दललाई रूपान्तरणको मौका


राजनीतिक दल सुशासन, नागरिक अधिकार, मानव अधिकार र प्रजातान्त्रिक मूल्य मान्यता स्थापनामा सक्रिय हुन्छन्। नेपालको सन्दर्भमा चाहे जहानियाँ राणाशासनको अन्त्यका लागि होस् वा पञ्चायती व्यवस्थाबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न नै किन नहोस्, दलहरूको भूमिका अहं र नेतृत्वदायी रहेको छ। 

यति मात्र नभएर २०६२/६३ को आन्दोलन र त्यसपछिका अन्य परिवर्तनमा समेत दलले प्रमुख भूमिका खेलेका छन्। प्रजातान्त्रिक प्रणालीमा जनताले आवधिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि चयन गर्ने र प्रतिनिधिले प्रतिबद्धताअनुकूल काम नगरेमा जनमतकै आधारमा उसलाई दोस्रो कार्यकालका लागि चयन नगर्ने भूमिका वहन गरेका हुन्छन्। राज्यका नीतिनिर्माण तथा विकासका कार्यमा समेत नेतृत्व गर्न पाइने भएकाले जनप्रतिनिधि पूर्ण रूपमा जनताप्रति उत्तरदायी हुन्छन्।

राजनीति पेसा वा सेवा भन्ने विषयमा समेत बहस चलिरहेको भए पनि राजनीति मूलत: सेवा नै हो। विश्वका कैयौं प्रजातान्त्रिक मुलुकमा राजनीतिक नेतृत्व गरेका व्यक्ति उक्त भूमिकाबाट बाहिर आउनासाथ सामान्य रूपमा जीविकोपार्जन गरेको वा पूर्ववत् व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाइन्छ। यसले नेतृत्व जहिले पनि जनताप्रति उत्तरदायी हुनुपर्छ, कानुनी रूपमा मात्र नभएर नैतिक रूपमा समेत आफ्नो मर्यादा कायम गरेकै हुनुपर्छ भन्ने कुरालाई स्थापित गर्छ। 

नेपालका सन्दर्भमा लामो समय जेलनेल सहेका र विभिन्न किसिमको यातनाका सिकार भएका व्यक्तिहरू नै राजनीतिक नेतृत्वमा पुगेका छन्। उनीहरूले देश, जनता र आफ्नो पार्टीका लागि पनि महत्वपूर्ण काम गरेका छन्। जसरी पनि चुनाव जित्ने र चुनाव जित्न जति पनि खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा प्रजातन्त्रकै लागि लडेका नेतृत्वपंक्तिमा समेत शक्तिको अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले गर्दा आफू शक्तिमा रहन वा सत्तामा जान पार्टीलाई समेत हतियारका रूपमा प्रयोग गरेको र जनताका इच्छा, आकांक्षा र चाहनालाई बेवास्ता गर्न थालेको लामै समय भएको छ। 

प्रजातन्त्र स्थापना र पुनस्र्थापनापछि नेतृत्वमा पुगेका व्यक्तिहरूले सत्तालाई आफूअनुकूल एकलौटी प्रयोग गर्ने गलत अभ्यास सुरु गरे, जसले गर्दा पार्टी परिवर्तन, पार्टी विभाजनजस्ता घटनाले प्रश्रय पाउन थाले। यसको चरम रूप सरकार विघटन गर्न र सरकार टिकाउन सांसद्हरूलाई विदेश पठाउने र किनबेच गर्ने गतिविधिले राजनीति दुर्गन्धित खेल हो र राजनीतिक दलहरू यस्तै दुर्गन्ध फैलाउने संयन्त्र हुन् भन्ने भाष्य स्थापित भयो। स्वाभिमानी नयाँ पुस्ता राजनीतिप्रति वितृष्णाभाव राख्दै अन्य क्षेत्रमा मात्र सक्रिय हुन थालेपछि राजनीतिक दलभित्र पकड राख्ने संस्थापन पक्षले अन्य पक्षलाई उठ्नै नसक्ने अवस्थामा पुर्‍याउने, सीमित शीर्ष नेताकै सिन्डिकेटमा देशको राजनीति चल्ने अवस्था सिर्जना भयो। 

जननिर्वाचित प्रतिनिधि सीमित शीर्ष नेताले तय गरेको सहमतिलाई अनुमोदन गर्ने रबर छाप मात्र बने। उनीहरूले प्राप्त गरेका वैधानिक सुविधा तथा सिंहदरबारदेखि टोलटोलसम्म स्थापना भएका राजनीतिक तथा सर्वदलीय एकाइहरूले भ्रष्टाचारको अभ्यासलाई सक्रिय मात्र पारेनन्, दलमा आबद्ध हुनु भ्रष्टाचार गर्ने इजाजत प्राप्त गर्नु नै हो भन्ने अवस्था सिर्जना गरिदिए। टोल सुधार समिति, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति हुँदै स्थानीय स्तरमा सम्पन्न हुने विकास निर्माणका हरेक काममा गठन भएका समितिले ठेकेदारसँग भागबन्डामा सहभागिता देखाउने प्रवृत्ति बढेपछि भ्रष्टाचार टोल टोलमा पुग्यो। अथाह सम्पत्ति संकलन गरी चुनावमा असीमित खर्च गर्न सक्ने व्यक्ति नै निर्वाचित भएर आउने परिस्थिति सिर्जना भयो।

राजनीतिलाई सेवा ठान्ने सादगी व्यक्तिले चुनाव खर्च जुटाउन नसकेकै कारण जितेर आउने अवस्था नरहँदा हरेक दलमा सिद्धान्तप्रेमी व्यक्ति किनारा लाग्दै गए। यसले दलमा पुरानै पुस्ताका सीमित व्यक्ति हाबी हुनका लागि सहयोग पुर्‍यायो। पारिवारतन्त्र भएकाले राजतन्त्र ठिक छैन भनेर आन्दोलन छेडेका दलका शीर्ष तहमा पुगेका नेतृत्वले आफू आजीवन नेतृत्व छोड्न नचाहने अनि परिवारका सदस्यलाई राजनीतिमा ल्याई राजनीतिक दललाई समेत पारिवारिक संगठन बनाउने अभ्यासले एक्स र वाई पुस्ता अवसरविहीन र दलभित्रै पीडित पुस्ता बनेको थियो। यस पुस्ताका व्यक्ति नेतृत्वमै पुग्न नसक्ने अवस्था सबैजसो पार्टीमा देखियो। 

पार्टीभित्र आन्तरिक प्रजातान्त्रिक अभ्यासलाई मजबुत बनाउन समय समयमा आवाज उठे पनि ती आवाज निस्तेज भएका सन्दर्भमा सम्पूर्ण प्रणालीमा विकसित भ्रष्टाचारलाई अन्त्य गर्ने उद्देश्यले जेनजी आन्दोलन सुरु भयो। भदौ २३ र २४ गते जेनजीको आह्वानमा भएको भ्रष्टाचार विरोधी एवं सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने कार्यविरुद्ध सुरु भएको आन्दोलन सत्ता समीकरण मात्र होइन, देशभित्रै आमूल परिवर्तन ल्याउने दिशामा उन्मुख भयो। आन्दोलनमा भएको घुसपैठले राष्ट्रिय सम्पदा तथा ठुलो जनधनको क्षति मात्र गरेन पुँजी पलायन हुने त्राससमेत बढायो।

पहिलोपटक नेपाली नागरिकले राज्यविहीनताको तितो अनुभवसमेत यतिखेरै गरे। भ्रष्टाचार र सामाजिक सञ्जालका विषयमा उर्लिएको आन्दोलनले ल्याएको उछाल स्थापित राजनीतिक दलका विरुद्धमै सलबलाएको प्रतीत भयो। वास्तवमा एक युगको अन्त्य भएर फरक युगमा देश प्रवेश गर्‍यो कि भन्ने महसुससमेत भयो। दुई दिने आन्दोलनकै बलमा नयाँ गैरदलीय नागरिक सरकार गठन भयो। एक महिनाको अन्तरालमा देश चुनाव सम्पन्न गर्ने दिशामा अग्रसर भएको छ। नयाँ दलहरूले समेत निर्वाचन आयोगमा दर्ता भई चुनावी तयारी सुरु गरेका छन्।

वर्तमान संविधानअन्तर्गत हुने चुनाव र यही पद्धतिमा चयन भएर आएका नेतृत्वले सरकार निर्माण गर्ने भएकाले व्यक्ति विशेषले चुनाव जित्नु वा नजित्नुले खासै भूमिका खेल्ने अवस्था भने रहँदैन। अन्तत: धेरै सिट हासिल गर्ने दलकै नेतृत्वमा सरकार गठन हुन्छ र दलकै शक्तिका आधारमा अन्य विधि र नियमका कुराहरूसमेत स्थापित हुन्छन्। यस अवस्थामा जेनजीका तर्फबाट उठाइएका मुद्दा कुनै राजनीतिक दल विशेषका मुद्दा नभई आम नागरिकका मुद्दा हुन् भन्ने कुरालाई बुझी दलहरूले आफूलाई रूपान्तरण गर्नु आवश्यक छ। सधैंभरि नेतृत्वमा टाँसिइरहनुपर्छ भन्ने सोच हटाई नयाँ पुस्तालाई नेतृत्व सुम्पिएर आफूलाई अभिभावकीय भूमिकामा राख्न शीर्ष नेतृत्व तयार हुनुपर्छ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै दलभित्रको आन्तरिक प्रजातन्त्रलाई सबल बनायन वर्तमान समयलाई स्वर्णिम मौका मान्न सकिन्छ। 

जनआकांक्षालाई सम्बोधन गर्न कुनै पनि दल चुक्यो भने उसले जनविश्वास गुमाउने निश्चित छ। जेनजी आन्दोलनले जनतामा चेतनाको स्तर मात्रै बढाएको छैन, परिवर्तनका लागि हरेकलाई कुतकुत्याएको पनि छ। जुन राजनीतिक दलले यस विषयलाई बुझेर आफ्नो दलको पुनर्संरचना गर्न ढिलो गर्दैनन्, उनीहरू नै जनविश्वासी एवं आगामी दिनमा बलियो दलका रूपमा आउने छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुन: नेतृत्वमा नआउने भनी नयाँ पुस्ताबाट नेतृत्व चयन गर्न आग्रह गरेजस्तै सोही दलका अन्य विभिन्न भूमिका तथा अन्य दलले समेत नेतृत्वको मोहत्याग गरी राजनीतिलाई सेवाका रूपमा स्थापित गर्न ढिलाइ गर्नुहुँदैन। 

नेतृत्वका लागि गरिने दलभित्रको आन्तरिक द्वन्द्व हिजोको अवस्थामा जस्तै ढाकछोप हुने सम्भावना छैन। जनताबाट प्रत्यक्ष रूपमा दण्डित हुने भय हरेक नेतृत्वमा सिर्जना भएको वर्तमान अवस्थामा विगतमा जस्तै निश्चित दलका निश्चित व्यक्तिको सिन्डिकेटले काम गर्ने छैन। नयाँ पुस्ताका आकांक्षा हिजोकै ढर्रामा गरिने राजनीतिबाट पूरा हुने अवस्था छैन। कानुनी रूपमा त्रुटि नदेखिने गरी आर्जन गरेको सम्पत्ति अकण्टक हुने अवस्थासमेत छैन। नेतृत्वमा रहँदा र नेतृत्वबाहिर रहँदा समेत नेतृत्व कानुनी तथा नैतिक रूपमा आदर्श व्यक्ति बन्नै पर्ने अवस्थालाई बुझेर हरेक दलले आन्तरिक प्रजातन्त्र र सुशासनलाई सुदृढ गर्नका लागि जेनजी आन्दोलन र यसपछि विकसित भएको वातावरणलाई भरपुर उपयोग गर्नुपर्छ। आफूलाई यथास्थितिमै राख्न खोज्ने हो भने विश्वविख्यात ब्रान्डका कम्पनीहरू अहिले इतिहास भए जस्तै दलहरू पनि इतिहासको गर्तमा बिलाउने छन्। 

जेनजी समाज सुधारका लागि जगमगाएको पुस्ता हो। यो स्वयंमा कुनै पार्टी विशेष नभएकाले जेनजीविरुद्ध गएर होइन हरेक पार्टीले आफूभित्रका जेनजी, जेनवाइ र जेन एक्सलाई हरेक क्रियाकलापमा निर्णायक रूपमा सहभागी गराई पार्टीलाई रूपान्तरण गर्नु आवश्यक छ। जुन दलले यस कुरालाई बुझेर संयमित हुँदै आफूलाई रूपान्तरण गर्न सक्छ, आगामी दिनमा उसकै नेतृत्वमा सरकार बन्ने कुरामा शंका छैन। 

विगतमा जस्तै अर्को पार्टी वा आफूसँग फरक विचार राख्ने व्यक्तिलाई हिलो छ्यापेर र तुच्छ गालीगलोज गरेर आफूलाई पानीभित्रको ओभानो देखाउने प्रयास कसैले पनि गर्नुहुँदैन। सबैलाई समेटेर राष्ट्र निर्माणका लागि राजनीतिलाई समाजसेवाकै रूपमा स्थापित गर्न दलहरू अग्रसर हुनुपर्छ। नेतृत्वले अरूलाई दोष र अर्ती दिनुभन्दा आफू र आफ्नै दललाई रूपान्तरण गर्न अग्रसरता देखाउनुपर्छ। यसले अमुक दललाई मात्र नभएर समग्र राजनीतिक भाष्यलाई नै परिवर्तन गरिदिनेछ।

प्रकाशित: २५ कार्तिक २०८२ १०:०६ मंगलबार





Source link

Leave a Comment