दिल्ली दर्शनका तीन आकर्षण


‘दिल्ली दूर हैं’को किंवदन्ती हाम्रो जनजिब्रोमा अझ पनि जीवित छ। यो किंवदन्ती मात्र होइन, मेरो जीवनमा सत्य कथनका रूपमा साबित हुन गएको छ। दुई दशकअघि सार्क लेखक सम्मेलनमा जाने अवसर प्राप्त गरेको थिएँ। त्यसबखत म राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य थिएँ तर सार्क लेखक परिषद्, नेपाल शाखाले म, तेजेश्वरबाबु ग्वंगः र डा. बेन्जु शर्मालाई उक्त लेखक सम्मेलनमा भाग लिनका लागि मनोनित गरेको थियो।

यो सार्क संस्कृति सम्मेलन भएकाले मैथिली, नेपाली र नेवारी संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नका लागि हामी तीन जनाको मनोनयन भएको थियो। सम्मेलन सकेपछि म र डा. बेन्जु शर्मा दुवैले दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण पनि गराएका थियौं । त्यसपछि दिल्ली जाने अवसर प्राप्त भएको थिएन।

म एकचोटि फेरि दिल्ली जानका लागि अवसरको प्रतीक्षामा थिएँ तर अवसर प्राप्त हुनु ‘आकाशको फल आँखा तरी मर’जस्तो भइराखेको थियो। मलाई नर्भिक अस्पतालका डा. भरत रावतले इपिएस परीक्षणका लागि भनेका थिए र यो परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उक्त जाँचका लागि समय पनि निश्चित गरिसकेको थियो। त्यो समय थियो २०६४ असार २९ गते तर त्यहाँ जाँच गराउनुभन्दा पहिला दिल्लीको कुनै अस्पतालमा जाँच गराउने अभिरुचि भएकाले समयको प्रतीक्षामा थिएँ। यसपालि निजी खर्चमा जानु परेकाले सबै तयारी गर्दा गर्दै धेरै समय लाग्यो। यस अर्थमा ‘दिल्ली दूर है’ भन्ने गर्छु।

आखिर २००८ फेब्रुअरी ५ तारिखको दिन सपत्नी जाने कार्यक्रम बन्यो। यसपालि अखिल भारतीय आयुर्विज्ञान संस्थान, जसलाई संक्षेपमा ‘एम्स’ भनिन्छ, त्यहाँ जाने कार्यक्रम बन्यो। डाक्टरले समय पनि दिइसकेकाले इन्डियन एयरलाइन्सको हवाई टिकट पनि हातमा थियो। निर्धारित समयअनुसार त्रिभुवन विमानस्थलमा पुगिसकेका थियौं तर उडान एक घण्टा ढिलो हुने सूचना पायौं। प्रतीक्षा गर्नुबाहेक अरू विकल्प थिएन। ढिलो उडान भएकाले दिल्ली पनि ढिलो पुगियो। राति भइसकेकाले अलि समस्या हुने नै भयो। मेरो वासको व्यवस्था गान्धी निधि अतिथि गृहमा एक सप्ताहका लागि भइसकेकाले त्यहाँ जानका लागि एयरपोर्टबाट नै प्रिपेड ट्याक्सी लिएर प्रस्थान गरेँ।

उक्त अतिथिगृह सस्तो र साधारण किसिमको भएकाले प्रख्यात थिएन। चालकलाई समेत ठाउँ थाहा नभएकाले हामीलाई पनि धेरै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्‍यो। अन्त्यमा राति ९ बजे अतिथिगृहमा पुग्दा मात्र हामी आश्वस्त भयौं। रातिको खाना पनि सकिइसकेकाले काठमाडौंबाट लगेको हलुका खाने खाद्य सामग्री खाएर सन्तोष गर्नुपर्‍यो। राति मिठो निद्रा लाग्यो।

भोलिपल्ट बिहानै तयार भएर ‘एम्स’ अस्पताल जानका लागि निस्केँ। बसबाट जाने निधो गरेँ किनभने राजघाटबाट उक्त अस्पताल धेरै टाढा रहेछ। ट्याक्सी, टेम्पो आदि सवारी साधनबाट जानका लागि धेरै महँगो पर्ने भएकाले यस्तो आँट गरेँ। जसरी भए पनि बसबाट समयमा अस्पतालमा पुगेँ। सोझै निर्देशकको कार्यकक्षमा पुगेपछि उनले सम्बन्धित चिकित्सकको कोठामा जाँचका लागि व्यवस्था मिलाइदिए। काठमाडौंमा स्नायु रोगसम्बन्धी उपचार चलिराखेकाले स्नायु विशेषज्ञ डा. श्रीवास्तवबाट परीक्षण गराउनका लागि तुरुन्त व्यवस्था मिलाइयो। डाक्टरले जाँचेपछि उनले ‘तपाईंलाई हृदयरोग लागेको छ तसर्थ हृदयरोग विशेषज्ञसँग जचाउनुपर्छ’ भनेपछि हामी अब हृदयरोग शाखामा गयौं तर त्यस दिन सम्भव हुन सकेन। भोलिपल्ट फेरि हामी गयौं। विभिन्न जाँच गरेपछि ‘तपाईंले पेसमेकर राख्नुपर्छ’ भन्दै त्यसमा लाग्ने रकम पनि तोकी तुरुन्त लगाउनका लागि सल्लाह दिए तर उनको सल्लाह औषधिभन्दा पनि तितो थियो। व्यवहार पनि त्यत्तिकै रुखो। मलाई धेरै दुःख लाग्यो। सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि पेसमेकर राख्नुपर्छ भनेर डा. मनबहादुर केसीले भन्नुभएको थियो। अब मेरा लागि अर्को कुनै विकल्प थिएन। खर्च पनि काठमाडौं र त्यहाँकोमा केही खास फरक थिएन। हामीले अब निर्णय गर्‍यौं -काठमाडौंमा नै पेसमेकर राख्ने। अब श्रीमतीलाई जचाउने चाँजोपाँजो मिलाउनका लागि कति कोसिस गरें तर केही सिप लागेन। त्यहाँको नियम के रहेछ भने कुनै डाक्टरले रेफर गर्नुपर्ने तर उनका लागि कसैले रेफर गरेको थिएन। लाइनमा लागेर टिकट बनाउनु त्यहाँ असम्भव नै लाग्यो।

भोलिपल्ट गंगाराम अस्पतालमा श्रीमतीलाई जचाउन गएँ। त्यहाँ जानासाथ डाक्टर उपलब्ध गराइदिए। यहाँ डाक्टरको शुल्क रु. ५०० रहेछ र अस्पताल पनि स्तरीय। एम्सजस्तो अकल्पनीय भिड रहेनछ। डा. अरुण मोहन्ती बडो मिलनसार डाक्टर रहेछन्। उनले भोलिपल्ट स्ट्रेस इकोका लागि भनेका थिए। मेरो सम्बन्धमा मैले सल्लाह लिँदा ‘एम्सका डाक्टर राकेश यादवले पेसमेकर राख्नका लागि भनेका छन् भने अर्को कुनै उपाय छैन, तपाईंले राख्नैपर्छ।

म पनि एम्स अस्पतालबाट नै यहाँ आएको छु। बरु तपाईं भोलि १० बजे नै यहाँ आउनुहोस्, म सबै व्यवस्था मिलाइदिन्छु।’ गंगाराममा पेसमेकरको ४० हजार रुपैयाँ भारु भनियो, जबकि एम्समा ६० हजार रुपैयाँ भनिएको थियो। अब हामीले गंगाराममा नै पेसमेकर राख्ने निर्णय गरेर फर्कियौं। श्रीमतीको स्ट्रेस इकोको रिपोर्ट पनि सन्तोषजनक नै निस्कियो। अस्पताल धाउँदा–धाउँदै एक सप्ताहको समय पनि समाप्त भइसकेको थियो। अब अतिथिगृह पनि छोड्नुपर्ने भयो। यो अतिथिगृह व्यावसायिक प्रयोजनका लागि नभएर विद्वान्हरू र अनुसन्धानकर्ताहरूका लागि मात्र रहेछ। एक सप्ताहभन्दा बढी समयका लागि सम्भव नै थिएन। दिल्लीस्थित नेपाली दूतावास अतिथिगृहमा वासको व्यवस्थाका लागि कोसिस गरेँ तर उनले ‘फलानो मन्त्री आउँदै हुनुहुन्छ, तपाईंलाई दिन मिल्दैन’ भने जबकि हामीलाई थाहा छ मन्त्रीहरू पाँचतारे होटलमा बस्ने गर्छन् । साहित्यकार तथा कूटनीतिज्ञ जय राईले सिफारिस गर्दा पनि उनले मानेनन्।

भोलिपल्ट गंगासागर अस्पतालमा ठिक दश बजे नै पुग्यौं तर डाक्टरहरू अत्यन्त व्यस्त भएकाले धेरै ढिलो हुन थाल्यो। डा. मोहन्तीले सबै व्यवस्था मिलाउँछु भनेर गएका थिए। यता दिवा खानाको समय हुन थालेको थियो। हामीलाई भोक पनि लागिसकेको थियो। हामी त्यहाँस्थित क्यान्टिनमा खाना खान गयौं। एकदम राम्रो व्यवस्था थियो। खानेबेलामा श्रीमतीले भन्न थालिन्– ‘तपाईं भर्ना भएर अस्पतालको ओछ्यानमा बस्नुहुन्छ, म एक्लै के गर्ने?’ उनी नर्भस हुन थालिन्। मैले पनि हृदयरोगसम्बन्धी उपचार भएकाले धेरै संवेदनशील हुने स्थितिमा पुगेँ। हामीले निर्णय ग¥यौं– अब काठमाडौं फर्किने र त्यहीं पेसमेकर राख्न लगाउने।

अब हामीले ‘अक्षरधाम’ जुन दिल्लीको सबैभन्दा आकर्षक नवनिर्मित मन्दिरहरू हेर्ने कार्यक्रम बनायौं। यसबारे धेरै सुनेका थियौं। यो यमुना नदीको किनारमा नयाँ दिल्लीमा अवस्थित छ। यसलाई मन्दिर भनिएको छ तर यो एउटा प्रार्थनाकक्ष र स्मृति कक्षको रूपमा धेरै प्रसिद्ध छ।

स्वामी नारायणको स्मृतिमा निर्मित यो भव्य एवं दिव्य स्मारक स्मरणीय र दर्शनीय ठाउँमा छ। यो दिल्लीको अहिले सबैभन्दा आकर्षक र अविस्मरणीय केन्द्रका रूपमा संसारभर प्रसिद्ध हुन गएको छ। स्वामी नारायणका शिष्यहरूले चन्दा संकलन गरेर यस भव्य स्मारक भवनको निर्माण गरेका छन्। संसारभरिमा छरिएका गुजरातीहरूले हृदय खोलेर चन्दा प्रदान गरेर यसलाई निर्मित गर्नमा अभूतपूर्व योगदान गरेका छन्।

यो स्मारक तीनतर्फबाट नारायण सरोवरले घेरिएको छ। १५१ नदीहरूबाट जल संकलन गरेर यस सरोवरमा राखिएको छ । राजस्थानको पहेँलो रङको सिंगमरमरबाट यसको निर्माण आकर्षक ढंगबाट गरिएको छ। यस भव्य स्मारक भवनमा मंगलदाता गणेश र समुद्रमन्थनको हृदयग्राही दृश्य अंकित गरिएको छ। यसबाहेक महान् सन्त कवि कबीर, गुरु नानक र मिरावाई आदिका प्रस्तर कलामा कुँदिएका प्रशंसनीय चित्रहरू पनि हेर्न सकिन्छ।

यसको प्रवेशद्वारमा भगवान् विष्णुको दशावतारको दिव्य दर्शनपछि भित्र जानका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। महिला र पुरुषको भिन्दाभिन्दै लाइनको समुचित व्यवस्था गरिएको छ। यहाँ दर्शनार्थीहरूको मोबाइल, झोला तथा जुत्ता–चप्पल राख्नका लागि पनि राम्रो व्यवस्था गरिएको छ। दर्शनार्थीहरू चिन्ता र तनावरहित भएर दर्शनार्थ भित्र प्रवेश गर्छन्। कुनै चिजको चिन्ता लिनुपर्ने आवश्यकता छैन। दर्शनार्थीहरू भित्र प्रवेश गरेपछि विभिन्न हिन्दु देवी–देवताहरूको दर्शन गर्ने व्यवस्था गरिएको छ। यस भव्य स्मारक स्थलको परिक्रमा गर्नका लागि पनि राम्रो व्यवस्था गरिएको छ।

 स्मारकभित्र विभिन्न किसिमका प्रदर्शनी पनि हेर्न लायक छन्। पहिलो, स्वामी नारायणको बचपनको दृश्यावली, जसलाई ‘सहजानन्द’ भनिएको छ। स्वामी नारायणको जीवनमा घटित विभिन्न चामत्कारिक घटना र उपघटनाहरूलाई पनि भित्तामा आकर्षक शैलीमा अंकित गरिएको छ। अर्को अवलोकनीय दृश्य यहाँस्थित झरनामा नौका विहारको हो। यस नौका विहार यात्राले दर्शनार्थीहरूलाई प्राचीनकालका प्रसिद्ध ऋषिमुनि जस्तै चरक, सुश्रुत, आर्यभट्ट, पाणिनी र चाणक्य, जसले आआफ्ना क्षेत्रमा अविस्मरणीय काम गरेका छन्। तेस्रो दर्शनीय पक्ष स्वामी नारायणको जीवनीसम्बन्धी वृत्तचित्र हो। स्वामी नारायणको जन्म ३ अप्रिल १७८१ मा भएको थियो। उनले देशभरिका सबै तीर्थस्थलहरूको भ्रमण गरेका थिए। उनी सन्त हुनुका साथै समाज सुधारकका रूपमा विशेष ख्यातिप्राप्त छन्। यहाँस्थित क्यान्टिनमा धेरै महँगा खानेकुरा पाइन्छन्। एक कप दुधवाला कफीको भारु २५ मूल्य तोकिएको छ। दर्शनार्थीहरूको घतलाग्दो घुइँचो हेर्न लायक हुन्छ। हामी जाँदा आइतबार भएकोले झन् सघन भिड थियो। मूलद्वारमा अनगिन्ती बसहरूको ओहोरदोहोर जारी थियो। विद्यार्थीहरूको असंख्य संख्यामा आउने क्रम जारी थियो । देश–विदेशका दर्शनार्थीहरूको संख्या पनि उत्तिकै उच्च थियो।

दिल्लीको अर्को नयाँ आकर्षणमा थपिएको छ मेट्रो रेल। दिल्लीको मुहार नै फेरिएको छ यसले गर्दा। करोलबागबाट कनौट सर्कससम्म जाँदा अत्यन्त आनन्द आएको थियो। कनौट प्लेसको नयाँ नामकरण गरिएको छ– राजीव चोक। यो मलाई थाहा थिएन। मेट्रोमा चढेपछि लेखिएको देखियो– बाराखम्बा रोड। त्यसैले हामी बाराखम्बा रोडमा ओर्लियौं तर टिकट कनौट प्लेससम्म मात्र लिएकाले बाहिर जाने ढोका खुलेन। त्यसपछि सम्बन्धित अधिकृतसँग सोध्दा उनले थप पैसा लिएर अर्को टिकट बनाइदिए। मेट्रोमा सधैं भिड नभए पनि कुनै कुनै बेला अत्यधिक भिड भए पनि यात्रा सुखद नै हुन्छ। भिड भएपछि सूचना दिइन्छ– आआफ्नो खल्तीको ख्याल गरेर बस्नुस् तर दिल्लीको मेट्रो नयाँ निर्माण भएकाले यसबाट यात्रा गर्नु धेरै आनन्ददायक लाग्छ। यसको निर्माण २००५ मा सुरु भएको हो तर अझै पनि सम्पूर्ण दिल्लीमा मेट्रो सेवा सुरु भएको छैन। मेट्रोमा बाटो जाम हुने समस्या हुँदैन।

हुन त अहिले दिल्लीको ट्राफिक पनि धेरै सुध्रिएकाले धेरै समस्याको सामना गर्नुपर्दैन। यसमा महिलाहरू पनि सुरक्षित ढंगबाट यात्रा गर्न सक्छन्। कुनै किसिमको अभद्र, अशिष्ट र अशोभनीय व्यवहार कसैले ग¥यो भने चालकलाई थाहा भएपछि ढोका नखोलिकन प्रहरीलाई सूचना गर्ने प्रावधान भएकाले तुरुन्त प्रहरी आएर त्यस्तो यात्रुलाई नियन्त्रणमा लिन सफल हुन्छ।

दिल्लीको तेस्रो आकर्षण थियो– विश्व पुस्तक मेला। यो विश्व मेला दिल्लीको प्रगति मैदानमा २ फेब्रुअरीदेखि १० फेब्रुअरीसम्म आयोजित थियो। यसको समय निर्धारित थियो– बिहान ११ बजेदेखि राति ८ बजेसम्म। यसमा विशेष मण्डप, युवा मण्डप र बाल मण्डप थिए। मेलाको समाचारसम्बन्धी बुलेटिन अंग्रेजी र हिन्दी भाषामा प्रकाशित गर्ने व्यवस्था मिलाइएको रहेछ, जसबाट मेलाका सबै गतिविधि र कार्यक्रमहरूको जानकारी सहज रूपमा उपलब्ध थियो। नेसनल बुक ट्रस्टद्वारा आयोजित यस विश्व मेलाको उद्घाटन २ फेब्रुअरी बिहान ११ बजे ‘हंसध्वनि’ थिएटरमा भएको थियो। पुस्तक लोकार्पण समारोहका लागि हल नं. ६ निर्धारित गरिएको थियो र आयोजक संस्था थियो– मञ्जुल पब्लिकेसन हाउस।

लेखकहरूसित भेट्नका लागि सभागार नं. २ तोकिएको थियो र यसको आयोजक थियो इजरायली दूतावास। समसामयिक र सान्दर्भिक विषयहरूसम्बन्धी, जस्तै ९ फेब्रुअरीमा आयोजित संगोष्ठीको विषय थियो – ‘सिर्जनात्मकताको भविष्य’, जसका आयोजक थिए इन्डियन सोसाइटी अफ आर्ट्स।

अर्को संगोष्ठी थियो -‘भूमण्डलीकरणको दौडमा पुस्तकको भूमिका’। सबैभन्दा रोचक विषय थियो -‘हिन्दीका लेखक बेबसीको कगारमा’ र अन्त्यमा कवि सम्मेलनको आयोजना इन्द्रप्रस्थ साहित्य अकादमीले गरेको थियो। यसरी व्यस्त समयमा पनि रोगग्रस्त मुटु लिएर एक दिन विश्व पुस्तक मेलामा भाग लिने अवसर पाएँ। धेरै खुसी लाग्यो।

प्रकाशित: ७ चैत्र २०८२ ०६:५६ शनिबार





Source link

Leave a Comment