प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार

फोटो: एएफपी/रासस
अमेरिकी सेनाले इरानमाथि ठुलो हमला गरेको छ। सेनाले इरानका माइन्स (समुद्री विस्फोटक) बिछ्याउन प्रयोग हुने १६ वटा नौसैनिक जहाज नष्ट गरेको जनाएको हो।
इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री माइन्स राख्ने तयारी गरिरहेको आशङ्काबीच यस्तो कारबाही गरिएको अमेरिकी सेनाले बताएको छ। स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक मानिन्छ।
अमेरिकी अधिकारीका अनुसार ती जहाजहरू हाल सक्रिय अवस्थामा नभए पनि इरानले भविष्यमा सञ्चालन गर्ने योजना बनाएको सूचनाका आधारमा यो आक्रमण गरिएको हो।
यदि इरानले स्ट्रेट अफ होर्मुजमा माइन्स बिछ्यायो भने त्यसले क्षेत्रीय समुद्री व्यापारमा गम्भीर असर पार्ने र तेल ढुवानी पूर्ण रूपमा अवरुद्ध हुन सक्ने चेतावनी अमेरिकाले दिँदै आएको थियो। विश्वभरि ढुवानी हुने कच्चा तेलको २० प्रतिशत भाग यही मार्गबाट जाने गर्छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै इरानलाई कडा चेतावनी दिएका छन्। उनले यदि इरानले स्ट्रेट अफ होर्मुजमा माइन्स राखेमा ठुलो स्तरको सैन्य परिणाम भोग्नुपर्ने बताएका थिए।
ट्रम्पले लागूऔषध तस्करविरुद्ध प्रयोग गरिएको प्रविधि र मिसाइल क्षमताको प्रयोग गरेर स्ट्रेट अफ होर्मुजमा माइन्स राख्ने प्रयास गर्ने कुनै पनि डुङ्गा वा जहाजलाई स्थायी रूपमा नष्ट गर्ने चेतावनी अमेरिकाले यसअघि नै दिएको थियो।