प्रकाशित मिति : पुस १४, २०८१ आईतबार
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । चालक दलका २ जना सदस्यको उद्धार गरिएको छ ।
विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्यहरु रहेका थिए । विमानमा १७३ जना कोरियाली र २ जना थाइल्याण्डका नागरिक थिए ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्याङ्क (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ छन् ।
दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको हो ।
अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।
पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको खराबीको कारण विमानले ओभरसुट गरेको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो ।

