प्रकाशित मिति : माघ ७, २०८१ सोमबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गर्दै छन ।
उनले अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा नयाँ कार्यकाल सुरु गर्न लागेका हुन ।
वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिएसँगै ट्रम्पले सोमबार पदभार ग्रहण गर्न लागेका हुन ।
उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्।
यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ। उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्। उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा २ महिनाअघि निर्वाचित भएका थिए ।
२०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर यसअघि ट्रम्पले २०२० सम्म चार वर्षे कार्यकाल पुरा गरेका थिए । उनी २०२० मा भएको चुनावमा जो वाइडेनसँग राष्ट्रपतिमा पराजित भएका थिए ।
त्यसअघि ट्रम्पले वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकबीच आफ्नो चुनावी विजयको उत्सव मनाएका छन्। ऐतिहासिक गति र शक्तिका साथ काम गर्न आएको भन्दै उनले अमेरिकाले सामना गरिरहेका हरेक संकटलाई समाधान गर्ने दावी गरे ।
‘पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु’ट्रम्पले भनेका छन ।
एकातिर आन्तरिक मुद्धाहरु र अर्कोतर्फ रुस युक्रेन युद्ध , इजरायल र हमास तथा इजरायल र हिजबुल्लाहबिचको लडाइ, चीनसंगको सम्वन्धमा भइरहेको उतारचढाव लगाएतका बाहिरी ज्वलन्त मुद्धाहरुकाबीचमा सुरु हुन लागेको ट्रम्पको दोश्रो कार्यकाल चुनौतीपूर्ण नै हुने देखिन्छ ।