्रम भनेर उल्लेख गरिएको छ ।

करिब सवा तीन सय वर्षअघि यो क्षेत्रमा सिद्ध महापुरुष बनस्खण्डी बाबा तपस्या गर्न आए । उनी उदासी सम्प्रदायबाट दीक्षित थिए । गुरु–शिष्य परम्पराअनुसार उनले यहाँ मन्दिर स्थापना गरी निरन्तर पूजा र यज्ञ परम्पराको थालनी गरे ।

जंगलको बीच भागमा रहेका जमिनमुनिका प्रज्ज्वलित यज्ञकुण्डहरूलाई उत्खनन गरेर उनले संसारसामु यो भूमिको पवित्रता उद्घाटित गरे । बनस्खण्डी बाबाको उत्खननले प्राचीन ग्रन्थहरूको कुरा पुष्टि ग¥यो । यही क्षेत्र हो जहाँ भगवान् श्रीरामले ऋषि विश्वामित्रसँग शास्त्र र शस्त्रको अध्ययन गरेका थिए । जहाँबाट उनले सुबाहुको वध र मरिचीलाई खेदाएर पवित्र भूमि बनाएको इतिहास छ ।

यसै आधारमा, बनस्खण्डी बाबाले यसलाई ‘रामधुनी’ नाम दिएको पौराणिक कथामा उल्लेख छ ।

यो क्षेत्रमा ऋषि विश्वामित्रसहित धेरै ऋषिहरूका आश्रमहरू थिए । त्यसमध्ये एक स्थायी आश्रम थियो । ऋष्यश्रृङ्गको, जसले राजा दशरथको पुत्रेष्टि यज्ञको नेतृत्व गरेका थिए । पुराणअनुसार, यही यज्ञको फलस्वरूप राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको थियो । ऋष्यश्रृङ्गको जन्म पनि कोशी नदीको किनारमा भएको थियो । जहाँ मृगिणीले ऋषिको वीर्य पान गरेकी थिइन् ।

आजको दिनमा, रामधुनी क्षेत्र केवल धार्मिक होइन, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय सर्किटमा पनि जोडिँदै गएको छ ।

धुम्रा नाच, ग्रामथानको परम्परा, र थारू संस्कृतिको जीवित रूपसँगै रामायणको स्मृतिसँग बाँधिएको यो भूमि एक जीवित तीर्थ रहेको रामधुनी बाबा वनखण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की बताउँछन् । कार्कीका अनुसार यहाँ एक सय आठ वटा गाई र एक सय आठ वटा धाराका कारण पनि आम मानिसको रोजाइमा पर्ने गरेको छ ।

धुम्रा नाच : थारू समुदायको मौनतालाई छोएको ताल : RajdhaniDaily.com

होमस्टेमा धुम्रा नाच
पछिल्लो समय रामधुनी मन्दिर नजिकै रामधुनी सामुदायिक होमस्टेसमेत सञ्चालनमा आएको र त्यहाँ धुम्रा नाचको विशेष महत्व हुने गरेको कार्की बताउँछन् । रामधुनी नगरपालिका–४ मा पर्ने उक्त ठाउँमा स्थानीय थारू समुदायका महिलाहरू संगठित भएर होमस्टे सञ्चालनमा ल्याएका छन् ।

रामधुनी सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना चौधरीका अनुसार हाल सात वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । जहाँ धुम्रा नाच प्रस्तुत हुने गरेको छ । उनले भनिन् ‘होमस्टेमा आउने पाहुनाहरूका लागि धुम्रा नाच प्रस्तुत गर्छौँ । पाहुनाको मागअनुसार नाच प्रस्तुत गरिन्छ । जसले संस्कृतिको उत्थानसँगै पाहुनालाई मनोरञ्जन दिन्छ ।’

उनले होमस्टेमार्फत संस्कृतिको उत्थान गरिने र उक्त संस्कृतिका कारण पनि होमस्टे सञ्चालन प्रभावकारी हुने भएकाले स्थानीयहरू संगठित भएको सुनाइन् ।

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment