दलाई लामाको प्रवचनपछि मूल्य पाएको तिमालको बोधिचित्त


४ वैशाख, काठमाडौं । बिहीबार मध्यराति काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा  अज्ञात समूहले एउटा रुख काटेको विषयले धेरैको ध्यान खिच्यो । काटिएको रुख वार्षिक तीन करोड रुपैयाँ लिने गरी बिक्री भइसकेको सुन्दा धेरैलाई आश्चर्य लाग्नु स्वाभाविक पनि थियो ।

हतियारसहित पुगेको समूहले बोधिचित्त (बुद्धचित्त)को रुख काटेर घर आसपासमा विष्फोटक पदार्थ राखेको घटना प्रहरीका लागि पनि टाउको दुखाइ बनिरहेको छ । हालसम्म प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यद्यपि, उनीहरुले संलग्नता स्वीकारिसकेको अवस्था छैन ।

काभ्रेपलाञ्चोककी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार, राति २ बजे रुख काटिएको स्थानमा पुगेर प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा बोधिचित्तको रुखका धनी शेरबहादुर तामाङले वार्षिक ३ करोड रुपैयाँ लिने गरी ५ वर्षका लागि यो रुख विक्री गरिसकेको पत्ता लागेको थियो ।

व्यवसायी सन्दीप त्रिपाठी र सत्यमान लामाले ५ वर्षलाई रुखमा फल्ने दाना पाउने सम्झौता भएपछि प्रतिष्पर्धामा रहेका अन्य व्यवसायीले रुख नै काटिदिएको हुनसक्ने आशंका छ । यद्यपि, यसमा संलग्नहरुको पहिचान भइसकेको छैन ।

रुख काटिएकोबारे प्रहरी अनुसन्धान चलिरहेको छ भने लाखौंको बिक्री सम्झौताले बोद्धिचित्तको रुखबारे पनि चासो बढाएको छ । कतिपयले प्रश्न गरेका छन्– ‘यत्तिको महँगो पर्ने रुख अन्यत्र पनि खेती गरेर मालामाल हुन सकिँदैन ? बुद्धचित्तको व्यापार कसरी हुन्छ ?’

यसले कसरी यत्तिको मूल्य पायो ? भन्ने प्रश्न पनि धेरैको मनमा छ । यिनै विषयको जवाफ खोज्ने प्रयास अनलाइनखबरको शृंखला ‘जिज्ञासा र जवाफ’माः

के हो बोधिचित्त ?

त्रिभुवन विश्वविद्यालय, वनस्पतिशास्त्रका उपप्राध्यापक डा. नारायण घिमिरेका अनुसार, बुद्धचित्त समेत भनिने बोधिचित्त बयर प्रजातिको रुख हो । यसको वैज्ञानिक नाम ‘जिजिफस स्पेसी’ हो ।

‘रुख प्रजातिको भए पनि यसको आकार अरु रुखहरुझैँ ठूलो नभइ बुट्यान स्वरुपको हुन्छ’, घिमिरे भन्छन्, ‘यो सब–ट्रपिकल जोन (समुन्द्री सतहबाट एकदेखि दुई हजार मिटरसम्मको उचाइ) मा पाइन्छ ।’

काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त पाइने उनी बताउँछन् । जहाँ त्यहीँ नपाइने यो प्रजातिलाई सन् २०१५ मा वनस्पतिविद्हरुले नेपालको रैथाने वनस्पती भनेका छन् ।

बोधिचित्तको मूल्य किन यति धेरै महँगो ?

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले गरेको एक अध्ययनमा उल्लेख भएअनुसार, गौतम बुद्धले कुनै बेला तीन स्थानमा रोप्न भनेर बोधिचित्तको बिउ छरेको किंवदन्ती छ । तीमध्ये मध्य लुम्बिनी र नमोबुद्धका बिउहरु मरेर गएपनि काभ्रेको तिमाल क्षेत्रमा फस्टाएको भन्ने भनाइ छ ।

अर्को किंवदन्ती अनुसार, तिब्बती धर्मगुरु पद्म सम्भव (गुरु रेम्पोछे) ले तपश्याका लागि आएका बेला तिमाल क्षेत्रमा बिउ रोपेका थिए । यसको बिउ उनले लुम्बिनीबाट ल्याएको भन्ने गरिन्छ ।

वनस्पती विभागका पूर्वप्रमुख डा. राजेन्द्र केसीका अनुसार, पहिल्यैदेखि बोधिचित्तको रुख तिमाल क्षेत्रमा भए पनि यसको बजार उत्ति थिएन । यसको मूल्यबारे पनि स्थानीयलाई धेरै जानकारी थिएन ।

‘तर, २०७०/७१ सालको आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गर्नुभएछ’, केसीले भने, ‘उहाँले काभ्रेका तिमालमा पाइन्छ भनेर पनि भन्नुभएको रहेछ, त्यसपछि यसको व्यापार बढेको हो ।’

बौद्ध धर्मसँग जोडेर प्रचार भएपछि यसको धार्मिक र आर्थिक महत्व बढेको उनी बताउँछन् । आफू वनस्पती विभागमा रहेका बेला स्थलगत अध्ययनमा जाँदा २७ लाख रुपैयाँसम्ममा कारोबार भएको पाएको उनले बताए ।

‘अहिले एउटा रुख नै ३ करोड रुपैयाँमा विक्री सम्झौता भएको सुन्दा अनौठो लागेको छ’, उनले भने ।

त्रिविका उपप्राध्यापक डा. घिमिरेका अनुसार, बुद्धचित्तको १०८ वटा दानालाई माला बनाएर बौद्ध धर्मावलम्बीहरुले जप गर्ने गर्छन् । त्यसैले यसलाई बुद्ध माला पनि भनिन्छ ।

बोधिचित्तको अन्यत्र खेती गर्न सम्भव छ कि छैन ? 

उपप्राध्यापक डा. घिमिरेका अनुसार, बोधिचित्तको रुख अन्यत्र पनि रोप्न नसकिने भन्ने होइन । काभ्रेमा बोधिचित्तको खेती मध्यपहाडी क्षेत्रको ९४५ देखि २००१ मिटरसम्मको उचाइमा भएको अध्ययनले देखाएको छ ।

‘अरु क्षेत्रमा पनि कतिपयले यसको विरुवा लगाएको सुनिन्छ’, घिमिरे भन्छन्, ‘तर यसको उत्पादनलाई माटोको अवस्था, हावापानी, तापक्रम, जमिन कतापट्टी फर्किएको छ जस्ता थुप्रै विषयहरुले फरक पार्छ ।’ यसको उत्पादन अन्यत्र पनि हुनसक्ने भएपनि तिमालको जमिन भने यसका लागि उपयुक्त देखिने उनी बताउँछन् ।

वनस्पती विभागका पूर्वप्रमुख डा. केसी भने फरक मत राख्छन् । यसको बुझाइमा बोधिचित्त तिमाल, रोशी क्षेत्र आसपासको प्रजाति हो, यही क्षेत्रमा संरक्षण गरेर उत्पादनलाई बढाउनुपर्छ ।

‘सबै ठाउँमा मास कल्टिभेसन गर्न थाल्यो भने यो मकै जस्तो हुन्छ, यसको महत्व रहँदैन’, उनले भने, ‘तिमाल, रोशी क्षेत्रलाई यसको प्रोपर्टी राइट दिनुपर्छ, नभए यसको मूल्य क्रमशः घट्दै जान्छ ।’

बोधिचित्तको व्यापार कसरी हुन्छ ?

वन अनुसन्धान केन्द्रका लागि विमला लामा, सुमित्रा केसी, स्नेहा पूरी र डा. केशवराज गौतमले गरेको अध्ययन प्रतिवेदनअनुसार, बोधिचित्त ढुङ्ग्यान, बलौटे माटो र उत्तर मोहोडा भएको क्षेत्रमा राम्रोसँग हुर्किएको देखिन्छ । पानी धेरै भएको चिस्यान जमिनमा यो रोपिएको नपाइएको प्रतिवेदनमा भनिएको छ ।

‘८ देखि १० मिटर उचाइमा हुने यो रुखले ३ वर्षको उमेरदेखि फल दिन सुरु गर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘९० वर्षसम्मका रुखले फल दिएको देखिएको छ, यद्यपि यसको वास्तविक आयु अझसम्म यकिन गर्न सकिएको छैन ।’

हरेक वर्षको साउन महिनाको अन्तिममा बोधिचित्तको रुखबाट राम्रोसँग पाकेको फल टिप्ने गरिन्छ । त्यसपछि एकथरि किसानले किलोको हिसाबले यसको विक्री गर्छन् । अर्काथरि किसानले भने फूल लाग्नु अगावै व्यवसायीसँग वार्षिक सम्झौता गर्छन् ।

काभ्रेमा ३० चैतको राति काटिएको रुखका धनी शेरबहादुर तामाङ आफूले वार्षिक ३ करोड रुपैयाँ लिने गरी रुख विक्री गरेको बताउँछन् । ‘सन्दीप त्रिपाठी र सत्यमान लामासँग मैले विक्रीका लागि सम्झौता गरिसकेको थिएँ’, उनले भने, ‘तर फूल लाग्नुअगावै दुष्टहरुले रुख काटिदिए ।’

दलाई लामाको प्रवचनपछि मूल्य पाएको तिमालको बोधिचित्त

बोधिचित्त रुख खरिदका लागि सम्झौता गरेका व्यवसायी त्रिपाठीका अनुसार, तिमालमा उत्पादन हुने बोधिचित्तको मालाको मुख्य बजार चीन र तिब्बत हो ।

‘हामीले गाउँबाट पहिल्यै ठेक्का लिएर विक्री गर्थ्यौं’, उनले भने, ‘वार्षिक ३ करोडमा खरिद गरेको दाना प्रशोधन गरेर चिनियाँ बजारसम्म पुर्याउँदा सबै कुरा राम्रो भए अधिकतम १० करोड रुपैयाँसम्ममा विक्री हुनसक्थ्यो ।’

महँगो मूल्य पर्ने भएकैले यसको कारोबारमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरु पनि जोडिन्थे । सम्झौता हात पार्ने सत्यमान लामा आफैं काभ्रेली समूहबाट गुण्डागर्दीमा संलग्न व्यक्ति हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले केही वर्षअघि बनाएको गुण्डागर्दीमा संलग्नहरुको सूचीमा उनी ‘क’ वर्गमा परेका थिए । ठगी आरोपमा पक्राउ परेका बेला तत्कालीन सांसद् नविना लामा उनलाई छुटाउन टेकु पुग्दा विवादमा समेत तानिएकी थिइन् ।

त्रिविका प्राध्यापक डा. घिमिरेका अनुसार, चीन र तिब्बतबाहेक भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत नेपालको बोधिचित्तको दाना निर्यात हुने गरेको छ ।

किन पटक–पटक एउटै रुखको माला लुटिन्थ्यो ?

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसन्धान अधिकृतहरुका अनुसार, ३० चैतमा काटिएको रुखकै माला यसअघि पनि पटकपटक लुटिने गरेको थियो ।

मास कल्टिभेसन गर्न थाल्यो भने यो मकै जस्तो हुन्छ, यसको महत्व रहँदैन । त्यसैले तिमाल, रोशी क्षेत्रलाई यसको प्रोपर्टी राइट दिएर संरक्षण गर्नुपर्छ । नभए यसको मूल्य क्रमशः घट्दै जान्छ – डा. राजेन्द्र केसी, पूर्वप्रमुख वनस्पति विभाग

एउटा घटनामा विप्लव समूहका जिल्लास्तरीय नेतासमेत संलग्न देखिएका थिए । पछि पार्टीले उनलाई कारबाही गरेको थियो, हालसम्म उनी फरार छन् ।

प्रशासनबाट सधैँ सुरक्षा प्राप्त नहुने हुँदा बोधिचित्तको रुखको ठेक्का सम्झौता गरेकाहरुले फल लाग्ने बेला निजी सुरक्षागार्ड राख्ने गरेका थिए ।

व्यवसायी त्रिपाठीका अनुसार, बुद्धचित्तको माला लुटपाट हुन थालेपछि सुरक्षार्थ गार्ड खटाउन थालिएको थियो । नजिकै क्लोज सर्किट (सीसी) क्यामरा पनि जडान गरिएको थियो ।

१२ असार २०७७ मा त त्यसरी सुरक्षागार्ड खटिएकै बेला एउटा समूहले गोली चलाएर बोधिचित्तको दाना लुटपाट गरेको थियो ।

‘अहिले काटिएको रुखको माला नै त्यतिबेला लुटिएको थियो, यसपालि पनि सुरक्षामा थप टोली खटाउने तयारी गरेका थियौं’, त्रिपाठीले अनलाइनखबरसँग भने, ‘तर, फूल नलाग्दै रुख नै काटिदिए ।’

त्रिपाठीका अनुसार, तिमालमा अरुले पनि बोधिचित्तको रुख लगाएको भएपनि शेरबहादुर तामाङको घरबारीमा रहेको रुखमा गुणस्तरीय दाना फल्थ्यो ।

‘रुद्राक्ष जस्तो यो कति मुखे छ भन्ने कुराले यसको मूल्य फरक पार्छ, सानो–ठूलो आकारको कुरा पनि हुन्छ’, उनले भने, ‘यो रुखमा फल्ने चाहिँ एकदम धेरै मूल्य पाइने किसिमको दाना हुन्थ्यो ।’ त्यही कारण विभिन्न समूहको नजर यही रुखमाथि भएको त्रिपाठी बताउँछन् ।

दलाई लामाको प्रवचनपछि मूल्य पाएको तिमालको बोधिचित्त

कसले काट्यो बोधिचित्तको रुख ?

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार, अनुसन्धानका क्रममा हालसम्म प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

रुख धनीका परिवारलाई धम्की दिएको पाइएपछि मानबहादुर तामाङ (सिजन) लाई ३० चैतमा काठमाडौंबाट पक्राउ गरिएको थियो । सिजनले आफूलाई रुखको ठेक्का दिन परिवारलाई दबाब दिँदै आएका थिए ।

तर, अरुसँग सम्झौता भएपछि रुष्ट थिए । त्यहीबीचमा उनले ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम)’ भन्दै रुख धनी शेरबहादुर तामाङलाई सन्देश पठाएका थिए ।

१ वैशाखमा दुर्गालाल तामाङ (प्रभात) पनि पक्राउ परेका थिए । उनलाई बोधिचित्तको रुख काट्ने योजनाबारे पहिल्यै जानकारी भएको प्रहरी दाबी छ ।

चिनियाँ व्यापारीमार्फत आफूले रुख काटिदिने योजनाबारे सुनेको उनको दाबी छ । यद्यपि, तामाङले त्यसबारे प्रहरीलाई पहिले जानकारी गराएका थिएनन् । उनले वीच्याटमा गरेको म्यासेजको एउटा ‘स्क्रीन–सट’ प्रहरीले बरामद गरेको छ ।

थप दुई जना श्याकृष्ण र राधाकृष्ण मैनालीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी खड्का बताउँछिन् । ‘उनीहरुको संलग्नता पुष्टि भइसकेको होइन, अनुसन्धान गर्नलाई केही आधारहरु देखिएका हुन्’, खड्काले भनिन्, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं, छिट्टै यसमा संलग्न सबै पक्राउ पर्छन् ।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School