काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । तिब्बतको ल्हेन्दे खोला फुटेर भोटेकोशीमा आएको बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठूलो क्षति पु¥याएको हो । ल्हेन्दे खोलामा आएको बाढीले सीमा क्षेत्रमा रहेको पुल बगाउँदा चीन प्रवेश गर्ने नाका बन्द भएको छ ।
सो पुल ६ वर्षअघि २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको सो पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो । यसैगरी, बाढीले सीमा क्षेत्र रसुवागढी जाने बाटो पनि क्षतविक्षत बनाएको छ । बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबे ंसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलिब्रिज’ पनि बगाएको छ ।
सो स्थाननजिकै भर्खरै निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा नेपालतर्फको रसुवागढी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति हुन गएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये गोसाइँकुण्ड गाउँपालिका–१, २, ३, आमाछोदिङ्मो गाउँपालिका–१, २, ४, ५, उत्तरगया गाउँपालिका–२, ४, ५ र कालिका गाउँपालिका–१ रहेका छन् ।
त्यस्तै, गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । सो सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागमन ठप्प रहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली र चिनियाँ गरी २० जना बेपत्ता भएकामा सात जनाको शव फेला परेको छ । उनीहरूको सनाखत हुन बाँकी छ । ५५ भन्दा बढीको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुने २० जनाको सूचीमा १४ नेपाली नागरिक र ६ चिनियाँ नागरिक छन् ।
बेपत्ता १४ नेपाली नागरिकमा तीन जना प्रहरीसमेत रहेका छन् । फेला परेका शव उनीहरूको हुनसक्छ । बेपत्ता हुने प्रहरीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बाराको फेटा गाउँपालिका–१ बस्ने २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई टिमुरे रसुवामा कार्यरत बझाङको बु ंगल नगरपालिका–९ बस्ने २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
यसैगरी, बेपत्ता हुने अन्य सर्वसाधारणमा बर्दिया बस्ने ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु, बाग्लुङ बस्ने नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, वतन नखुलेका मिक्सचर चालक गोविन्द मोक्तान र वतन नखुलेका हाइलक्स चालक लोकमान तामाङ छन् । यस्तै, गोरखाको पालुङटार नगरपालिका–६ स्थायी घर भएका डिलबहादुर तामाङ र सोही ठाउँका धनबहादुर तामाङ छन् । बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु ्रवराज अधिकारीका अनुसार भन्सार यार्ड बनाउने काम भइरहेकाले बेपत्ता भएका केही व्यक्ति त्यहीँ बसोबास गर्थे ।
एक्कासि बाढी गएको हुँदा उनीहरू सुतेकै अवस्थामा बाढीले बगाएको हुनसक्ने सहायक प्रजिअ अधिकारीको अनुमान छ । ‘उनीहरू त्यहीँ यार्ड बनाउन बसेकाहरू हुन्, कतिपय गाडीका चालक पनि छन्, सायद राति एक्कासि बाढी आउँदा सुतेकै अवस्थामा बगाएको पनि हुनसक्छ,’ सहायक प्रजिअ अधिकारीले भने, ‘अरू यकिन भइसकेको छैन ।’ उनले चालकहरू बाढी आएको थाहा पाएपछि गाडी हटाउन जाँदा परेको हो वा होइन भन्ने’bout बुझ्ने काम भइरहेको बताए । यस्तै, चीनतर्फ ३०–३५ जना चालक र सहचालक अड्किएका छन् । केही कन्टेनर पनि त्यहाँ अड्किएका छन् । सीमाक्षेत्रमा रहेको पुल नै बगाएकाले ती कन्टेनर नेपाल ल्याउन सकिने सम्भावना छैन ।
तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिबाट सयभन्दा धेरै सवारीसाधन बगेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बगेका सवार ीसाधनमध्ये कति विद्युतीय सवारी (ईभी) र कति कन्टेनर छन् भन्ने प्रस्ट खुलिसकेको छैन । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले स्थानीय र व्यापारीबाट सयभन्दा धेरै ईभी सवारीसाधन बगेको जानकारी आफूले पाएको बताए । उनले केही कन्टेनर व्यवसायीले आफ्नो कन्टेनर बगाएको जानकारी उद्योग वाणिज्य संघमा पनि गरेको बताउँदै अहिलेसम्म प्राप्त विवरणअनुसार ३० भन्दा बढी कन्टेनर बगाएको अनुमान गर्न सकिने बताए । बस्नेतले तिब्बतबाट सामान बोकेर आएका तर भन्सार नकटेका ३० कन्टेनर चीनतर्फ डुबेको अवस्थामा भेटिएको बताए । रसुवा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कैसाङ नुर्प ‘ तामाङका अनुसार भन्सार गर्न बाँकी सवारीसाधन भन्सार यार्डमा राखिएकामा कति बगेका त कति डुबेका छन् ।
रसुवागढीमै रहेका उनले भने, ‘भन्सार यार्डमा भएका सबै सवारीसाधन र कन्टेनर बगाएको छ, केरुङ जान तयार कन्टेनर र नेपाल आउने क्रममा रहेका फलफूल तथा लत्ताकपडा बोकेका कन्टेनर बगेका छन्, भन्सार कार्यालयकै आसपासका सवारीसाधन भने डुबानमा परेका छन् ।’ नेपाल सीमापार हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार नेपाल र चीन दुवैतर्फ सामान बोकेका कन्टेनरमा क्षति पुगेको छ । उनले भने, ‘अहिलेसम्म १० वटा सवारीसाधन चीनतर्फ बाढीको पानीले डुबेको सुनेका छौं, नेपालतर्फ पनि २० वटा सवारीसाधन सामानसहित बगेको भन्ने छ, त्यसैगरी रसुवागढी भन्सार कार्यालयको यार्डमा १० वटा ईभीसहितका सवारीसाधन डुबेको जानकारीमा आएको छ ।’ बाढीले अर्बौको नोक्सानी भएको अनुमान गरिएको कार्कीले बताए ।
‘दुवैतर्फ डुबेका कन्टेनरका सामान पनि बिग्रिने हुँदा व्यापक क्षति भएको उनको भनाइ छ । भन्सार विभागका महानिर्दे शक महेश भट्टराईका अनुसार कति सामान तथा सवारीसाधनमा क्षति पुग्यो भन्ने विवरण निकाल्ने काम भइरहेको छ । महानिर्दे शक भट्टराईले भने, ‘हामीले तथ्यांक निकालिरहेका छौ ं, कति सामान बोकेका कन्टेनर र गाडी बगायो भन्ने अहिले अनुमान मात्रै गरिएको छ, हामी चाँडै तथ्यांक निकाल्दै छौं ।’
यसैबीच, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले रसुवागढी बाढीले अटो क्षेत्रमा पु¥याएको क्षतिको तथ्यांक संकलन भइरहेको जानकारी दिए । बाढीले रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ईभी चार्जिङ स्टेसन पनि बगाएको छ । बाढीमा परी चारवटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको हो ।
बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । यस आयोजनाको बाँधको गेट र पुल बगाएको छ । यस्तै, त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत् आयोजना १ सय ११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन् ।
मुस्ताङमा पनि तिब्बततर्फबाट बाढी
लोमान्थाङ क्षेत्रमा मंगलबार साँझ चीनतर्फबाट चुम्जुङ खोलामा उच्च बाढी आएको छ । चुम्जुङ खोला तिब्बतबाट बग्दै छुसाङ हु ँदै कालीगण्डकीमा मिसिन्छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बेलुका साढे ५ बजेतिर चुम्जुङ खोलामा बाढी आएपछि कागबेनी, थार, सुसारलगायत क्षेत्रका स्थानीयलाई सुरक्षित रहन सूचित गरिएको छ ।
उनका अनुसार बस्तीमा जोखिम देखिएको छैन । लोमान्थाङ गाउँपालिका–४ चुम्जुङ खोलामा अचानक बाढी आएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरीले मुस्ताङ गुल्म मातहतको बीओपी नेचुङबाट सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाको कमान्डमा १० जनाको टोली खटाएको छ । सो स्थान बीओपी नेचुङबाट २ किलोमिटर दूरीमा पर्छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार माथिल्लो नयाँ बन्दै गरेको पक्की पुल माथिबाट केही समयसम्म लेदोसहितको पानी आएको थियो । सो खोलाले प्रभाव पार्नसक्ने मुस्ताङ जिल्लाका इलाका छुसाङ, कागबेनी, जोमसोमलगायतका स्थानमा विपद् फोकल पोइन्ट र विपद् सूचकहरूमार्फत एलर्ट गराइसकिएको पनि थापाले बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुप्रसाद भुसालले लोमान्थाङभन्दा माथिबाट छोसेरमा बाढी आएको बताए । उनले भने, ‘त्यो भनेको हाम्रो कोरला नाका जाने बाटोमा अन्तिम एउटा प्रहरी चौकी छ, त्यसको नजिक भएको खोला हो, यो तिब्बततिरबाट आउँछ, त्यसभन्दा माथि हाम्रो बस्ती पनि छैन, एक्सेस पनि छैन, माथि हिमताल पनि थियो एउटा बोर्डर साइडमा ।’ उनले हिमताल फुटेको हो कि अथवा छुट्टै आएको हो यकिन गर्न नसकिएको बताए ।
(Visited 36 times, 1 visits today)
