विश्वभर नै स्नायु रोगबाट पीडित हुनेको संख्या बढिरहेको छ । द ल्यान्सेट न्युरोलोजीको नयाँ अध्ययनअनुसार विश्वमा ३ अर्ब ४० करोड भन्दा बढी मानिसमा स्नायुसम्बन्धी कुनै न कुनै समस्या छ । त्यति मात्र होइन, यी रोगले मानिसलाई बिस्तारै शारीरिक रुपमा अशक्त बनाउने प्रमुख कारण बनिरहेको छ ।
सरल भाषामा बुझ्ने हो भने हरेक तेस्रो व्यक्ति न्युरोलोजिकल समस्याको सिकार भएका छन् । द ल्यान्सेट न्युरोलोजीको यस अध्ययनको तथ्यांक विश्लेषणमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
संगठनको अनुसार सन् २०२१ को ग्लोबल बर्डन अफ डिजिज, इन्जुरिज एण्ड रिस्क फ्याकटर स्टडी (जीबीडी)बाट प्राप्त तथ्यांकबाट उक्त जानकारी प्राप्त भएको हो । यस्ता बढ्दै गएको स्नायुसम्बन्धी समस्याले अकालमै मृत्यु हुने संख्यामा वृद्धि गरिरहेको छ । यस्तो अकाल मृत्यदर स्नायुसम्बन्धी सेवा सीमित भएका कम आय स्तर भएका देशहरुमा बढिरहेको छ ।
स्ट्रोक, अल्जाइमरजस्ता रोगमा व्यापक वृद्धि
तथ्यांकसहितको जीबीडीको रिपोर्टमा सन् १९९० देखि २०२१ मा भएको अध्ययनअनुसार २०० देश र त्यसको आसपासको क्षेत्रमा ३७१ रोग पाइएको देखिएको छ ।
यस अध्ययनका अनुसन्धानकर्ताले स्नायु प्रणालीमा प्रभावित पारेर भइरहेको स्वास्थ्यलाई असर पार्नेमा ध्यान केन्द्रित रहेर अध्ययन गरेका थिए । जसमा स्नायुसम्बन्धी रोग र स्नायु विकाससम्बन्धी समस्या दुवै समावेश थिए ।
तीमध्ये स्ट्रोक, अल्जाइमर, अटिज्म स्पेक्ट्रम डिसअर्डर, इन्सेफाइलिटिज एण्ड मेनिनजाइटिस पार्किन्सन्स रोग प्रमुख हुन् । अध्ययनकर्ताहरुले स्नायुसम्बन्धी प्रकृति नभएका व्यक्तिमा पनि स्नायु प्रभावबारे अध्ययन गरेका थिए ।
स्नायु रोग भएकाहरुमा गरिएको अध्ययनमा उनीहरुमा अपांगतासँगै मृत्यु भएको घटनाको पनि विश्लेषण गरिएको थियो । उनीहरुले के कस्ता स्वास्थ्य समस्या भोगे त्यसबारे पनि विश्ले गरिएको थियो । त्यति मात्र होइन, उनीहरुमा स्नायुसम्बन्धी कुन भागमा समस्या छ त्यसमा पनि ध्यान दिए ।
उनीहरुले विश्व बैंकको आयस्रोतको सूची प्रयोग गरी मध्यम आय र निम्न आयस्रोत भएका देशका त्यस्ता बिरामीलाई विभाजन गरेका थिए । ती बिरामीमा गरिएको अध्ययनअनुसार १० स्नायुरोगले शारीरिक अशक्तता निम्त्याएको देखिएको थियो ।
जीबीडी रिपोर्टको आधारमा १० शीर्ष न्युरोलोजिकल अवस्थाहरू पहिचान गरेका छन् । जसले स्वास्थ्य सेवामा चिकित्सक तथा सर्वसाधारणलाई यी रोगबारे अवागत गरायो । यी शीर्षरोगमा स्ट्रोक, नवजात इन्सेफ्यालोप्याथी, माइग्रेन, अल्जाइमर रोग, डिमेन्सिया, मधुमेह न्युरोप्याथी, मेनिन्जाइटिस, छारेरोग, मितिअगावै जन्मका कारण न्युरोलोजिकल जटिलताहरू, अटिजम स्पेक्ट्रम रोग र स्नायु प्रणालीको क्यान्सर शीर्ष समावेश थिए । विश्वको जनसंख्याको ४३.१ प्रतिशत मानिसमा यो समस्या छ ।
अध्ययनकर्ता तथा स्नायुरोग विशेषज्ञ डा. मुहम्मद अर्साद भन्छन्, ‘यस्ता रोग बढ्नुको पछाडि यी रोगको पहिचानको दायरामा नआउनुका साथै भौगोलिक र अर्थतन्त्र कमजोर भई स्वास्थ्यको पहुँच नहुनु पाइएको छ ।’
डब्लुएचओले यस्ता रोगको निवारण गर्न स्वास्थ्य सेवाको पहुँचलाई बढाउनुपर्ने उल्लेख गरेको छ ।
यस्ता समस्यालाई रोकथाम गर्न सकिन्छ ?
यो अध्ययनको उद्देश्य नै स्नायुरोगको पहिचान तथा रोकथामको लागि ध्यानाकर्षण गराउनु हो । जेरियार्टि साकियाट्रिक तथा प्यासिफिक न्युरोसाइन्स इन्टिच्युट प्यासिफिकका निर्देशक डा. डेभिड मेरील भन्छन्, ‘दीर्घ स्नायु अवस्था अहिले विश्वव्यापी रुपमा बिरामी र अपांगता बनाइरहेको छ, जब हामी स्वस्थ हुन्छौं । तब हामी यस्ता रोग विरलै छ भन्ने लाग्छ । तर हाम्रो अध्ययनले तीन जनामध्ये एकमा स्नायुरोग पाइएको देखिन्छ ।’
उनका अनुसार केही वर्षमा बढ्दै गएको औसत आयुले यी रोगको संख्या बढिरहेको छ । डब्लुएचओका अनुसार उमेरको दर बढ्दै जानु पनि यस्ता रोग बढ्नुको मुख्य कारण हो । किनकि यो रोग बुढेसकालमा देखिन्छ । तर सन् २००० मा ६६.८ रहेको २०१९ मा विश्वको सरदर आयु ७३.४ पुगिसकेको छ ।
यसको अर्थ औसत आयु कम हुँदा यस्ता रोग लाग्नेको संख्या कम हुन्थ्यो । तर उमेर बढ्दै गएपछि अन्य अंग जस्तै स्नायु अंगको कार्यक्षमता पनि कम हुन्छ । र, यस्ता समस्या देखिने गरेको छ ।
डा. मेरीलल मानिसले चाहे केही स्नायु रोगको रोकथाम गर्न सकिने बताउँछन् । ‘हाम्रो दैनिक जीवनशैलीमा केही फेरबदल गर्दा दीर्घ खालका स्नायुरोगको जोखिम कम गर्न सकिन्छ । जीवनशैली परिवर्तन गर्न हामीले दैनिक व्यायाम, समाजमा घुलमिल हुने, वार्षिक स्वास्थ्य परीक्षण, दिमाग तेज पार्न संज्ञात्मक जागरुकता र स्वस्थ तथा सन्तुलित भोजनमा ध्यान दिनुपर्छ,’ डा. मेरीलल भन्छन् ।
फेमिली फिजिसियन डा. डेबिड कल्टरले स्नायु रोगको उपचारभन्दा पनि लाग्न नदिने रोकथाममा जोड दिनु पर्ने तर्क राख्छन् । ‘कतिपय स्नायु रोगको उपचारपछि निको हुने सम्भावना कम हुन्छ । त्यसैले यी रोग लाग्न नदिन के गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ,’ डा. कल्टर भन्छन्, ‘स्ट्रोकको उपचारका लागि खर्चिलो इन्टभेन्सन उपचारमा जोड दिनु सट्टा हामीले उच्च रक्तचाप र कोलेस्टोरोललाई कसरी नियन्त्रण गर्ने त्यसमा ध्यान हुनुपर्छ ।’
मेडिकल न्युज टुडेबाट