असोज १६ गतेको घामले जगतलाई छुनासाथ म पनि हुर्दुराउँदै उठेँ र डे–प्याक भिरेँ। रणबहादुरले पनि ट्रेकिङ् किट (ठूलो झोला) च्यापे र बिहानको सातै बजे हामीले ‘हिमाली होटल’ को यो आँगनलाई छोड्यौँ। ढुङ्गे बजारको बीचमा एउटा माने देखिँदैछ। ढुङ्गे–गल्ली पनि मनाङको जस्तै छ–तर एउटा मात्र छ। मनाङमा त यस्ता ढुङ्गे–गल्ली कति छन् कति–जता हेरे पनि ढुङ्गे–गल्ली मात्र देखिन्छन् त्यहाँ त!
मकैबारी छ बाटोको दायाँबायाँ। मकैबारीलाई बचाउन पूरै चित्राको बार लगाइएको छ। ढुङ्गे सिँढीहरू क्रमशः ओरालोतिर झर्दैछन् र हामी फेरि नदीको छेउमा पुग्नै लागेका छौँ। तर हामीले अकस्मात् पुनः एउटा सानो ढिस्को चढ्नुपर्ने भयो। चढिसकेपछि पो थाहा भयो–हामीले अब जगतको झोलुङ्गे पुल तर्नुपर्ने बेला भएछ।
अहिलेको बाटो असाध्यै राम्रो छ। पहरोलाई ‘ऋ’ आकारमा काटेर निकालेको यो बाटोमा माथि र तल एउटै ढुङ्गो छ। सिङ्गै पहरो नै एउटै ठूलो ढुङ्गो हो र त्यसैलाई कपेर छिर्ने ठाउँ बनाइएको छ। एउटै ढुङ्गो हुनाले हिँड्ने ठाउँको छपनी बिग्रेला कि भन्ने पीर पनि छैन। कस्तो मज्जाको दृश्य–जुन ढुङ्गामा टेकेर हिँड्दै छौँ नि, त्यही ढुङ्गो छाता भएर आएको छ हाम्रा शिरमाथि। हामी त एकछिनका लागि भए पनि शेषशायी नारायण पो भएछौँ त! फरक कति मात्र छ भने हामी ‘शयन’ मुद्रामा छैनौँ, बरू देङ पुग्ने लक्ष्य लिएर निरन्तर ‘गमन’ मुद्रामा उद्यत छौँ।
तर हामी धेरैबेर यो ढुङ्गामा हिँडिरहन पाएनौँ। यो शृङ्खलाको अन्त्य तब भयो जब स्वर्गीय अम्बर गुरूङको सम्झनामा बनाइएको चौतारो आयो। एउटा अम्बर गुरूङ पूरै नेपाली साङ्गीतिक क्षेत्रको उज्यालो नक्षत्र भएर बाँचिरहेछन्, स्तरीय नेपाली आधुनिक सङ्गीतको पर्याय बनेर बाँचिरहेछन् तर यी अम्बर गुरूङचाहिँ यहाँबाट बाहिर फैलिनै नपाई दैवका प्यारा भइसकेछन्। अनि यही बिन्दुबाट बाटोले पनि फेरि भीरबाट तल झरेर बुढीगण्डकीको किनारामै फैलिने अवसर पाएको रहेछ।
अलि पर डाँडामा दुई घर देखिए। “हो, त्यही हो सल्लेरी।” रणबहादुर आलेले आफ्नो दाहिने हातको चोर औँलो तेर्स्याउँदै भने। देख्दादेख्दै हामी पनि ‘भालुगाउँ’ जाने बाटोमा जोडिन आइपुग्यौँ। ‘भालुगाउँ’ जानु पर्दाचाहिँ अब यो बाटोबाट जानुपर्छ रे। धेरै भालु लाग्ने हुनाले हुनुपर्छ गाउँको नाम नै यस्तो रहन पुगेको हो कि? आलेले हाँस्दै लगाएको अर्थको सार–सङ्क्षेप यस्तै थियो।
ओहो! यहाँ त अचम्मै पो रहेछ त! कहाँको ‘जगत’ मा जति मात्रै हुनु? यहाँ त गाउँको पूरै बाटोमा नै चिल्ला र चेप्टा ढुङ्गाहरू छापेका रहेछन्। सबै बाटो नै काठमाडौँका हुनेखानेहरूको आँगनजस्तो छ। कति राम्रो, कति सफा अनि कति व्यवस्थित! साँच्चै नै सल्लेरी त सोलुकै सल्लेरी जस्तै सुन्दर पो छ कि क्या हो?
गाउँमै पुगियो। बीचमा दुइटा माने, सामुदायिक शौचालयहरू, पानीका धाराहरू, बीचमा अलिकति खाली ठाउँ राखेर दुईतिर बाँडिएका झण्डै १५/१६ घरघुरीहरू। आँगनभरि मकैको दाइँ र बाटाभरि खेलिरहेका नानीहरू। मकैको बाली भित्र्याउने समय भएको रहेछ यहाँ, यतिबेला। सबै आँगनमा बग्रेल्ती छन् मकैका नाङ्गा घोगाहरूको रेलो। सह्यारी नसक्नु गरी फालिएको छ मकै-जताततै। त्यसैले मैले सुरूमै मकैको ‘दाइँ’ भनेको क्या!
दुःख आफ्नै ठाउँमा होला। दुःख आफ्नै प्रकारको होला। तर पनि मलाई यो गाउँ सम्पन्न लाग्यो। मलाई यो गाउँको अवस्थिति, श्री, शैली र सभ्यता सबै सबै नै मनपर्यो।
सल्लेरी! मैले पनि तिमीलाई स्वरसम्राट नारायण गोपालले झैं चुपचाप मन पराएँ है! अब हाम्रो ‘लभ’ हुन सक्छ है सल्लेरी। तिमी काठमाडौँ आउँदा मलाई पनि सोधीखोजी गर्नु है त!
अब बाटाले पनि सल्लेरीको यो बस्तीलाई छोड्यो र उकालियो। तीतेपातीका वयस्क बोटहरू आफ्ना फूलहरू हल्लाउँदै झुलेका छन् बाटाको किनारामा। भक्मिलो (भकिम्लो) का झुप्पाहरूले पनि स्वागत गर्न उभिएको भूमिका निभाइरहेका छन् -ठाउँठाउँमा। कति खँदिला हुन् यी झुप्पाहरू पनि! बडो मोहक छन्। र, यस्तै यस्तैहरूका बीचबाट हिँड्दै जाँदा यो बाटोबाट पहिलो पटक देखियो पूरै हिमाल, अर्थात् फेदीदेखि चुलीसम्मको सम्पूर्ण दर्शन दिने पहिलो हिमाल बन्यो-दोर्जुङ।
हामी अझै पनि तितेपाती फुलेको ढुङ्गिलो बाटो पार हुँदै अगाडि बढ्दैछौँ। र, अबको मेरो ‘कुकुर–काँशी’ को सम्पूर्ण प्रयासचाहिँ सिर्दिवास, फिलिम नामको गाउँ, बुढीगण्डकी नदी र त्यो पारि देखिएको दोर्जुङ हिमाललाई कसरी एउटै फोटोमा अटाउने होला भन्ने ध्याउन्नमा मात्र लागेको छ। यसका लागि कहिले एकातिरको ढिस्कोमा चढ्छु, कहिले अर्कातिरको कान्लामा झुण्डिन्छु। तर अझै पनि भने जस्तो ‘एङ्गल’ पाइरहेको छैन। ‘एङ्गल’ पाए पनि क्यामेरा नै गतिलो छैन। अनि के गर्ने र? उही मन बुझाउन यता र उता भौँतारिइरहेको छु।
बाटाभरि छेपाराहरू छन्। आजचाहिँ हाम्रो ‘छेपारा डे’ रहेछ क्यारे। काला, अलि ठूला अनि कताकता सर्पको झझल्को दिने खालका छेपाराहरू देखिँदैछन् बाटाभरि। दर्जनौँ छेपाराहरू बाटो काटेर कोही तल र कोही माथितिर दगुर्दैछन्। कोहीचाहिँ मज्जाले ढुङ्गामा पल्टिएर ‘सन–बाथ’ गर्दैछन्।
मोरा छेपाराहरू पनि शौखिन कलाकार नै हुन्छन् कि क्या हो! कोही कोही त रतिरागात्मक शैलीमा अर्कोमाथि आक्रमण पनि गरिरहेछन्। तर हामी त छेपाराको भाले–पोथी नै चिन्दैनौँ–अनि जे सुकै होस्। हामीलाई के मतलब यी साँढेहरूको चर्तिकलासँग?
सिर्दिवास गाउँ आयो। सर्वप्रथम त गाउँ पस्ने स्वागतद्वाररूपी माने नै आयो। छ्याङको ह्वास्स तीव्र गन्ध पनि आयो। अनि हाम्रो बाटोमा सिर्दिवासको पहिलो घर पनि आयो। दायाँतिरबाट घुमेर जानुपर्ने एउटा सानो ‘माने–पर्खाल’ पनि आयो। समष्टिमा भन्नु पर्दा हाम्रा आँखाअगाडि मात्र होइन, अब त खुट्टा टेकेकै ठाउँमा पनि ‘सिर्दिवास’ आयो।
तिब्बततिरबाट ल्याइएका भेडा–च्याङ्ग्रा खरीद गर्न गाउँलेहरूले व्यापारीहरूसँग मोलमोलाइ गरिरहेका छन्–बाटोमै त्यो बथानलाई छेकेर। ठूलो खलबल भइरहेछ। मानिसहरू ठूलोठूलो स्वरमा चर्कीचर्की बोलिरहेछन्। व्यापारीहरूले भनेको ‘नाइँनाइँ’ चाहिँ सङ्केतले पनि बुझिँदैछ। गाउँलेहरू भने आफ्नै भाषामा बोलिरहेछन्-हामीले पटक्कै नबुझिने भाषामा। तर भेडाको जात्रा लागेको छ र यो रमाइलोलाई चाहिँ हामीले पनि हेरेकै भरमा पनि बुझिरहेका छौँ।
आखिर यो सिर्दिवास पनि ढुङ्गाकै शहर रहेछ। सबैतिर ढुङ्गैढुङ्गा र मात्र ढुङ्गाहरू! सबै संरचना–घर, पर्खाल, बाटो, गल्ली जे भन्नोस्, सबै सबै नै ढुङ्गाका मात्र।
आँगनमा मात्र होइन, बाटोभरि पनि मकैको बिस्कुन छ। संसारै मकैमय भएको छ अहिले यहाँ, यतिबेला। तर मकैचाहिँ सबै सेता घोगा भएका मात्र। मकैका सर्लक्क परेका सेतासेता घोगाहरू लिउ ओछ्याएर घाममा सुतेका छन्। मकैका घोगामा समेत घाम टल्केको छ र दङ्ग परेर फोटो खिचिरहेछन् भर्खरै यहीँ भेटिएका दक्षिण कोरियालीहरू पनि। तर यो गाउँ सरसफाइको मामलामा चाहिँ सल्लेरी जस्तो उत्कृष्ट देखिएन। ढुङ्गा छापेका घरका आँगनहरू समेत राम्ररी बढारेको पनि देखिएन।
केही क्षणमै हामी ‘घट्टेखोला’ पुग्यौँ। यो पनि एउटा ढुङ्गे शहर नै रहेछ। १५/१६ वटा ससाना घरहरू भएको यो गाउँ अलि बढी नै फोहोर देखियो। छेवैको सानो खोलाको बगरभरि पनि मानव मल–मूत्रको दुर्गन्धमय अवशेष देखियो। पर्यटकीय क्षेत्रको यस्तो दुर्दशा? मेरो मनमा चिसो पस्यो। यदि यहाँका मान्छेले यस्तै गरिरहने हो भने के हेर्न आउँछन् पर्यटक यहाँ? यो त यहीँका मान्छेले सोच्नुपर्ने कुरो होइन र?
दुइटा घट्ट त मैले पनि देखेँ घट्टेखोलामा। तर झोलुङ्गे पुलको मुखैनिर एक्लो घर भएकी एउटी वृद्धाले भनिन्,“छ वटा घट्ट छन् यहाँ। त्यसै हुन्छ त घट्टेखोला?”
पुलको मुखमा आइपुगियो। चलनचल्तीको र सजिलो भाषामा सिर्दिवास झोलुङ्गे पुल भनिने गरेको यो पुलको खास नामचाहिँ ‘आर्बाङ झोलुङ्गे पुल’ रहेछ। विसं २०५८ मा स्वीस विकास नियोग र सस्पेन्सन ब्रिज डिभिजन मिलेर बनाएको यो पुलको लम्बाइ २०२.५० मिटर रहेछ। आले भाइले भनेअनुसार गोरखा जिल्लाको सबैभन्दा लामो पुल नै यही हो रे।
सिर्दिवासबाट नजिकै देखिएको थियो- ‘फिलिम’। बाटो लामो पनि होइन। त्यसैले तुरून्तै पुगिहालिन्छ नि त्यहाँ त भन्ने आशा जाग्यो मनभित्र। तर जब यो झोलुङ्गे पुल तरेर ठसठस कन्दै उकालो चढ्न थाल्यौँ-तब हाम्रा पसिनाका धारा छुटे। उकालो छ बाटो अनि तीतेपाती र भाङ (गाँजा) उत्तिकै फुलेका छन् बाटो वरपर। टाढा त यो हुँदै होइन, तर थाकिएछ क्यारे। अनि घाम पनि पुर्पुरोमै परेका छन्। त्यसैले हिँड्न एकदमै गाह्रो भएको छ।
बल्लबल्ल बजार सुरू हुने प्रवेशद्वारमा आइपुगियो। शहीद स्मृति गेट रे यो। माओवादीले बनाएको रहेछ। बजारभरि पनि ढुङ्गा छापिएको रहेछ। राम्रो, सफा र सिनित्त परेको छ बजार। यो ढुङ्गिलो बजारमा पनि सबै संरचना ढुङ्गाले नै बनेका रहेछन्। अन्दाजी ६०/६५ जति घरधुरी होलान्। तर बजार अत्यन्तै राम्रो र सफा छ।
एउटा होटलमा खाना बनाउन भन्यौँ-दुई जनालाई। र, मचाहिँ टहलिनका लागि बजारतिर घुम्दैछु। दाउरा चिरिरहेका भाइ सिंहबहादुर गुरूङको छेउमा बसेर रमिता पनि हेर्दैछु र पर्यटन विकासका आयाम, चरण र विशेषताका बारेमा सुजन गुरूङसँग कुराकानी पनि गरिरहेछु। यति समय हिँड्दा बल्ल १५९० मिटरको उचाइमा आइपुगिएको रहेछ। भनौँ न, अझै पनि हामी काठमाडौँकै उचाइको हाराहारीमै रहेछौँ।
मनास्लु क्षेत्र संरक्षण आयोजनाको सम्पर्क कार्यालय रहेछ यहाँ। भित्र पसेँ र परिचय गरेँ महिला विकास सहायक आसमाया गुरूङसँग। उहाँले आयोजनाका केही प्रकाशनहरू पनि दिनुभयो। एक त गुरूङहरू भन्ने बित्तिकै धेरै कारणले मलाई मन पर्ने जाति, त्यहीँमाथि बोलैया, फरासिली र साँच्चिकै काम गर्ने आसमायाजीलाई भेटेपछि मलाई समय बिताउन गाह्रो परेन। मैले अफिसको कार्यक्षेत्र, कार्य–प्रगति, लक्ष्य, अवरोध, कमजोरी, सशक्त पक्ष सबैका बारेमा जानकारी लिएँ।
पर्यटन मन्त्रालय र वन मन्त्रालयको कार्य क्षेत्र, छुटेका कुराहरू, खप्टिएका कुराहरू र सच्याउनुपर्ने कुराहरूका बारेमा पनि हामीले व्यापक छलफल गर्यौँ -बैठककक्षमै बसेर। उहाँले मलाई चिया पनि पिलाउनुभयो। धेरै दिनपछि म एउटी साँच्चिकै कार्यक्षेत्रमा खटिएकी र साँच्चिकै काम गर्न खोज्ने एउटी महिला कर्मचारीले फिल्ड लेभलमा बसेर काम गर्दा व्यहोर्नु पर्ने समस्याका बारेमा जानकारी लिने मौका पाइरहेको थिएँ।
शर्मिला होटलका एउटा भाइ बोलाउनै आए-हाम्रो गफस्थलीमै । हाम्रो खाना तयार भएछ । मैले आसमायाजीसँग बिदा मागेँ र सिधै खाना खाने टेबुलमा पुगेँ।
हामीले पुनः यात्रा सुरू गर्दा बिहानको ११ः२० भइसकेको छ। बाटो राम्रो र अर्को शब्दमा भन्ने हो भने घाँसे मैदानजस्तै छ। यो घाँसे मैदानमा चाहिँ सबै रङका पुतलीहरू अनि साना र ठूला दुवै खालका छेपाराहरू खेलिरहेका छन्। घामको प्रचण्ड रापले हाम्रो दिमाग खल्बल्याउँदै छ। शरीरका सबै भागबाट पसिना चुहुन थालिसकेको छ। हातले निधारका पसिना पुछेर हेर्दा बुढीगण्डकी पारिपट्टिको डाँडामा ‘याङसिङ’ गाउँ देखिँदैछ। अनि हामी हिँडिरहेको यो बाटोले चाहिँ हामीलाई अब ‘चिसापानी’ पुर्याउँछ रे।
‘चिसापानी’ पनि आइपुग्यो। ससाना १० वटा जति घरहरू रहेछन् यहाँ। ‘चिसापानी’ पनि कति हुन् हौ नेपालमा ? खोटाङदेखि भोटाङसम्म, ताप्लेजुङदेखि दार्चुलासम्म जताततै चिसापानी नै चिसापानी। तनहुँ, कैलाली, स्याङ्जा आदि त झन् चिसापानीका मूल थला नै भइगए। अँ, त यहाँको चिसापानी पनि आयो। यो त बरू खासै ठूलो रहेनछ। तर यसको पारिपट्टि देखिएको याङसिङ गाउँ पो अहिले एकदमै ठूलो देखियो त। अघि फिलिमबाट हेर्दा त २ वटा घर मात्र देखिएका थिए। यहाँ आएर हेर्दा त २५/३० वटा घर भएको ठूलै गाउँ पो रहेछ त यो पहरामाथि पनि।
याङसिङ गाउँमा पनि मकै भाँचिसकेछन्। बीचमा भाँचेर दोब्राइएका डोढहरू मात्रै दैखिँदैछन् बारीमा। तल ठूलो नदी अनि माथि पहरामा आफ्नो उपस्थिति। याङसिङ गाउँ, तिम्रो अवस्थिति अलि टिठलाग्दो नै देखियो। तैपनि तिमीले कहिल्यै दुःखी हुनु नपरोस् है याङसिङ! तिमीले दुःख पाएको कुरो यी कानले कहिल्यै सुन्नु नपरोस् है याङसिङ!
बाटो सजिलो छ। एउटा ठूलो र थाप्लो पनि फराकिलो भएको ढुङ्गामाथि बसेर दुई जना स–साना केटाहरू तास खेलिरहेछन्। मैले फोटो खिचेको देखेर तिनीहरू झस्के र हत्तपत्त हातमा भएका तास लुकाउने प्रयास पनि गरे। तर जब मैले मसँग नडराऊ है भन्दै केही प्रश्नहरू सोधें, तब एउटाले भन्यो-“ऊ कान्छा, म भिनोत्। हामी इस्कुल पढ्दोइना। हामी तामाङ हो।”
मैले बुझेँ, विनोद रहेछ यिनको नाम। तर आफैंले पनि भन्न सक्दैनन् आफ्नै नाम शुद्धसँग। अनि यो उमेरका नानीहरू स्कुल नगईकन तास खेलेर बस्दा पनि अभिभावकको मन पोल्दैन। अनि कसरी हामी उँभो लाग्छौँ त?
अलिपर पुगेपछि पुनः अर्को गाउँसँग साक्षात्कार हुँदैछ हाम्रो। ‘एक्लेभट्टी’ रे यो पनि। यसले पनि मुस्ताङको झझल्को दियो मलाई। हावाको थप्पड खाँदै कागवेनीतर्फ लाग्दा बाटोमै भेटिएर मेरो नजरमा परेको थियो एक्लेभट्टी २०५७ सालकै कुनै दिन। त्यहाँ त अब त गाडी नै पुगिसक्यो। शहरै भइसक्या होला अब त त्यो एक्लेभट्टी पनि। तर यो एक्लेभट्टी अझै पनि बबुरो नै छ। दशवटा जति ससाना घरहरू छन् -सबै ढुङ्गाले बनेका। सबैतिर मकैको बिस्कुन छ। गाउँ आएपछि छ्याङको हस्को आउँछ नाकैमा। बाटामा रम्बा चाउचाउका खोलहरू देखिँदैछन् जताततै फालिएका। ‘रम्बा’ को मार्केटचाहिँ यतातिर पर्दोरहेछ। दृश्य देखेरै थाहा पाइयो।
एक्लेभट्टीको पृष्ठभूमिमा एउटा छहरा देखिन्थ्यो–अलि परबाट हेर्दा। यहीँ आइपुगेपछि के देखियो भने त्यो छहरा त अझै अलि परै रहेछ। एक्लेभट्टी त साँच्चै नै एक्लै पो रहेछ त! बाटोभरि भीमसेनपाती जस्तै देखिने पोथ्राहरू छन्। यिनै पोथ्राहरूलाई हावाले हल्लाउँदा पातहरू उल्टिन्छन् अनि सेतासेता फूलहरूको मुठोलाई नै हावाले खेलाइरहेझैं प्रतीत हुन्छ।
त्यो अघिदेखि नै देखिइरहेको छहरो पनि आयो। ए, निकै ठूलो छहरो पो रहेछ त! माथि माथिको पानीलाई त पूरै उडाउने रहेछ हावाले र बादल लागेजस्तै बनाउँदो रहेछ। उही हो यो प्रक्रिया पनि, उही सगरमाथाको टुप्पोबाट सधैँ हावाले हिउँ उडाएर बादलको पछ्यौरी बनाइदिए जस्तै ।
बाटोभरि निगालोघारी छ। झुप्पझुप्प परेका निगालाका झ्याङहरू अति नै सुन्दर देखिएका छन् । बाटोमुनि पनि निगालो नै छ र बाटोमाथिको झुप्पाले चाहिँ हामीमाथि नै पङ्खा हम्केझैं गर्छ। चँवर डोलाएझैं गर्दैछन् निगालाका झुप्पाहरूले पनि। धेरै पर पुगेपछि बीच वनमा एउटा मात्र घर देखिँदैछ। यो पनि ‘एक्लेभट्टी’ नै हो रे! तै बरू यसको नाममा चाहिँ सार्थकता देखियो। नत्र त ९/१० वटा घरहरूको समूह कसरी ‘एक्लेभट्टी’ हुन सक्छ र?
हुन त मुस्ताङको ‘एक्लेभट्टी’ पनि कहाँ एक्लो छ र? बिचरा यसलाई मात्र किन नाम नमिलाएको दोष दिने? राजधानी काठमाडौँकै वडा नं. ३५ (हाल ३२) मा पर्ने एउटा ठाउँको नाम ‘छाप्रो’ नै छ अझै जब कि त्यसलाई कङ्क्रिटको जङ्गलले ढाकिसकेको छ-वर्षौं अघिदेखि नै।
बाटोमा एउटा घोडा चर्दैछ -निष्फिक्री। एक्लै रमाएको छ। यसो पुलुक्क हेर्यो हामीलाई अनि कुनै मतलब नै नराखी खुरूखुरू चर्न थाल्यो फेरि। पशु हुनु पनि कहिलेकाहीँ त मान्छे हुनुभन्दा राम्रो हुनु हो जस्तो लाग्छ मलाई त! यो घोडालाई यो अवस्थामा असाध्यै सुखी देखे्रँ मैले। नत्र कलाकार शशि शाहका नजरमा किन सधैँ घोडाहरू मात्र पर्थे र? किन रङ्गिन्थे नत्र उनका चित्र सधैँ बुर्कुसी मारेका घोडाहरूले?
बहुत मुश्किलले पहरोको एउटा सानो चेपबाट छिरेर आएको ‘ढुङ्गासाँघु’ खोलाले बुढीगण्डकीमा आएर आत्मसमर्पण गर्यो हाम्रै आँखाअगाडि। मलाई पनि ठीकै लाग्यो। जब लक्ष्य, नीति र कार्यक्रम नै उँधोतिर लाग्ने छ भने किन नेपालका कम्युनिष्ट पार्टीहरूझैं चिराचिरा परेर छुट्टिनुपर्यो त? ठीक गरेछ यो खोलाले! बरू हाम्रा ओरालोमग्न कम्युनिष्ट पार्टीहरूले यसबाट सिक्ने पो कहिले हो?
यसरी यो खोलाले ‘एकीकरण’ को निर्णय गरेको केही बेरमै वनको बीचमा रहेको एउटा सानो बोर्डले भन्यो–‘छेकम्पार’ जाने भए दाहिनेतिरको उकालो चढ। ‘लार्केपास’ जाने भए सिधै अगाडि बढ।’
‘छेकम्पार’ जाने मन नभएको त कहाँ हो र मलाई पनि? त्यो सुन्दर ‘चुम’ उपत्यकालाई एकपटक आँखाभरि हेर्ने रहर त मलाई पनि त छ नि! तर यसपटक त्यो सम्भव नै छैन। त्यसैले म सिधै अगाडि बढेँ र बुढीगण्डकीमाथि बनेको एउटा सानो ट्रस ब्रिज पार गरेर पुनः बुढीगण्डकीमै पश्चिमी किनारामा आएँ। मेरो झोलाले त अघि नै पुल तरिसकेको छ। आलेलाई मेरो ‘कुकुर–काँशी’ मन पर्दैन। उनलाई लाग्दो हो -किन चाहिन्छन् हँ यति विधि फोटाहरू? कहिलेकाहीँ त मुखै फोरेर भन्छन् पनि। अनि जब म फोटो खिच्न वा राइटिङ प्याडमा केही लेख्न थाल्छु तब उनी आफ्नो रिस दबाएर फटाफट अगाडि बढ्छन् र कतै टाढा गएर पर्खन्छन्। ‘मान्छे खेद्नु अगाडि लागेर’ भन्ने त भनाइ नै छ नि ! शायद आलेले पनि ममाथि त्यही सूत्र प्रयोग गरिरहेको हुन सक्छ।
पुल तरेर उकालो लाग्दैछु। सल्लाका ठूला–ठूला रूखहरूले ढाकेको छ जताततै। खोलाको ठीक पारिपट्टिको घाँसे मैदानमा एउटा सानो गोरेँटो जस्तो धर्सो देखिँदैछ -यताबाट हेर्दा पनि। त्यही त हो अहिले भर्खरै हामीसँग छुट्टिएर गएको छेकम्पार जाने बाटो। पेन्सिलले तानेको धर्कोजस्तो बाटो देखेपछि मन फेरि एकपल्ट लोभियो छेकम्पार जान। तर एक्लो ज्यानले कता मात्रै भ्याउनु र? लार्केपास गर्ने कि? मनास्लु हेर्ने कि? छेकम्पार जाने कि? दशैँ मनाउने?
वारिपारि दुवैतिर सल्लाका रूखहरू छन्। यी रूखहरूको आधा ज्यान लिएर सबैको फेदमा एउटा एउटा टिन झुण्ड्याइदिने हो भने यो पनि डडेल्धुराको वन जस्तै देखिनेछ। तर धन्य, यहाँका यी भाग्यमानी रूखहरूका कम्मरमा चाहिँ अहिलेसम्म कसैले पनि ‘रोजिन एण्ड टर्पेन्टाइन’ को नाममा टिनको घाँडो झुण्ड्याउन भ्याएको रहेनछ।
सल्लाघारीको भुइँमा पनि यति राम्रो खर उम्रेको छ कि हेर्दा पनि रहर लाग्छ। कुनै पनि पाल्पाली/गुल्मेलीको खरबारीमा के हुँदो हो र यति राम्रो खर?
बालखैदेखि वस्तुभाउलाई घाँसै काटेर हुर्केको आफूलाई त यो लहलह खर देखेर पनि लोभै लाग्यो बाइ! तर न हँसिया छ साथमा न त मेरा डिँगा–बाच्छा नै यता कतै छन्। केवल रहर नि!
खरबारी सिद्धियो। अबचाहिँ हामी मान्छेभन्दा अग्लो सिस्नो र भाङको फूल खेलेको घारीका बीचबीचको गोरेटोबाट छिर्दैछौँ। ठीक यसैको दाहिनेतिर दुई गण्डकीहरूको मिलन–बिन्दु देखिँदैछ। छेकम्पारतिरबाट आएको गण्डकी र सामागाउँतिरबाट आएको गण्डकी दुवै मिसिए एक अर्कामा-विना शर्त। कसले जित्यो र कसले हार्योसँग कुनै मतलबै छैन प्रकृतिको नियममा। दुवै उत्रै थिए-उस्तै थिए। छङ्छङाउँदै आए अनि छङ्छङाउँदै गए फेरि-बुढीगण्डकी भएर। हामीले भर्खरै नाघेर आएका दुई मान्छेभन्दा अग्ला फोक्कडेका झ्याङहरूले साक्षी भएर हेरिरहे यो अग्रगामी मिलनलाई। साक्षी बस्ने फोक्कडेका बोटहरू पनि पाटा (जुट) बारीको बीचमा हुर्केका फोक्कडेका बोटहरू जस्तै अग्ला न अग्ला थिए। राम्रो कुराको साक्षी पनि अग्ला वनस्पतिहरू नै बसे।
धन्य प्रकृति माता, तिमीलाई प्रणाम छ! तिम्रो लीला पनि अपरम्पार नै छ!
अब हामीले उत्तरतिरबाट आएको गण्डकीलाई छोड्यौँ। सामागाउँ अर्थात् पश्चिमोत्तर (वायव्य) तिरबाट आएको गण्डकीको दक्षिणी किनारबाट अघि बढ्दैछौँ। वनभित्रको बाटो न हो, शीतलो छ हिँड्नलाई। तर पनि यी अग्ला अनि सुरिला बोटहरू त कुनै भट्याउनेले “गण्डकी माताको” भन्दा “जय !!!” भन्न उठेका हातहरू जस्ता पो देखिँदैछन् त! एकै ठाउँमा हलक्क हुर्केका, थेग्लाथेग्ला भएर सप्रेका अनि ‘जय’ भन्ने शैलीमा हात उठाएका सङ्गमका साक्षी फोक्कडेहरू। फोक्कडेको ‘रोल’ राम्रो रहेछ यहाँ। खुशी लाग्यो साथीहरू हो, नाइस टु मिट यु। तर के गर्ने र हामीले माया गरेर तिमीहरूलाई ‘फोक्कडे’ भने पनि यताको मानिसहरूले ‘लाङलाङ’ भन्ने रहेछन्। यो ‘लाङलाङ’ नाम राम्रो लाग्छ तिमीहरूलाई?
फेरि उस्तै कल्कलाउँदो र हरियो खरबारी आयो बाटोमा। नदीको पारिपट्टि भने विशाल अक्करे भीर नै शिर ठाडो पारेर उभिएको उभियै छ।
अबचाहिँ हाम्रो बाटोलाई निगालाको घारीले छोप्यो। एक त निगालाको घारी, त्यहीँमाथि विशाल पहराको उत्तरपट्टिको फेदीमा हिँडिरहेका हुनाले घामले छुनै पाएको छैन हामीलाई। पसिना पनि पटक्कै आएको छैन अहिले त।
लौ न नि ! दुवैतिरका यी विशाल भीरहरू त जोडिन पो लागे त । नदी त झन् झन् च्यापिएर कुलो जस्तो पो हुँदै गयो त! लौ न, के गर्ने होला? नदीको दक्षिणी किनारामा त हिँड्ने ठाउँ नै सकियो बाबै।
हिँड्ने ठाउँ नै सकिएपछि बल्ल हाम्रा आँखा अघिल्तिर ‘ङ्याँकफेदी’ को झोलुङे पुल देखापर्यो। नदीले हिँड्ने बाटो नै नदिएपछि त बाटो आफैंले पनि नदी तरेर अर्कोपट्टि जानु पर्ने भएछ। हामीले पनि पुल मार्फत यही शाश्वत नियमको अनुशरण गर्यौँ।
बडो जीर्ण छ यो पुल। डराईडराई तर्दैछौँ।
बल्ल तरियो पुल र आइपुगियो उत्तरी किनारामा। अब यहाँबाट त पश्चिमतिरै हान्निने हो। अहिलेसम्म घामले चाहिँ दुःख दिन पाएको छैन। खोलो तर्नभन्दा पुल तर्न डराउनु परेको कुरो त हाम्रो विकासको नमूना नै भयो नि!
‘कुडापानी’ आयो बाटैमा । फराकिलो ठाउँमा झुरूम्म परेका ठूलाठूला रूखहरू देखिए। म त आँपकै रूख होलान् र अर्गली (पाल्पा) कै ‘कुडापानी’ होला भनेको त होइन रहेछ। यी त फलफूलका रूख होइन रहेछन्। यो त यहीँकै कुडापानी रहेछ। अनि कहाँबाट आऊन् आँपका रूख, कताबाट टुप्लुक्कियोस् जीवन केसी नामको नचैया भाइ र कहाँबाट देखियोस् कालीगण्डकीको किनारैमा बसेको प्रसिद्ध तीर्थस्थल रूरूकन्याको रूरूक्षेत्र र रिडीबजार ?
कुडापानीको दृश्य पनि तुरून्तै ओझेल पर्यो। हामीले बाटो काटिसक्नासाथ पो दृश्य पनि ‘कट’ भयो र कथाले फेरि नदीको एकोहोरो कर्कश आवाज र निगालाघारीको यात्रा माग्यो। कथाले नै निगालोघारी मागेपछि हाम्ले पनि केई अर्न स्हग्दा नाइँ साइबो। अनि खुरूखुरू हिँडिदियौँ-लौ जा त!
केही बेरपछि फेरि दृश्य फेरिन लागेको छ । उत्तरी किनाराको हिँड्ने बाटो सकियो र पुनः दक्षिणी किनारामै आउनु पर्ने भयो । माथिल्लो ङ्याँकफेदीको हेर्दै डरलाग्दो झोलुङ्गे पुल तर्यौँ र फेरि नदीको दक्षिणी किनारामा आयौँ। पुलको अवस्थालाई सम्मान गर्दै दुवै जनाले एक पटक तरेनौँ। एक पटकमा एक जनाले मात्र तर्यौँ। तर हामी मात्र डराएर के हुन्छ र? गोरखाको जिविस र केन्द्रको सस्पेन्सन ब्रिज डिभिजन दुवै डराएका छैनन्। त्यसैले भारी बोकेका खच्चरहरू समेत पालैपालो गरी यही पुलबाट तर्न बाध्य छन्। दुर्घटना भएपछि बल्ल माग्छ हाम्रो देशको कथाले -एउटा नाम मात्रको छानविन आयोग। अनि बल्ल २/४ जना ठूलाबडाले शोक वक्तव्य निकाल्ने मौका पाउँछन्। क्यार्ने त नि, जब हाम्रो देशै यसरी नै चलिरहेको छ भने!
पुल तर्नेबित्तिकै एउटा काठ चिरान गर्ने ‘आरा–धरान’ भेटियो। मनाङतिर वनको फँडानी अलि बढी नै देखिएको थियो । शायद बाटो निर्माणको कथाले मागेर होला। यतातिर चाहिँ त्यस्तै फँडानी देखिएन । शायद बाटोको योजना नभएर पनि हुन सक्छ।
अलि पर पुगेपछि दुई जना भरियासँग भेट भयो । सामागाउँबाट फर्केका रे। फेरि अरू दुई जनासँग भेट भयो, महिला र पुरूष-रित्तै फर्केका। साहुको भारी सामागाउँमा फालेपछि फर्कने त रित्तै नै हो।
मैले ती महिलालाई सोधेँ- “कहाँबाट फर्कनुभयो नि?”
“साहुको भारी सामागाउँ पुर्याएर फर्केकी” तिनले जवाफ दिइन्। मैले तिनको शरीर, लुगा, भाषा, बोली व्यवहार सबै हेरेँ-एकै झलकमा।
बिचरा यी महिलाहरू पेट बोक्छन्। बच्चा हुर्काउँछन्। सासुलाई रिझाउँछन्। लोग्नेलाई खुशी राख्छन्। नन्द, आमाजु, देउरानी, जेठानी सबैको चित्त बुझाउँछन्। घाँसदाउरा, मेलापात, भारो–पर्म, वस्तुभाउ सबै सबैको धन्दा भ्याउँछन्। घरको बुहार्तन सबै स्याहारेर पनि ४०/५० किलो भारी बोकेर अतिरिक्त आय पनि गर्छन्। साँच्चै नै सलाम गर्न योग्य छन् -ग्रामीण क्षेत्रका नेपाली महिलाहरू।
बरू यिनका लोग्नेले पो यिनको यो परिश्रमको कमाइले रक्सी खाइदेला कि? मेरो मनभित्र एउटा धमिलो डरले मुन्टो उठायो। त्यो वेला यिनको मन कति व्यथित हुने होला? कति चित्त काटिएला? बरू यिनको गाउँको आमा–समूह पनि सक्रिय भइदिए हुन्थ्यो। कम्तीमा पनि श्रम र पसिनाको यो मूल्यले उनैलाई उल्टै रूवाउने त थिएन नि -त्यति मात्र भइदिए पनि।
अलि वरै आइपुगेका छौँ। बाटाभरि गुहुका थाप्राहरू देखिन थाले। गन्हाउन पनि थाल्यो हामीलाई। तैपनि आज किन किन मलाई त्यति धेरै घीन भने लागेन। यी त पसिना बगाउने परिश्रमी जनताका थाप्रा हुन् नि! थोडै काठमाडौँका मुलुकमारा ‘जुका’ हरूका थाप्रा हुन् र? अनि किन गर्ने मैले घृणा? मैले ‘साक्षीभाव’ मात्र मनमा राखेर यो थाप्रे मार्गलाई पनि पार गरेँ।
साँच्चै, किन किन आज म गुहुसँग पनि घिनाइनँ।
वनको एउटा बुटामा लिचीजस्तै देखिने फल भेटियो। यसलाई यतातिर ‘डेम्बोर’ भन्छन् रे। मैले र आलेले पनि टिपेर खायौँ। गुलियो हुँदोरहेछ र भित्र पनि ससाना दानाहरू हुँदा रहेछन्।
कसैले हामीलाई उछिन्न चाह्यो । हामीले पनि किनारातिर सरेर बाटो दियौँ। छेउतिर तर्केर ‘साइड’ दिइयो भनौँ न-शहरी भाषामा भन्नुपर्दा। जर्मन केटो र फ्रेन्च केटीको जोडी रहेछ। नेपालकै ठमेलमा भेटेर यात्राभरिका लागि ‘बेड–पार्टनर’ बनेका रे। मैले पनि अनुमति मागेर यो काकताली जोडीको फोटो खिचेँ अनि उनीहरू अगाडि निस्किए।
जङ्गलकै बीचमा एउटा बोर्ड देखियो फेरि। त्यसमा लेखिएको जानकारी अनुसार:
– यो ठाउँलाई ‘पेवा’ भनिँदो रहेछ।
– देङ पुग्न अझै डेढ घण्टा हिड्नुपर्छ रे।
– ङ्याँक जाने बाटो यहीँबाट छुट्टियो। र,
– ङ्याँक जाने भए अब दुई घण्टा हिड्नुपर्ने रहेछ।
वनकै बीचमा एउटा घर आयो। निकै राम्ररी बनाएको र ठूलै पनि भन्न मिल्ने खालको छ यो घर। मनमा आशा पलायो-अब यहीँ बसेर चिया पिउने। पुगेपछि पो देखियो, घर त रित्तै रहेछ। अनि हामी यही क्रमले पटकपटक झुक्किइरह्यौँ किनकि केही बेरको अन्तरालमा हामीले ३ वटा यस्ता रित्ता घरहरू देख्यौँ।
“अब देङ नै नपुगी केही नहुने भो है औलेनी बाबैका जेठा नाति पर्तिक पर्साद ढकाल! तुम्लेटको पानी खा र खुरूखुरू हिँड्। हिँड्नै भनेर आ’को होइनस् र तँ ? लौ अब हिँड् मजाले।”
आफूले आफैंलाई नै सुन्ने गरी भनेँ र बाटो लागेँ। भनौँ न, कथाले मसँग सस्वर ‘डायलग’ माग्यो।
माथि देउरालीमा निस्कियौँ। सुदूरपश्चिम दिशातिरको एउटा डाँडाको हिमाच्छादित टुप्पामा बादलको झुप्पो फलेको छ र जिउमा चाहिँ मजाले घाम लागेको छ। त्योभन्दा धेरै वरको छाया परेको पाखामा देङको पहिलो घर देखियो। गाउँ देखिन त बाँकी नै छ। अझ त्यहाँ पुग्न त झन कति हो कति बाँकी नै छ। जे होस्, टाढै भए पनि ‘देङ’ देखियो र हाम्रो यो यात्राको चौथो वासको टुङ्गो लाग्ने निश्चित भयो।
गाउँको गेट आइपुग्यो। बौद्धमार्गीहरूको बस्ती भएका ठाउँहरूमा प्रायः गरेर गाउँको मुखमै प्रवेशद्वार बनाइएको हुन्छ-मानेको। अनि त्यसैको मुनिबाट छिरेर गाउँमा प्रवेश गर्ने प्रबन्ध मिलाइएको हुन्छ। त्यस्तो मानेको भित्र पनि बौद्ध कथामा आधारित राम्रा–राम्रा चित्रहरू बनाइएका हुन्छन्। हामी पनि अहिले यस्तै मानेरूपी स्वागतद्वार मुनिबाट छिरेर देङ गाउँतर्फ जाँदैछौँ।
अबचाहिँ समुद्र सतहबाट १८१५ मिटर उचाइमा रहेको देङ गाउँ आइपुगियो। यस्तै १०/११ वटा जति घरहरू रहेछन्। पुनः एउटा जीर्ण काठेपुल तरेर ‘बौद्ध हिमाल होटल एण्ड लज’ मा पुगियो। होटलका मालिक टासी नामग्याल गुरूङसँग रमाइला कुरा भए। सामान्य घरलाई सल्लाका काठले बारेर कोठाहरू बनाइएको रहेछ। ठाउँ अनुसार कोठाहरू त ठीकै हुन्। तर कोठामा ढोका नै हालेको छैन।
माछाखोलामा त कोठाको ढोकामा ‘चुकुल’ मात्र थिएन तर यहाँ त कोठामा ढोकाको ‘पल्लै’ छैन। चुकुलविनाको ढोका हुनु र ढोकै नहुनु कुन बढी भरोसाको कुरो हो? यस ठाउँको र यहाँका मान्छेको आत्मविश्वासप्रति मै पो अलमल्ल परिरहेको छु।
‘फिलिम’ बाट ११ः२० मा हिँडेको म ठीक ४ः३० बजे यहाँ वास बस्न आइपुगेछु। ५ घण्टा १० मिनेटमा देङ आइपुगेछु-जतिसुकै ‘कुकुर–काँशी’ गर्दै हिँडे पनि।
यहीँ भेट भएको छ अमेरिकी डाक्टर बाप्तिस्ता क्वोकसँग। उनी मनास्लु आरोहण गर्न आएका रहेछन् -साथीहरूको दलबलसहित। तर दोस्रो क्याम्पमा हिउँको पहिरो आई सबै उपकरणहरू, खानेकुरा, पाल, इन्धन सबै बढारिएपछि उनीचाहिँ आरोहण परित्याग गरेर फर्कंदै गरेका रहेछन्। उनका साथीहरू चाहिँ अझै पनि थप बन्दोबस्तसहित पुनः प्रयास गर्ने सुरमा छन् रे। “म त सर्जन हुँ। मलाई मेरा औँलाहरूको माया छ। हिउँले औँला खाइदियो भने मैले कसरी अपरेशन गर्न सक्छु?”
आरोहण परित्याग गर्नुको गूढ रहस्य सुनाउँदै उनले भने। अनि नेपालीको जस्तै अनुहार भएका यी सर्जनले त्यहाँको त्रासदीको सम्पूर्ण कथा सुनाए। भनौँ न, ‘इन्टु थिन एअर’ मा जोन क्राकौरले भनेको जस्तै कथाको एउटा सानो हिस्सा सुनाए। अनि विस्तृत रूपमा सुनाए आपूmले हालसम्म आर्जेको आरोहणको अनुभव पनि। नेपाल भ्रमणको अनुभव, नेपालीप्रतिको धारणा र नेपाली संस्कृति आफूलाई मन परेको कुरो पनि सविस्तार सुनाए।
“तर अब म हिमालचाहिँ चढ्दिनँ। यो खतरनाक कुरो हो।” उनको सारांश यस्तो थियो। मैले आपा, छेवाङ, ङिमा, ल्हाक्पा रिता, लाक्पा गेलु, पेम्बा दोर्जी, कामीरिता आदि शेर्पाहरूको शौर्यको कथा सुनाउँदा उनले अत्यन्त उत्साहित हुँदै भने. “उहाँहरू त यो धर्तीकै असाधारण मानिसहरू हुन्। उहाँहरूलाई त विश्वले नै चिन्छ र मान्छ। तर म जस्तो एउटा साधारण सर्जनले कसरी उहाँहरू जस्तो असाधारण पर्वतारोही हुने सपना देख्न सक्छु र?”
बिचरा, यिनलाई के थाहा, उनले भनेको ‘विश्व’ भित्र नेपाल पर्दै पर्दैन। आरोहीलाई त नेपालमा सम्मान होइन, मौका परे बरू अपमान गरिन्छ। त्यही भएर त ठूला हिमालको आरोहण गरिसकेका शेर्पालाई अमेरिकन दूतावासले समेत सवाल–जवाफ नै नगरीकन खुरूक्क भिसा दिन्छ नि ! हाम्रा विश्वकीर्तिमानी शेर्पाहरू त अब करिव करिव सबै नै उतैका भइसकेका छन्।
पसलका साहूजी चाहिँ कोताङ भाषा बोल्ने लामा गुरूङ रहेछन् । आफ्नी तरूनी स्वास्नीलाई हाम्रैअगाडि समेत मज्जाले जिस्क्याएर हामीलाई मनोरञ्जन गराइरहेछन्। स्वास्नी पनि के कम? मच्चीमच्ची हामीलाई बियर थपिरहिछन्। उनीहरूलाई थाहा छ नि, अहिले धेरै बियर र मासु थपिदियो भने मात्र भोलि बिहानको बिल पनि राम्रोसँग थपिन्छ।
उनीहरूले बोलेको ‘कोताङ’ भाषा सुन्नासाथ झट्ट सम्झिएँ -हो त, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका श्रीमान् माइकेल एअर्सले यही ठाउँमा आएर यो ‘कोताङ’ भाषाबारे विशेष अनुसन्धान गरेका थिए। ‘कोताङ’ भनेको कस्तो भाषा हो भने ‘नुब्री’ का मान्छेले पनि नबुझ्ने र ‘चुम’ का मान्छेले पनि नबुझ्ने यो नयाँ भाषाको विकास भएको थियो -समयको क्रममा। भन्नुको मतलब के भने पपुवा न्यू गिनीका टापुहरूमा जस्तै नेपालका मान्छेहरूले पनि यसरी ‘आइसोलेसन’ मा पनि जीवन बिताउँथे कि हरेक कुनाकाप्चाको आफ्नै भाषा र रीतिरिवाजको विकास हुन पुगेको थियो। यही कुरा सिद्ध गरेर देखाउनु नै उनको यो अनुसन्धानको अभीष्ट थियो भनेर डा. तीर्थबहादुर श्रेष्ठले कतै लेख्नुभएको कुरो पनि याद आयो।
नेपालका शासकहरूलाई हाम्रा यस्ता सम्पतिका बारेमा थाहा हुन्छ होला त? थाहा पाउन त पढ्नुपर्यो नि ! दिनमा १८ घण्टा बिचौलिया, दलाल, कमिसनखोर र भूमाफियाबाट घेरिएका बिचराहरूले कहाँबाट निकालुन् र पढ्ने समय ? फेरि कुर्सीमा बस्नासाथ नजानेकै के हुन्छ र पढिरहनुपर्यो ती सर्वज्ञहरूले?
कोठामा सुत्न गएको छु। यात्राका अनौठा कुराहरू मनमा तरङ्गित भइरहेका छन्। यो बाटोभरि नै मैले गिठ्ठाका लहराहरू देखिरहेछु-पहिलो दिनदेखि नै देख्दै आएको छु भन्दा पनि हुन्छ। जताततै छन्- यस्ता लहराहरू। मैले पनि आफैं चिनेँ किनकि घर–तरूलकै जस्ता पात हुने रहेछन् यसका र आँख्लैपिच्छे बीचबीचमा फलेका गिठ्ठाका काला–काला दानाहरू त परैबाट पनि देखिइरहेकै छन्।
आजै दिउँसो पनि एउटी महिलाले एउटा गोरू धपाउँदै ल्याइन् बाटोमा। अर्को गोरू कतै देख्नु भयो कि भनेर हामीलाई सोधेकी रहिछन् -हामीले त भाषै नबुझेर अल्मलियौँ। हामीले देख्दादेख्दै त्यो गोरू ठाडै उकालो चढेर गयो र पहराको ओढारमा बनाइएको आफ्नो ‘गोठ’ मा गएर पस्यो। त्यो गोरू चढेको उकालो चढ्न मलाई समेत हाम्मेहम्मे परेको थियो।
साँच्चै त्यो गोरू कसरी चढ्यो हँ त्यस्तो ठाडो उकालोका? मेरो मनका अझै पनि यो प्रश्न उठिरहेकै छ।
(नियात्राकार ढकालकाे ‘गण्डकाे मुहानतिर ’नियात्रासंग्रहमा सङगृहीत।)
प्रकाशित: ३ माघ २०८१ १२:३२ बिहीबार