डट, डर र दबाबले हारेको नेपाल

डट, डर र दबाबले हारेको नेपाल


२३ जेठ, अमेरिका । १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गर्ने आशा थियो । तर, विदेशी भूमिमा नेपालको ब्याटिङ विगतमा जस्तै कमजोर रह्यो ।

आईसीसी टी-२० विश्वकप २०२४ मा ग्राण्ड प्रेरी क्रिकेट रंगशाला अमेरिकामा भए पनि रौनक र झल्को टीयु रंगशालाको भन्दा कम थिएन । नेपालको जर्सी र झण्डासहितका समर्थकले रंगशालाभित्र र बाहिरको परिसर भरीभराउ थियो । रंगशालामा डच समर्थक भेट्नै मुस्किल थियो ।

बिहान वर्षाका कारण निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो । राष्ट्रिय गान बज्दा खेलाडीमात्रै होइन पूरा रंगशाला, देश तथा विदेशमा नेपालीको एउटा गर्व र भावुक क्षण थियो । दशक लामो प्रतीक्षाले विश्वकपको महत्व अझ फरक थियो ।

निराश समर्थक

पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै आएका ओपनर कुशल भुर्तेल र आसिफ शेखले टोलीले देखाएको विश्वासलाई विश्वकपमा पनि निराश बनाए ।

तीव्र गतिका बलर भिभियन किंग्माले कुशललाई पहिलो बल डट र दोस्रोमा एक रन दिंदै सुरुवात गरे । त्यसपछि आसिफले लगातार लेन्थका तीन बलमा रन बटुल्न सकेनन् । अन्तिम बलमा लङअफमा चौका हाने ।

डट, डर र दबाबले हारेको नेपाल
क्रिकेट स्टेडियममा नेपाली समर्थक ।

स्पिनर टिम प्रिंगललाई दोस्रो ओभरको पहिलो बलमै कुशल भुर्तेलले चौका हाने । तेस्रो बलमा स्ट्राइक पाएका आसिफले लगातार बलमा रन जोड्न सकेनन् । लगातार डटले ठूलो सट खेलेका आसिफ सर्ट थर्डमा भिभियन किंग्माबाट ४ रनमा क्याच आउट भए । डट बलको दबाबमा आसिफले आफ्नो विकेट फ्यालेका थिए ।

किंग्माले तेस्रो ओभरको सुरुवाती चार बल भुर्तेललाई डट राखे । लोगन भानबिकको चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रनमा एलबीडब्लू आउट भए । त्यो समय नेपाल ३.१ ओभरमा १५-२ को अवस्थामा थियो । सुरुवाती १८ मध्य १२ बल नेपाली ब्याटरले डट खेले ।

पिच, कन्डिसन र विपक्षी जस्तो भए पनि पावर प्लेमा जतिसक्यो धेरै रन जोड्न ध्यान दिनुपर्छ । तर, नेपालले सुस्त खेल्यो ।

कुशल आउट भएपछि कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आए । दोस्रो बलमा दुई रन बटुलेका उनले त्यसपछि लगातार तीन बल डट खेले । अन्तिम बल लेगबाइको रुपमा चौका भयो । पाँचौं ओभरमा किंग्माले अनिललाई लगातार चार बल डट राखे । पाँचौं बल अनिलको ब्याटबाट एज लागेर थर्डमा चौका गयो ।

डच टोलीका प्रमुख बलर पलभान मिर्केनले छैटौं ओभरमा रोहितलाई योर्करका साथ सुरुवात गरे । दोस्रो बलमा रोहितले काउकर्नरमा सुन्दर चौका हिर्काए । त्यसपछि रोहितले थप चार बलमा रन जोड्न सकेनन् ।

पावर प्लेका ३६ बलमध्ये नेपाली ब्याटरले २७ डट खेले । नेपाल ६ ओभरमा २९-२ को अवस्थामा थियो । नेपाली ब्याटरले त्यो रनमा ५ चौका र एक लेग बाईको रुपमा गरी २४ रन बटुलेको थियो । पावर प्लेमा बाउन्ड्री बाहेक नेपाली ब्याटरले पाँच रन मात्रै जोडेका थिए ।

पावर प्लेमा डट र कमजोर प्रदर्शनले नेपाली ब्याटरलाई दबाब बढाउँदा नेदरल्यान्ड्सले मोमेन्ट्स आफ्नो पक्षमा पार्‍यो । किनभने नेपाल सुरुमा ब्याटिङ गर्न आउँदा एउटा बलियो योगफल तयार पार्ने लक्ष्य थियो । तर, सुरुवात त्यस्तो रहेन । त्यसले पेभेलिएन, डग आउट र क्रिजमा रोहित तथा अनिललाई थप दबाब बढायो ।

डट, डर र दबाबले हारेको नेपाल
काठमाडौंको टुँडिखेलमा राखिएको स्क्रिनमा लाइभ क्रिकेट हेर्न भेला भएका समर्थकहरु ।

त्यसैको कारण आठौं ओभरको चौथो बलमा टिम प्रिंगललाई अनिलले स्वीप सट खेले । तर टप एज लागेर डीप ब्याकवार्ड स्क्वायर लेगमा ११ रनमा सहज क्याच आउट हुनपुगे । त्यो समय नेपाल ७.४ ओभरमा ४०-३ को अवस्थामा थियो ।

अब नेपाललाई खेलमा फर्किन एउटा राम्रो साझेदारी आवश्यक थियो । कुशल मल्ल आक्रामक ब्याटर क्रिजमा आएका थिए । रोहित र कुशलबीच राम्रो साझेदारीको अपेक्षा थियो ।

कुशल मल्लले दशौं ओभरको पहिलो बलमा मिर्केनलाई लङअफमा उत्कृष्ट चौका हाने । तर चौथो बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा कुशल ९ रनमा क्याच हुँदा नेपाल ५२-४ मा पुग्यो ।

नेपालको आशा र भरोसा अब दीपेन्द्र सिंह ऐरीमा थियो । तर, बास डि लिडेको बलमा एज लागेर फस्ट स्लिपमा दीपेन्द्र १ रनमा क्याच भएपछि नेपाल १०.४ ओभरमा ५३-५ को अवस्थामा पुग्यो ।

नेपालले ११ औं ओभरमा एक विकेट गुमाउँदा कुनै रन जोड्न सकेन । १२ औं ओभरमा तीन रन जोड्दा चार डट खेलेको थियो । प्रमुख ब्याटर दीपेन्द्र चल्न नसकेपछि नेपाल थप संकटमा परेको थियो ।

१४औं ओभरमा सोमपाल कामीले पनि साथ छाडे । स्पिनर प्रिंगलको १६ औं ओभरको अन्तिम बलमा रोहित कभरमा सट खेल्ने धुनमा सहज रुपमा क्याच आउट भएपछि नेपालले १०० रन पनि कटाउन मुस्किल देखिएको थियो ।

तल्लो क्रममा करणले २ छक्कासहित १७ रन तथा गुलशन झाले पनि १४ रन जोड्दै १०० रन कटाएका थिए । रोहितको ३५ रन पछि सर्वाधिक रन करण र गुलशनको नाममा थियो ।

तीन खेलाडीले खाता नै खोल्न सकेनन् । चार प्रमुख ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सविरुद्ध कुनै पनि समय नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । बाउन्ड्रीले विपक्षीलाई बढी दबाबमा पार्छ । कुनै पनि खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न दबाबबाट बाहिर आउनुपर्छ । टी-२० क्रिकेट भनेको नै आक्रामक हो । त्यसको लागि खुलेर खेल्नुपर्छ

बलियो योगफलमा पुग्न एउटा सानदार साझेदारी आवश्यक पर्छ । तर, नेपालका ब्याटरले राम्रो साझेदारी पनि गर्न सकेनन् । तेस्रो विकेटलाई रोहित र अनिलले २७ बलमा जोडेको २५ रन नै नेपालको इनिङको नेदरल्यान्ड्सविरुद्धको सर्वाधिक ठूलो साझेदारी थियो । त्यसपछि आठौं विकेटका लागि करण र गुलशनले १७ बलमा २२ रनको साझेदारी गरेका थिए ।

पुनरागमनको आश

नेपाली ब्याटरले खेलेका ११६ बलमध्ये ६५ डट खेले । त्यो डटको आधामा मात्रै सिंगल रन जोडेको भए पनि नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।

‘एउटा खेलाडीको रुपमा टिमले १०/२० रन भए पनि त्यसको लागि लड्ने हो । हामीले कति लक्ष्य दिएका छौं त्यसले निर्धारण गर्दैन । पहिलो इनिङ हारेपछि दोस्रो इनिङ कसरी जिताउने एउटा चुनौती थियो’, सोमपालले भने ।

त्यसैमा उनले थपे, ‘बलिङ युनिट हामीले राम्रो गर्‍यौं । अझै राम्रो गर्न सकिन्थ्यो । लक्ष्य सानो हुँदा अन्य प्रयास गर्न सकेनौं । आशा छ अर्को खेलमा राम्रो पुनरागमन गर्ने छौं ।’

बलिङमा सोमपालले दोस्रो ओभरको दोस्रो बलमै आक्रामक ओपनर माइकल लेभिटलाई १ रनमा दीपेन्द्रबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । त्यसपछि म्याक्स ओडाउड र विक्रमजित सिंहले ४० रनको साझेदारी गर्दै खेल नेपालबाट टाढा लगेका थिए ।

अभिनाशको आठौं ओभरको चौथो बलमा सोमपालले डिप मिड विकेटमा विक्रम सिंहको क्याच १९ रनमा ड्रप गरे । उक्त क्याच धेरै भारी परेन । तर, अर्को ओभरमा दीपेन्द्रले उनलाई २२ रनमा एलबीडब्लू जालोमा पार्दै पेभेलिएन फर्काए ।

नेदरल्यान्ड्सलाई १७ बलमा १८ रन चाहिँदा रोहितले म्याक्स ओडाउडको ४० रनमा क्याच छाडेका थिए । तर त्यो समय खेल नेपालको हातबाट गइसकेको थियो । खेलमा एउटा क्याच समाउन अभ्यासमा १ हजार क्याच लिने सोमपाल बताउँछन् ।

पहिला ब्याटिङ गर्दा कमजोर प्रदर्शन

नेपालले पहिला ब्याटिङ गर्दा प्राय कमजोर प्रदर्शन गर्दछ । गत अप्रिलमा ओमानमा सम्पन्न एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै ११९ रन बनाएको नेपाल ६ विकेटले पराजित हुँदै एसिया कप गुमाएको थियो । यो एक उदाहरण मात्रै हो ।

डट, डर र दबाबले हारेको नेपाल

नेपालले लक्ष्य पछ्याउँदा राम्रो ब्याटिङ बढी गर्दछ । सन् २०२३ मा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्दा र विश्वकप छनोट एसियाको सेमिफाइनलमा यूएईलाई हराउँदा दुवैमा दोस्रो इनिङमा ब्याटिङ गरेको थियो ।

नेदरल्यान्ड्सका बलरले राम्रो गरेको सोमपाल बताउँछन् । ‘सुरुवातमा जब रन लाग्दैन । ब्याटर खुलेर खेलेको छैन । एउटा ब्याटरलाई जब बाउन्ड्री र रन आएपछि आत्मविश्वास आउने हो । हाम्रो ब्याटरले कोही न कोही राम्रो खेले पनि उनीहरुले एकदमै बलिङ पनि गरे,’ पहिला ब्याटिङ गर्दा कमजोर प्रदर्शनबारे सोमपालले भने ।

नेदरल्यान्ड्सविरुद्ध कुनै पनि समय नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । बाउन्ड्रीले विपक्षीलाई बढी दबाबमा पार्छ । कुनै पनि खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न दबाबबाट बाहिर आउनुपर्छ । टी-२० क्रिकेट भनेको नै आक्रामक हो । त्यसको लागि खुलेर खेल्नुपर्छ ।

खुलेर खेल्न नसकेको नेपाल

नेपालको प्लेइङ ११ मा सागर र अभिनाशबाहेक अन्य सबैले राम्रो ब्याटिङ गर्दछन् । ९ नम्बरसम्म ब्याटिङ राख्नुको मुख्य कारण नै खराब सुरुवात हुँदा मध्यक्रम र तल्लो क्रमका ब्याटरले राम्रो प्रदर्शन गरुन् भनेर हो ।

नेपालले विश्वकपमा राम्रो प्रदर्शन गर्न पहिला ब्याटर खुलेर खेल्नुपर्छ अनि मध्य क्रम र तल्लो क्रममका खेलाडीले पनि खेलमा जिम्मेवारी लिन आवश्यक देखिन्छ । शीर्ष क्रममा निर्भर अन्त्य हुनुपर्छ ।

नेपाली ब्याटर खुलेर खेल्न नसक्नुबारे क्रिकेट विश्लेषक रवि तिमिल्सिना भन्छन्, ‘नयाँ पिचले कस्तो बिहेभ गर्छ भन्ने अनुमान गर्न पनि गाह्रो भयो । राति अनि बिहानपखको पानीले गर्दा नेदरल्यान्ड्सका बलरलाई अझ मद्दत गर्‍यो ।’ नेपालका सबै ब्याटरले पहिलो पटक विश्वकप खेलेका थिए । त्यसको पनि दबाब हुनसक्ने रवि बताउँछन् ।

यही ग्राण्ड प्रेरी रंगशालामा आइतबार क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यसैले ब्याटिङ सहयोगी पिच अनुमान गरिएको थियो ।

खेलको अघिल्लो दिन कन्डिसन अनुसार टस कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्नमा नेपालका कप्तान रोहित पौडेलको जवाफ थियो, ‘खेल दिउँसोको हो । मलाई लाग्छ टसले त्यति फरक पार्दैन । टसभन्दा पनि उत्कृष्ट क्रिकेट खेल्यो भने हामी जित्न सक्छौं ।’

तर वर्षाका कारण पिच सोचेजस्तो हुन सकेन । नतिजामा निर्णायक जस्तै बन्यो ।

आगामी खेल

समूह ‘डी’ मा रहेको नेपालले १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।

त्यसपछि नेपाल वेष्टइण्डिज जाने छ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने छ ।

श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले हारेको थियो । उक्त खेलमा श्रीलंका ७७ रनमा अलआउट भएको थियो ।

‘नेपाललाई गुमाउनु केही छैन । विश्वकप क्रिकेटमा नाम राख्न खेलाडीहरू खेल्नेछन् । हामीले अझै पनि बंगलादेश र श्रीलंकाको नतिजा हाम्रो पक्षमा पार्न सक्छौं । श्रीलंकासँग खेल महत्वपूर्ण हुनेछ । त्यसैले उक्त खेलमा ध्यान दिनुपर्छ’, क्रिकेट विश्लेषक रवि तिमिल्सिनाले भने ।

टुर्नामेन्ट





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School