ट्रम्प प्रशासनलाई २०० मिलियन डलर जरिवाना तिर्न कोलम्बिया विश्वविद्यालय सहमत



प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार


अमेरिकाको कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन डलर जरिवाना तिर्ने भएको छ । यहूदी विद्यार्थीहरूलाई पर्याप्त सुरक्षा नदिएको आरोपमा ट्रम्प प्रशासनलाई विश्वविद्यालयले २०० मिलियन अमेरिकी डलर तिन सहमत भएको हो ।

विश्वविद्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा यो सहमति सार्वजनिक गरिएको हो । उक्त रकम तीन वर्षभित्र संघीय सरकारलाई तिर्ने व्यवस्था गरिएको छ ।

यस सहमतिसँगै, संघीय सरकारले मार्चमा रोकिएको वा रद्द गरिएका ४०० मिलियन डलर बराबरका अनुदानमध्ये केही रकम विश्वविद्यालयलाई पुनः उपलब्ध गराउने निर्णय गरेको छ ।

ट्रम्प प्रशासनले गत वर्ष न्यूयोर्क सहरस्थित कोलम्बिया क्याम्पसमा इजरायल गाजा युद्धविरोधी प्रदर्शनका क्रममा यहूदी विरोध नियन्त्रण गर्न विश्वविद्यालय असफल भएको भन्दै कारबाही थालेको थियो ।

यसअघि अप्रिलमा नै कोलम्बियाले ह्वाइट हाउसले अघि सारेका केही मागहरू स्वीकार गरिसकेको थियो।

कोलम्बिया विश्वविद्यालय ट्रम्प प्रशासनद्वारा लक्षित हुने पहिलो संस्था हो । जसलाई एन्टिसेमिटिज्म, गाजा युद्धविरोधी प्रदर्शन, ट्रान्सजेन्डर खेलाडीहरू, र विविधता, समावेशिता जस्ता विषयमा निशाना बनाइएको थियो।

ट्रम्पले राष्ट्रपति पद सम्हालेको एक महिनापछि, फेब्रुअरीमा, कोलम्बियालाई दिइने ४०० मिलियन डलरको संघीय सहयोग रोकेका थिए ।

त्यसपछि विश्वविद्यालयले ह्वाइट हाउसको माग अनुसार क्याम्पसमा विभिन्न नयाँ नियमहरू लागू गरेको थियो । जसमा मध्यपूर्व अध्ययन विभागको पुनःसंरचना पनि समावेश थियो।

ट्रम्प प्रशासनलाई २०० मिलियन डलर जरिवाना तिर्न कोलम्बिया विश्वविद्यालय सहमत

विश्वविद्यालयले यो सहमतिपछि अधिकांश रोकिएका वा रद्द गरिएका अनुदान पुनः बहाल हुने बताएको छ ।

सहमति अनुसार विश्वविद्यालयमा गरिएका परिवर्तनहरूको निगरानी गर्नका लागि स्वतन्त्र निरीक्षक नियुक्त गरिने भएको छ । उनलाई विश्वविद्यालय र संघीय सरकारले संयुक्त रूपमा चयन गर्ने बताइएको छ ।

गाजाविरोधी प्रदर्शनमा संलग्न विद्यार्थीहरूलाई अनुशासनको कारबाही गर्ने, प्रदर्शनमा सहभागी हुनेहरूले क्याम्पस परिचय पत्र देखाउनुपर्ने, प्रदर्शनका क्रममा अनुहार छोप्ने मास्क प्रयोग गर्न नपाइने, विद्यार्थी समूहहरूमा कडा निगरानी गर्ने र क्याम्पसमा सुरक्षाकर्मीहरूको विस्तार गर्ने लगाएतका सहमति विश्वविद्यालय र ट्रम्प प्रशासनबीचमा भएको छ ।

विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले यो सहमति विश्वविद्यालयका आधारभूत मूल्यहरू जोगाउँदै, संघीय सरकारसँगको अनुसन्धान सहकार्यलाई पुनः मार्गमा ल्याउने उद्देश्यले गरिएको बताइन ।

शिपम्यानले सहमति विश्वविद्यालयको स्वतन्त्रता जोगाउने खालको रहेको दाबी गरिन । कोलम्बिया विश्वविद्यालयले यो सहमति कुनै दोष स्वीकार नगरी गरिएको स्पष्ट पारेको छ।





Source link

Leave a Comment