२८ मंसिर, काठमाडौं । २०८१ कात्तिक अन्तिमतिर काठमाडौंका एक व्यवसायीलाई ह्वाट्स एपमा भारतीय नम्बरबाट फोन आयो, ‘आपका डिटेल्स मेरे पास हे, आप ये मत सोच्ना – बच जाओगे । (तिम्रो सबै विवरण मसँग छ, तिमी यो नसोच्नु कि बच्ने छौं)’
उनलाई त्यो नम्बरबाट धम्कीपूर्ण फोन आएको यो पहिलो पटक थिएन ।
बारम्बार उही नम्बरबाट फोन गरेर दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियान’ लाई सहयोग गर्न भन्दै दबाब आइरहेको थियो । जब उनले आर्थिक परिस्थितिलाई देखाउँदै सहयोग गर्न अनाकानी गर्न थाले, त्यसपछि हिन्दीमा धम्की दिने व्यक्ति थप उग्र बन्न थाले ।
यस्तो परिस्थितिमा ती व्यवसायीले पछिल्लो पटक आएका फोनहरू रेकर्ड गर्न थालेका थिए । प्रसाईंले जुन समुदायलाई लक्षित गरेर दुरासयपूर्ण अभिव्यक्ति दिँदै आएका थिए, त्यही समुदायका व्यवसायीलाई आर्थिक सहयोग मागेपछि संवाद असहज बनिरहेको थियो ।
फोनमा बोल्नेले सम्झाए, ‘मे थोडी उसको सहयोग कर्ने के लिए बोल रहा हुँ ? वो हिन्दूका हित के लिए लड् रहा हे, आपको क्या दिग्कत हे ?’ (मैले उसलाई सहयोग गर्न भनेको हुँ र ? ऊ हिन्दूको हितका लागि लडिरहेका छ, तिमीलाई सहयोग गर्न के समस्या ?)
ती व्यक्ति बोल्दा बोल्दै व्यवसायीले रोक्छन् – ‘हिन्दू समाज के लिए मे भि लड्ता हुँ… ।’ –हिन्दूको पक्षमा म पनि लड्छु)
यो सुनेर फोनमा बोल्ने थप कड्किन्छन्, ‘उस से तुरुन्त माफी मागो, आपको ५ घन्टेका टाइम दिया हे ।’ (तिमी उसँग तुरुन्त माफी माग । तिमीलाई ५ घन्टाको समय दिएको छु ।’
पाँच घन्टाभित्र प्रसाईंसँग माफी नमागे परिणाम ठिक नहुने भन्दै उनले अल्टिमेटम दिएका छन् । अगाडि फोनमा उनले बोली रहँदा ती व्यवसायीले ‘हम्…हम्…’ गरेको सुनिन्छ ।
यस्तो प्रतिक्रिया सुनेर ती व्यक्ति रिसाउँछन्, ‘हम्.. हम्.. नही हे, हम अच्छे तरिका से बात कर रहे हे, हम किसीको गालीगलौज भी नही कर्ते हे । हम किसीको कुच कहके, किसीको डरा के बात नही कर्ते । जो भी सिस्टम से आजाते हे, ओ हम ले लेते हे ।’ (हम्…हम्… होइन, म राम्रोसँगले बोलिरहेको छु । हामी कसैलाई गालीगलौज गर्दैनौ, कसैलाई केही गरेर, कसैलाई डर देखाएर कुरा गर्दैनौं । सिस्टमबाट जे आउँछ, त्यही हामी लिन्छौं)
व्यवसायी मधुरो सुनिन्छन्, ‘..वो कुच भी बोल रहे हे… ।’ (ऊ जे पनि बोलिरहेको छ)
प्रसाईंले पटकपटक ती व्यवसायीको समुदायलाई लक्षित गरेर तस्कर भन्दै लेखेट्नुपर्ने टिप्पणी गरिरहेका थिए ।
‘… उस ने बोल कर मेरेको मार्ने का धम्की दिया हे’ (उनले बोलेर मलाई मार्ने धम्की दिएका छन्), व्यवसायी थप्छन् । ती व्यक्ति ‘आपले भी दिया हे ना’ (तिमीले पनि धम्की दिएका छौं नि) भन्दै कुरा बदल्न खोज्छन् । व्यवसायी इन्कार गर्छन् । तर, फोनमा बोल्ने व्यक्तिले फेरि उनलाई अल्टिमेटम सम्झाउँछन् ।
तारन्तार फोन आएपछि व्यवसायीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई संवादको अडियोसहित अनुसन्धानका लागि आग्रह गरेका छन् । प्रहरी अधिकृतहरूका अनुसार, सामाजिक सञ्जालमा समसामयिक विषयमा टिप्पणी गरेर चर्चामा आएका पुन्य गौतम आक्रमणमा परेपछि यसरी भारतबाट फोन आउने क्रम बढेको देखिन्छ ।
प्रसाईंविरुद्ध आक्रमक अभिव्यक्ति दिइरहेका गौतम २१ असोजमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेसिगाउँमा गम्भीर आक्रमणमा परेका थिए । अनुसन्धानबाट त्यसबेला यसमा प्रसाईं समूहको संलग्नता त स्पष्ट भएन, तर सीआईबीका अनुसार यो आक्रमणपछि व्यवसायीलाई धम्की दिने क्रम अझ बढेको थियो ।
फोन गएकामध्ये चार व्यवसायी र केही बैंकका कर्मचारी मात्र सीआईबीसम्म पुग्नुले पनि बाँकी केहीले प्रसाईंलाई सहयोग गरेका हुनसक्ने अधिकृतहरू बताउँछन् ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, प्रसाईंलाई चन्दा दिन भन्दै व्यवसायीलाई फोन आएको मामलामा अनुसन्धान चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजातका आधारमा गम्भीर आरोप लगाएपछि उनी पक्राउ परे । ४ मंसिरमा बोगटीकै नेतृत्वमा खटिएको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेर ल्याएको थियो ।
‘प्रसाईंविरुद्ध धम्कीका विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले त्यसबेला उनको घरबाट ३ वटा ल्यापटप र ७ वटा मोबाइल पनि बरामद गरेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘अहिले प्रहरी अनुसन्धानमा ती डिभाइसहरू महत्त्वपूर्ण आधार बनिरहेका छन् ।’
सीआईबीले प्रधानमन्त्री ओलीसँग जोडिएको विद्युतीय कारोबार नियन्त्रण ऐन, २०६३ विपरितको कसुरमा छानबिन गर्न मातहतको साइबर ब्यूरोलाई जिम्मा दियो ।
‘साइबर ब्यूरोबाट विद्युतीय अपराधको कसुरमा अनुसन्धान भइरहँदा हामीले व्यवसायीलाई धम्की दिइएको विषयको अनुसन्धानलाई थप तीब्रता दियौं’, सीआईबीका प्रमुख दिपक थापाले भने, ‘त्यसक्रममा १३ मंसिरमा झापाको मेचीनगर नगरपालिका वडा नं. १३, चारआलीबाट ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाललाई पक्राउ गर्यौं ।’
एआईजी थापाका अनुसार, उनले नेपालका व्यवसायीलाई भारतीय जेलमा रहेका लरेन्स विश्नोई नेतृत्वको आपराधिक समूहको नामबाट धम्की दिएका थिए । पक्राउ गरेर सोधपुछ गर्ने क्रममा उनले मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा धम्की दिएको खुलाएको थापा बताउँछन् ।
सीआईबी प्रमुखले फुयाँललाई झापाबाट समातिएको बताएपनि प्रहरी उच्च स्रोत भने उनलाई भारतीय प्रहरीको सहयोगमा भारतको उत्तरपूर्वी राज्य आसामबाट पक्राउ गरिएको बताउँछ ।
‘भारतीय प्रहरीको सहयोगमा ह्वाट्स एप र भारतीय सीम कार्डको डिटेल मगाएर जाँच गरेपछि उनी लोकेट भएका थिए’, यसबारे जानकार एक उच्च प्रहरी अधिकृतलले भने, ‘त्यहाँ उनी दूध व्यवसायीको भेषमा बसिरहेका थिए ।’
स्रोतका अनुसार, उनलाई लोकेट गर्ने विषयमा प्रतिआतंकवाद मामलामा अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत निकाय विशेष ब्यूरो पनि परिचालित भएको थियो ।
अधिकृतहरूका अनुसार, फुयाँलले पक्राउ परेलगत्तै प्रसाईंसँग सम्बन्ध रहेको स्वीकारिहाले । तर, अदालती परीक्षणसम्म लैजानलाई प्रहरीका लागि साविती बयान मात्र पर्याप्त थिएन ।
भारतीय नम्बरबाट ११३ पटक नेपाली व्यवसायी, बैंकका कर्मचारी लगायतलाई फोन गरेको देखिए पनि उनैले ती कलहरू गरेको पुष्टि गर्न थप आधार चाहिएको थियो । त्यसैले अपरेशनमा खटिएका अधिकृतहरूले फुयाँलको भिबो र रेडमी कम्पनीको मोबाइल पनि साथमा लिएर आएका थिए ।
सीआईबीका अनुसार, फुयाँलको मोबाइल जाँच गर्दा अहिले प्रसाईं र उनको सम्बन्ध स्थापित हुने महत्त्वपूर्ण आधार फेला परेको छ । प्रसाईंले उनलाई तेस्रो व्यक्तिमार्फत् ५ लाख रुपैयाँ जम्मा गराइदिएको रिसिप्ट पनि भेटिएको छ ।
‘रिसिप्ट मात्र होइन, पैसा पठाएर त्यसबारे सन्देशसहित प्रसाईंले पठाएको अडियो फुयाँलको मोबाइलमा भेटिएको छ’, सीआईबी स्रोतले भन्यो, ‘कतिसम्म भने फुयाँलले प्रसाईंसँग टेलिफोन कुराकानीको संवाद पनि रेकर्ड गरेर राखेका रहेछन् ।’
फुयाँल पहिले पनि बैंकिङ कसुरमा जेल बसिसकेका व्यक्ति हुन् । त्यसैले पनि पछि अफ्ठ्यारो पहिहाल्दाको अवस्थालाई भनेर अडियो राखेको हुनसक्ने अनुसन्धान अधिकृतहरू शंका गर्छन् । विद्युतीय कारोबारको कसुरमा जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई बिहीबार ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । तर, अर्को मुद्दामा अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरू रहेको भन्दै उनलाई सीआईबीले लगेको छ ।
‘प्रसाईं र फुयाँलबीच संवादको अडियो डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गर्नुपर्ने भएकाले थप समय हिरासतमा राखेर अनुसन्धान गर्नु पर्नेछ’, ब्यूरोका एक अधिकृतले भने, ‘पछिल्लो समय थप तथ्यहरू खुलिरहेकाले अन्य विषयमा पनि जाँच गरिरहेका छौं ।’ उनका अनुसार, गौतममाथि भएको कुटपिट प्रकरणलाई जोडेर समेत बुझ्ने काम भइरहेको छ ।
प्रसाईंले धम्की दिएको भन्दै प्रहरीसमक्ष सूचना पुगेको यो पहिलो पटक भने होइन ।
सर्वोच्च अदालतमा आफ्नो मुद्दा चलिरहेका बेला उनले रजिष्टारलाई छिटो पेशी चढाइदिन भन्दै धम्की दिएको विवरण काठमाडौं प्रहरीसम्म पुगेको थियो ।
पछि ५ चैत २०८० मा अदालत परिसरमा उनका दुई सुरक्षागार्ड अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । त्यसबेला प्रहरीले सुरक्षागार्डसँगै प्रसाईंलाई समेत मुद्दा चलाउन खोजेको थियो । तर, गृह मन्त्रालयबाट ‘ग्रिन सिग्नल’ नपाउँदा प्रहरी हच्किनु परेको थियो ।
उनले त्यसअघि बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालो मोसो अभियान समेत चलाएका थिए । पछि धार्मिक एजेण्डा उठाएर उनले आफ्ना अराजक गतिविधिलाई राजनीतिक रंग दिन खोजेका थिए ।