डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • डा. विशाल गुरुङले बेलायतमा डोमिसिलियरी केयर कम्पनी सञ्चालन गरी करिब ६० ज्येष्ठ नागरिकलाई घरमै हेरचाह सेवा दिइरहेका छन्।
  • उनले बुवाको हेरचाह अनुभवबाट प्रेरणा लिएर बेलायतमा केयर कम्पनी स्थापना गरेका हुन् र नेपाली समुदायलाई सेवा विस्तार गर्ने योजना बनाएका छन्।
  • डा. गुरुङ बेलायतको कन्जर्भेटिभ पार्टीबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् र नेपाली समुदायका समस्याहरू समाधान गर्न चाहन्छन्।

३ चैत, काठमाडौं । डा. विशाल गुरुङले बेलायत जानुअघि सोचेका थिएनन्- केयर कम्पनी खोल्छु र सयौँ ज्येष्ठ नागरिकको सहारा बन्छु ।

डा. गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । तर बेलायत बसाइकै क्रममा बुवा बिते । बुवालाई हेरचाह गर्दाको अनुभवले उनलाई जेष्ठ नागरिकको सहारा बन्न प्रेरित गर्‍यो ।

डा. गुरुङ अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।

बेलायतको डोमिसिलियरी केयर कम्पनीका प्रबन्ध निर्देशक हुन् उनी । यो कम्पनीले घरमै पुगेर वृद्धहरूलाई दैनिक जीवनका काममा सहयोग गर्ने सेवा प्रदान गर्छ ।

अहिले डा. गुरुङको कम्पनीमार्फत करिब ६० भन्दा बढी वृद्धलाई सेवा दिइँदै आएको छ । उक्त कम्पनीमा ३३ नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी कार्यरत छन् । उनीहरूले अल्जाइमर, डिमेन्सिया, पक्षघात वा दैनिक काम गर्न नसक्ने अवस्थाका वृद्धहरूलाई सहयोग गर्ने काम गर्छन् ।

‘वृद्धहरूलाई सकेसम्म स्वतन्त्र जीवन जिउन सहयोग गर्ने प्रयास गर्छौँ,’ उनी भन्छन् ।

जीविकादेखि सामाजिक सेवासम्म

२०४६ सालमा स्याङ्जामा जन्मिएका विशाल गुरुङको बाल्यकाल गाउँमै बित्यो । कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढे । त्यसपछि बजार झरेर स्याङ्जा बोर्डिङ स्कुलमा अध्ययन गरे । पढाइ राम्रो भएकाले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए ।

स्कुले जीवन पार गरेपछि उच्च शिक्षा खोज्दै उनी काठमाडौं आइपुगे । निस्ट कलेजबाट विज्ञान विषयमा ‘प्लस टु’ पूरा गरे । मेडिकल शिक्षा पढ्ने सपनाले भने उनलाई देश बाहिर पुर्‍यायो । सन् २००८ मा एमबीबीएस गर्न उनी फिलिपिन्स पुगे । साउथ वेस्टर्न युनिभर्सिटी, सेबुबाट एमबीबीएस अध्ययन पूरा गरे ।

पढाइ सकेपछि नेपाल फर्किए । काठमाडौं मोडल अस्पतालमा छोटो समय काम गरे । त्यही समयमा उनका बुवा बिरामी परे । त्यसपछि हेरचाहका लागि सन् २०१६ मा बेलायत पुगे । त्यतिबेलासम्म बेलायतमै बस्ने उनको कुनै अठोट थिएन ।

बेलायत पुगेपछि सुरुका दिन सहज थिएनन् । जीविका चलाउन उनले विभिन्न काम गर्नुपर्‍यो । सुरुका दिनमा उनले केयर होममा काम गरे । पछि उनले स्वास्थ्य क्षेत्रमा मेडिकल रिसेप्सनिस्टका रूपमा काम सुरु गरे । त्यहीँबाट स्वास्थ्य सेवा प्रणालीसँग उनको सम्बन्ध गहिरिँदै गयो ।

यसबीच गुरुङले अध्ययनलाई पनि निरन्तरता दिए । क्विन मेरी युनिभर्सिटी लन्डनबाट सन् २०२३ मा उनले ग्लोबल पब्लिक हेल्थमा मास्टर्स पूरा गरे । यसले स्वास्थ्य सेवा प्रणाली, समुदायको आवश्यकता र वृद्धहरूको हेरचाहको महत्वबारे बुझे ।

त्यसपछि स्थानीय स्वास्थ्य सेवा प्रणालीमा जीपी सर्जरीसँग सम्बन्धित काम गर्न थाले । बेलायतमा काम गर्न त्यहाँकै लाइसेन्स आवश्यक हुने भएकाले उनले त्यही प्रक्रियाबाट आफूलाई अघि बढाए ।

तर, ‘केही वर्ष’ भनिएको समय विस्तारै दशकतिर लम्बियो । 

बुवाको सम्झनाबाट जन्मिएको संस्था

बेलायत जानुको मूल कारण भने उनका बुवा नै थिए । बुवा पहिलेदेखि नै बेलायत बस्थे । बुवा बिरामी परेपछि हेरचाह गर्न उनी बेलायत पुगेका थिए । बुवा बितेपछि उनको मनमा गहिरो प्रभाव छोड्यो ।

बुबाकै सम्झनाबाट जन्मियो– डोमिसिलियरी केयर कम्पनी ।

किन केयर होम सञ्चालन गर्ने प्रेरणा मिल्यो भन्ने प्रश्न डा. विशाल भन्छन्, ‘सुरुवाती दिनमा केयर होममा काम गरेको अनुभव, बुबा बित्नु भएपछि भावनात्मक प्रभाव र बेलायतमा केयर होमको व्यवसाय राम्रो देखेपछि यसतर्फ लागें ।’

यसबीचमा बेलायतको स्वास्थ्य प्रणालीलाई उनले नजिकबाट अनुभव गरे ।

बेलायतमा वृद्धहरूले परिवारसँगै बस्नेभन्दा पनि स्वतन्त्र रूपमा बस्न चाहने प्रवृत्ति बढी देखिन्छ । ८० वर्षको उमेर पुगेपछि पनि धेरै वृद्धहरू छोराछोरीसँग बस्नुभन्दा आफ्नै घरमा बस्न रुचाउँछन्  ।

डा. गुरुङका अनुसार बेलायतको आकस्मिक स्वास्थ्य सेवा अत्यन्त प्रभावकारी छ । सरकारी प्रणालीमार्फत आकस्मिक उपचार छिटो र व्यवस्थित रूपमा उपलब्ध हुन्छ । तर दीर्घकालीन उपचार वा योजना गरिएको शल्यक्रिया (इलेक्टिभ सर्जरी)का लागि भने कहिलेकाहीँ लामो समय कुर्नुपर्ने अवस्था हुन्छ ।

बेलायतमा पनि वृद्ध जनसंख्या बढ्दो क्रममा छ । उमेर बढेसँगै अल्जाइमर, डिमेन्सिया वा पक्षघात जस्ता रोगहरू बढ्दै गएको गुरुङको अनुभव छ ।

कसैलाई डिमेन्सिया वा अल्जाइमर भएको हुन्छ । कसैलाई प्यारालाइसिसका कारण हात-खुट्टा चलाउन कठिन हुन्छ । यस्तो अवस्थामा केयरहरू घरमै पुगेर उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गर्छन् ।

हालसम्म उनको केयर सेवामा रहेका अधिकांश वृद्ध बेलायती नागरिक छन् । नेपाली भने धेरै कम छन् । तर भविष्यमा नेपाली समुदायलाई लक्षित सेवा विस्तार गर्ने योजना उनीसँग छ ।

केयर सेवामा धेरैजसो त्यस्ता वृद्धहरू छन्, जो दैनिक जीवनका सामान्य काम पनि आफैं गर्न सक्दैनन् । हिँड्दा लड्ने सम्भावना बढी हुन्छ । उठबस गर्न गाह्रो हुन्छ । कहिलेकाहीँ स्मृतिसम्बन्धी समस्या पनि हुन्छ ।

डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने

डा. गुरुङ भन्छन्, ‘कतिपय वृद्धहरू मात्रै होइन, कुलतमा फसेका, अल्कोहल डिपेन्डेन्सी भएका वा मानसिक समस्या भएका व्यक्तिहरूलाई सहज रूपमा जीवन सञ्चालन गर्न सहयोग गर्छौं ।’

बेलायतमा वृद्धहरूको स्वास्थ्य सेवा र हेरचाहका लागि सरकारले विशेष व्यवस्था गरेको छ ।

डा. गुरुङका अनुसार, बेलायत सरकारले नागरिकको आर्थिक अवस्थाको विस्तृत मूल्यांकन गर्छ ।

बैंकमा कति बचत छ ? पेन्सन कति छ ? घरजग्गा वा सेयर कति छ ? सबै हेरेर मात्रै सेवा शुल्क कसले तिर्ने भन्ने निर्णय हुन्छ ।

‘यदि कसैको बचत करिब २० हजार पाउन्डभन्दा कम छ भने सरकारले धेरैजसो स्वास्थ्यको खर्च बेहोर्छ,’ उनी भन्छन्, ‘तर त्योभन्दा बढी भए निजी रूपमा तिर्नुपर्छ ।’

कतिपय अवस्थामा केही भाग सरकारले र केही भाग व्यक्तिले आफैं तिर्ने व्यवस्था पनि हुन्छ ।

बेलायतमा वृद्धहरूले परिवारसँगै बस्नेभन्दा पनि स्वतन्त्र रूपमा बस्न चाहने प्रवृत्ति बढी देखिन्छ । ८० वर्षको उमेर पुगेपछि पनि धेरै वृद्धहरू छोराछोरीसँग बस्नुभन्दा आफ्नै घरमा बस्न रुचाउँछन्  ।

डा. गुरुङ भन्छन्, ‘उहाँहरू आफ्नै जीवन स्वतन्त्र रूपमा जिउन चाहनुहुन्छ । परिवारलाई बोझ नबनौं भन्ने सोच पनि धेरैमा हुन्छ ।’

केयर क्षेत्रमा काम गर्ने कामदारहरूलाई पर्याप्त सम्मान नपाएको उनले महसुस गरेका छन् । त्यसैले आफ्नो कम्पनीमा उनले फरक अभ्यास सुरु गरेका छन् ।

‘मालिकदेखि कामदारसम्म सबैलाई समान सम्मान र सुविधा दिनुपर्छ भन्ने मेरो विश्वास हो,’ उनी भन्छन् ।

डा. गुरुङले बेलायतमा केयर सेवा सुरु गर्दा करिब २ लाख ५० हजार पाउन्ड लगानी गरेका थिए । जुन नेपाली रुपैयाँमा करिब ५ करोड बराबर हुन्छ । बेलायतका केयर होमको स्कोप राम्रो छ ।

डा. विशाल भविष्यमा अझै केयर होम थप्ने र सेवा विस्तार गर्ने योजनामा छन् ।

डा. गुरुङको अर्को योजना नेपालसँग जोडिएको छ ।

उनको बेलायतमा सिकेको गुणस्तरीय केयर सेवा एक दिन नेपालमै लागु गर्ने चाहना छ ।

‘भविष्यमा नेपाल फर्केर पनि यही स्तरको केयर सेवा सुरु गर्ने योजनामा छु,’ उनी भन्छन् ।

डा. विशाल स्वास्थ्य सेवा मात्र होइन, सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी अहिले बेलायतमा दर्ता भएको च्यारिटी संस्था तमु धिं यूकेका महासचिव हुन् । सन् २००० मा स्थापना भएको यो संस्थाले नेपालमा विभिन्न सामाजिक र शैक्षिक काम गर्दै आएको छ ।

२५ वर्षको अवधिमा संस्थाले नेपालमा करिब ६० करोड रुपैयाँ बराबरको सहयोग जुटाइसकेको छ ।

विद्यालय निर्माण, भान्सा घर बनाउने, सिन्धुपाल्चोकमा पानी ट्यांकी निर्माण, भूकम्पपछि लाप्राकमा घर निर्माण जस्ता काममा संस्थाले सहयोग गरेको छ । 

राजनीतिमार्फत सामुदायिक सेवा गर्न खोज्दै

गुरुङ स्थानीय राजनीतिमा सक्रिय छन् । उनी बेलायतको कन्जर्भेटिभ पार्टीमा आबद्ध छन् । व्यक्तिगत सिद्धान्त र पेसागत दृष्टिकोण सो पार्टीसँग मेल खाने भएकाले आफूले कन्जर्भेटिभ पार्टी रोजेको गुरुङ बताउँछन् ।

आगामी ७ मेमा हुने निर्वाचनमा उनी ह्याम्पसायर काउन्टी काउन्सिलरका रूपमा एल्डरसट नर्थ क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् ।

डा. गुरुङ बेलायतस्थित ग्रेटर रस्मुर नेपाली कम्युनिटीका उपाध्यक्षसमेत हुन् । उक्त संस्थामार्फत उनले नेपाली समुदायका विभिन्न समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्दै आएको बताए ।

उनका अनुसार राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्देश्य स्थानीय तहमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका समस्याहरू समाधानमा प्रत्यक्ष भूमिका खेल्नु हो ।

बेलायतमा रहेका नेपालीहरूले स्वास्थ्य सेवा, पेन्सन क्रेडिट, आवास तथा अन्य सामाजिक सेवासम्बन्धी विभिन्न चुनौती झेलिरहेको उनले बताए ।

‘नेपाली समुदायको तर्फबाट बारम्बार काउन्सिलमा पुगेर समस्या राख्नुपर्छ । यदि काउन्सिलमै हाम्रो प्रतिनिधित्व हुँदा ती समस्याहरू अझ प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ,’ डा. गुरुङ भन्छन् ।

डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने

उनका अनुसार नेपाली समुदायका वास्तविक समस्या स्थानीय निकायसम्म स्पष्ट रूपमा पुग्न नसक्नु अर्को चुनौती हो । भाषा र संस्कृतिको फरकका कारण धेरै समस्या सही रूपमा अनुवाद भएर सम्बन्धित निकायसम्म नपुग्ने अवस्था रहेको उनले बताए ।

‘नेपाली समुदायको वास्तविक आवाज पुर्‍याउने मान्छे कम छन् । हाम्रो समाजको समस्या के हो भन्ने कुरा सही तरिकाले बुझाएर राख्न सक्ने प्रतिनिधित्व आवश्यक रहेकाले उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।

उनी समाजसेवाको सबैभन्दा प्रभावकारी माध्यम राजनीति नै भएकाले त्यसमार्फत समुदायको हितमा काम गर्न सकिने विश्वास व्यक्त गर्छन् ।

डा. गुरुङले विभिन्न सम्मानसमेत प्राप्त गरेका छन् । उनले २०२५ मा नेपाल बेलायतबाट ‘मिडिया व्यक्तित्व’ पुरस्कार, पानाचे ग्लोबल इन्टरटेनमेन्टबाट सम्मान तथा नाइजेरियाली समुदायबाट २०२३ मा ‘उत्कृष्ट परोपकारी पुरस्कार’ प्राप्त गरेका छन् ।

त्यसैगरी, रस्मुर बरो काउन्सिलका मेयरबाट २०२४ को ‘मेयरको स्वयंसेवक पुरस्कार’ र सरे अल्पसंख्यक जातीय फोरमबाट २०२५ को ‘पुरानो जनताको च्याम्पियन पुरस्कार पनि उनले पाएका छन् ।





Source link

Leave a Comment