४ फागुन, काठमाडौं । सडक लगायतका विकास निर्माणको क्रममा पुरातात्विक सम्पदाको संरक्षणबीच सन्तुलन कायम गर्ने बारे विश्वभरि बहसहरू भइरहेका छन्। विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्दा सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण कसरी गर्ने भन्ने विषयमा फरक फरक दृष्टिकोण प्रस्तुत हुने गरेका छन् ।
सडक लगायतका पूर्वाधार निर्माण र स्तरोन्नतिको क्रममा पुरातात्विक संरचनाहरू जस्तै पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधाराहरू प्रभावित हुने गरेका छन्। पुरातत्व विभागले यी सम्पदाहरूको संरक्षणका लागि परम्परागत सामग्रीको प्रयोग गरी मौलिक स्वरूपमा पुनर्निर्माण गर्न आग्रह गरेको छ।
पुराना युरोपेली शहरहरुले मात्रै नभई विश्वका कतिपय शहरले अठारौं शताब्दीका पूर्वाधारहरूको संरक्षण र पुनर्निर्माण गरेको देखिन्छ । डेनमार्कको कोपनहेगनदेखि अमेरिकाको टाइम्स स्क्वायरसम्म यसैका उदाहरण हुन् ।
सँगै, सिंगापुर, हङकङ, दक्षिण कोरिया लगायतका देशमा ग्रेनाइट ओछ्याइएका आधुनिक शहरहरूमा पनि नभएका होइनन् । संसारमा शहरीकरणमा फरक फरक मोडेल र रणनीति देखिन्छन् ।
त्यसो त, यसलाई काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी एजेन्डा नै बनाएका थिए । इन्जिनियरिङ अध्ययन गरेका उनले काठमाडौंलाई कसरी पुरातात्विक सहर बनाउने भनेर व्याख्या गरिएको एउटा भिडियो क्लिप अहिले चर्चामा छ ।
खासगरी दरबारमार्गमा काठमाडौं महानगरले ग्रेनाइट विछ्याउन थालेपछि उनको चुनावताका रेकर्ड गरिएको भिडियो चर्चामा आएको हो ।
के भनेका थिए बालेनले ?
तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम् यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त !
मार्बल किन लाइँदैन भन्दा यो चिसो ठाउँ हो । यहाँ खुट्टा ठिहिर्याउँछ, तपाईं हिंड्दै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त !
ईंट्टामा तपाईं खाली खुट्टा नै हिंड्नुभयो भने पनि त्यति चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त ! यहाँ प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो । यहाँको पोखरी, मन्दिर, स्तुपा र चैत्यहरू सबै साइन्टिफिकल्ली यहाँनेर सबै मेन्टेन, टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने यहाँ हाइ लेभलको प्रविधि र साइन्सलाई बुझेर कसैले यहाँ इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको डिजाइन गर्छ भने यो सबै बुझेर गर्नुपर्यो ।
अब टुरिजम् बढाउन तपाईं न्यूरोड जानुहुन्छ । सिसा र एसी लगाएको छ, के लगाएको छ । त्यहाँनेर फसाडहरूमा इट्टा र काठ एक्पोज हुनेगरी राखेको भएत्यहाँनेर तपाईंलाई गएपछि फर्कन मन लाग्दैन थियो नि ! अहिले त कतिखेर काम सकौं र न्यूरोडबाट फर्कौं जस्तो हुन्छ । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त ।
कतिपय मानिसहरूले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् : बालेनले शहरीकरण बारे आफ्नो बुझाइ बदलेका हुन् कि बहुसंख्यक नेताहरूले जस्तै चुनावमा लोकप्रिय कुरा गरेर प्रतिबद्धता विपरीत काम गर्न थालकेा हुन् ?
विकास र सम्पदा संरक्षण बीचको सधैँ चलिरहने बहसभन्दा यसलाई टाढा राखेर हेर्न आवश्यक छैन । तर, अवधारणागत रूपमा स्पष्ट रहेका बालेनले गर्न खोजेका के हुन्, प्रश्न यहाँनेर हो ।

अन्यत्र के गरिरहेका छन् बालेन ?
बालेनले चुनावी घोषणापत्र देखि आफ्ना नीति तथा कार्यक्रममा सांस्कृतिक सहरको रूपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याउने गरेका छन् ।
बालेन नेतृत्वको काठमाडौं महानगरले सहरका विभिन्न स्थानमा पुरातात्विक महत्वको फल्चाहरु निर्माण गरिरहेको छ । न्युरोडका जुद्ध शमशेरकालीन घरहरू सिंगारिरहेको छ ।
सँगै कहिलेकाँही उनका काम विवादमा तानिने गरेका पनि छन् । भद्रकालीका राणाकालीन ‘निओक्लासिक शैली’का सत्तललाई ‘विदेशी शैली’को नाम दिएर अनुमति र आधार विनै नयाँ शैलीमा बनाउन थालेको आरोप पनि बालेनलाई लाग्यो ।
यो विवादमा बालेनले भनेका थिए, ‘स्थानीय र पुरातत्त्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यही शैलीमै बन्नेछ । यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने ।’
के भन्छन् आलोचक ?
दरबारमार्गमा ग्रेनाइट बिछ्याउने महानगरको कदमविरुद्ध कतिपयले आवाज उठाइरहेका छन् । राप्रपा नेता रवीन्द्र मिश्रले काठमाडौं उपत्यकामा नेवाः संस्कृति र सभ्यताको पुनर्जागरण अत्यावश्यक रहेको बताउँदै यो कामको विरोध गरे । ‘यो शहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ, पश्चिमा आधुनिकताबाट यो उपत्यका ‘विशिष्ट’ बन्न सक्दैन,’ मिश्रले भनेका छन् ।
सामाजिक सञ्जालमा उनले शेयर गरेको सामग्रीमा मिश्रित प्रतिक्रिया आएको देखिन्छ ।
त्यस्तै, पूर्वाधारविद् डा. सूर्यराज आचार्यले पनि महानगरको यो कदमको आलोचना गरेका छन् । ‘आशय राजधानीलाई सुन्दर बनाउने नै हो तर, प्राविधिक हिसाबले आवश्यक लेखाजोखा भएन कि जस्तो देखियो,’ उनले भनेका छन् ।
‘दरबारमार्ग जस्तो ठाउँलाई राम्रो देखाउँ भन्ने उहाँहरूको आशय पक्कै राम्रो होला,’ आचार्यले भनेका छन्, ‘तर, वर्षामा चिप्लिने समस्या हुँदा फुटपाथको लागि यात्रुको सुरक्षाका हिसाबले यो उपयुक्त सामग्री होइन ।’
वातावरण संवेदनशील प्रविधिको दृष्टिले हेर्दा परम्परागत प्रविधि अर्थात् इट्टा छाप्दा पानी सोस्ने र लामो समय टिक्ने उनको भनाइ छ । ‘पानी रिचार्ज पनि नहुने र सुरक्षाको हिसाबले उपयुक्त काम होइन । पर्याप्त प्राविधिक विचार पुर्याएन,’ उनले भने ।
तर महानगरका अधिकारीहरू लपोत्रा भनिने यो ग्रेनाइट वर्षामा नचिप्लिने जिकिर गर्छन् । अन्यत्र प्रकृति र सम्पदामैत्री पुनर्निर्माण गरे पनि दरबारमार्गमा भने व्यवसायिक हिसाबले ग्रेनाइट ओछ्याएको काठमाडौं महानगरको स्पष्टीकरण छ ।
काठमाडौंमा आधुनिकतालाई सुरुवाती अनुशरण गर्नेमध्येको महत्वपूर्ण ठाउँ दरबारमार्ग भएकोले यहाँ ग्रेनाइट बिच्छ्याउनु अनुपयुक्त नभएको एकाथरीको जिकिर छ ।
स्थान अनुसार फुटपाथ बन्दैछ, दरबारमार्गमा सौन्दर्यको हिसाबले ग्रेनाइट राखेका हौंः मेयर सचिवालय
‘हामीले स्थान अनुसार फुटपाथ बनाइरहेका छौं । अहिले दरबार मार्गको कुरा छ । यहाँ थोरै पर्यटकीय हिसाब र आकर्षणले पनि वेस्टर्न शैली अवलम्बन गर्न खोजिएको हो,’ मेयर बालेनका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने ।
उनले अगाडि थपे, ‘दरबार मार्गका व्यवसायीले हामीलाई फुटपाथ राम्रो बनाइदिन माग गर्दै आएका थिए । सोही अनुसार हामीले काम गरेका हौं । दरबार मार्गमा २ सय मिटर टायल बिच्छ्याएको मात्रै हौं ।’
चुनाव अगाडि भनिएभन्दा अहिले फरक काम गर्नखोज्नुभएको हो कि भन्ने प्रश्नमा लम्साल भन्छन्, ‘मेयरले चुनाव अगाडि भनेको नेवाः सभ्यताको केन्द्र भएका स्थानको कुरा हो । त्यस बाहेक हामीले अन्य स्थानको धेरै ठाउँमा फुटपाथको काम गरेका छों ।’
लम्सालले भने, ‘बौद्ध र स्वंयम्भुमा थोरै ठाउँमा तिब्बती शैलीमा काम गरिरहेको छौं । हाँडिगाउँ, वसन्तपुर र कोर नेवाः क्षेत्रमा ढुंगा, इँटा ओच्छयाएका छौं ।’
पुरातात्विक महत्वको ठाउँमा त्यसरी नै काम गरेको उनको दाबी छ । ‘दरबारमार्गको आवश्यकता र टिकाउ त्यहाँको सौन्दर्यको हिसाबले ग्रेनाइट राखेका हौं’ उनले भने, ‘यो पनि फुटपाथमा हिंड्ने मान्छेहरुको लागि धेरै सहज हुने खालको हो ।’
‘चिप्लिने जोखिम हुँदैन ’
महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नरहेको बताए ।
महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ । महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ ।
फुटपाथमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । ‘त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ । त्यसभन्दा माथि पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । यो १६ मिलिमिटरसम्मको हुनेछ,’ शाक्यले भने ।
महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग ५ करोड १५ लाख रुपैयाँमा सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म काम सक्नुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको शाक्यले जानकारी दिए ।