प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीहरूलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीहरूको पक्राउ संख्या तीव्र रूपमा बढाउन निर्देशन दिएको छ। हालको दैनिक केही सय पक्राउबाट संख्या बढाएर कम्तीमा १,२०० देखि १,५०० पुर्याउने लक्ष्य राखिएको छ। ट्रम्प हालसम्मको सामूहिक निर्वासन अभियानको परिणामबाट असन्तुष्ट रहेको बताइएको छ।
आइतबारमात्र आइसले एकैदिनमा ९५६ जनालाई पक्राउ गरेको थियो । यो अघिल्लो दिनको तुलनामा अत्यन्तै धेरै हो । शनिबार आइसले २८६ जनालाई र शुक्रबार ५९३ जनालाई पक्राउ गरेको थियो । बिहिबार यो संख्या ५३८ रहेको थियो ।
शनिबार वरिष्ठ आइस अधिकारीहरूसँगको बैठकमा यस नयाँ लक्ष्यबारे जानकारी गराइएको थियो। बैठकमा प्रत्येक क्षेत्रीय कार्यालयले दैनिक ७५ जनालाई पक्राउ गर्नुपर्ने निर्देशन दिइएको थियो, र यदि यो लक्ष्य पूरा नभएमा अधिकारीहरूलाई कारबाही गरिने बताइएको छ।
आइसका अधिकारीहरूले नयाँ आदेशले उनीहरूलाई अझ व्यापक रूपमा पक्राउ गर्न बाध्य पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गैरकानूनी कारबाही र नागरिक अधिकार उल्लङ्घनका गम्भीर आरोपहरू निम्त्याउन सक्ने बताइएको छ।
तर, ह्वाइट हाउसका बोर्डर प्रमुख टम होम्यानले विगत केही सातादेखि सामूहिक पक्राउ नगरिने र आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई प्राथमिकता दिने बताएका थिए। तर, नयाँ कोटाले आइस अधिकारीहरूलाई दबावमा पारेर अपराध नगरेका आप्रवासीहरूलाई समेत पक्राउ गर्न बाध्य पार्न सक्छ।
आइसले आइतबारदेखि विस्तारित लक्ष्य अभियान सुरु गरेको घोषणा गरेको छ, जसअनुसार शिकागोमा व्यापक रूपमा पक्राउ सुरु गरिएको छ। अन्य संघीय निकायहरू, जस्तै एफबीआई, आइसलाई यस अभियानमा सहयोग गरिरहेका छन्।
गत हप्ता ट्रम्प प्रशासनले विद्यालय, अस्पताल, र मठ-मन्दिर जस्ता संवेदनशील क्षेत्रमा पक्राउ नगर्नेसम्बन्धी पुरानो निर्देशन खारेज गरेको थियो। अब कागजात नभएका आप्रवासीहरूलाई यी क्षेत्रहरूबाट पनि पक्राउ गरिने भएको छ। त्यस्तै, ट्रम्प प्रशासनले अमेरिका प्रवेश गरेको दुई वर्ष नपुगेका आप्रवासीहरूलाई देशको जुनसुकै स्थानबाट पक्राउ गरी अदालतमा पेश नगरी तीव्र गतिको देशनिकालामा राख्ने नियम पनि लागू गरेको छ।
ट्रम्प समर्थकहरूले यी कदमलाई सामूहिक निर्वासन अभियान सफल बनाउन गरिएको ठानेका छन्। तर, पूर्व आइस अधिकारीहरूले भने गम्भीर अपराधीहरू पक्राउ गर्न समय, स्रोत, र योजना आवश्यक पर्ने भएकाले कोटाले आइस अधिकारीहरूलाई सहज रूपमा भेटिने व्यक्तिहरूलाई लक्षित गर्न प्रेरित गर्न सक्ने चेतावनी दिएका छन्।
यसैबीच, ट्रम्प प्रशासनले आइस अधिकारीहरूलाई चौबीसै घण्टा पक्राउ अभियान चलाउन निर्देशन दिएको छ। उनीहरूको व्यक्तिगत बिदा पनि रद्द गरिएको बताइएको छ।
हाल आइससँग करिब ५,५०० अधिकारीहरू छन्, जसले देशभर अध्यागमन कानून कार्यान्वयन गर्छन्। ट्रम्प प्रशासनले एफबीआई, यूएस मार्शल्स, लागूऔषध नियन्त्रण निकाय, र अन्य संघीय निकायका अधिकारीहरूलाई समेत अध्यागमन कारबाहीमा संलग्न गराउँदैछ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च अधिकारीहरूले भने, “राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई दिएको सामूहिक निर्वासनको वाचा पूरा गर्न हामी प्रतिबद्ध छौँ। विगतमा आप्रवासी खोजी र पक्राउलाई उचित स्रोत उपलब्ध गराइएको थिएन। अब यो समस्या समाधानको दिशामा ठुलो कदम चालिएको छ।”
पूर्व आइस अधिकारीहरूले भने गम्भीर अपराध अनुसन्धानमा संलग्न विशेष एजेन्टहरूलाई अध्यागमन कारबाहीमा खटाउँदा अन्य गम्भीर अपराध अनुसन्धान प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।