‘डोरी’ले बाँधेका लघुकथा


लघुकथाकार रमेन्द्र कोइरालाको २०८१ सालमा प्रकाशित लघुकथाकृति हो ‘डोरी’। प्रकाशक नारी स्रष्टा समाज रहेको यो कृति लघुकथाकार रमेन्द्र कोइरालाको आठौं र लघुकथातर्फ तेस्रो हो। श्रीओम श्रेष्ठ ‘रोदन’ को शुभकामना रहेको छ। ममता मृदुलको भूमिका छ। ‘आफ्नै गन्थन’ शीर्षकमा लघुकथाकार रमेन्द्र कोइरालाले आफ्नो जीवनयात्राका अन्तर्य अभिव्यक्त गरेका छन्। कृतिको रचनागर्भ रचेका छन् र संक्षेपमा नेपाली लघुकथाको चिनारी गराएका छन्। लघुकथाकार रमेन्द्र लघुकथाको सर्जक मात्र होइनन्; विश्लेषक पनि हुन्। सिद्धान्तलाई अंगीकार गर्ने सर्जक हुन्। ‘डोरी’ भित्र ४० ओटा लघुकथा सङ्गृहीत छन्। आवरणमा एकातिर महिला अर्कोतिर डोरीले बनेको रुख छ। प्रतीकात्मकता छ।

२०२१ सालमा इनरुवा, सुनसरीमा जन्मेका लघुकथाकार रमेन्द्र कोइराला स्नातकोत्तर तहको अध्ययनपछि शिक्षण तथा प्राध्यापन पेसामा जीवन विताएका हुन्। २०४० सालमा कविता लेखेर साहित्य लेखनमा होमिएका हुनाले बहुविधाका सर्जक हुन्। कवितासङ्ग्रह, गजलसङ्ग्रह, कथासङ्ग्रह, उपन्यास, लघुकथासङ्ग्रहहरू प्रकाशन भइसकेका छन्। साहित्यका विविध संस्थासँग आबद्ध छन्। विविध सम्मान र पुरस्कार पाइसकेका छन्। यसरी हेर्दा पढाइ, कर्म तथा लगन साहित्यतिर उन्मुख भएका छन्।

‘डोरी’ लघुकथासङ्ग्रहभित्र लघुकथाकार रमेन्द्र कोइरालाको विविध खाले शिल्प देखिएको छ। विशेष विशेषताहरू छन्। भाषा, परिवेश र कथानकमा स्थानीयता अर्थात् मैथिल भाषासमाज तथा नेपाली भाषाको पूर्वीयपन झल्केको छ। यो भनेको कृतिकारको निजत्व हो। यसले कृतिलाई सुन्दर र पठनीय बनाएको छ।

‘डोरी’ लघुकथासङ्ग्रहका लघुकथाको रूपविधान चिटिक्क परेका छन्। लघुकथामा हुनुपर्ने चुस्तता, सूत्रता मिलाइएको छ। शीर्षक, उठान, विकास, उत्कर्ष, समापन सिद्धान्तलाई बेजोड तरिकाले बेजोड तरिकाले अनुसरण गरिएको छ। नेपाली लघुकथाका बारेमा प्रचलित सिद्धान्तले भन्ने गरेको आकस्मिकता, कौतूहलता, प्रतिध्वन्यात्मकता, सूत्रता, संक्षिप्तता, खुला समापन, व्यङ्ग्यात्मकता, चुस्तता जस्ता सवै कुरालाई अवलम्बन गरिएको छ।

निसमालाेचक खेमराज पाेखरेल

रूपविधानमा मात्र होइन; कथ्यविधानका सूत्रलाई पनि कृतिभित्र हेक्का राखिएको छ। कथानक प्रयोजनका हिसाबमा वैचारिक बहस छेडेको छ। सम्पत्तिमाथि सन्तानको अधिकार ठिक कि बेठिक? सम्पत्ति सुख हो कि होइन? भन्ने जस्ता वैचारिक बहस उनका लघुकथाले पस्किएको छ।

जीवनमा पैसाको महत्त्व कति? एकातिर सन्तानको माया, अर्कोतिर पुलिसको त्रास, त्रासको कारण पैसा जस्ता त्रिकोणात्मक विचार पस्केको छ कृतिले। अर्थात् उनका लघुकथाको वैचारिक पक्ष घरी अध्यात्मवादतिर उन्मुख हुन्छन् भने घरी भौतिकवादतिर उन्मुख भएका छन्। अध्यात्म र भौतिकताको समन्वित रूप उनका लघुकथाको वैचारिक थिम हो।

वैचारिक सवालकै कुरा गर्ने हो भने लघुकथाकार रमेन्द्र कोइरालाले यौनसम्बन्धी दर्शन पस्केका छन्। मानवको जीवनमा मात्र होइन; समग्र प्राणीको जीवनमा अपरिहार्य र आवश्यक तत्त्व यौन हो। मानव जीवनमा यसलाई लुकाउन लगाउँछ समाजले। समाजका सिर्कनाका भयले यौन विषय गौण मान्ने तर प्रयोगमा भने प्रधान मान्ने प्रचलनमाथि प्रश्न उठाएका छन्। एकातिर यौन विषयलाई लुकाउने समाज छ भने अर्कोतिर पाठ्यसामग्रीमा यौन शिक्षा राख्ने दोहोरो चरित्रका कारणले विद्यार्थीलाई दिने तनाव र त्यसको प्रयोगमा आउन खोज्ने समस्यामाथि प्रचुर दृष्टि दिएका छन्। हरेक प्राणीलाई जोडी आवश्यक हुन्छ भन्ने तथ्यलाई अघि सारेर समाजका बन्धनमाथि जाइ लागेका छन्। यौन दर्शनको गम्भीर यथार्थसम्म पुगेका छन्। धर्मका नाममा यौनलाई दोस्रो दर्जाको ठान्ने परिवेशप्रति चिन्ता प्रकट गरेका छन्। यसले गर्दा परिवार संकटमा पर्ने गरेको यथार्थ पस्केका छन्। यो ज्यादै ठूलो विचार हो। अर्थात् समाजमा यौनको विषयमा खुल्न सक्ने देखिन्छन् लघुकथाकार।

प्रचलित समाजमा वृद्धवृद्धाका समस्या निकै जटिल छन्। किनकि समाजको पुरानो पितृ प्रधान अर्थव्यवस्था धरासायी भएको ठ र आर्थिक रूपले पनि समाज फेरिएको सन्दर्भमा वृद्धवृद्धाप्रतिका पुराना चिन्तन प्रणालीले समस्या उब्जाएको छ। यसो भएकाले लघुकथाकार रमेन्द्र वृद्धवृद्धाका समस्यालाई विविध कोणबाट हेर्न पुगेका छन्। वृद्धका अधिकारको कुरा उठाएका छन्। वृद्धहरूलाई आनन्दले बाँच्न धनसम्पत्ति मात्र होइन, उनको विगतको कुरा सुनिदिने दामल चाहिन्छ भन्ने मनोवैज्ञानिक यथार्थ पस्केका छन्। वृद्धाश्रमबारे नकारात्मकतालाई चिर्दै सकारात्मकता पस्केका छन्। फेरिएको वर्तमान अवस्थामा वृद्धाश्रम आवश्यक हो कि होइन भन्ने बारेमा विचार प्रवाह गरिएको छ। वृद्धवृद्धाका बिचमा प्रेम तथा बिहे हुनुपर्ने सन्देश प्रकट गरिएको छ।

यसबाहेक मान्छेको जीवनमा सन्यास ठिक कि गृहस्थ्य भन्ने दार्शनिक प्रश्न उठाएका छन्। सन्यास अध्यात्मको प्रतीकको रूपमा, गृहस्थ्य भौतिकवादको रूपमा प्रयुक्त भएको छ। भोकको दर्शन अर्थात् भोकको जब्बर शक्तिबारे विचार अभिव्यक्त गरेका छन्। भोकको समन पहिलो आवश्यकता हो मान्छेको, त्यसपछि मात्र अन्य कुरा हुन्।

यसैगरी सांस्कृतिक अन्तरघुलनका परिवेश तथा प्रश्न उठाइएको छ। जन्मदिनमा केक काट्न हुन्छ कि हुन्न भन्ने विषय उठाइएको छ। पैसाको पोको दिएर भाइरल हुने सामाजिक सञ्जालका प्रति व्यङ्ग्य प्रवाह गरिएको छ। उनका लघुकथामा देश प्रेम, मान्छेको सक्कली आकृति आदि समेत उजागर छन्।

नेपाली साहित्यवृत्तमा अनवरत चलिरहने विषय हो सिर्जना र सिद्धान्तको बहस। नेपाली लघुकथा पनि योबाट अछुत छैन। सिद्धान्तलाई जड सूत्र जस्तो अवलम्बन गर्ने वा सिद्धान्तको नामै सुन्न नचाहने सर्जक समालोचक पनि छन्।

वस्तुतः सिर्जनापछि सिद्धान्त बन्ने हो। समाज परिवर्तन भएका सन्दर्भमा सिर्जनाको प्रवृत्ति परिवर्तन हुन्छ। र, यो प्रवृत्तिसँग सिद्धान्त पनि परिवर्तन हुन्छ। त्यसकारण मेरा विचारमा सिर्जनाको सहयोगी हो सिद्धान्त। शत्रु होइन।

यो ‘डोरी’ लघुकथासङ्ग्रह रमेन्द्र कोइरालाद्वारा लेखिएको हो। तेस्रो लघुकथाकृति हो। लघुकथाकार रमेन्द्र कोइराला पढाइले, पेसाले, कर्मले र लगनशीलताले नेपाली भाषासाहित्यको सेवक हुन्। लघुकथाको सन्दर्भमा सर्जक, समीक्षक, परिचर्चाकार, सम्पादक हुन्। यसो भएकाले उनका लघुकथाकृतिमा पाठकले उपल्लो कोटिको खुराकको आशा गर्छन्। यद्यपि उपल्लो कोटी भन्नु पनि समग्रतामा जेनिथ होइन। जेनिथ एउटा मीठो भ्रम हो। शतप्रतिशत जेनिथ प्राप्त गर्नु असम्भव नै हो। फेरि पनि स्तरीयताको जेनिथ खोजिनु पनि स्वाभाविक हो। यही स्तरीयताको जेनिथ मापन र लेखन नै साहित्यमा प्रयोग हुने गुणवत्ता हो।

यो दृष्टिबाट हेर्दा ‘डोरी’ भित्र धेरै लघुकथा स्तरीय र विशिष्ट छन्। तथापि चामलका बियाँसरी कुनैकुनै लघुकथाको कथ्य सामान्य लाग्छन्। सामान्य कथावस्तुमा जतिसुकै रूपविधान मिलाएर लघुकथाको विनिर्माण गरे पनि लघुकथा सामान्य नै बन्छन्।

अबको लघुकथा लेखनले लघुकथामा काव्यको प्रयोग खोज्छ। प्रयोगधर्मिता खोज्छ। प्रयोगधर्मिता भनेको साहित्यका अन्य विधाका विशेषतालाई लघुकथामा प्रयोग गर्नु हो। निबन्धका विशेषता लघुकथामा पदार्पण गराउने हो भने लघुकथालाई विचार प्रधान बनाउनुपर्छ। किनकि निबन्धको प्रमुख कुरा भनेकै विचारको धागोमा उनिनु हो। नाटकका विशेषता सम्वाद हो। काव्यका विशेषता शब्द सामर्थ्य, भाव गाम्भीर्य र लय माधुर्य हुन्। यी कुराको समावेशिता प्रयोगधर्मिता हो।

‘डोरी’ भित्र सङ्गृहीत लघुकथाहरू विधिसम्मत राम्रा छन्। तर अब रूपविधानका साथमा कथ्यविधानको भावपरकता लघुकथा विनिर्माणमा थपिनुपर्ने देखिन्छ। अर्थात् घटना प्रस्तुतिका माध्यमबाट सशक्त विचार प्रवाह गर्ने अर्थात् वैचारिक थिम प्रस्तुत गर्नुपर्ने देखिन्छ। शब्द सामर्थ्यलाई अझै प्रतिकात्मक, विम्वात्मक बनाउन सके सुनमाथि सुगन्ध थपिन्छ।

कथाहरू सलल बगेका छन्। अझै बगाउन लयमाधुर्यलाई तीव्र पार्नुपर्ने हुन्छ। रूपविधानमा धेरै ध्यान दिइयो भने कथानक प्रस्तुति प्राविधिक खालका बन्न सक्छन्। कृतिभित्र कथावस्तु सर्जकको समाजको वरिपरिका घटनाबाट टिपिएको छ। नेपाली समाज आदर्शवादी मान्यतामा रमाउँछ। त्यसो भएकाले ‘डोरी’ भित्रका धेरै लघुकथाले आदर्श र यथास्थितिमा अग्रगम्यता खोजेका छन्। द्वन्द्वको समाधान आदर्शवादी छ।

एउटा उदाहरण हेरौँ, खच्चड (पृ १२) लघुकथामा नेताहरूको गैर जिम्मेवारीका कारणले रोजगारी आफ्ना देशमा नभएर वैदेशिक रोजगारीमा पुगको आदर्शवादी कुरा समाधान गरिएको छ। प्रश्न उठ्छ, के रोजगारीको सृजना भएमा वैदेशिक रोजगारीमा जानबाट रोकिन्छ? एकछिन डाउट गरौँ यो कुरालाई। म भन्छु रोकिन्न। मान्छेको स्वभाव नै यायावरिय हो। यही स्वभावले मानवसभ्यताको विकास भएको हो। नेपालमा विशिष्ट श्रेणीमा जागिर खाइरहेका र आर्थिक रूपले सवल व्यक्ति पनि अमेरिका युरोप पलायन भएका उदाहरण छन्। यसो भएकाले मेरा विचारमा लघुकथाको कथ्य विनिर्माण गरिरहँदा आदर्श, यथास्थिति तथा मान्छेको अचिन्तनशील अज्ञानी बहाब भन्दा माथि उठेर यथार्थ अग्रगम्यता पस्किनुपर्छ जस्तो लाग्छ।

लघुकथाकार रमेन्द्र कोइरालाले प्रगतिशील थिममा कथ्य विनिर्माण गरेको अवस्था छ। प्रगतिशील थिम भन्नु समाजमा रहेका कुप्रचलनमा सुधार खोज्नु हो। अर्थात् समाजमा प्रचलित गलत मान्यताविरुद्ध लेख्नुपर्छ लघुकथाकारले। ती मान्यतालाई थियोरी अफ डाउटमा राखेर चिन्तनमनन गरेर निस्किएको तथ्यलाई कथ्य बनाउनुपर्छ। जीवनका प्रति सकारात्मक भाव ज्यादै महत्त्वपूर्ण कुरा हो। कृतिभित्र अधिकतम् लघुकथाहरू सकारात्मक तथा अग्रगम्य भावमा लेखिएका छन्। यद्यपि ‘अन्तिम चिठी’ लघुकथाले जीवनका प्रति निगेटिभिटी अभिव्यक्त गरेको छ। मृत्युलाई द्वन्द्व समाधानको उपाय बताइएको छ तर वास्तवमा जीवन भन्नु नै पोजिटिभ हो। बाँच्नु नै पोजिटिभिटी हो।

कृतिभित्र स्वैरकल्पनाको प्रयोग भएको छ। मानव पात्रका माध्यमबाट कथ्य प्रयोजन प्राप्त गर्न गाह्रो भएमा मानवेत्तर पात्रको प्रयोग गर्ने र मानवेत्तर पात्रलाई मानवीकृत गरेर अभिव्यक्त गर्नु स्वैरकल्पना हो। वास्तवमा स्वैरकल्पनामा लेखियो भने लघुकथा लेखनमा थप स्वाद आउँछ। तथ्यको गहिराईमा पुग्न सिकाउँछ। लघुकथाकार रमेन्द्र कोइराला स्वैर कल्पनाको प्रयोग गरी लघुकथा लेख्न सिपालु छन्। यो कृतिले सो कुराको पुष्टि गरेको छ।

सारमा भन्नु पर्दा लघुकथाकार रमेन्द्र कोइरालाद्वारा लिखित ‘डोरी’ तस्रो लघुकथाकृतिका रूपमा आएको छ, यो आफैँमा हर्षको कुरा हो। सकारात्मक कुरा हो। उनको लघुकथा लेखनीका विशेषताले निसन्देह लघुकथाका सिद्धान्तलाई अंगीकार गरेको छ। रूपविधानमा अब्बल छ कृति। कथावस्तुका हिसाबमा समाज वरिपरि छरिएर रहेका घटना, मान्यता, प्रचलन आदिलाई उजागर गरेको छ। यो ज्यादै सुन्दर पक्ष हो। समाजलाई अग्रगम्यतातिर लैजान यी लघुकथाहरूले भरमग्दुर प्रयत्न गरेका छन्। जाँदाजाँदै ‘डोरी’ का लघुकथाहरू राम्रा छन् रमेन्द्र सर! चौथो झन् एकदम परिपाक पुगेको लघुकथाकृति जन्मोस् भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद।

प्रकाशित: १५ पुस २०८१ ११:३३ सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School