४ चैत, पोखरा । नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल ट्रायथलन संघले वैशाखमा पोखरामा आयोजना गर्ने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप सफल बनाउन सरोकारवालाहरूसँग छलफल गरेको हो ।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा यस खेलको अपनत्व दिनका लागि कार्यक्रमको आयोजना गरेको बताए ।
एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप आगामी वैशाख १५ र १६ गते हुँदैछ । यसअघि वैशाख ८ र ९ गते पोखराकै २५ स्थानीयबासीलाई लक्षित गरेर ‘टेक्सिनकल अफिसर्स कोर्स’ प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
यसैगरी नेपाल ट्रायथलन संघले गण्डकी प्रदेशलाई स्थानीय आयोजक कमिटीको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि आफ्नो संघले पनि प्रतियोगिताको आयोजना गर्ने बताए ।
कार्यक्रममा नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षका साथै पर्यटन बोर्डका पदाधिकारीहरूको उपस्थिति थियो ।