प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार

पत्रकार सम्मेलनमा मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रका प्रशासक डा. मेहमेट ओज ठगी नियन्त्रण प्रयासबारे बोल्दै गर्दा छेउमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स । तस्वीर : टम ब्रेनर/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मिनेसोटा राज्यलाई दिइने २५ करोड ९० लाख डलर बराबरको मेडिकेड भुक्तानी अस्थायी रूपमा रोकेको छ। राज्यमा सामाजिक कल्याण कार्यक्रमअन्तर्गत संघीय रकम दुरुपयोग भएको आरोप लगाउँदै उक्त निर्णय गरिएको हो।
बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र मेडिकेड कार्यक्रमका प्रमुख डा. मेहमेट ओजले अडिटपछि रकम रोकिएको जानकारी दिए। उनीहरूले मिनेसोटाका गभर्नर टिम वाल्जको प्रशासनले ठगी नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाए।
उपराष्ट्रपति भान्सले राज्य सरकारले “आफ्नो दायित्व गम्भीरतापूर्वक नलिएसम्म” संघीय भुक्तानी रोकिराखिने बताए। ओजका अनुसार राज्यलाई ६० दिनभित्र “समग्र सुधारात्मक कार्ययोजना” पेश गर्न समय दिइएको छ।
तर गभर्नर वाल्जले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यो निर्णय राजनीतिक प्रतिशोध भएको दाबी गरे। उनले ट्रम्प प्रशासनले डेमोक्र्याट नेतृत्व भएका राज्यहरूलाई लक्षित गरी संघीय संयन्त्र प्रयोग गरिरहेको आरोप लगाए।
प्रशासनले कोभिड–१९ महामारीका बेला सुरु भएको बाल पोषण कार्यक्रमसम्बन्धी घोटालालाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको छ। उक्त प्रकरणमा संघीय कोषबाट करोडौँ डलर ठगी भएको आरोपमा दर्जनौँ व्यक्तिविरुद्ध अभियोग दायर गरिएको थियो।
यसैबीच, प्रशासनले देशभर टिकाउ मेडिकल उपकरण आपूर्तिकर्ताहरूलाई मेडिकेडमा नयाँ दर्ता गर्न ६ महिनाका लागि रोक लगाउने घोषणा गरेको छ। यस्ता आपूर्तिकर्ताहरू ठगीको प्रमुख स्रोत बनेको दाबी गरिएको छ।
गैरनाफामूलक कैसर फ्यामिली फाउन्डेशनको अनुमानअनुसार अमेरिकामा वार्षिक ३०० अर्ब डलरसम्म स्वास्थ्य सेवामा ठगी, दुरुपयोग वा फजुल खर्च हुने बताइएको छ।
मिनेसोटामा संघीय रकम रोकिएपछि परिवार, भूतपूर्व सैनिक र अपांगता भएका व्यक्तिहरू प्रभावित हुन सक्ने राज्य सरकारको चेतावनी छ। प्रशासनले भने स्वास्थ्य क्षेत्रको ठगी नियन्त्रण गर्न कडा कदम आवश्यक रहेको जनाएको छ।