डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रसुवागढी नाका बाढीले पूर्ण रूपमा ठप्प र तातोपानी नाका पहिरोले गत ७ साउनदेखि अवरुद्ध छ।
  • अरनिको राजमार्गको विभिन्न खण्डमा झन्डै ५०० मिटर सडक भासिएको छ र स्थानीय बस्ती जोखिममा छन्।
  • सडक विभागका महानिर्देशक जैसीले एक हप्ताभित्र एकतर्फी सडक सञ्चालनमा आउने बताए।

३ असोज, काभ्रेपलाञ्चोक । दशैंले छोपिसक्यो, चीन जोड्ने दुई नाका रसुवागढी र तातोपानी ठप्प छन् । यी नाका हुँदै नेपाल ल्याउन व्यापारीहरूले तयार पारेका दशैंलक्षित सामान चीनमै रोकिएको छ ।

गत २४ असारमा ल्हेन्दे खेलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प छ भने अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका गत ७ साउनबाट अवरुद्ध छ ।

अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका डाक्लाङदेखि लिपिङ सडकखण्डका विभिन्न स्थानमा लेदोसहित आएको पहिरोले झन्डै दुई महिनादेखि काठमाडौं आउने सामान बोकेका कन्टेनर चीन तथा अरनिको राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका छन् ।

गत ६ साउनदेखि अवरुद्ध सडक खुलाउन आंशिक पहल भए पनि दीर्घकालीन रूपमा काम भएको छैन । सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै व्यवसायीहरू मर्कामा परेका छन् । चीनतर्फ करिब १ हजार ५०० भन्दा बढी कन्टेनर अड्किएका छन् ।

अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको छ । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको छ ।

बिहीबार स्थलगत अनुगमनमा पुगेको सडक विभागको टोलीले नापजाँच गर्दा उक्त खण्डमा झन्डै ५०० मिटर सडक भासिएको बताएको छ । पानीका कारण लेदो झरिरहेकोले इको पहिरोमा त प्लास्टिकले छोपेर पहिरो रोक्न खोजिएको छ ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष सडक भासिनुको मुख्य कारण तलबाट भोटेकोशी नदीको कटान र माथिबाट निरन्तर खस्ने लेदो–ढुंगासहितको पहिरो भएको बताउँछन् । लेदो–ढुंगासहितको पहिराको कारण जति मर्मत गरे पनि अवरोध सिर्जना भएको उनको भनाइ छ ।

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

‘सडक बन्छ, तर वर्षात् सुरु हुने वित्तिकै माथिबाट आएको लेदोसहितको पहिरोले सडक नै बगाइदिन्छ,’ उनले भने, ‘दिउँसोभर बनाउने तर रातभर आएको पानीले सडक नै बगाउने समस्या भयो । दीर्घकालीन नसोची हुँदैन ।’ उनका अनुसार अहिले पनि पानी पर्ने वित्तिकै माथिबाट पहिरो झर्ने क्रम अझै रोकिएको छैन।

इको पहिरोमा ७ साउनदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक गत ५ भदौमा एकतर्फी सञ्चालनमा ल्याएको थियो । तर सञ्चालनमा आएको तीन दिन मानै अवरुद्ध भएको सडकखण्ड अझै पूर्ण रूपमा बन्द छ ।

एक हप्ताभित्र सडक खोल्छौं : महानिर्देशक जैसी

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तथा व्यवसायीलाई मर्का परेको गुनासो गर्दै बुधबार भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा स्थानीयहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेट्न पुगेका थिए ।

भेटलगत्तै मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग दुई दिनभित्र खुलाउन सडक विभागलाई निर्देशन दिएका थिए ।

मन्त्री घिसिङको निर्देशनकै भोलिपल्ट अवरुद्ध राजमार्ग हेर्न सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपाने लगायतको जम्बो टोलीले अवरुद्ध सडक खण्डको अवलोकन गरेको छ ।

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

अवलोकनसँगै महानिर्देशक जैसीले एक हप्ताभित्र एकतर्फी सडक सञ्चालनमा आउने बताए । सडक विभागका महानिर्देशक जैसीले सडकको मुनिपट्टि भोटेकोशीको कटान तथा माथिबाट माटो, ढुंगासहितको लेदो र पहिरो खसेको कारण सडक सुचारु गर्न समस्या भएको जानकारी दिए ।

‘स्थलगत अनुगमन भएको सरोकारवाला निकायको छलफलपछि कम्तीमा एक हप्ताभित्र सडक खुलाउने निर्णय गरेका छौं,’ उनले भने ।

पोहोरदेखि नै पहिरोको समस्या हो । भूकम्पले थिलथिलो बनायो । सबैतिर प्लास्टिक कभर गरेर राखिएको छ । ड्रिल गरेर पाइप हाल्ने प्रयास भए पनि असफल भएको सडक विभागले जनाएको छ ।

महानिर्देशक जैसीका अनुसार सडकलाई अल्पकालीन र दीर्घकालीन गरेर दुई चरणमा निर्माण गर्न लागिएको छ । ‘दशैं नजिकिँदै गएको कारण अल्पकालीन रूपमा तत्काल एकतर्फी भए पनि सडक खोल्ने र कात्तिक मसान्तसम्ममा सडकलाई दीर्घकालीन रूपमा बनाउने गरी काम सुरु गर्नेछौं,’ महानिर्देशक जैसीले भने ।

बस्ती जोखिममा पर्यो : स्थानीय

भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण दर्जन गाउँ जोखिममा परेका छन् । उनीहरूको माग नै बस्ती जोगाएर सडक बनाइदिनोस् भन्ने छ । उनीहरूले बग्न लागेको गाउँ जोगाएर बलियो सडक बनाउन आग्रह गरेका छन् ।

सरोकारवाला निकायको छलफलमा सुरुमा त उनीहरू सडक बनाउन नदिने पक्षमा थिए । तर सबै पक्षको छलफलले बस्तीलाई अप्ठेरो नपर्ने गरी अस्थायी रूपमा एकतर्फी सडक सञ्चालन गर्ने सहमतिमा पुगेका थिए ।

त्यस क्षेत्रका गुम्बाडाँडा, मिलन बजार, लालवीर चोक, चौकीडाँडा, कोदारी गुम्बा क्षेत्र, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छ । भोटेकोशी गाउँपालिका-२ इकोमा झरेको लेदोसहितको पहिरोका कारण चौकीडाँडा, गुम्बाडाँडा, कोदारी गुम्मा क्षेत्रका १०० घरधुरी उच्च जोखिममा परेका हुन् ।

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

स्थानीय भेषबहादुर राउतको घर छेउमै पहिरो पुगेको उनले बताए । ‘पानीले जलथल भएको छ, बस्न पनि समस्या छ,’ उनले भने ।

सोही ठाउँका राजेश थामीको घर छेउमा पनि भासिएको छ । उनको छिमेकीलाई त सुरक्षित स्थानमै लगेर राखिएको जानकारी दिए । ‘इको पहिरो भन्दामाथि २०० घरधुरीको बसोबास छ । त्यसमा पनि ४०–५० घरधुरी त बग्न नै लागिसक्यो,’ थामीले भने, ‘उनीहरूलाई स्थानान्तरण गरिसकियो ।’

इकोमा पहिरो नरोकिएपछि भदौको पहिलो साता डीटीएच प्राविधि (जमिन भित्रको पानी निकाल्ने) प्रयोग गरेर पनि पानीसहितको लेदोको कारण समस्या भएको थियो । लगातार पानी बगिरहेको कारण इको पहिरो नरोकिँदा सडक अवरुद्ध भएपछि डीटीएच प्रविधिबाट जमिनभित्र प्वाल पारेर पाइप राखेर पानी निकाल्न खोजे पनि नसकिएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।

लगातार लेदो र जमिन खसेको कारण प्वाल पारेको स्थानमा पाइप हाल्न समस्या भएको र ठूलो मेसिन चलाउन पनि इकोमाथिको वस्ती जोखिममा पर्ने भएकोले सडक निर्माण नै स्थगित गरिएको थियो ।

दशैं लक्षित सामग्री चीनमै

चाडपर्व नजिकिएसँगै व्यावसायीले तातोपानी नाकाबाट दशैं, तिहार, छठलगायत पर्वलक्षित सामग्री हालेका थिए । तर लगातारको सडक अवरुद्धले फलफूल र दशैंलक्षित सामग्री हालेका व्यवसायी मारमा परेका छन् । उनीहरूले भोटेकोशी नदीको बाढीले रसुवागढी क्षेत्रको सडकमा क्षति पुगेपछि तातोपानीबाट आयात थालेका थिए । तर तातोपानी क्षेत्रको सडकको दूरावस्थाका कारण व्यावसायीहरू हैरान भएका छन् ।

तातोपानी नाकाको एकछत्र ढुवानी गरिरहेको सिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले १ हजार ५०० भन्दा बढी कन्टेनर विभिन्न स्थानमा रोकिएको जानकारी दिए ।

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

उनका अनुसार चीनका न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्ट तथा नेपालका लिपिङ, कोदारी, तातोपानी तथा भन्सारबाट छुटेका कन्टेनर डाक्लाङको पहिरोभन्दा माथिका सडक खण्डमा रोकिएका छन् ।

कन्टेनर लामो समय रोकिँदा फलफूलहरू कुहिएर खेर गएका छन् । भन्सारले पनि अन्य सामानभन्दा फलफूललाई प्रथमिकता दिएको कारण दशैंलाई लक्षित गरेर ल्याइएको सामान चीनमै अड्किएको व्यापारीहरूको गुनासो छ ।

चीनबाट दशैं लक्षित रेडिमेड र कच्चा कपडा तथा गोल्डस्टार जुत्ताका कच्चा सामान ल्याएका व्यवसायीहरूको छुट्टै समस्या छ ।

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

इको पहिरोमा भेटिएका गोल्डस्टारका सप्लाई हेड सञ्जय कर्णले दशैंका लागि ल्याइएका ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिनदेखि कारखाना नै नचलेको बताए ।

२०७२ को भूकम्पपछि अरनिको राजमार्गमा पर्ने बाह्रबीसे-कोदारी सडकखण्ड पटक–पटक भत्किने र पहिरो झर्ने समस्याले व्यापारी र स्थानीयवासी आजित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।

‘अरनिको राजमार्ग सडक मात्र नभएर रसुवा नाका बन्द भएको बेलामा चीनसँगको व्यापार मजबुत बनाउने नाका हो, बस्नेतले भने, ‘यो नाकामा कसैको आँखा पुग्न सकेन ।’

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए

डाक्लाङ-लिपिङ खण्ड दुई महिनादेखि अवरुद्ध, दशैंका सामान नाकामै रोकिए





Source link

Leave a Comment