‘कानुन परिस्थितिलाई सम्बोधन गर्ने सहमतिको दस्तावेज हो, जुन हिजोको आजै र आजको भोलि नै सहमतिमै हेरफेर गर्न सकिन्छ,’ यो स्तम्भकारको मान्यतामात्रै हो । यसलाई हेर्ने सबैको आ–आफ्नै दृष्टिकोण हुन सक्छन् ।
जेनजी आन्दोलनले मुलुकमा सत्तामात्र परिवर्तन गराएन, केही समयका लागि राजनीतिक शून्यता नै उत्पन्न गरायो । ‘सुधारवादी एवं परिवर्तनकारी सोच’मा आधारित अभियान भएकाले यसलाई हामी सबैले सकारात्मक ठान्नुपर्दछ । अगामी २१ फागुनमा हुने आमनिर्वाचनले पक्कै पनि राजनीतिक शून्यतामा आशाको ज्योति जगाउने जनताले अपेक्षा राखेका छन् ।
आमनिर्वाचनले अवश्य नै दूषित राष्ट्रिय राजनीतिको चिरफार गर्ने नै छ । स्वच्छ, पारदर्शी र जनसेवी राजनीतिक संस्कारको पनि बिजारोपण गर्ने भन्ने आमनेपालीको सदिक्षा छ । जनअपेक्षाअनुरूपै राज्य सञ्चालन गर्ने दक्ष र योग्य नवयुवक सत्तामा पुग्ने छन् । मुलुकको सार्वभौम सत्ताको मालिक जनता नै भएको व्यवहारमै अनुभूति हुन्छ । जनअपेक्षालाई नै राज्य सत्ताले सर्वोपरी ठान्ने परिपाटी संस्थागत बन्छ । यही पृष्ठभूमिमा लोकतान्त्रिक व्यवस्थाले मुलुकमा परिवर्तन अनुभूत गराउ“छ । जनचाहना कुण्ठित गर्ने राष्ट्रघाती लुटेराको हैकमवादी प्रवृत्ति अन्त्य तथा देश र देशवासीको कल्याण हुनेछ । जेनजी आन्दोलनको उद्देश्य पनि साकार बन्नेछ ।
विश्वमा राज्य र राज्यसत्ता स्थापना पनि जनचाहनामा आधारित यही लोकतान्त्रिक प्रक्रियाबाटै भएको थियो । ‘जनताले छानेका शासक वा राजाले जनताको इच्छाअनुसारै राज्य सञ्चालन गरी जनतालाई सेवा पु¥याउनुपर्दछ’ भन्ने विश्वकै पहिलो मुलुक मानिने, मध्यदेशमा लोकतान्त्रिक प्रक्रियाबाटै जनताले छानेको राजाकै दृष्टान्तलाई हेरौं ।
राजनीतिक दृष्टिकोणले भारतवर्ष विश्वकै पुरानो स्थल मानिन्छ । भारतवर्षभित्र पर्ने तत्कालीन मुलुक नेपाल, भारतलगायत पछि बन्दै आएका अन्य दक्षिण एसियाली मुलुक नै पर्दथे । राजार्षि नेमुनिले ‘भुक्तमान’ नाम गरेका ग्वालालाई नेपालको पहिलो राजा बनाएका थिए । दक्षिणतर्फको भारतीय खण्डमा गंगानदी किनारमा आर्यन बस्ती बाक्लिँदै थियो, जहाँ ठूलोले सानोलाई, बलियोले निर्धोलाई, हुनेले नहुनेलाई हेप्ने सताउने क्रम बढ्दै आएपछि निमुखो, असहाय र विपन्नलाई जीवन गुजारा गर्न नै कठिन पर्न थालेपछि मध्यदेशका जनताले नै समाजलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सर्वप्रथम इपू २५ सयतिर मनुलाई मध्यदेशको राजा छाने । मनुले जथाभावी गर्नमा रोक लगाए । राज्यमा सबैको स्थान समान हुने नीति नियम बसालेर व्यवस्थित रूपमा राज्य सञ्चालन गर्न थाले । आर्यवंशकै विश्वको पहिलो देश मानिने मध्यदेश गंगानदीको उत्तरपट्टि सरयु नदीकै किनारमा पर्दथ्यो ।
एकताका नेपालको मिथिला राज्यको सिमाना पूर्वमा कौशिकी वा कोशी नदी, पश्चिममा शालिग्राम वा कालिगण्डकी नदी, उत्तरमा हिमालय पर्वत र दक्षिण गंगानदीसम्म हुँदा मध्यदेश नेपालकै भूमिभित्र पर्दथ्यो । मध्यदेशको राजा मनुका आठभाइ छोरा र इला नाम गरेकी एक छोरी थिइन् ।
मनुले आफ्नो शेषपछि मध्यदेशको राजा जेठो छोरा ‘इच्छवाकु’ हुने भनी तोकिदिए भने अन्य सातभाइ छोरा र छोरी इलालाई आसपासको क्षेत्रकै अलग अलगै राज्य बाँडिदिए । मनुको स्वर्गारोहरण भएपछि इच्छवाकु मध्यदेशको राजा भए । यस लगत्तै इच्छावाकुले मध्यदेशको राजधानी अयोध्या भनी नामकरण गरिदिए । पछि राजधानीको नाम अयोध्या नै देशको नामले चिनिन थाल्यो ।
मनुको आठभाइ छोरापट्टिका सन्तान सूर्यवंशीका रूपमा परिचित हुँदै आए भने छोरी इलातर्फका सन्तान चन्द्रवंशी कहलिए । इलाकै सन्तानमध्येकै एक हाँगापछि ग्वाला भनी चिनियो । त्यही ग्वाला समूहभित्र पछि श्रीकृष्णको जन्म भएको मान्यता छ । अयोध्याका राजा दशरथ मनुको वंशका ६४औं पिँढीका राजा थिए ।
मनुकै वंशका ९४औं पिँढीका राजा सान्तनुको पालामा महाभारतको युद्ध भएको थियो । सो वंशमा मनु नाम गरेका पछि अरू पनि राजा भएकोले प्रारम्भका मनुलाई ‘प्रथम मनु’ भन्न थालियो । उनै प्रथम मनुले राज्य सञ्चालन गर्दा अपनाएको नीति, नियम र व्यवस्था पछि ‘मनुस्मृति’का रूपमा प्रकाशित गरियो । जुन यद्यपि उपयोगी मानिन्छ ।
दलीय नाइकेको हुकुमलाई सबैले नतमस्तक भएर स्वीकार गरेकै हुनुपर्दछ, अन्यथा सवाल जवाफ र तर्क गरे पार्टीबाटै निष्कासित हुनुपर्दछ वा कारबाहीमा पर्नुपर्दछ । अहिलेसम्म मुलुकको निर्णायक शक्ति मानिएका अहिलेका तीन चारवटा दलका नाइकेहरूले दललाई यसरी नै सञ्चालन गर्दै ल्याएका छन्
प्रथम मनुले अवलम्बन गरेको राज्य सञ्चालन नीति र सिद्धान्त नै समयानुकुल परिवर्तन हुँदै अहिलेको अवस्थामा आइपुगेको हो । यद्यपि, राजनीतिमा जनताको स्थान सर्वोच्च हुने प्रावधान यथावत् छ । राज्यमा राजनीतिक संकट उत्पन्न भए त्यसलाई निराकरण गर्ने व्यक्ति पनि जनता नै हुन् ।
‘जनताको निर्णय नै राज्यमा सर्वोपरि हुन्छ’ भन्ने मान्यताको प्रमुख आधार नै राज्य र राज्य सत्ता नै जनताले निर्माण गरेको भएरै हो । यो कुरालाई हामीले कहिल्यै भुल्नु हुँदैन ।
स्मरणरहोस्, अहिलेको मुख्य राजनीतिक अन्योलता भनेकै जड नै मजबुद बनाई विस्तारित भएको राष्ट्रघाती स्वैच्छाचारी राजनीतिक विकृतिलाई सदाकै लागि निर्मूल पार्ने कि, यथाअवस्थामै निरन्तरता दिने ?
जनप्रतिनिधिमूलक संसद््लाई दक्ष, योग्य, नैतिकवान एवं बौद्धिक व्यक्तित्वकै अखडा बनाउने कि, राष्ट्रघाती लुटेराकै एसमेन बनिदिने साथ सहयोगीकै झुण्ड बनाउने ? मुलुकको कार्यकारी प्रमुखलाई प्रत्यक्ष जनउत्तरदायी बनाउन आमजनताबाटै छनोट गर्ने कि साविककै संसद्ीय प्रक्रियाद्वारा गर्ने ? संसद््लाई शक्तिशाली बनाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखउपर महाअभियोग लगाउन सक्ने अधिकार संसद््लाई प्रदान गर्ने-नगर्ने ? तथा केन्द्रदेखि स्थानीय तहसम्म विस्तारित भएको राजनीतिको अपराधीकरण चिरफार गरी राष्ट्रिय राजनीति स्वच्छ कसरी बनाउने ? अहिलेको मुख्य राजनीतिक चुनौती नै यिनै हुन् ।
यसमध्ये कतिपय दीर्घकालीन चुनौती २१ फागुनको आमनिर्वाचनपछि गठन हुने संसद््बाट समाधान गर्नुपर्ने हुन्छ । तर सर्वपक्षीय सहमति भएमा वा अधिकांश राजनीतिक शक्तिकै समर्थन रहेमा कार्यकारी प्रमुखको निर्वाचन र दूषित राजनीतिको चिरफार भने २१ फागुनकै आमनिर्वाचन परिणाम सँगसँगै देखाउन सकिन्छ ।
करिब ८० प्रतिशतभन्दा बढी जनताकै चाहना यही भएकोले, जनचाहनालाई राष्ट्रिय राजनीतिले सम्बोधन गर्न सक्नुपर्दछ । अन्यथा, जनअपेक्षा सम्बोधन गर्न नचाहने राजनीतिक समूह आफैं जनताबाट नाँगिएर जानेछन् । यो कुरालाई सबै नयाँ तथा पुराना राजनीतिक शक्तिले गम्भीरतासाथ लिनुपर्दछ ।
उल्लेखित सवालको जवाफ पनि मुलुक लुट्दै आएका रैथाने राजनीतिक समूहका नाइके तथा उसको केन्द्रीय कमिटीका ८–१० जना सहयोगीकै निर्णयबाट होइन आमनेपाली जनताले नै दिने भएकोले यो मुद्दालाई आमनिर्वाचनमै समावेश गराउनु उपयुक्त हुन्छ ।
वर्तमान राष्ट्रिय राजनीति यति दूषित छ कि प्रभवशाली भनिएका राष्ट्रिय दलहरू त अहिले प्राचीनकालको ‘बादशाहशैली’को एकल व्यक्तिको हैकमवादमा सञ्चालन हुँदै आएका छन् । तानाशाही नेताको हुकुमको, दलभित्र कुनै जवाफै छैन ।
दलीय नाइकेको हुकुमलाई सबैले नतमस्तक भएर स्वीकार गरेकै हुनुपर्दछ, अन्यथा सवाल जवाफ र तर्क गरे पार्टीबाटै निष्कासित हुनुपर्दछ वा कारबाहीमा पर्नुपर्दछ । अहिलेसम्म मुलुकको निर्णायक शक्ति मानिएका अहिलेका तीन चारवटा दलका नाइकेहरूले दललाई यसरी नै सञ्चालन गर्दै ल्याएका छन् ।
केही अल्पसंख्यक व्यक्ति मात्रै नाइकेको एकाधिकारविरुद्ध उभिएको देखिन्छ । एकादुई त्यस्तै निर्भिक व्यक्तिबाहेकका, दलीय नाइकेले एसमेनको भूमिका सम्पादन गराउन संसद्मा पु¥याएका ९० प्रशित व्यक्तिलाई २१ फागुनमा आमनिर्वाचनमा परास्त गरिए राष्ट्रिय राजनीतिकै स्वतः चिरफार हुन्छ । यो अहिलेको राष्ट्रिय राजनीतिकै आधारभूत आवश्यकताको विषय हो ।
यसर्थ, मुलुकको सार्वभौम सत्ताका मालिक जनता नै उल्लेखित सबालको जवाफ दिने न्यायाधीश भएकोले आमनिर्वाचन परिणाम जनताकै हातमा छ । यसर्थ, कसैको बहकाउमा नलागी, दबाबमा नपरी, विगतको राजनीतिक अवस्थाको समीक्षा गर्दै, आफ्नो ब्रह्मले जे भन्छ, त्यही निर्णय जनताले गर्नुपर्दछ । अन्यथा पुनः हामीले पछुताउनुपर्दछ ।
लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने राष्ट्रघाती लुटेराहरू अहिले पानीबेगरको माछाजस्तै निस्सासिएका छन् । ‘बकबास’ पनि उत्तिकै गर्दै छन् । यथाअवस्थामा फर्कने प्रयास पनि गरिरहेका छन् । तिनीहरूकै विगतको क्रियाकलाप हेरेर मतदाताले निर्णय गर्नुपर्दछ । पालेफेरोमा देश लुट्न पल्केका दुई चार दलकै नाइकेले कार्यकारी प्रमुखलाई महाअभियोग नलाग्ने कपटपूर्ण व्यवस्था संविधानमा गरेर देश लुटे । सिंगो संसद्् त निरीह भयो । कार्यकारी प्रमुख लगामबेगरको घोडाजस्तै बन्दा मुलुक नै लुटिएको आमनागरिकले देखेकै छन् ।
आममतदाताले बुझ्नुपर्ने अर्को महŒवपूर्ण कुरा के हो भने दलीय नाइकेले उभ्याएको सांसद् पदको उम्मेदवार मुलुकको प्रधानमन्त्री बन्न ‘योग्य छ वा छैन ?’ विविध कोणबाट मूल्यांकन गरेर योग्य लागेमा मात्र मत प्रदान गर्नुपर्दछ । किनकि ‘सांसद पदको उम्मेदवार भोलिको मुलुकको कार्यकारी प्रमुखको दावेदार हुनसक्छ’ भन्ने सोचेर हामी सचेत भयौं भने सबै योग्य र दक्ष व्यक्ति मात्र संसद्मा पुग्छन् ।
दूषित राजनीतिलाई चिरफार गरी स्वच्छ बनाउने सर्वोत्तम उपाय नै यही हो । अहिलेको हाम्रो ‘ग्राउन्ड लेबल’को राजनीति स्वच्छ, पारदर्शी, वैचारिक बहस र स्वतन्त्रतामा आधारित छैन । राष्ट्र लुटेको रकम मतखरिद गर्न प्रयोग भइरहेको छ । वैचारिक आस्था कुण्ठित पारिएको छ । डर, त्रास र धम्कीकै भरमा मत हत्याइएको छ ।
आकर्षक ‘चुनावी घोषणापत्र’ले जनता भुल्याइएको छ । यसर्थ, आमनागरिकलाई त्रासमुक्त वातावरणमा मतदानमा सामेल हुने वातावरण बनाउन जेनजी र राज्य निकायले विशेष भूमिका मिलाउन पनि उत्तिकै आवश्यक छ । यसतर्फ सम्बन्धित सबै पक्षले ध्यान पु¥याउने हो भने २१ फागुनको निर्वाचन परिणामले निश्चय नै मुलुकको राजनीतिक अन्योलता हटाउने छ ।
The post ताजा जनादेश अन्योलताको निकास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….
