News Summary
Generated by OK AI. Editorially reviewed.
- डा. विशाल गुरुङले बेलायतमा डोमिसिलियरी केयर कम्पनी सञ्चालन गरी करिब ६० ज्येष्ठ नागरिकलाई घरमै हेरचाह सेवा दिइरहेका छन्।
- उनले बुवाको हेरचाह अनुभवबाट प्रेरणा लिएर बेलायतमा केयर कम्पनी स्थापना गरेका हुन् र नेपाली समुदायलाई सेवा विस्तार गर्ने योजना बनाएका छन्।
- डा. गुरुङ बेलायतको कन्जर्भेटिभ पार्टीबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् र नेपाली समुदायका समस्याहरू समाधान गर्न चाहन्छन्।
३ चैत, काठमाडौं । डा. विशाल गुरुङले बेलायत जानुअघि सोचेका थिएनन्- केयर कम्पनी खोल्छु र सयौँ ज्येष्ठ नागरिकको सहारा बन्छु ।
डा. गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । तर बेलायत बसाइकै क्रममा बुवा बिते । बुवालाई हेरचाह गर्दाको अनुभवले उनलाई जेष्ठ नागरिकको सहारा बन्न प्रेरित गर्यो ।
डा. गुरुङ अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।
बेलायतको डोमिसिलियरी केयर कम्पनीका प्रबन्ध निर्देशक हुन् उनी । यो कम्पनीले घरमै पुगेर वृद्धहरूलाई दैनिक जीवनका काममा सहयोग गर्ने सेवा प्रदान गर्छ ।
अहिले डा. गुरुङको कम्पनीमार्फत करिब ६० भन्दा बढी वृद्धलाई सेवा दिइँदै आएको छ । उक्त कम्पनीमा ३३ नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी कार्यरत छन् । उनीहरूले अल्जाइमर, डिमेन्सिया, पक्षघात वा दैनिक काम गर्न नसक्ने अवस्थाका वृद्धहरूलाई सहयोग गर्ने काम गर्छन् ।
‘वृद्धहरूलाई सकेसम्म स्वतन्त्र जीवन जिउन सहयोग गर्ने प्रयास गर्छौँ,’ उनी भन्छन् ।
जीविकादेखि सामाजिक सेवासम्म
२०४६ सालमा स्याङ्जामा जन्मिएका विशाल गुरुङको बाल्यकाल गाउँमै बित्यो । कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढे । त्यसपछि बजार झरेर स्याङ्जा बोर्डिङ स्कुलमा अध्ययन गरे । पढाइ राम्रो भएकाले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए ।
स्कुले जीवन पार गरेपछि उच्च शिक्षा खोज्दै उनी काठमाडौं आइपुगे । निस्ट कलेजबाट विज्ञान विषयमा ‘प्लस टु’ पूरा गरे । मेडिकल शिक्षा पढ्ने सपनाले भने उनलाई देश बाहिर पुर्यायो । सन् २००८ मा एमबीबीएस गर्न उनी फिलिपिन्स पुगे । साउथ वेस्टर्न युनिभर्सिटी, सेबुबाट एमबीबीएस अध्ययन पूरा गरे ।
पढाइ सकेपछि नेपाल फर्किए । काठमाडौं मोडल अस्पतालमा छोटो समय काम गरे । त्यही समयमा उनका बुवा बिरामी परे । त्यसपछि हेरचाहका लागि सन् २०१६ मा बेलायत पुगे । त्यतिबेलासम्म बेलायतमै बस्ने उनको कुनै अठोट थिएन ।
बेलायत पुगेपछि सुरुका दिन सहज थिएनन् । जीविका चलाउन उनले विभिन्न काम गर्नुपर्यो । सुरुका दिनमा उनले केयर होममा काम गरे । पछि उनले स्वास्थ्य क्षेत्रमा मेडिकल रिसेप्सनिस्टका रूपमा काम सुरु गरे । त्यहीँबाट स्वास्थ्य सेवा प्रणालीसँग उनको सम्बन्ध गहिरिँदै गयो ।
यसबीच गुरुङले अध्ययनलाई पनि निरन्तरता दिए । क्विन मेरी युनिभर्सिटी लन्डनबाट सन् २०२३ मा उनले ग्लोबल पब्लिक हेल्थमा मास्टर्स पूरा गरे । यसले स्वास्थ्य सेवा प्रणाली, समुदायको आवश्यकता र वृद्धहरूको हेरचाहको महत्वबारे बुझे ।
त्यसपछि स्थानीय स्वास्थ्य सेवा प्रणालीमा जीपी सर्जरीसँग सम्बन्धित काम गर्न थाले । बेलायतमा काम गर्न त्यहाँकै लाइसेन्स आवश्यक हुने भएकाले उनले त्यही प्रक्रियाबाट आफूलाई अघि बढाए ।
तर, ‘केही वर्ष’ भनिएको समय विस्तारै दशकतिर लम्बियो ।
बुवाको सम्झनाबाट जन्मिएको संस्था
बेलायत जानुको मूल कारण भने उनका बुवा नै थिए । बुवा पहिलेदेखि नै बेलायत बस्थे । बुवा बिरामी परेपछि हेरचाह गर्न उनी बेलायत पुगेका थिए । बुवा बितेपछि उनको मनमा गहिरो प्रभाव छोड्यो ।
बुबाकै सम्झनाबाट जन्मियो– डोमिसिलियरी केयर कम्पनी ।
किन केयर होम सञ्चालन गर्ने प्रेरणा मिल्यो भन्ने प्रश्न डा. विशाल भन्छन्, ‘सुरुवाती दिनमा केयर होममा काम गरेको अनुभव, बुबा बित्नु भएपछि भावनात्मक प्रभाव र बेलायतमा केयर होमको व्यवसाय राम्रो देखेपछि यसतर्फ लागें ।’
यसबीचमा बेलायतको स्वास्थ्य प्रणालीलाई उनले नजिकबाट अनुभव गरे ।
बेलायतमा वृद्धहरूले परिवारसँगै बस्नेभन्दा पनि स्वतन्त्र रूपमा बस्न चाहने प्रवृत्ति बढी देखिन्छ । ८० वर्षको उमेर पुगेपछि पनि धेरै वृद्धहरू छोराछोरीसँग बस्नुभन्दा आफ्नै घरमा बस्न रुचाउँछन् ।
डा. गुरुङका अनुसार बेलायतको आकस्मिक स्वास्थ्य सेवा अत्यन्त प्रभावकारी छ । सरकारी प्रणालीमार्फत आकस्मिक उपचार छिटो र व्यवस्थित रूपमा उपलब्ध हुन्छ । तर दीर्घकालीन उपचार वा योजना गरिएको शल्यक्रिया (इलेक्टिभ सर्जरी)का लागि भने कहिलेकाहीँ लामो समय कुर्नुपर्ने अवस्था हुन्छ ।
बेलायतमा पनि वृद्ध जनसंख्या बढ्दो क्रममा छ । उमेर बढेसँगै अल्जाइमर, डिमेन्सिया वा पक्षघात जस्ता रोगहरू बढ्दै गएको गुरुङको अनुभव छ ।
कसैलाई डिमेन्सिया वा अल्जाइमर भएको हुन्छ । कसैलाई प्यारालाइसिसका कारण हात-खुट्टा चलाउन कठिन हुन्छ । यस्तो अवस्थामा केयरहरू घरमै पुगेर उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गर्छन् ।
हालसम्म उनको केयर सेवामा रहेका अधिकांश वृद्ध बेलायती नागरिक छन् । नेपाली भने धेरै कम छन् । तर भविष्यमा नेपाली समुदायलाई लक्षित सेवा विस्तार गर्ने योजना उनीसँग छ ।
केयर सेवामा धेरैजसो त्यस्ता वृद्धहरू छन्, जो दैनिक जीवनका सामान्य काम पनि आफैं गर्न सक्दैनन् । हिँड्दा लड्ने सम्भावना बढी हुन्छ । उठबस गर्न गाह्रो हुन्छ । कहिलेकाहीँ स्मृतिसम्बन्धी समस्या पनि हुन्छ ।

डा. गुरुङ भन्छन्, ‘कतिपय वृद्धहरू मात्रै होइन, कुलतमा फसेका, अल्कोहल डिपेन्डेन्सी भएका वा मानसिक समस्या भएका व्यक्तिहरूलाई सहज रूपमा जीवन सञ्चालन गर्न सहयोग गर्छौं ।’
बेलायतमा वृद्धहरूको स्वास्थ्य सेवा र हेरचाहका लागि सरकारले विशेष व्यवस्था गरेको छ ।
डा. गुरुङका अनुसार, बेलायत सरकारले नागरिकको आर्थिक अवस्थाको विस्तृत मूल्यांकन गर्छ ।
बैंकमा कति बचत छ ? पेन्सन कति छ ? घरजग्गा वा सेयर कति छ ? सबै हेरेर मात्रै सेवा शुल्क कसले तिर्ने भन्ने निर्णय हुन्छ ।
‘यदि कसैको बचत करिब २० हजार पाउन्डभन्दा कम छ भने सरकारले धेरैजसो स्वास्थ्यको खर्च बेहोर्छ,’ उनी भन्छन्, ‘तर त्योभन्दा बढी भए निजी रूपमा तिर्नुपर्छ ।’
कतिपय अवस्थामा केही भाग सरकारले र केही भाग व्यक्तिले आफैं तिर्ने व्यवस्था पनि हुन्छ ।
बेलायतमा वृद्धहरूले परिवारसँगै बस्नेभन्दा पनि स्वतन्त्र रूपमा बस्न चाहने प्रवृत्ति बढी देखिन्छ । ८० वर्षको उमेर पुगेपछि पनि धेरै वृद्धहरू छोराछोरीसँग बस्नुभन्दा आफ्नै घरमा बस्न रुचाउँछन् ।
डा. गुरुङ भन्छन्, ‘उहाँहरू आफ्नै जीवन स्वतन्त्र रूपमा जिउन चाहनुहुन्छ । परिवारलाई बोझ नबनौं भन्ने सोच पनि धेरैमा हुन्छ ।’
केयर क्षेत्रमा काम गर्ने कामदारहरूलाई पर्याप्त सम्मान नपाएको उनले महसुस गरेका छन् । त्यसैले आफ्नो कम्पनीमा उनले फरक अभ्यास सुरु गरेका छन् ।
‘मालिकदेखि कामदारसम्म सबैलाई समान सम्मान र सुविधा दिनुपर्छ भन्ने मेरो विश्वास हो,’ उनी भन्छन् ।
डा. गुरुङले बेलायतमा केयर सेवा सुरु गर्दा करिब २ लाख ५० हजार पाउन्ड लगानी गरेका थिए । जुन नेपाली रुपैयाँमा करिब ५ करोड बराबर हुन्छ । बेलायतका केयर होमको स्कोप राम्रो छ ।
डा. विशाल भविष्यमा अझै केयर होम थप्ने र सेवा विस्तार गर्ने योजनामा छन् ।
डा. गुरुङको अर्को योजना नेपालसँग जोडिएको छ ।
उनको बेलायतमा सिकेको गुणस्तरीय केयर सेवा एक दिन नेपालमै लागु गर्ने चाहना छ ।
‘भविष्यमा नेपाल फर्केर पनि यही स्तरको केयर सेवा सुरु गर्ने योजनामा छु,’ उनी भन्छन् ।
डा. विशाल स्वास्थ्य सेवा मात्र होइन, सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी अहिले बेलायतमा दर्ता भएको च्यारिटी संस्था तमु धिं यूकेका महासचिव हुन् । सन् २००० मा स्थापना भएको यो संस्थाले नेपालमा विभिन्न सामाजिक र शैक्षिक काम गर्दै आएको छ ।
२५ वर्षको अवधिमा संस्थाले नेपालमा करिब ६० करोड रुपैयाँ बराबरको सहयोग जुटाइसकेको छ ।
विद्यालय निर्माण, भान्सा घर बनाउने, सिन्धुपाल्चोकमा पानी ट्यांकी निर्माण, भूकम्पपछि लाप्राकमा घर निर्माण जस्ता काममा संस्थाले सहयोग गरेको छ ।
राजनीतिमार्फत सामुदायिक सेवा गर्न खोज्दै
गुरुङ स्थानीय राजनीतिमा सक्रिय छन् । उनी बेलायतको कन्जर्भेटिभ पार्टीमा आबद्ध छन् । व्यक्तिगत सिद्धान्त र पेसागत दृष्टिकोण सो पार्टीसँग मेल खाने भएकाले आफूले कन्जर्भेटिभ पार्टी रोजेको गुरुङ बताउँछन् ।
आगामी ७ मेमा हुने निर्वाचनमा उनी ह्याम्पसायर काउन्टी काउन्सिलरका रूपमा एल्डरसट नर्थ क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् ।
डा. गुरुङ बेलायतस्थित ग्रेटर रस्मुर नेपाली कम्युनिटीका उपाध्यक्षसमेत हुन् । उक्त संस्थामार्फत उनले नेपाली समुदायका विभिन्न समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्दै आएको बताए ।
उनका अनुसार राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्देश्य स्थानीय तहमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका समस्याहरू समाधानमा प्रत्यक्ष भूमिका खेल्नु हो ।
बेलायतमा रहेका नेपालीहरूले स्वास्थ्य सेवा, पेन्सन क्रेडिट, आवास तथा अन्य सामाजिक सेवासम्बन्धी विभिन्न चुनौती झेलिरहेको उनले बताए ।
‘नेपाली समुदायको तर्फबाट बारम्बार काउन्सिलमा पुगेर समस्या राख्नुपर्छ । यदि काउन्सिलमै हाम्रो प्रतिनिधित्व हुँदा ती समस्याहरू अझ प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ,’ डा. गुरुङ भन्छन् ।

उनका अनुसार नेपाली समुदायका वास्तविक समस्या स्थानीय निकायसम्म स्पष्ट रूपमा पुग्न नसक्नु अर्को चुनौती हो । भाषा र संस्कृतिको फरकका कारण धेरै समस्या सही रूपमा अनुवाद भएर सम्बन्धित निकायसम्म नपुग्ने अवस्था रहेको उनले बताए ।
‘नेपाली समुदायको वास्तविक आवाज पुर्याउने मान्छे कम छन् । हाम्रो समाजको समस्या के हो भन्ने कुरा सही तरिकाले बुझाएर राख्न सक्ने प्रतिनिधित्व आवश्यक रहेकाले उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।
उनी समाजसेवाको सबैभन्दा प्रभावकारी माध्यम राजनीति नै भएकाले त्यसमार्फत समुदायको हितमा काम गर्न सकिने विश्वास व्यक्त गर्छन् ।
डा. गुरुङले विभिन्न सम्मानसमेत प्राप्त गरेका छन् । उनले २०२५ मा नेपाल बेलायतबाट ‘मिडिया व्यक्तित्व’ पुरस्कार, पानाचे ग्लोबल इन्टरटेनमेन्टबाट सम्मान तथा नाइजेरियाली समुदायबाट २०२३ मा ‘उत्कृष्ट परोपकारी पुरस्कार’ प्राप्त गरेका छन् ।
त्यसैगरी, रस्मुर बरो काउन्सिलका मेयरबाट २०२४ को ‘मेयरको स्वयंसेवक पुरस्कार’ र सरे अल्पसंख्यक जातीय फोरमबाट २०२५ को ‘पुरानो जनताको च्याम्पियन पुरस्कार पनि उनले पाएका छन् ।
