त्यो बूढोलाई फुटपाथको पुस्तक–पत्रपत्रिका पसलमा कुनै किताब हातमा लिएर पढ्दै गरेको त कहिले कहीँ देखेको हुँ तर आजचाहिँ सुनधाराकी त्यो अधबैँसे साहुनीले नराम्ररी गाली गरी। पसलमा घण्टौँ घोरिएर सित्तैँमा पत्रपत्रिकाहरू पढिसिध्याएर हिँड्नेहरूदेखि आजित भएका पत्रिका पसलेहरूको रीसको पारो चढेको झोकमा कतै म आफू पो पर्ने हुँ कि भन्ने डर लागिरहन्छ। सबै पत्रपत्रिकाहरू किनेर हेर्न साध्य लाग्दैन, त्यसैले बरु एउटा पत्रिका किन्ने र त्यसैको निहुँमा अरू पत्रिकाहरू हेरिसिध्याउने गर्नाले उनीहरूको हेराइमा म सभ्य नागरिकमा परेको छु। त्यस दिन त त्यो पत्रिका पसल्नीले मेरै उदाहरण दिएर एउटा बूढालाई नराम्रोसँग झम्टिई। कुराको चुरो नबुझेसम्म वाल्ल परेर झम्टिने साहुनी र झम्टाई खाने बूढो पाठकलाई एकोहोरो हेरिरहेँ।
कुरो त उही रहेछ जुन मैले अनुमान गरेको थिएँ। साहुनी भन्दै थिई– “कि त उहाँले जस्तो कम्तीमा पनि एउटा पत्रिकासम्म त किन्नुप¥यो। दिनदिनै आउने र सित्तैँमा सिङ्गासिङ्गै कितावहरू पढ्ने ! त्यसमा पनि यौनका कितावहरू ! कि त किनेर लैजाऊ, होइन भने आइन्दा मेरो पसलमा नआऊ। पिण्डखाने बेलामा खुबै लछारपाटो लाउने भयौ यौनका कुराहरु पढेर।”
साहुनी यत्तिमै रोकिइन। उसले कहिलेदेखिको र कसकसको रीस हो कुन्नि, आजै त्यही बूढोमाथि पोखी। बूढो पनि के कम्ती हुन्थ्यो, निकै ज्याद्रो रहेछ। सँगसँगै जवाफ फर्काइरहेथ्यो साहुनीलाई– “पख न नानी, एक्कैछिन त हो नि। तिम्रो किताव खाएको छैन, च्यातेको छैन। किन मर्न खोज्छ्यौ यसरी।”
“अब त अति भयो, तँ रण्डो बूढालाई। यहाँबाट खुरुक्क जान्छस् कि घोक्र्याइदिउँ।” साहुनीको रीसको पारो चढेको देखेर म पो डराएँ बरु। बूढोचाहिँ कितावमै एकोहोरिरहेको थियो।
त्यतिबेलाको स्थितिको सरसर्ती मूल्याङ्कन गर्दा बूढोले टेर्ने छाँट थिएन र कुनै पनि बेला त्यो अधबैँसे पसल्नीले उसमाथि धावा बोल्न सक्छे भन्ने निर्णयमा म पुगिसकेको थिएँ। अब भने म पनि आफूले पैसा तिरेको पत्रिका मात्र हातमा लिएर सतर्क भइसकेको थिएँ।
पसल्नीको अनुहारमा रीसका ज्वारभाटाहरु एकपछि अर्को उठ्दै गरेका स्पष्टै देखिन्थे। त्यतिबेलासम्म त्यो पसलमा भीड नै लागिसकेको थियो। के भइरहेको छ भन्ने त्यो भीडलाई थाहा थिएन र भीडले जान्न चाहिरहेको थियो, आखिर कुरो के हो भन्ने। साहुनी एकोहोरो जङ्गिरहेकी थिई भने त्यो बूढोचाहिँ कितावमा एकोहोरिएकै थियो। उसलाई न त साहुनीको गालीको पर्वाह थियो, न त भीड लागिसकेको नै थाहा पाएको थियो। लाग्थ्यो– त्यो किताव नै उसको संसारको सबैभन्दा प्रिय बस्तु हो अथवा त्यो किताव पढेर तत्कालै ऊ कुनै पास गर्नैपर्ने जाँच दिनुपर्ने बाध्यतामा छ। कुनै बाध्यात्मक अवस्थामा भएजस्तो अचम्मकै कितावप्रेमी देखिइरहेछ त्यो बूढो।
पत्रिका पसल्नीले सहन सकिन। सायद त्यहाँ जम्मा भइसकेको भीडका कारण पनि उसले तत्काल केही गरिहाल्नुपर्ने सम्झिई। हिंस्रक बाजले परेवालाई झम्टिएजस्तै गरी त्यो बूढोको हातको कितावलाई थुती। टुक्रुक्क बसेर पढिरहेको बूढालाई उसले कुटिहाल्न त चाहिन तर घुर्चिएर पुर्लुक्क लडाइदिई।
बूढालाई त्यहाँबाट उठ्न निक्कै धौधौ प¥यो। ऊचाहिँ लु पढ्, अझै पढ्छस्, खुबै तरिका सिक्नुपर्ने तँलाई। मर्ने बेलामा हरियो काँक्रो! केके हो कुन्नि, उसले जानेसम्मका शब्दहरूले लडेको बूढालाई झन्झन् थिचिरहेकी थिई। जम्मा भएको भीड गलल्ल हाँस्थ्यो।
यसपछि भने म दर्शक मात्र रहिरहन सकिनँ। म पनि पाठक बनेँ र बूढोमाथि पाठकीय मूल्याङ्कन गर्न थालेँ।
आखिर जुनिसुकै विषयवस्तुमा लेखिएको किताव किन नहोस्, लेखकले पाठकको ध्यान तान्नकै लागि लेखेको त हो नि। त्यो कितावले एउटा वृद्धलाई त्यसरी बेइज्जती सहनुपर्ने हदसम्म तान्न सक्यो भने त्यस कितावको लेखक आफ्नो उद्देश्यमा शतप्रतिशत सफल भएको हो। उसले आफ्नो मनले पढ्न अह्राएको किताव पढ्यो, पढ्नु उसको अपराध होइन। बरु त्यो किताव उसले पढ्नैपर्ने बाध्यता किन बन्यो ? उसले किनेर, घरैमा लगेर किन पढ्न चाहेन अथवा ऊसँग किताव किन्न सक्ने क्षमता नभएर पो हो कि! एउटा बृद्ध पाठकभित्र लुकेका धेरै रहस्यका पोकाहरू फुकाउन सकेँ भने म आफू पनि पाठक हुनुको धर्म राख्दै लेखक हुनुको कर्म पनि गर्न सक्दछु भन्ने निष्कर्षमा पुगेँ।
वृद्ध पाठक उठ्ने जमर्को गर्दै थियो। सायद कतै ढोक्किएको हुनुपर्छ। त्यसैले जुरुक्क उठ्न सकेन। मैले उसलाई सहारा दिँदै उठाएँ। उसलाई निकै ठूलो ढाडस मिलेछ र मेरै पाखुराले भर दिएर उठाएजस्तो गरी ऊ उठ्यो। मायालु आँखाले मेरो मुखमा हेर्यो बूढाले। मैले ‘बा’ भनेँ। बूढाका दुवै आँखामा छिनमै आँसु भरिए। भक्कानिएर एकछिनसम्म बूढो बोल्न सकेन।
“झन्नै मारेकी वाइफालेले! त्यसको छाला पढ्न पनि नहुने। खाइदिन्छ कि जस्तै पो गरी है” उसले बोलेका शब्द सुन्दा बूढो पनि कम्ती रिसाएको थिएन। उसले सक्ने भए त्यो आइमाईलाई बदला लिन हातै पनि हाल्न बेर गर्ने थिएन होला। तर के गरोस्, उसमा शक्ति–सामर्थ्य थिएन त्यसो गरिहाल्न पनि।
साहुनी यी बूढाले पढेको किताव कुन हो ? मैले रीसले आगो भएकी साहुनीलाई चिस्याउन खोजेँ। अब त सम्भवतः ऊ मसँग पनि रिसाएकी हुनुपर्छ। किनभने म उसले कारवाही गरेको बूढोपट्टि लागेको जस्तो मेरो व्यवहारले देखाइरहेथ्यो।
“त्यहीँ छ, फुँडोको कुसेत्रो!” उसको बोलाइको शब्द छनोटले कतै मैमाथि पनि खनिन्छे कि भन्ने डर पलायो। बिस्तारै मागेँ त्यो किताव। धन्न दिई मेरो हातमा। किताबको बाहिरी नामकरण पढेँ मैले। आवरणचित्र हेर्दैमा पनि भित्र के कस्ता कुराहरू होलान् भन्ने सहज अनुमान गर्न सकिन्थ्यो। चरम उत्तेजनामा प्रवेश गरेका जस्ता हाउभाउमा केटा र केटी आपसमा टाँस्सिएर मुखमा मुख जोडिरहेको नाङ्गो दृश्य कितावको आवरणमै थियो। यति लेखिसकेपछि कितावको नाम नलेखे पनि हुने हो मैले तर लुकाउनपर्ने नै के छ र। “यौनक्रीडामा सफलता चाहनेहरूका लागि?”
मैले हातमा लिएको बूढाले एकोहोरो लागेर पढेको कितावको आवरणचित्र र उल्लिखित नाम देखेर भीड फेरि एकपटक हाँस्यो। मैले पुस्तकको मूल्य हेरेँ– पचहत्तर रुपैयाँ रहेछ।
पर्स निकालेँ। खुद्रा पैसा सत्तरी रुपैयाँ मात्र रहेछ। साहुनीलाई दिएँ र भनें –पाँच रुपैयाँ त डिस्काउन्ट होला नि !
एकैछिन अघि ‘रणचण्डी’ बनेकी साहुनीको अनुहारमा एकाएक लाली छायो। पूरै अनुहार हँसिलो देखियो त्यो आइमाईको। म पनि पाँच रुपैयाँ डिस्काउण्टकै लागि भए पनि फिस्स हाँसे। मेरा आँखामा आफ्ना आँखा जुधाउँदै भइहाल्छ नि भनी उसले र पैसा समाई।
त्यो किताव बूढोको हातमा दिएँ र आफ्नो पाखुराले उसको पाखुरामा भर दिँदै खिचापोखरीतिर लागेँ। यतिबेलासम्ममा बूढो पनि सहज अवस्थामा फर्किइसकेको थियो। तर पनि त्यो आइमाईलाई गाली गर्न भने छोडेको थिएन। आफूतिर बूढोको ध्यान खिच्ने उद्देश्यले सोधेँ– उमेर कति भयो बाको?
“यसै महिनादेखि पचहत्तर लागेँ बाबु।” बूढाले आफ्नो उमेर बताउँदा म तीनछक्क परेको थिएँ। उमेरभन्दा पनि त्यो उमेरमा आएर पनि यौनमूलक कितावहरूमा देखिएको बूढोको रुचिचाहिँ महत्त्वपूर्ण कुरा थियो। यस्तो कितावमा मरिहत्ते गर्नुको कारणले पक्कै पनि यो बूढोकी तरुनी श्रीमती हुनुपर्छ भन्ने अनुमान गरेँ मैले।
यस घटनाले गर्दा बूढाले मसँग साथीको जस्तै व्यवहार देखाउन थाल्यो। पचहत्तर वर्षे वृद्धको रुचि र घरव्यवहार जान्नकै लागि पनि उसलाई अझै केही घण्टा नछोड्ने निर्णय गरेँ मैले। त्यतिञ्जेलसम्ममा बूढाले आफ्नो घर ओखलढुङ्गा जिल्लाको टोक्सेल गाउँमा भएको, सात वर्षदेखि काठमाडौँमा ज्याला–मजदूरी गर्दै बसिरहेको, कान्छी श्रीमती र एउटा तीन वर्षे छोरो साथमा भएका लगायतका कुराहरू मलाई बताइसकेको थियो। गफकै सुरमा हामी न्यूरोड पिप्पलबोट निस्किसकेका थियौँ। अफिस जान हतार भइसकेको थियो तर पनि किनकिन त्यो बूढोको पारिवारिक जीवन, उसको विगत र हालको काठमाडौँको बसाई जान्नलाई म उत्सुक थिएँ। बूढालाई सोधेँ– “चिया खाने हो ?”
“हुन्छ, मलाई पनि बाबुसँग गफ गरौँगरौँ लागिरहेको छ। आज किन हो किन, कति वर्षपछि मिल्ने साथी भेट्टाएजस्तै लागिरहेछ।” बूढोले मसँग साँच्चिकै आत्मीयता देखायो।
हामी एउटा चिया पसलमा छिर्यौँ। बूढालाई अरू पनि केही खाने हो भनेर सोधेँ तर उसले भर्खरै डेराबाट भात खाएर निस्किएको बतायो। चियासँगै बूढोको विगत कोट्याएँ। बूढोले एकपटक खुइय्य गर्यो। अनि आफ्नो जीवनका तीतामीठा पोकाहरू फुकाउन थाल्यो।
“गाउँमा काम गरेर खानपुग्ने राम्रै बन्दोबस्त थियो। पहिलो बिहे एघार वर्षकै उमेरमा गरिदिएका थिए बाबुआमाले। त्यतिबेला केटीको उमेर नौ वर्षकी भन्थे। परिवार राम्रैसँग चलेको थियो। पन्ध्रै वर्षको उमेरमा ऊ गर्भिणी भएकी थिई। कर्ममा नभएपछि के गर्नु, नानी पाउन नसकेर ऊ मरी।”
जीवनको पूर्वस्मृतिमा बूढो निक्कै गम्भीर देखियो। त्यसपछि अर्को बिहे कहिले गर्नुभयो त? मैले जिज्ञासा राखेँ।
“पहिलेकी श्रीमती मरेको दुई वर्षपछि गाउँमै अर्को बिहे गरेँ। मलाई त कर्मैले ठगेको हो कि के हो, त्यो श्रीमतीले पनि दुई छोरा भइसकेपछि मलाई छोडेर अर्कैसँग पोइला हिँडी। विरक्त लागेर आयो र धेरै वर्षसम्म बिहे नै गरिनँ। छोराहरू हुर्किए, काम गर्ने भए। दुवैको बिहे भयो। उनीहरुले आफ्नै घर–संसार बसाए। म बूढो एक्लाको एक्लै। यसै भएर घरमा बस्नै मन लागेन र काठमाडौँ आएँ। काठमाडौँमा भारी बोक्ने, ज्यालादारीमा काम गर्ने गर्दै, बस्दै आएको थिएँ। यस्तैमा एउटी केटी त के भनौँ, आइमाईसँग भेट भयो। ऊ पनि एक्लै, म पनि एक्लै। उसलाई लोग्नेले सौता हालेछ र कुटेर घरबाट निकालेछ। त्यसैले गाउँकाहरुसँग काठमाडौँ आएकी रहिछे। मलाई नढाँटेकी हो भने छत्तीस वर्षकी भएँ भन्छे।”
म छक्क परेँ। सात–आठ वर्षको उमेरको फरक हुँदा मात्र पनि मेरी श्रीमती कत्ति न धेरै फरक भएजस्तो छेड हान्छे। कहाँको पचहत्तर वर्षको बूढो, कहाँको छत्तीस वर्षकी तरुनी! कुराको चुरो राम्ररी बुझेँ मैले। बूढेसकालमा ल्याएकी श्रीमतीलाई यौन सन्तुष्टि दिलाउन बूढाले यौनशिक्षाका पुस्तकहरू पढ्ने विचार गरेका रहेछन्। काम गरेर पेट पाल्नुपर्ने। किताव किन्ने पैसा कसरी पुगोस् त। अनि पसलमा घोत्लिएर नपढे के गर्नु। पाठक बूढो र पसल्नी आइमाई दुवै आआफ्नो ठाउँमा ठीक देखिए मेरो हेराइमा। बेच्न राखेको पुस्तक त्यसै पढेपछि उसले के गरोस् त आक्रमण नगरे। अनि आवश्यक पनि छ, किन्न पैसा पनि छैन भने त्यसै नपढेर के गरोस् त बूढाले।
किताव पल्टाएँ। त्यसमा धेरै कुरा थिए। किताव भनेको शिक्षामूलक चिज नै हो तर लेखाइ ज्यादा अश्लील थियो। त्यसमा यौनक्रीडाका केही आसन पनि थिए। एकले अर्कालाई फकाउने तरिका, तताउने तरिका, खुशी पार्ने तरिका, त्यसमा धेरै कुरा थिए। बूढाकै अगाडि कितावका पानाहरू सरसर्ती पल्टाउँदा उसमा केही लजाएजस्तो भाव पनि देखिन्थ्यो। किताव किनिदिएकोमा मप्रति अनुगृहीत पनि उसका आँखाहरूबाट ऊ भइहरहेथ्यो।
तृष्णाले नै मान्छेलाई डोर्याउँछ। जीवनप्रति मोह जगाउने, परिवार बनाउन खोज्ने, चाहनाहरू एकपछि अर्को उमार्दै जाने यसैले गर्ने रहेछ। पचहत्तर वर्षको बूढालाई तृष्णा जाग्यो ! छत्तीस वर्षकी आइमाईले ऊबाट तृप्तिचाहिँ! यिनीहरूको मिलन कस्तो होला, गुजारा कसरी चलेको होला भन्ने यथार्थ नजिकबाट हेर्न चाहेर पनि सम्भव थिएन। बूढाले मलाई देउता नै भेटेजस्तो गरी लठ्ठिएको छ। म पनि उसका कुराहरूबाट आफ्नो जीवनको उत्तरार्द्धको सम्भावित अवस्थाको कल्पनामा डुबेको छु।
अनि शरीरमा कत्तिको तागत छ त? सन्तुष्टि दिन सकिन्छ? बूढालाई जिस्क्याएँ मैले। उसले भन्यो– त्यतिसारो गलेको त छैन तर पनि यो उमेरमा आएर अब बैँसको जस्तो खोजेर कहाँ हुन्छ र बाबु। यसलाई एउटासम्म सन्तान दिनसके ढुक्क हुने थिएँ।
घडी हेरेँ, निकै अबेर भइसकेको थियो तर बूढालाई कुनै हतारो थिएन। मैले नै हतारो देखाएँ उसलाई। यो पूरै किताव पढिसकेपछि एकपटक मलाई फोन गर्नु है भनेर त्यही कितावमा आफ्नो टेलिफोन नम्बर लेखिदिएँ। यदि आवश्यक पर्यो भने अर्को किताव पनि किनिदिउँला नि भन्दा बूढो खित्का छोडेर हाँस्यो र भैहाल्छ नि भन्यो। बूढोलाई विदा गरेर म पनि अफिसतिर लागेँ।
म बूढाको फोनको प्रतीक्षामा छु। अहिलेसम्म उसले फोन गरेको छैन।
(कथाकार काेइरालाकाे ‘न्यूराेडका झाँकी ’ कथासंग्रहमा सङ्गृहीत। )
