निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्। हाल भईरहेको आगमनलाई दोब्बर बनाउनेदेखि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दर वृद्धि गर्ने, हाल भईरहेको बसाई अवधि लम्बाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानलाई बढाउनेसम्मका योजना दलहरूको घोषणापत्रमा उल्लेख छ।
कांग्रेसले सार्वजनिक गरिको प्रतिज्ञामा आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनमा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य पनि कांग्रेसको रहेको छ। अहिले नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान ५ प्रतिशत मात्र रहेको छ। अहिले नेपालमा वर्षभरिमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटकको संख्या झन्डै १२ लाख मात्र छ।
पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो। नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।
त्यसबाहेक कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारा पनि प्रतिज्ञापत्रमा उल्लेख गरेको छ। विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ को व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। नेपाली सभ्यता र जीवनशैलीको प्रत्यक्ष अनुभवका लागि सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम संचालन गर्ने पनि कांग्रेसको प्रतिज्ञामा समेटिएको छ।
नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउन विमानस्थल सञ्चालन, ल्याण्डिङ, पार्किङ, हवाई इन्धनको अतिरिक्त शुल्क आदि घटाई नेपाल खर्चको हिसाबले र आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने पनि कांग्रेसले बताएको छ। आकाशमा हुने विमान होल्डिङ समय न्यूनीकरण व्यवस्था गर्ने पनि कांग्रेसले बताएको छ। नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा सम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने पनि कांग्रेसले बताएको छ।
पोखरा र भैरहवामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने पनि कांग्रेसले प्रतिज्ञामा उल्लेख गरेको छ। अहिले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित छैन। संचालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा र भैरहवाले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानमा योगदान दिन नसक्दा आलोचना पनि हुने गरेको छ।
त्यस्तै एमालेको घोषणापत्रमा नेपालमा विदेशी पर्यटकको वृद्धि, भित्रिएका पर्यटकको बसाई अवधि बढाउने उल्लेख छ। पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने एमालेको दावी छ। अहिलेको आगमनको हिसाबले पाँच वर्षभित्र एमालेले २४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य घोषणापत्रमा उल्लेख गरेको छ।
कोरोना संक्रमणको प्रभाव रहिरहँदा सन् २०२१ मा नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि सबैभन्दा बढी थियो। त्योवर्ष विदेशी पाहुनाले औसतमा १५.५ दिन नेपालमा बिताउँथे। सरकारले पर्यटकको बसाई अवधिको तथ्यांक राख्न थालेदेखिको त्यो नै सर्वाधिक बसाई अवधि थियो। त्यसअघिको वर्ष सन् २०२० मा नेपालमा विदेशी पाहुनाको बसाई अवधि औसतमा १५.१ दिन थियो।
तर, सन् २०२२ पछि नेपाल भित्रिएका विदेशी पाहुनाको बसाइँ अवधि ओरालो लाग्न थालेको थियो। २०२२ मा विदेशी पाहुनाको नेपाल बसाइँ अवधि औसतमा १३.१ दिन थियो। त्यो अवधि सन् २०२३ मा १३.२ दिन र सन् २०२४ मा १३.३ दिन थियो। कोरोना संक्रमणपछिका वर्ष बसाइँ अवधि ओरालो लागेको थियो। पछिल्लो तीनवर्षदेखि करिब एकैखालको बसाइँ अवधि रहेको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको बसाइँ अवधि बढाउन नसक्दा लाभ लिन नसकेको व्यावसायीले बताउँदै आएका छन।
पर्यटकको बसाइँ अवधि बढाउनका लागि विभिन्न आकर्षक कार्यक्रम गर्नुपर्नेमा व्यावसायीले जोड दिँदै आएका छन। त्यसबाहेक सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने एमालेको घोषणापत्रमा जनाइएको छ।
अर्काे दल रास्वपाको वाचापत्रमा भने नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने उल्लेख छ। नेपाल घुम्न आउने विदेशी पर्यटकले दैनिक ४१ अमेरिकी डलर खर्च गर्ने गरेको सरकारी तथ्यांक छ। पर्यटन मन्त्रालयको तथ्यांकमा विदेशी पर्यटकले सन् २०२३ मा औसतमा दिनमा ४१ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। यो खर्च सन् २०२२ मा ४०.५ अमेरिकी डलर थियो। पर्यटन व्यावसायीले विदेशी पर्यटकले गरेको खर्च रकम कम भएकोले गतिविधि बढाएर खर्चने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर, गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
अध्ययन अनुसार गण्डकी प्रदेश भित्रिएका पर्यटकको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ। तर, प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत दैनिक खर्च भने ८९.३१ अमेरिकी डलर रहेको उल्लेख छ। त्यसैगरी स्वतःस्फुर्त रुपमा खर्च गर्नेगरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकको दैनिक औसत खर्च भने ५४.३२ अमेरिकी डलर रहेको राष्ट्रबैंकको अध्ययनले बताएको छ।
दलहरुले घोषणापत्रमा यो पटक पर्यटन क्षेत्रलाई समेटेको भएपनि यसअघिको अभ्यासमा प्राथमिकता भने कम दिने गरेको पर्यटन क्षेत्रले बताउने गरेको छ। पर्यटकको आकार बढाउनेदेखि खर्च र बसाई अवधि दोब्बर बनाउने तथा कुल गार्हस्थ उत्पादमा दिएको योगदानलाई बढाउने भनेर दलको घोषणापत्रलाई उल्लेख गरेपनि ती महत्वाकांक्षी योजनाका रुपमा मात्र रहेको उनीहरुको भनाई छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘आगमन दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादन १५ देखि २० प्रतिशत पुर्याउनु, खर्च गर्ने क्षमता वृद्धि गर्नेगरि दलहरुले घोषणापत्रमा पर्यटनलाई समेटेका छन। बाहिरबाट सुन्दा राम्रा योजना देखिन्छन। तर, यी सबै महत्वाकांक्षी योजना हुन। चाँसो दिएर लागिपरेमा पुरा गर्न नसकिने भन्ने होईन।’ पर्यटनमा राजनीतिक दलले उत्तिसारो चाँसो नदिँदा पछाडि पर्दै आएको उनले बताए।
‘नेपालले अन्तर्राष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्ने भनेकै पर्यटनमा हो। तर, आलोपालो सरकार चलाउँदै आएका दलहरुले यसअघि पर्यटनलाई नै बेवास्ता गर्दै आएका थिए,’ उनले भने, ‘अहिले घोषणापत्रमा समेटेका त छन। तर, वास्तविक रुपमा कत्तिको महत्व दिन्छन त्यो भने हेर्न बाँकी छ। अहिलेसम्मको अभ्यासमा दलको प्राथमिकतामा पर्यटन परेको थिएन।’ नीतिगत रुपमा काम गर्ने हो भने पर्यटनबाट अहिले भन्दा अझै बढी लाभ लिन सकिनेमा कुनै द्विविधा भने नरहेको उनले बताए।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि अहिलेसम्म दलले पर्यटन क्षेत्रलाई बेवास्ता गरेकैले भनेजति लाभ लिन नसकेको बताउँछन। ‘दलहरुले यसअघि पनि पर्यटन विभाग बनाएका छन , तर पर्यटन क्षेत्र उनीहरुको प्राथमिकतामा परेको थिएन। विभागका लागि विभाग बनाइएको थियो,’ लामिछानेले भने, ‘यसअघि नै पर्यटनलाई महत्व दिएको भए साच्चै पर्यटन क्षेत्रले गति लिएको हुन्थ्यो। तर, दलको बेवास्तामा परेको थियो।’
अहिले चुनावको समयमा दलहरुले पर्यटनलाई प्राथमिकता राखेको देखिएको छ। ‘पर्यटनमा हामी गर्छाै भनेर कहिल्यै अघि बढेको देखिएन। यतिसम्म की भागबण्डाको राजनीतिमा पनि पर्यटन मन्त्रालय कसैले हत्तपत्ति रोज्दैनथे। पर्यटन मन्त्रालयलाई कमजोर बनाइएको थियो,’ उनले भने, ‘देशको अर्थतन्त्रमा योगदान दिएको भनेर पर्यटनलाई दलहरुले कहिल्यै बुझेनन।’
घोषणापत्रमा उल्लेख गरेको कुरालाई पुरा गर्न पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि कुटनीतिक रुपमा चासो देखाउनुपर्ने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थललाई पुरा रुपमा संचालन गरेको खण्डमा मात्र पर्यटनमा केही लक्ष्य सहजै पुरा होला, नत्र सहज छैन,’ उनले भने, ‘कसरी लक्ष्य पुरा गर्ने भन्ने दलहरुले उल्लेख गरेका छैनन। समस्या थाहा भएर पनि ‘एक्सन’ मा नगएकोले पर्यटन क्षेत्र पछाडि परेको हो। सत्तामा पुगेपछि काम गर्ने चलन छैन। साच्चै लाग्ने हो अहिले घोषणापत्रमा समेटिएका कुरा पुरा गर्न असम्भव पनि छैन।’
प्रकाशित: ९ फाल्गुन २०८२ १५:५५ शनिबार
