‘ट्रेकिङ भरियाका रूपमा च्छोरोल्पा पुगेर हिउँ टेक्दाको आनन्द कहिल्यै बिर्सिन्नँ’

‘ट्रेकिङ भरियाका रूपमा च्छोरोल्पा पुगेर हिउँ टेक्दाको आनन्द कहिल्यै बिर्सिन्नँ’


कलाकार बुद्धि तामाङ ज्यादाजसो हास्य भूमिकामा देखिन्छन् । रंगमञ्चबाट अभिनय थालेको बुद्धि ‘कबड्डी’ शृंखला लगायतका फिल्मबाट दर्शकमाझ लोकप्रिय भए । उनले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी:

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

मण्डला थिएटरको व्यवस्थापनमा अलि व्यस्त छु । नयाँ आर्थिक वर्ष सुरु भयो, त्यसैले आगामी वर्षका योजनाहरू बनाउने काममा हामी लागिरहेका छौं ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

नेपाली रंगमञ्चमा दर्शकहरूको उल्लेख्य उपस्थिति देख्दा खुशी लागेको छ । खासगरी युवाको यसप्रतिको चासो र आकर्षणले । नेपाली फिल्म पनि राम्रो बनाउन सकियो भने फिल्म र थिएटर दुवै क्षेत्रमा दर्शकको माया रहेछ भन्ने लागेको छ । दुवैतिर दर्शकको संख्या अझै बढ्न सक्ने रहेछ ।

३. दिक्क बनाएको कुरा ?

दिक्क लगाउनेचाहिं धेरैजसो सामाजिक सञ्जालमा सार्वजनिक विषयमा व्यक्त हुने कुराहरूले नै हो । ठेट, ठोस र सत्य कुरा भन्दा बढी अनुमान र हल्लाका आधारमा लेखिएको देख्दा दिक्क लाग्छ । आ–आफ्नै अदालत र इजलास चलाएर फैसलै हान्दिने गरेको देख्दा अचम्म र दिक्क लाग्छ ।

४. अबका योजना के छन् ?

त्यति धेरै ठूल्ठूलो योजना छैनन् । मण्डला थिएटरतर्फ कसरी युवालाई आकर्षित गर्ने, कसरी रंगमञ्च संस्कृतिको विकास गर्ने भन्ने नै हो । केही दिनमा नयाँ फिल्म ‘कार्साङ’को सुटिङमा जाने पनि योजना छ । अलिकति पछि चाहिं फिल्म निर्माणमा पनि सक्रिय हुने योजना छ ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

मेरा दर्शक । मलाई एउटै एङ्गलबाट यतिका वर्षसम्म मन पराइदिनुभएको छ । ‘हैट्’ भनेको भरमा पनि मन पराउनुभएको छ । अपेक्षा राख्नुभएको छ । अनेक प्रकारले दर्शकको त्यो मायालाई बचाइराख्नु नै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

थिएटर र सिनेमामा सांस्कृतिक कथाहरू आइरहेको र दर्शकले मन पराइरहेको देख्दा रोचक लागिरहेको छ । हाम्रा हुर्काइबढाइका कथाहरू उक्काउँदै, उखेल्दै आइरहेको देख्दा रोचक लागिरहेको छ । राई, लिम्बू, गुरुङ, मगरका कथा भन्ने परम्परा मौलाएको देखिएको छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सबभन्दा राम्रो पक्ष त नेपालीपन नै हो । त्यो भनेको मानवताको गुण हामीमा छ । एकअर्कालाई छिट्टै विश्वास गर्ने, माया र सरसहयोग गर्ने हाम्रो गुण छ । आफ्नो विविधतामा पनि एकअर्कालाई सम्मान गर्दै अगाडि बढ्छौं । यो पनि राम्रो पक्ष हो । अलिकति नराम्रो हुँदै गएको चाहिं कहिलेकाहीं विदेशी संस्कृतिको अन्धाधुन्द नक्कल पनि गरिदिन्छौं । हाम्रो जीवनशैलीमा विदेशीको शैली हावी हुँदै जान थालेको हो कि जस्तो लाग्छ । यसले गर्दा आफ्नो मौलिकता पनि मेटिने र विदेशी जस्तो पनि नहुने हुँदा हामी ठिमाहा बन्दै गइरहेका त छैनौं भन्ने लाग्छ । हामीले युरोपियन र अमेरिकन शैली होइन, आफ्नै शैलीमा बाँच्ने प्रयास गर्नुपर्छ कि जस्तो लाग्छ ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? अहिलेको पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

म अलिअलि हेर्छु, अलिअलि पढ्छु । मोबाइलमा अनलाइन नै बढी हेरिन्छ । केही सीमित मिडियाले सत्य कुरा बुझेर, सही समाचार लेख्नुहुन्छ । उहाँहरूको उद्देश्य समाचार बिकाउने मात्रै हुँदैन । उहाँहरूको संख्या कम छ । तर, टीआरपी बढाउन र नकारात्मकतालाई महत्व दिंदा धेरै हेरिन्छ, पहुँच बढ्छ भन्ने ठान्नेको संख्या बढिरहे जस्तो लाग्छ । यस्तो लोभले वातावरण केही धमिलो पारेको छ जस्तो लाग्छ ।

दयाहाङ दाइ आरामले, सजिलोसँग काम गर्नुहुन्छ । सौगात दाइको तयारी बेतोड हुन्छ । चरित्रमा उहाँको मिहिनेत देख्दा बेहोसै भइएला जस्तो हुन्छ

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

पढाइलाई निरन्तरता दिनेथिएँ । मैले एसएलसीपछि पढ्न सकिनँ । म गणितमा सारै राम्रो थिएँ तर एसएलसीमा गणितमै फेल भएँ । त्यसपछि पढाइप्रति वितृष्णा भयो । परिवारमा आर्थिक अभाव पनि थियो । आमाको उपचार र आर्थिक उपार्जनमा चार–पाँच वर्ष बित्यो । पैसा कमाएपछि पढौंला भन्ने त थियो तर त्यसपछि कलेजमा पाइला हाल्नै डर लाग्यो । फेरि फर्केर जान पाए म पढाइ छोड्ने थिइनँ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

भाषा र संस्कृति जर्गेना गर्ने कुरा होला । नेपाली भाषा, नेपालीपन, नेपाली संस्कृति र विविधतालाई हाम्रो पुस्तामा बचाइराख्न सक्यो भने त्यो अर्को पुस्तासम्म पुग्नेछ । आधाभन्दा बढी त नेपाली भाषालाई अंग्रेजीले बिताइसक्यो, तामाङ भाषालाई नेपालीले ७५ प्रतिशत बिताइसकेको छ । चाइना, जापान, कोरियाले आफ्नो भाषा जोगाएका पनि छन्, फैलाएका पनि छन् । त्यो देख्दा हामीले पनि सकिन्छ जस्तो लाग्छ ।

किताब

१. किताब पढ्ने बानी कत्तिको छ ? पढ्ने बानी कसरी बस्यो ?

म पहिले बेतोड पढ्थें । पछिल्लो समय चाहिं पाएको छैन । पढाइ छुटेपछि मलाई कलेज नगए पनि पढ्न त छोड्नुहुँदैन भन्ने लाग्यो । अनि, कुनै एउटा विषयमा गहिरिएर पढ्छु भन्ने ठानेर म नाटकतिर लागें । बालुवाटारमा रहेको पुष्कर गुरुङको डबली थिएटरमा पुगें । त्यहाँ र्‍याकभरी नाटक सम्बन्धी नेपाली र अंग्रेजीका किताबहरू थिए । मैले पुष्कर सरलाई भनें– ‘म यहाँ सरसफाइ गर्ने, खाना खाजा बनाउने काम गरिदिन्छु । मलाई यहाँ बस्न र पढ्न दिनुस् ।’ उहाँले ‘भइहाल्छ नि’ भन्नुभयो । त्यहाँ बसुञ्जेल मैले नेपालीमा भएजति लगभग सबै किताब पढें । त्यो समयमा श्रुति–संवेग कार्यक्रममा अच्युत घिमिरेको वाचनमा थुप्रै साहित्यका पुस्तकहरू सुनें पनि ।

२. पढ्न मनपर्ने विधा ?

नाटक ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

पारिजातको ‘शिरीषको फूल’, दौलतविक्रम बिष्टको ‘चपाइएका अनुहार’, हर्मन हेस्सेको ‘सिद्धार्थ’ र पाउलो कोएलोको ‘दि आल्केमिस्ट’ ।

४. निराश बनाएको पुस्तक ?

त्यस्तो छैन । पढेपछि पुस्तकबाट केही न केही कुरा प्राप्त गरिन्छ ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

अहिलेको अवस्थामा नाटक नै धेरै लेखिनुपर्छ भन्ने लाग्छ । नेपाली मौलिक नाटकका किताबहरू अझै धेरै भइदिए हुन्थ्यो भन्ने लाग्छ ।

६. तपाईंका प्रिय लेखकहरू ?

नेपाली लेखकमा पारिजात, बुद्धिसागर, कुमार नगरकोटी, खगेन्द्र लामिछाने । विदेशीमा हर्मन हेस्से र लु सुन ।

८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

कलाकार बन्न चाहनेले सबै विधाका भेटिनेजति पुस्तकहरू पढ्दा फाइदै हुन्छ । किताबमा जीवन र चरित्र पाइन्छ । त्यसले जीवन र समाजलाई बुझ्न मद्दत गर्छ । अभिनय नै गर्छु भन्नेले चाहिं भरतनाट्यम्देखि लिएर स्तानिस्लाभास्कीकोे अभिनय सम्बन्धी किताब पढ्दा राम्रो हुन्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

लेखक पारिजातसँग । सुरु–सुरुमा पढेकाले पनि ममाथि उहाँको लेखनको प्रभाव धेरै छ ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

पहिलो पटक मैले काठमाडौंको विश्वज्योति सिनेमा घरमा नेपाली फिल्म ‘चिनो’ हेरेको सम्झना छ । मेरो मामाको छोरा दाइ रेशमबहादुर तामाङले मलाई फिल्म हेर्न लैजानुभएको थियो । म सानै थिएँ । दाइले मेरो टिकट नकाटिकन, गेटमा जबर्जस्ती गरेरै मलाई भित्र लैजानुभएको थियो । पहिलो पटक फिल्म हेर्दा मलाई अचम्म लागेको थियो । फिल्म सकेर बाहिर आउँदा ती पर्दाका मान्छे कहाँ गए होलान्, तिनलाई के भयो होला भनेर म निकैबेर छक्क परेको थिएँ ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

सबैखाले फिल्म । एक्सनदेखि कमेडी सबै हेर्छु ।

३. साह्रै मन परेका फिल्म ?

नेपाली फिल्म प्रायः सबै मन पर्छ । आफूले काम गरेका त झन् मन परेरै काम गरिएको हुन्छ । विदेशी फिल्ममा मलाई कोरियन, इरानी फिल्महरू मन पर्छ ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

धेरै हिन्दी फिल्महरूमा प्रायः त्यस्तो भएको छ । पछिल्लो समय ‘आदिपुरुष’मा त्यस्तै भयो । खतरै होला जस्तो लागेको थियो, झुरै लाग्यो ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

साथीभाइको सिफारिशमा । म सबै साथीहरूलाई राम्रो फिल्म रिफर गर भन्छु ।

खानामा चाहिं झुर छु । भोक लागेको बेला अगाडि पापड राखिएको छ भने म नअघाउन्जेल पापड खाइरहन्छु । पछि मासु आयो भने मासु खाने ठाउँ छैन भन्छु

६. मन परेका कलाकार वा फिल्ममेकर ?

अभिनेतामा मलाई दयाहाङ राई र सौगात मल्ल बेस्सरी मनपर्छ । उहाँहरू दुवै जनाको काम गर्ने, चरित्रमा छिर्ने र तयारी गर्ने शैली फरक छ । दया दाइ आरामले, सजिलोसँग काम गर्नुहुन्छ । सौगात दाइको तयारी बेतोड हुन्छ । चरित्रमा उहाँको मिहिनेत देख्दा बेहोसै भइएला जस्तो हुन्छ । बलिउडमा नवाजुद्दिन सिद्दिकीको अभिनय मन पर्छ ।

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

फिल्म बनाउने दर्शकका लागि नै हो । दर्शकको रुचिलाई ध्यानमा राखेर आफ्नो कथा र आफ्नोपन मिसाइएको फिल्म बनिनुपर्छ जस्तो लाग्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

दुइटै आवश्यक हो । फिल्ममा दुवै चिज हुनुपर्छ । फिल्म हेरुञ्जेल कतकता उडेर मात्र पनि भएन । सत्यसँग जोडिनु पर्‍यो । तर, फेरि फिल्म भनेको मनोरञ्जन हो, पाठ्यक्रम होइन ।

घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

मन पर्छ । फिल्मको सिलसिलामा घुम्याघुम्यै पनि छु । एक ठाउँमा खुम्चियो भने केही थाहा नहुँदोरहेछ भन्ने चाहिं मलाई २०५६ सालतिर भक्तपुरमा इँटा बनाउने काम गर्दाखेरी थाहा भएको हो ।

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

सबभन्दा धेरै त पोखरा नै गइयो होला । सुटिङकै लागि धेरै गइयो । जान मन लागिरहने त काभ्रेको आफ्नै घर । मलाई एकदमै घर मिस हुन्छ । कोरोनाकालमा केही समय बसियो । दुई दिन जस्तो फुर्सद भयो भने गाउँ गएर घर वरपर सफा गरेर बसौं भन्ने मनमा आइहाल्छ ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

सबै यात्रा मैले इन्जोय नै गर्छु । ट्रेकिङ भरियाका रूपमा पहिलो पटक च्छोरोल्पा ताल पुगेर पहिलोचोटि हिउँमा पाइला टेक्दाको आनन्द अहिले पनि याद छ । एक घण्टाजति हिंड्दा मनमा ‘आहा, म त हिउँमा पो छु’ भन्ने भयो । तर, दुई–तीन दिनसम्म लगातार हिउँमा हिंड्न परेपछि ‘हिउँ कहिले सकिन्छ जस्तो’ पनि भयो । कुनै पनि चिजको मनपराइ थोरै समय हुँदोरहेछ भन्ने मलाई त्यहीं थाहा भयो । ‘बुद्धिजी, कुनै प्नि कुुरामा धेरै खुशी हुने र दुःखी हुने हाइन । सबै कुरालाई सामान्य रूपमा लिनुपर्छ’ भन्ने लाग्यो ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

मजाले सुन्छु । म नेपाली आधुनिक सुगम संगीतको पारखी हुँ । नारायणगोपालदेखि सुनिल गिरीसम्म सबै गायक मन पर्छ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

आजभोलि तामाङ सेलो बढी सुनिरहेको छु । आफ्नै निर्देशनमा नाटक ‘मासिन्या’को तयारी गर्दाताका म सेलोतिर बढी आकर्षित भएँ । नाटकका कलाकारलाई तामाङ फिल दिनका लागि पनि थिएटरमा डेढ महिना जति निरन्तर सेलो बजाएको थिएँ । सेलोमा तामाङ इतिहासका कुरा र घटनाका वर्णन लुकेका छन् । त्यसलाई लिएर कुनै फिल्म बनाउन सकिन्छ कि भन्ने मेरो दिमागमा चलिरहेको छ ।

६. के कुराको विशेष सोख छ ?

मलाई काम गर्न खुब मनपर्छ । दिनरात चौबीसै घण्टा काम गरिराखौं भने पनि सक्छु । बत्तीको काममा बढी रुचि छ । थिएटरमा नयाँ–नयाँ लाइट निर्माणमा । विदेशतिर जाँदा ‘मलाई थिएटरमा लगिदेऊ’ भन्छु । अनि घण्टौं लाइट हेरेर बस्छु । त्यसबाहेक बिग्रेका, टुटे–फुटेका होल्डरहरू जोडेर नयाँ बनाउन पनि मन पर्छ । मसँग थिएटर र बाहिर घरहरूमा पनि लाइटको कामको अनुभव छ ।

७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

खानामा चाहिं झुर छु । भोक लागेको बेला जे भेट्यो त्यही खान्छु । कस्तो छ भने अगाडि पापड राखिएको छ भने म नअघाउन्जेल पापड खाइरहन्छु । पछि मासु आयो भने मासु खाने ठाउँ छैन भन्छु । खानामा यही चाहिन्छ भन्ने छैन । मकैको ढिंडो र रायोको साग मन पर्छ ।

राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

परिवर्तन त चाहने तर पुरानैमा अल्झिरहने हो कि झैं लाग्छ ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

राजनीतिको समस्या भनेकै जनताले चुन्ने बेलामा सही छनोट नगरिदिनु हो । जनताले सही मान्छे छनोट गरिदिने हो भने समस्या हुन्थेन जस्तो लाग्छ ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

उदाहरण चाहिं विदेशका जति नि दिने तर काम चाहिं नगर्ने बानी । नीति–नियमहरू पनि आफैंलाई मात्रै सजिलो पार्ने गरी बनाउने चरित्रलाई बदलिदिन्थें ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

विगत, सुरुवाती संघर्ष र योगदान त हाम्रा सबै नेताको राम्रो छ । तर, ठाउँमा पुगेपछि काम चाहिं गर्न नसकेको जस्तो लाग्छ । त्यस्तो चर्को प्रभाव पारेको खासै कोही पनि छैन ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

प्रशासन व्यवस्थालाई मजबुत तर जनताका लागि सजिलो हुने बनाउने प्रयास गर्थें । र, नीति–नियम सबैले अनिवार्य मान्नुपर्ने नियम लागू गर्थें ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

कार्ल माक्र्स । उहाँको समाजलाई हेर्ने सिद्धान्तहरूबारे उहाँसँगै कुरा गर्न पाइन्थ्यो ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

दुई घण्टा जति हुन्छ होला । बढी चलाउने फेसबुक ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

छ । सबभन्दा पहिला त उठ्नासाथ समय हेर्नलाई हेरिन्छ । अलार्म बजेन कि क्या हो भनेर पनि हेरिन्छ । उठ्ने बित्तिकै सामाजिक सञ्जालचाहिं चलाउँदिनँ ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सूचना चाँडै सम्प्रेषण हुनु राम्रो । छिटो केही सञ्चार गर्नुपर्‍यो, जानकारी पुर्‍याउनु पर्‍यो भने यो राम्रो माध्यम भएको छ । शिक्षा र ज्ञान पनि यसमा छ । अवगुणचाहिं जसले जसका बारेमा जे पनि भन्न सक्ने । झुट र सत्य उस्तै देखिन्छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

दुइटै काम गरिरहेको छ । हामीले प्राथमिकता दिनुपर्ने चाहिं सही र सत्यलाई हो । सञ्जालमा आएका सबै कुरा तुरुन्तै विश्वास गर्नुभएन । सत्यता जाँच गर्नुपर्‍यो । असत्यलाई पन्छाउन सकियो भने देखिन पनि कम हुँदै जान्छ । हामीले नै बढी हेरेर गलत कुराले बढावा पाए जस्तो लाग्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

त्यस्तो भइरहेको हो कि जस्तो देखिन्छ । किताब पढ्ने वातावरण कम भइरहेको छ । पहिला चाहिं एउटा किताब पढ्न सक्यो भने साथीहरूसँग गफ गर्न सकिन्छ, उदाहरण दिन स्वाद आउँछ भन्ने हुन्थ्यो । अहिले त्यो हराउँदै गएको छ । किताब अझै पढिनुपर्छ । किताबको स्वाद पाउनेले पढ्न छोड्दैन । त्यसैले विस्थापित भइहाल्ला भन्ने लाग्दैन ।

पेशा/व्यवसाय
१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

कलाकार हुनुको सबभन्दा राम्रो कुरा सबैको माया पाइन्छ, सबैको भइन्छ । नराम्रो कुराचाहिं आफ्नाको आफ्नो हुन र परिवारलाई समय दिन गाह्रो पर्छ ।

२. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?

पढ्न नपाएको झोंकमा एउटा विधा भनेर नाटकलाई छानें । डबलीमा नाटक पढ्दै गएपछि गुरुकुलमा नाटक हेर्न थालें । त्यहीबेलातिर मैले कलाकार बन्ने प्रयास गरेको थिएँ तर भ्वाइस र स्पिचका कारण गर्न सकिनँ । त्यसपछि मैले टेक्निसियनका रूपमा नाटकमा लाइट चलाउन थालें । लाइटमा चार–पाँच वर्ष काम गर्दा स्टेजमा स–सानो अभिनय पनि गर्न नसकेको देख्दा ‘यत्तिको त मै गर्छु’ भनेर गर्न थालें । अनि, एक्टर्स स्टुडियोमा गएर अभिनय पढें–सिकें ।

३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?

वैदेशिक रोजगारीमा कुनै देशमा हुन्थें होला ।

४. तपाईंको कोही रोलमोडल छ ?

त्यस्तो छैन । म मान्छेबाट चाँडै प्रभावित हुने स्वभावको छु । त्यही भएर परिवर्तन भइरहन्छ । एउटै, यही मान्छे भन्ने छैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School