‘माओवादी जिन्दावाद ! महान् जनयुद्ध जिन्दावाद !’ १६ वर्षको उमेरमै सिन्धुलीकी रेखाले लगाउने गरेको नारा हो यो। ‘लौ आयो ताजा बन्दा र तरुल। काउली र फर्सी। गोलभेंडा र प्याज।’
योचाहिँ उनको अहिले फेरिएको नारा हो । यही नारा काठमाडौंको मूलपानीमा बस्दै आएकी ३६ वर्षीया सावित्री खड्काको जीवन जिउने बाटो बनेको छ।
खासमा रेखा र सावित्री एकै हुन्। सावित्री खड्का माओवादी युद्धमा लागेपछि पार्टीले दिएको नाम हो– रेखा। रेखा नाम लिएर उनी ११ वर्ष बाँचिन्। हो, त्यही अवधिमा उनी जनमुक्ति सेनाको भरपर्दो लडाकु बनिन्। यिनै रेखाले अन्ततः २०६९ सालतिर जनमुक्ति सेनाबाट बिदा लिइन्। अहिले सावित्री ठेलामा तरकारी बेचेर बाँच्दै छिन्। हो, उनले त्यही बेलादेखि रेखालाई बिर्सने उपक्रम थालिन्। ‘अहिलेको आएर सम्झँदा युद्धमा बिताएको क्षण बेकार लाग्न थालेको छ,’ पुरानो एल्बमको पानामा रेखालाई देखाउँदै उनले भनिन्, ‘त्यो युद्धमा रेखा मरी। अहिलेको युद्धमा सावित्री बाँचेकी छे।’
सिन्धुली झाँगाझोली घर भएकी सावित्रीले सानैदेखि दुःख झेल्नुपर्यो। सानैमा आमाको मृत्यु भयो। बुबा रोगी भएकाले सानो भाइलाई हुर्काउने जिम्मा उनैमा थियो। त्यसैले उनी लहलहैमा लागेर त्यतिबेला माओवादीमा लागिन्। माओवादीमा लागेपछि भने उनलाई खासै रुचि लागेन तर फर्कन पनि सकिनन्। ‘एक पटक युद्धमा होमिएपछि पछाडि फर्कन पनि सकिन्नथ्यो, किनकि माओवादीसँगै राज्यको पनि डर हुन्थ्यो,’ उनले भनिन्, ‘त्यही भएर बाध्य भएर लडियो।’
किशोर उमेरमै युद्धमा होमिएकी उनले नजिकैका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, मकवानपुर मात्र होइन, टाढाका रुकुम, रोल्पा, हुम्ला, कालिकोटसम्म पुगिन्। आन्दोलनमा लागिसकेपछि मरिए मरिएला भनेर लड्यौं,’ उनले भनिन्, ‘मर्न त मरिएन तर बाँचेर पनि केही गर्न सकिएन।’
विभिन्न स्थानमा एम्बुसमा परेकी उनले सिन्धुपाल्चोकको चौतारामा भएको लडाइँमा घाइते भएको सुनाइन्। ‘ज्यान हत्केलामा राखेर लागिएको थियो,’ उनले भनिन्, ‘अहिले सम्झँदा डर लाग्छ।’ चौताराको युद्धमा घाइते भएकी उनले आफूजस्ता थुप्रैले जीवन गुमाएको सुनाइन्। ‘युद्धका घाइते र अपांगता भएकाको अवस्था दयनीय छ,’ खुट्टामा रहेको गोलीको दाग देखाउँदै उनले भनिन्, ‘कति साथी त शरीरमा लागेको बमका छर्राले अहिले पनि पीडामा छन्।’
युद्धको समाप्तिसँगै लडाकु शिविरमा बसेकी उनले सहज जीवनमा फर्किने बाटो रोजिन्। ‘मैले नबुझीकन लागेको त्यो युद्ध मलाई मन परेको थिएन, त्यसैले फर्किएँ,’ उनले भनिन्, ‘फर्किएपछि पहिलेकै सावित्री बनें।’

जनमुक्ति सेनामै रहँदा वैवाहिक जीवनमा बाँधिएकी उनले पतिको लडाइँ पनि खेर गएको सुनाइन्। ‘देश हाँक्ने आँट बोकेर हिँडेका मेरा श्रीमान् अहिले गाडी हाँक्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘युद्धले नेतालाई महलमा पुर्यायो, हामीजस्तालाई सडकमा।’ युद्धमा नलागी ठेला बोकेर हिँडेको भए जीवनमा परिवर्तन आइसक्ने अनुभव उनको रह्यो। ‘ग्रिनेड बोकेर हिँडेको भन्दा अहिले काउली बोकेर हिँड्दा खुसी लागेको छ,’ उनी भन्छिन्, ‘यही खुसीको जगमा सुन्दर भविष्य देख्दैछु।’ नेताहरूमा पलाएको शक्ति, सम्पत्ति र नातावादको रोगले पार्टी मूल मुद्दाबाट विमुख हुँदै गएको उनको बुझाइ छ। ‘त्यो युद्धले केही नेतालाई माथि पुर्याए पनि हामीजस्तालाई सडकमा पुर्यायो,’ उनले भनिन्, ‘कैयौंले आफ्ना सन्तति गुमाएर ल्याएको गणतन्त्रमा कुनै सम्मानसम्मको पनि अनुभूति हुन सकेको छैन।’
उनले भनेजस्तै माओवादी युद्धको सुरक्षित राजनीतिक अवतरण भए पनि माओवादी ‘जनयुद्ध’ले जन्माएका हजारौं नेता–कार्यकर्ताको अवस्था भने अहिले झन् दुःखद दयनीय बनेको समाजशास्त्री विदुर लामिछाने सुनाउँछन्। ‘जनयुद्धका मुद्दा, मूल्य, मान्यता बिर्सिएका छन्,’ उनी भन्छन्, ‘जसका कारण हजारौं सावत्रीहरू अन्योलमा परेका छन्।’
एक वर्ष माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासको सुरक्षामा समेत खटिएको सावित्रीले बताइन्। ‘प्रचण्ड (पुष्पकमल दाहाल) सत्तामा पुगे, हामी सडकमा पुग्यौं,’ उनले भनिन्, ‘हामी कसैका लागि साधन भएको महसुस भएको छ।’ पार्टीमा आफ्ना मान्छेको पकड बढ्दै गएको र साँच्चिकै दुःख गर्ने ओझेलमा पर्दै गएको उनले सुनाइन्।

‘नेताहरूले हामीलाई त अब केवल चुनावमा मात्र चिन्छन्,’ उनले भनिन्, ‘अघिपछि हामीलाई कसैले वास्ता गर्दैनन्।’ नेताहरूको ताल देखेर आफूहरूलाई आक्रोश बढ्ने गरेको उनी सुनाउँछिन्। उनीहरूको असफलताका कारण आफूहरूको जीवन चर्किएको उनले सुनाइन्। ‘पुराना एल्बमका पानाहरू पल्टाउँदै जाँदा शरीर निकै तात्छ,’ उनले आक्रोश पोखिन्, ‘नेताहरूको चिल्ला गाडी फुटाइदिऊँ, घरमा आगो लगाइदिऊँ जस्तो लाग्छ।’
जीवन जस्तोसुकै कठिन अवस्थामा पनि चल्छ। अहिले उनको जीवनमा ठेलाको सहाराले चलेको छ। कक्षा ३ मा पढ्ने छोरी र युकेजीमा पढ्ने छोराको भविष्यका लागी सावित्री बाँचेकी छन्। ‘अब मेरो अर्को युद्ध सुरु भएको छ,’ माओवादीबाट निराश उनी भन्छिन्, ‘आशा गर्छु यसमा भने कसैले धोका दिनेछैन।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले केही समयअगाडि चितवनमा आयोजित एक कार्यक्रममा माओवादी निराश भए आजसम्मका सम्पूर्ण उपलब्धि ध्वस्त हुने बताएका थिए।
नेकपानिकट श्रमिक समुदाय मोर्चाद्वारा आयोजित ‘सी’ जातिको अवधारणा विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव चन्दले माओवादीहरू निराश हुनुनपर्ने, माओवादीहरू निराश भए आजसम्मकै उपलब्धि ध्वस्त हुने बताएका हुन्। ‘अहिले चारैतिर माओवादीहरूमा निराशाजस्तो देखिने, हीनताबोध गर्ने र व्यर्थमा १० वर्ष खेर फालिएछ भनेजस्तो दृश्य देखिएको छ,’ उनले भनेका थिए, ‘यसमा हामी माओवादीहरू निराश हुन आवश्यक छैन। यदि हामी निराश भयौं भने आजसम्मकै सम्पूर्ण उपलब्धि ध्वस्त हुनेछन्।’

समाजशास्त्री विदुर लामिछाने लामो समयदेखि सावित्रीको दिन चर्या नियाल्दै छन्। माओवादी जनमुक्ति सेनाकी लडाकुले ठेला गुडाएर जीवन चलाउनुलाई उनी परिवर्तनको संज्ञा दिन्छिन्। ‘समाज युद्धले होइन, आर्थिक उपार्जनले बदलिन्छ,’ उनी भन्छन्, ‘ढिलै भए पनि सावित्रीले सही बाटो रोजेकी छन्।’
ठुलो परिवर्तनका लागि नेतृत्व गरेर हिँडेकाहरू फेरिए पनि सावित्रीहरूको अवस्था यस्तै हुने उनले बताए।
के हो माओवादी सशस्त्र द्वन्द्व?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ सालमा सरकारविरुद्ध सुरु गरेको युद्ध २०६३ सालसम्म चलेको थियो। सशस्त्र द्वन्द्वकालका रूपमा परिचित यो अवधिमा १७ हजारभन्दा बढीको मृत्यु भएको थियो भने लाखौं प्रभावित बनेका थिए। दसौं हजार अंगभंग बने भने अझै पनि हजारौं बेपत्ता छन्।
२०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ सुरु भएको यो युद्ध यसको सुरुआत २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग समाप्त भएको थियो। माओवादी र सरकारबिचको बाह्र बुँदे सहमतिअनुरूप माओवादीहरू शान्ति प्रक्रियामा आएपछि पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजनको प्रक्रिया थालिएको थियो।
माओवादी लडाकु शिविरमा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ लडाकु मध्ये १५ हजार ६३० जना लडाकु ‘स्वैच्छिक अवकाश’ रोजेर घर फर्किए भने एक हजार ४२१ जनाको नेपाली सेनामा समायोजन भयो। घर फर्किने लडाकुमध्ये एक हुन् सावित्री खड्का। यो तिनै हजारौं लडाकुहरूको प्रतिनिधि कथा हो।
प्रकाशित: १२ माघ २०८१ ०७:५८ शनिबार