प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार

बाल यौन दुराचारको तथ्य लुकाएर अमेरिकी नागरिकता प्राप्त गरेका एक व्यक्तिको नागरिकता खारेज गरिएको छ। सन् २०१० मा अमेरिकी नागरिकता लिने क्रममा आफूले गरेको जघन्य अपराध लुकाएको पाइएपछि दक्षिण टेक्ससको जिल्ला अदालतले मेक्सिकन नागरिक कार्लोस नोए गालेगोसको नागरिकता खारेज गर्ने आदेश दिएको हो।
अमेरिकी नागरिकता प्राप्त गर्नुअघि नै गालेगोसले एक बालिकामाथि यौन दुराचार गरेका थिए। तर, नागरिकताको आवेदन प्रक्रियामा उनले उक्त आपराधिक कार्यको बारेमा कुनै जानकारी दिएनन्। नागरिकता प्राप्त गरिसकेपछि मात्र उनी सोही अपराधमा दोषी ठहरिएका थिए।
अदालतले गालेगोसको आपराधिक पृष्ठभूमिले उनलाई नागरिकताका लागि अयोग्य बनाएको र उनले अवैध रूपमा नागरिकता प्राप्त गरेको ठहर गरेको छ।
युएससीआईएसको विशेष सहयोगमा गरिएको अनुसन्धानपछि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले यस्तो घोषणा गरेको हो। न्याय मन्त्रालयको आप्रवासन मुद्दा कार्यालयले यस मुद्दाको नेतृत्व गरेको थियो भने होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनले यसमा विस्तृत छानबिन गरेको थियो।
अमेरिकी प्रशासनले आप्रवासनसँग सम्बन्धित कुनै पनि किसिमका ठगी वा दुरुपयोगका बारेमा जानकारी भएमा सिधै ‘युएससीआईएस टिप फर्म’ मार्फत उजुरी दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।