त्रिभुवनदेखि पूर्वकायममुकायम राजा ज्ञानेन्द्रसम्म ! : RajdhaniDaily.com


१९९७ सालमा नेपालमा राजा त्रिभुवन श्री ५ थिए भने जुद्धशमशेर जबरा श्री ३ थिए । श्री ३ जुद्धशमशेर पूर्वराजा ज्ञानेन्द्र शाह एवं पूर्वरानी कोमल दुवैका जिजु हजुरबुबा हुन् भने वर्तमान परराष्ट्रमन्त्री आरजु देउवाका हजुरबुबा हुन् । जुद्धशमशेरका छोरा हरिशमशेरकी छोरी ईन्द्र राज्यलक्ष्मीका छोरा ज्ञानेन्द्र शाह हुन् भने जुद्धका अर्का छोरा अग्निशमशेरका छोरा केन्द्रशमशेरकी छोरी कोमल हुन् । उता, जुद्धशमशेरका सबैभन्दा कान्छा छोरा बिनोदशमशेरकी छोरी आरजु हुन् । यस लेखको उद्देश्य कुनै नातागोता केलाउनु पटक्कै होइन । तर, पाठकका लागि कौतूहलको विषय हुनसक्ने हुँदा उल्लेखसम्म गरिदिएको हुँ । विषय प्रसंग बेग्लै छ । त्यतैतर्फ लागौं ।

तत्कालीन श्री ३ जुद्धशमशेरको शासनले गाथगादी ताकेको संगीन आरोपमा धेरै नागरिकलाई पक्राउ ग¥यो । कथित रूपमा मुद्दा चलाइयो । मुद्दाको अन्तिम फैसला सुनाउन सिंहदरबारमा भारदारी सभा बोलाइयो । सो सभामा श्री ३ लगायत तमाम जंगी एवं निजामती उच्च पदस्थ व्यक्तिहरू त हुने नै भए । त्यस दिनचाहिँ श्री ५ त्रिभुवनलाई पनि उपस्थित गराइयो । सभालाई सम्बोधन गर्ने क्रममा श्री ३ जुद्धशमशेरले जंगिँदै भने, ‘किराले हिरा बिगा¥यो ।’ अभियुक्तका रूपमा उभ्याइएका थिए– टंकप्रसाद आचार्य, रामहरि शर्मा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र अन्य केही । यी सबैजसो विद्रोही प्रजा परिषद्मा आबद्ध थिए र राणा शासनविरोधी गतिविधिमा संलग्न थिए । श्री ३ जुद्धशमशेरका ‘यस्ता गाथगादी ताक्ने अपराधीलाई के गर्ने’ भन्ने गर्जनयुक्त प्रश्नको जवाफमा तमाम चाकडिया भारदारले त मृत्युदण्डको माग गर्नु स्वाभाविकै थियो ।

विशेष रूपमा आमन्त्रित श्री ५ त्रिभुवन घोसेमुन्टो लगाएर बसे । मसिनो स्वरमा ‘मोडरेट हुनुपर्छ’सम्म भनेका थिए रे † त्यसपछि श्री ३ जुद्धशमशेरको झपार पाएपछि लुसुक्क दरबारतिर फिरेका थिए । श्री ३ जुद्धशमशेरले भारदारी सभाको सम्मतिअनुसार शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनाए भने टंकप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राह्मण भएका कारण मृत्युदण्ड दिइएन । उनीहरूलाई अंश सर्वस्वसहित चारपाटे मुड्ने र जन्मकैदको सजाय सुनाइयो । यतिसम्मको विवरण त इतिहासमा खुला रूपमा अंकित नै छ ।

इतिहासमै लगभग स्थापित तथ्य के हो भने तत्कालीन राजा त्रिभुवनको प्रजा परिषद्सँग सम्बन्ध थियो । धर्मभक्त माथेमा त्रिभुवनका कुस्ती प्रशिक्षक थिए र उनैमार्फत राजाले सम्पर्क स्थापित गरेको बताइन्छ । स्वयं मैले अनुवाद गरेको एरिका ल्युक्ट्यागद्वारा लिखित ‘एरिका एन्ड किङ (त्रिभुवनकी एरिका)’ पुस्तकमा कसरी राजा रातिराति क्रान्तिकारीहरूसँग भेट्न जान्थे भन्ने विवरण छ । सारमा तथ्य के हो भने शुक्रराज र धर्मभक्त आदिले जेजस्तो कर्म गरेका थिए, त्यसमा राजा त्रिभुवनको सम्मति र सहयोग थियो । राजाको महिमामण्डन गर्ने क्रममा सम्पूर्ण क्रान्तिको नेतृत्व नै त्रिभुवनले गरेको दाबीसमेत गरिन्छ । तर, अत्यन्तै दुखद तर सत्य कुरो के रह्यो भने राजा त्रिभुवनले त्यो क्रान्तिको अपनत्व लिने आँट गरेनन् । मृत्युदण्ड रोक्ने प्रयाससम्म गरेनन् ।

त्रिभुवन साँच्चिकै क्रान्तिका नेता थिए वा प्रेरक थिए भने त्यो भारदारी सभामा ‘यिनले गरेको सबै कामका ’boutमा मलाई थाहा छ, मेरो नेतृत्वमा भएको हो र त्यसो भएको हुँदा मृत्युदण्ड दिन मिल्दैन’ भन्न पर्दैनथ्यो ? अब झटपट राजभक्तहरूको प्रतिक्रिया आउँछ होला । राजाले त्यसो गरेको भए त उनी नै मारिन्थे वा थुनिन्थे अथवा पदच्युत हुन्थे आदि इत्यादि । होइन त ? अरूलाई मर्ने र थुनिने अवस्थातर्फ प्रेरित गर्ने र धकेल्ने महान् क्रान्तिकारी नेताले आफ्ना वीर सेनानीहरूको रक्षा गर्नु पर्दैन ? कम्तीमा नैतिक जिम्मेवारी लिने हिम्मत त गर्नुपथ्र्यो नि † वास्तवमा त्रिभुवनले त्यसै क्षणबाट ‘अभिवावक’, ‘राष्ट्रप्रमुख’ वा ‘राजा’ बन्ने हक गुमाइसकेका थिए । यदि, त्रिभुवनले त्यसबेला श्री ३ जुद्धशमशेरलाई चुनौती दिएको भए उनी मारिने त थिएनन्, पदच्युत हुन्थे होला वा थुनिन्थे होला । त्यसपछि राणाहरूको हालत के हुन्थ्यो ? २००७ साल १९९८ सालतिरै आउँथ्यो । मारिएकै भए पनि उनी महानतम शहीदमा दरिन्थे । मार्ने हिम्मत त श्री ३ जुद्धशमशेरले कदापि गर्ने थिएनन् । राजा त्रिभुवनमा साँच्चिकै अभिवावकत्व प्रदान गर्ने हिम्मत थियो, न त ल्याकत नै ।

२००७ सालभन्दा अघि पनि कांग्रेसले त्रिभुवनलाई भगाएर पाल्पा पु¥याउने योजना बनाएको थियो । पाल्पामा श्री ३ जुद्धशमशेरद्वारा निकाला गरिएका वीरशमशेरका छोरा कमान्डर इन चिफ रुद्रशमशेरको तैनाथी थियो । पाल्पा पुरै रुद्रशमशेरको मातहत थियो । उनीसँग सुरक्षाका लागि आवश्यक फौजसमेत थियो । यदि, त्रिभुवन पाल्पा जान तयार भएको भए भारतको त्यत्रो बोलवाला हुन्थ्यो ? तर, त्रिभुवनलाई पुनः आफ्नो ज्यान अत्यन्तै प्यारो लाग्यो † रुद्रशमशेरको सानो सैनिक टुकडीभन्दा नेहरूको विशाल भारतमाथि उनको विश्वास भयो । समग्रमा भन्नुपर्दा त्रिभुवनमा जोखिम मोल्ने र दह्रो नेतृत्व दिने क्षमता थोरै पनि थिएन । साँच्चिकै भन्नुपर्दा भोग विलासमा रमाउने एक कातर शासक मात्रै थिए उनी † नेपाल राष्ट्रले आजसम्म उनलाई जेजत्ति सम्मान दिएको छ, त्यो नै बढी हो जस्तो लाग्छ ।

आज पनि ठीक १९९७ सालको स्थिति दोहोरिएको छ । १९९७ सालमा जसका लागि प्रजा परिषद्का होनहार व्यक्तिहरू ज्यान दिन तयार भए, तिनै व्यक्तिले ती साहसिला युवाको जिम्मेवारी लिन तयार भएनन् । मुख्य लाभार्थी राजा त्रिभुवनले आफ्नो सुरक्षा र सुखसयल रोजे । २०८१ सालमा चाहिँ जुन ज्ञानेन्द्रलाई पुनःस्थापित गर्न ज्ञानेन्द्रकै निर्देशनमा जो जमात विद्रोहमा होमिन तयार भए, त्यस जमातलाई ज्ञानेन्द्र शाह अपनत्व दिँदैनन् वा अभिवावकत्व प्रदान गर्दैनन् । यो कथित आन्दोलनमा संलग्न छैन भन्दै कागजी प्रमाण मिलाएर आफ्नो जिउधनको सुरक्षामा लागेका छन् ।

१९९७ सालमै त्रिभुवनले क्रान्ति वा विद्रोहबाट राजाका रूपमा स्थापित हुने हक गुमाएका थिए भने २०८१ सालमा आएर त्यस रूपमा पुनः राजाका रूपमा पुनःस्थापित हुने नैतिक वा राजनीतिक हक गुमाएका छन् । २०८२ सालको नववर्षको सन्देशमा पनि ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक घटनाका ’boutमा ‘सुन्दा’ आफूलाई दुःख लागेको बताएर उनी सबैखाले जिम्मेवारीबाट मुक्त हुन खोजेका छन् । त्यही सन्देशमा उनले अनौठो सफेद झूठ बोलेका छन् । नेपालको राजसंस्था बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् । यसभन्दा निर्लज्ज भनाइ केही हुनै सक्दैन ।

१ पुस २०१७ मा संवैधानिक राजतन्त्रको मुनासम्म निमोठिएको होइन ? ‘दलहरूका झन्डा पुनः देखिनेछन्’ भन्ने आफैंले आफ्ना गृहमन्त्री विश्वबन्धु थापालाई बोल्न लगाएको वचनलाई तोडेर निर्दलीयता लादेको होइन ? अनि, ज्ञानेन्द्र आफैंले १९ माघमा के गरेको ? १ पुस २०१७ र ज्ञानेन्द्रको १९ माघको वक्तव्य एकपटक दाँजेर हेर्नोस् त † ७५ प्रतिशत शब्दसम्म मिल्छन् । ‘हाम्रा स्वर्गीय बुबाज्यूबाट २०१७ सालमा र हामीबाट हाम्रो प्रत्यक्ष शासनकालमा अक्षम्य अपराध भएको हो’ भन्दै जनतासामु नाक रगडेर माफी माग्ने हिम्मत छ ?

साँच्चै भन्ने हो भने ठूलो उदारवादी एवं प्रजातान्त्रिक भनेर प्रस्तुत गरिएका राजा वीरेन्द्रसमेत सही अर्थमा संवैधानिक राजा भएनन् । २०४७ सालको संविधान बन्ने क्रममा नै १८ जना जर्नेललाई प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धम्क्याउन पठाएका होइनन् ? संविधान जारी गर्न कत्रो कष्ट दिएका थिए, कसैलाई याद छ ? कागजमा वा संविधानमा जेजस्तो लेखिएको भएता पनि सुरक्षा अंग र त्यसमा पनि सेनाको नियुक्तिदेखि बढुवा वा हातहतियार खरिदसम्म वीरेन्द्रले आफ्नो नियन्त्रणमा राखेका होइनन् र ?

एउटा सुन्दा हल्का लाग्ने तर तथ्य कुरा पस्केर आज बिट मार्न चाहन्छु । ज्ञानेन्द्र शाहलाई ‘पूर्वराजा’ भनेर सम्बोधन गर्दा कतिपयले चित्त दुखाएको देखियो । वास्तवमा मलाई पनि यो चित्त बुझेको छैन । ज्ञानेन्द्र शाह राजा भएकै छैनन् भने पूर्वराजा हुने त कुरै भएन । २००७ सालमा २०५८ सालमा दुवैपटक उनले राजगद्दी आरोहण मात्र गरेका हुन् । नेपालको रीत एवं वैदिक परम्पराअनुसार राज्यारोहण भएर राज्याभिषेक नभएको अवधि भनेको कामचलाऊ वा कायम मुकायमको अवस्था हो । अहिले निलन ढुंगाना कायम मुकायम गभर्नर भएजस्तै † पूरा पक्का राजा हुन त वेद मन्त्रोच्चारणका बीच अर्धांगिनीसहित चार कुनाबाट चार वर्ण अर्थात् जनताबाट अभिषित हुनुपर्छ । त्यो हो जनताले राजाका रूपमा स्विकारेको † राजा वीरेन्द्रले १७ माघ २०२८ मा राज्यारोहण गरे तर १२ फागुन २०३१ का दिन मात्र अभिषेक पाए । मेरो स्मृतिले धोखा नदिएको भए राजा वीरेन्द्रलाई कीर्तिनिधि बिष्ट (ब्राह्मण), केआई सिंह (क्षत्री), भुवनमान सिंह (वैश्य) र लबरू राना थारू (शुद्र)ले अभिषेक गरेका थिए । यसबीचको अवधिमा वीरेन्द्र पनि कामु राजा नै थिए । त्यसकारण ज्ञानेन्द्र शाहलाई पनि पूर्वकामु राजा भन्ने कि ?

(Visited 33 times, 1 visits today)





Source link

Leave a Comment