धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार



१७ फागुन, जनकपुरधाम । खरले छाएको फुसको जीर्ण घर । छानोको एक कुनामा टाली । माटोले लिपिएको भित्तो । ढोकाको ठाउँमा च्यातिएको पुरानो कपडा । वर्षामा पानी नचुहियोस् भनेर छानोमा खरमुनि त्रिपाल ओछ्याइएको स्पष्ट देखिन्छ ।

यही घरमा बस्छ, धनुषाधाम नगरपालिका–२ धनुषाधामकी कैलीदेवी सदाको १० जनाको परिवार । चुनावमा कयौं पटक मत खसालिन् । तर उनको जीवनमा कुनै परिवर्तन आएन ।

‘गरिब घरमा जन्मिएपछि दु:ख त झेल्नै पर्छ । चुनावमा धेरै पटक भोट खसाएँ, तर मेरो घरको हालत उस्तै छ,’ शुक्रबार दिउँसो आँगनमा बसेकी कैलीदेवीले भनिन् । अन्य दलित बस्तीमा जनता आवासका घर बनेको सुनेकी उनी अझै पनि आशामै छिन् । विपन्नताका कारण सन्तान पढाउन नसकेकी कैलीदेवीले अहिले आफ्ना दुई नाति–नातिनालाई विद्यालय पठाउन थालेकी छन् । दुई छोरा भारतमा मजदुरी गर्न थालेपछि परिवारको गुजारा चलिरहेको छ ।

‘वर्षाको बेला चुहिने घरमा बस्न निकै अप्ठ्यारो हुन्छ । नेता चुनावमा मत माग्न आएपछि अनेक आश्वासन दिन्छन्, जितेपछि गरिबलाई फर्केर हेर्दैनन्,’ उनले गुनासो गरिन् । उम्मेदवार घरदैलो गर्दै मत माग्न आउँदा दिक्क लाग्ने उनको भनाइ छ ।

२१ फागुनमा हुने चुनावका लागि धनुषा क्षेत्र नम्बर १ मा विभिन्न दल र स्वतन्त्र गरी ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरू मत माग्दै घरदैलो गरिरहेका छन् । तर विगतका चुनावमा गरिएका वाचा र जितेपछि केही नगरेको भन्दै जनगुनासो बढ्दो छ ।

मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत धनुषा–४ को सखुवा–महेन्द्रनगर र धनुषा–१ इच्छापुर जोड्ने जलाद नदीमा ८ वर्षदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा दक्षिण र उत्तरी छेउबाट यात्रु आउजाउ गर्छन् । शुक्रबार मध्याह्न खोलाको बाटो हुँदै पश्चिमतर्फ साइकलमा जाँदै गरेका धनुषाधाम नगरपालिका–५, पर्वताका उपेन्द्र रामले दिक्दारी पोखे ।

‘हेर्नुस्, हामीलाई वारपार गर्न कति दु:ख छ । धुलो उड्छ । अहिले त धुलो खाएर हिँड्न सकिएला, तर वर्षायाममा बाढी आएपछि आउजाउ नै बन्द हुन्छ । बाढी तरेर मात्र वारपार गर्न सकिन्छ, ज्यान जोखिममा पर्छ,’ उनले गुनासो गरे ।

रामको भनाइमा चुनावमा उम्मेदवारहरू आउँदा जितेपछि पुल बनाइदिने प्रतिबद्धता दशक अघिदेखि गर्दै आएका छन् । तर जितेर गएपछि फर्केर हेर्दैनन् । ‘८ वर्षदेखि यस्तै अलपत्र छ । हामी सधैं दु:ख भोग्न बाध्य छौं,’ उनले भने ।

पुराना दलका कारण यो अवस्था आएको भन्दै अब नयाँ रोज्ने मनस्थितिमा छन् उपेन्द्र ।

त्यही बाटो भएर गइरहेका क्षिरेश्वरनाथ नगरपालिका–९ औरहका युवकले श्रवणकुमार गडेरी पुल नहुँदा सँधै दुर्घटनाको जोखिम हुने, सवारीसाधन खोलामा फसिरहने गरेको सुनाए । पुराना दलको र असक्षम नेतृत्वको कारण यो अवस्था रहेको भन्दै उनले परिवर्तनको पक्षमा मतदान गर्ने सुनाए ।

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

उपेन्द्र र श्रवण मात्र होइनन्, जलाद नदीमा पुल नहुँदा क्षेत्र नम्बर १ का इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौं गाउँका हजारौं यात्रु दैनिक सास्ती खेप्न बाध्य छन् ।

रोचक कुरा, ८ वर्षदेखि निर्माणाधीन यो पुलका ठेकेदार किशोरी साह कमल धनुषा–१ मा रास्वपाका उम्मेदवार छन् ।

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७४ असार १९ गते १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि पप्पु–कमल जेभी निर्माण कम्पनीसँग १२ करोड ३५ लाख ६३ हजार २२४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७६ पुस १९ गते काम सम्पन्न गर्ने लक्ष्य थियो । किशोरी साह कमल उक्त निर्माण कम्पनीका मालिक हुन् । पुल तयारको लागि एउटा स्ल्याब तयार गर्न बाँकी छ । दैनिक ८ जना कामदारले काम गर्ने गरेका छन् । तर कहिलेसम्म बन्छ त्यहाँ कार्यरत कामदारलाई नै थाहा छैन ।

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

धनुषाधाम नगरपालिका–२, मंगलपुरका ७० वर्षीय राजदेव महतो रातिराति खेतमै बनाएको टहरा (खोपरी)मा सुत्ने गर्छन् । पछिल्लो समय जंगली जनावर निलगाई (घोरगदहा) र बदेलको आतंक बढेकाले उनीहरूलाई बाली जोगाउन मुस्किल छ ।

‘मिहिनेत गर्‍यो, खेतीमा लगानी गर्‍यो । तर राति घोडगधा र जंगली सुँगुर आएर बाली खाइदिन्छन् । बाली जोगाउन खेतमै सुतेर पहरा दिनुपर्छ, नत्र हामी कसरी बाँच्ने ?,’ शुक्रबार दिउँसो खेतमा बनाएको झुपडी (खोपरी)मा बसेका उनले भने ।

उनी जस्तै खेत आसपासका अन्य किसानहरूले पनि खोपरी बनाएर रातिराति पहरा दिने गरेका छन् ।

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

राजदेवका अनुसार विगतमा जितेर गएका नेताहरूले किसानका समस्यामा खासै काम गरेका छैनन् । जंगली जनावरको आतंक बढ्दै जाँदा पनि दल र नेताहरू मौन छन् । पछिल्लो समय जंगली जनावरको बढ्दो आतंकले किसानको जीवन झन् संकटपूर्ण बन्दै गएको छ । तर यस विषयमा दल र उम्मेदवारहरूको चासो देखिँदैन ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा चरम उत्खनन हुन्छ । नदी र वरपरका वस्ती संकटग्रस्त बन्दै गएपछि गणेशमान चारनाथ नगरपालिकाका बली शर्मा चिन्तित छन् । उनी राति वा दिउँसो जोखिम मोलेर अवैध उत्खननको भिडियो–फोटो धनुषाका सीडीओ, एसपीसहित सम्बन्धित निकायलाई पठाउँछन् । नेताहरू गुहार्छन् । तर कसैले सुन्दैनन् । यो मुद्दा कुनै उम्मेदवारको प्राथमिकतामा समेत परेको छैन ।

‘कमला नदी उत्खननबारे सबैलाई गुहारें । कसैले सुनेनन् । उम्मेदवारको मुद्दा पनि बन्दैन । सबैको मिलिभगत छ,’ उनी भन्छन् ।

पूर्वाधार र कृषि क्षेत्रमा केही सिंचाइको काम भए पनि शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रमा गुणात्मक सुधार देखिँदैन ।

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवारचुनावमा पुरानै प्रतिस्पर्धी  

धनुषा–१ बाट पुरानै दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामपल्टन साह, नेपाल कम्युनिस्ट पार्टीबाट मातृकाप्रसाद यादव, नेकपा एमालेबाट रामचन्द्र मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट किशोरी साह कमल, जसपा नेपालबाट दीपक कार्की, जनमत पार्टीबाट ब्रह्मदेव महतो, राप्रपा नेपालबाट मनोज मल्ल ठकुरी, आम जनता पार्टीबाट इन्द्रजित साफी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादव उम्मेदवार छन् ।

यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएका थिए भने २०७९ मा जसपा नेपालका दीपक कार्की निर्वाचित भएका थिए । यसका साथै रास्वपाका किशोरी साह कमल र राप्रपाका मनोज मल्ल ठकुरी यस क्षेत्रका पुराना प्रतिस्पर्धी हुन् ।

२०७९ को निर्वाचनमा जसपा नेपालका दीपक कार्कीले २७ हजार ४३१ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवलाई पराजित गरेका थिए । मातृकाले २१ हजार ४८३ मत पाएका थिए ।

तेस्रो स्थानमा जनमत पार्टीबाट उम्मेदवार बनेका (हाल रास्वपा उम्मेदवार) किशोरी साह कमलले १४ हजार ४६७ मत प्राप्त गरेका थिए भने चौथो स्थानमा राप्रपा उम्मेदवार मनोज मल्ल ठकुरी ८ हजार २७३ मतसहित सीमित भएका थिए ।

२०७४ सालको निर्वाचनमा मातृकाले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार दीपक कार्कीलाई ९ हजार १२२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए । मातृकाले २६ हजार ४१८ मत प्राप्त गर्दा कार्कीले १७ हजार २९६ मत पाएका थिए ।

कांग्रेस उम्मेदवार रामपल्टन साह नयाँ अनुहार हुन् । रास्वपा उम्मेदवार किशोरी साह कमल २०७४ मा धनुषा–१ (क) बाट प्रदेशसभा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए । २०७९ मा टिकट नपाएपछि उनी जनमत पार्टी प्रवेश गरी निर्वाचनमा होमिएका थिए । त्यसकारण उनीमाथि अवसरवादीको आरोप छ ।

एमाले उम्मेदवार रामचन्द्र मण्डल मधेश प्रदेशका निवर्तमान सभामुख हुन् । उनी ३ मंसिर २०८२ मा पदमुक्त भएपछि सांसद पदबाट राजीनामा दिएर पुन: चुनावी मैदानमा उत्रिएका छन् । मण्डल यसअघि धनुषा–१ (ख) बाट २०७४ मा माओवादी केन्द्रबाट र २०७९ मा एमालेबाट निर्वाचन जितेका थिए ।

२०७९ मा ७४ मत प्राप्त गर्दै मधेश प्रदेशसभाको सभामुखमा निर्वाचित भएका उनले करिब तीन वर्ष प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाए ।

यसपटक धनुषा–१ मा मुख्यत: पुरानै प्रतिस्पर्धीबीच कडा टक्कर हुने देखिन्छ । २०७९ मा विजयी जसपा नेपालका दीपक कार्कीलाई जित दोहोर्‍याउन चुनौती छ ।

नयाँ लहरका कारण रास्वपा उम्मेदवार किशोरी साह कमलको आधार बलियो देखिए पनि विगतको दलबदल र अलपत्र योजनाका प्रश्नले उनी घेरिएका छन् ।

मधेश सरकारको अस्थिर राजनीति र नेतृत्वका अभिव्यक्तिका कारण एमाले उम्मेदवार रामचन्द्र मण्डललाई पनि चुनौती थपिएको छ । प्रतिस्पर्धामा रहेका नेकपा उम्मेदवार मातृकाप्रसाद यादवप्रति पनि विगतमा सन्तोषजनक काम नगरेको आरोपसहित असन्तुष्टि देखिन्छ ।





Source link

Leave a Comment