दलितसँग विवाह गरेकै कारण बाबुको काजकिरिया एक्लै


बाँकेको खजुरा–३ बीगाउँका अर्जुन उपाध्याय, उमेर ५० वर्ष। उनका लागि भर्खर बितेको १८ दिन अत्यन्त पीडादायी रहे। हिन्दू संस्कारमा छोराले बुवाको शव काँधमा राखेर अन्त्येष्टि गर्नु पवित्र धर्म ठानिन्छ। तर अर्जुनलाई आफ्नै बाबुको शव काँधमा राख्न घरपरिवारले रोक लगाए। कारण ?, ‘उनले दलित समुदायकी शिला विकसँग अन्तरजातीय विवाह गरेका थिए।’ 

जब उनी काँध हाल्न अगाडि बढे, परिवार र समाजले रोक्न खोज्यो। तर अर्जुनले आफ्ना बाबुका लागि जबरजस्ती काँधमा राखे। शव दाहसंस्कार त गरे, तर त्यसपछि काजकिरिया गर्नसमेत दिइएन।

परिवारले भन्यो, ‘तँले अछुत जातकी केटीसँग बिहे गरेर हामीलाई अपवित्र बनाइस्, तँसँग हाम्रो सम्बन्ध सकियो।’

अर्जुन आफ्नो घरमै एक्लै किरिया बसे। उनका दुई भाइले भने छुट्टै किरिया गरे। अझ मार्मिक कुरा, माइती पक्षबाहेक कोही छिमेकी उनीकहाँ ‘बसी लाग्न’ पनि आएनन्।

उनी न घरको भए, न समाजको। अर्जुन किरिया गर्न आफ्नो घरमै बस्नुपर्‍यो। शोकमा साथ दिने परम्परा अब जातले निर्धारण गर्न थाल्यो। माइती पक्षबाहेक सबैले चुप्पी साधे, समाजको असल सदस्य बन्न।

परम्परा भन्छ, ‘छोराले बाबुलाई काँध दिनुपर्छ।’ हिन्दू संस्कारको मूलमा छ, ‘बुवाको शव अग्निमा समर्पण गर्नु, त्यसले मात्र आत्मा मुक्त हुन्छ भन्ने विश्वास।’ तर अर्जुनको लागि धर्मभन्दा पहिला जात राखियो। तर अर्जुन चुप लागेनन्। आँखा रसाएका थिए, तर काँधमा बल थियो। उनले बाबुको शव उठाए, जबर्जस्ती, आँसु र अपमानसँगै।

शव दाहसंस्कार भयो। तर त्यो अग्नि शुद्धिकरणको थलो थिएन, त्यो अर्जुनको ‘अपवित्रता’ प्रमाणित गर्ने तमासा बनाइएको थियो। संस्कार अनुसार, शव जलिसकेपछि छोराले १३ दिनसम्म ब्रह्मचर्य, एकान्त र काजकिरिया गर्नुपर्छ।

परिवार, आफन्त, छिमेकी सबै जुट्छन्। तर अर्जुनका लागि यो परम्परा पनि टुट्यो। घर फर्किएपछि परिवारले उनलाई किरिया गर्नसमेत रोकेको थियो। उनका दुई भाइले भने छुट्टै किरिया गरे—अर्जुनलाई छुट्याएर।

भित्रभित्रै चिरेको आत्मा, बाहिर नदेखिने घाउ। ‘मैले के अपराध गरे,’ अर्जुन समाजलाई प्रश्न सोध्छन्, ‘सच्चा प्रेम गर्नु अपराध हो। एउटा दलित महिला, शिला विकसँग विवाह गरे त्यो अपराध हो। या आफू एक्लो हुँदा, शिलाले साथ दिइन् त्यो अपराध हो।’

त्यही प्रेम अहिले उनको शोकको बेला बहिष्कारको कारण बन्यो। मृत्युलाई पनि ‘छुवाछुत’ ले छुन नदिएको जस्तो भयो। समाजले मृतकभन्दा पनि बढी मृत्युपछि बाँचेको आफूलाई दण्डित गरेको उनको भनाइ छ।

शिला विक सुर्खेतको हात्तीखालकी हुन्। अर्जुनको प्रेममा उनले दोस्रो जीवन रोजिन्। अर्जुनको यो तेस्रो विवाह थियो। अर्जुनसँग सामान्य विवादपछि शिला केही वर्ष भारतको केरला गएकी थिइन्।

अर्जुनले त्यहाँ पुगेर उनलाई ल्याएका थिए। त्यो साथ, त्यो सम्मान थियो। अत्यधिक मद्यपानका कारण शिला भारतको केरला गएकी थिइन्। दाम्पत्य त कति बलियो थियो भनेर नाप्न सकिएन, तर अर्जुनको आमाले देखाएको ममता भने अझै बलियो थियो।

तेजकुमारी, अर्जुनकी आमा, एक्लै थिइन्, तर छोराको साथमा। आजसम्म उनले ‘रुको वचन’ पनि लगाएकी छैनन्, जसको अर्थ—उनले अझै आशाको आँगनमा चुल्हो बलिरहेकै छन्। सँगै बस्न खोज्दासमेत काजकिरिया सँगै बस्न नदिँदा आफू छुट्टै बसेको उनको भनाइ छ।

‘मृत्युमा समेत विभेद हुँदा म मरतुल्य छुँ,’ उनी भन्छन्, ‘परिवार र समाजले मलाई अन्याय गर्‍यो।’ जेठी आमाअर्थात अर्जनुकी आमाबाट दुई भाइ छन्। डिल्लीप्रसाद र अर्जनु जेठीबाट र प्रेम र नारायण कान्छी आमाबाटका छोराहरु हुन्। नारायण विदेश छन्।

अरु तीनभाइ खजुरामै छन्। डिल्ली र अर्जुनसँगै किरिया बसे भने अर्जुन छुट्टै। भाइ नारायणले विदेशबाट सँगै मिलेर बस्न सुझाएको उनी बताउँछन्। ‘दाई डिल्ली र भाइ नारायणबाट मलाई असहयोग छैन,’ उनी भन्छन्, ‘प्रेमको घरबाट मलाई तिरस्कार भयो। बुवाको मृत्यु संस्कार बन्देज गर्न खोजियो।’

अर्जुनलाई साथ दिँदा समाजले अपराधी बनाएको अर्जनुकी श्रीमती शिलाले बताइन्। बीगाउँको एउटा सानो कोठामा बसेकी शिला विकको अनुहारमा थकान थियो। थकान शारीरिकभन्दा पनि मानसिक थियो।

उनका आँखामा आँसु त थिएनन्, तर चोट झल्किन्थ्यो। ‘हामीले प्रेम गर्‍यौँ, बिहे गर्‍यौँ। तर मैले ‘दलित’ भएर बिहे गरेँ भन्दै अर्जुनलाई नै समाजले तिरस्कृत गर्‍यो। यो कस्तो न्याय हो ?’

उनले सुनाउँदा स्वर थरथराइरहेको थियो। शिलाको नजरमा अर्जुन एक असल मान्छे थिए, जो पहिले दुई विवाहमा धोका खाएर टुक्रिएको आत्मा लिएर बाँचिरहेका थिए।

‘जब म दिदीको घरमा बसेकी थिएँ, उनीसँग भेट भयो।’ त्यही भेटबाट उनीहरुले सम्बन्ध सुरुवात भएको थियो। शिलाले सम्झिइन्, ‘हाम्रो विवाह भएको केही दिनमै अर्जुनलाई घरबाट निकालियो। मलाई घरभित्र पस्न नदिइयो। मानौं म कुनै घातक रोग लिएर आएकी थिएँ।’

शव छुन नपाएको घटनाले अझै शिला छियाछिया भएकी छन्। ‘उहाँका बाबु मरेपछि पनि समाजले त उहाँ छोरो होइन भनेझैं व्यवहार गर्‍यो। काँध हाल्न दिइएन, किरिया गर्न दिइएन। छुट्टै एक्लै बसेर किरिया गर्नु पर्‍यो। तपाईं नै भन्नुहोस् यस्तो छुवाछुतले कसरी आत्मा शान्त हुन्छ ?’

शिलाले भनेको अर्को मर्मस्पर्शी वाक्य, ‘हामीले प्रेम गर्दा धर्म, जात, कुल हेरेनौँ। तर समाजले हाम्रा नामपछि जात जोडेर हामीलाई बाँच्नै नसक्ने बनायो।’

शिलाको भनाइले स्पष्ट गर्छ, ‘जातीय छुवाछुतको शिकार केवल अर्जुन होइनन्, शिला पनि समान रूपमा पीडित छन्।’ अन्तरजातीय विवाह गर्ने महिलाहरू अझै बढी मानसिक र सामाजिक हिंसाभित्र थुनिएका छन्।

तर, अर्जुनका भाइ प्रेमप्रसाद उपाध्यायले यो कुरालाई इन्कार गरे। प्रेम जेठी आमातिरको सन्तान हुन भने प्रेम कान्छी आमातिरका सन्तान हुन।

‘हामीले विभेद गरेका होइनौं,’ प्रेमप्रसाद भन्छन्, ‘दाहसंस्कारपछि हामी एउटै गाडीमा फर्केका थियौं। उहाँ (अर्जुन) आफ्नो घर जानुभयो, हामी हाम्रोमा। म दाइलाई मेरो घरमा बोलाएको थिएँ, किनकि तीन ठाउँमा बस्नाले धार्मिक संस्कारअनुसार ठीक नहुने भएकाले यस्तो गरेका हौं।’ उहाँ गएपछि मैले पनि बोलाएन उनको भनाइ छ।

उनका अनुसार अहिलेको समयमा कसैले जातीय विभेद गर्छ भन्ने कुरा विश्वास गर्न गाह्रो छ। ‘बरु बुवाले निधन हुनु अगाडि भन्नुभएको थियो, नारायण र अर्जुनले मेरो लास नछुनु,’ उनी सम्झन्छन्, ‘तर त्यो दलितको छोरीसँग विवाह गरेको भनेर भनेको होइन, ती दाजुहरूले हेरचाह नगरेको, लालनपालन नगरेको भनेर भन्नुभएको हो।’

प्रेमप्रसादले स्पष्ट पार्छन्, ‘यदि हामीले विभेद गरेका भए त सम्पत्ति पनि दिन्न थिएँ होला। अर्जुन अहिले बाबुको नै सम्पत्तिमा बसिरहनु भएको छ। त्यसैले यसलाई जातीय विभेद भनेर बुझ्नु गलत हुन्छ।’

अर्जुनलाई छुन नदिएको, अलग किरिया बस्न बाध्य बनाइएको, छिमेकीहरूद्वारा बहिष्कृत गरिँदाको घटना केवल एक व्यक्ति वा परिवारको समस्या होइन, यो हाम्रो रुढीवादी, जातीय सोचले निर्देशित समाजको अनुहार भएको दलित अधिकारकर्मीहरु बताउँछन्।

समाज अझै ‘ऊ दलित हो, ऊ ब्राह्मण हो’ भन्ने आँखाले हेर्ने गरेको अधिकारकर्मीहरुको भनाइ छ। समानता, प्रेम र सहजीवनका कुराहरू सैद्धान्तिक मात्र छन्, व्यवहारमा विभेद, अपमान र बहिष्कार मात्रै छन्।

अर्जुन र शिला प्रति गरिएको अमानवीय कार्यलाई दलित अधिकारकर्मी टीका बिकले एउटा सामाजिक अपराध भएको बताएकी छिन्।

‘घरपरिवारको दबाबका कारण अर्जुन कानुनी प्रक्रिया जान सकेनन्,’ अधिकारकर्मी टीका भन्छिन्, ‘मैले नै उहाँलाई जाहेरी लेख्न सहयोग गरेकी थिएँ। तर अन्तिम घडीमा दर्ता हुन सकेन।’

उनका अनुसार यस प्रकारका घटनामा कानुनी प्रक्रियामा नगएर झन् समस्या गहिरिँदै जान्छ। ‘यो बाटो रोज्न नसक्नुको अर्थ दबाबमा झुक्नु हो,’ उनी भन्छिन्, ‘र त्यही दबाबले यस्ता विभेदकारी घटनालाई अझै बढावा दिन्छ। कानुनी प्रक्रिया अपनाइनु अनिवार्य हुन्छ।’ 

टीकाको भनाइमा घटनाको मुल चुरो जातीय विभेदमै आधारित छ। ‘दलितकी छोरीसँग विवाह गरेकै कारण एउटै बाबुको छोराबीच काजकिरिया छुट्याउनु, अलग्गै संस्कार लगाउनु आफैँमा विभेदपूर्ण व्यवहार हो,’ उनी भन्छिन्, ‘यदि तीनै जना दाजुभाइ छुट्टाछुट्टै परिवारमा बसेका हुन्थे भने यस्तो घटनालाई सामान्यरुपमा हेर्न सक्न्थ्यिो।

तर दुईजना एउटै ठाउँमा काजकिरिया गर्दै तेस्रोजनालाई छुट्याउनु जातीय विभेदको स्पष्ट रूप हो।’ उनले थप प्रष्ट पारिन्, ‘कानुनी बाटो नअँगाल्नुको अर्थ अन्याय सहनु मात्र होइन, समाजमा त्यस्ता अन्यायलाई मौन समर्थन गर्नु पनि हो। त्यसैले पीडित अर्जुनले हिम्मत गरेर सत्य उजागर गर्नुपर्छ।’

शव छुन रोक्नु, संयुक्त किरियाबाट रोक्नु, सामाजिक बहिष्कार गर्नु सबै दण्डनीय अपराध हुन्। जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को धारा ४ अनुसार यस्तो कार्य गरेमा तीन वर्षसम्म कैद, वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

प्रकाशित: १३ असार २०८२ २२:२७ शुक्रबार





Source link

Leave a Comment