ट्रम्प प्रशासनद्वारा २०२५ यता ६ लाख ७५ हजार आप्रवासी देशनिकाला, राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त



प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

ट्रम्प प्रशासनद्वारा २०२५ यता ६ लाख ७५ हजार आप्रवासी देशनिकाला, राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

राष्ट्रपति डोनल्ड जे. ट्रम्प ९ मार्च, २०२६ मा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै। (आधिकारिक ह्वाइट हाउस फोटो: ड्यानियल टोरोक)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको छोटो अवधिमै आप्रवासन विरुद्धको अभियानलाई तीव्र बनाएका छन्। संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२५ जनवरीमा कार्यभार सम्हालेयता मात्रै ६ लाख ७५ हजार भन्दा बढी आप्रवासीहरूलाई अमेरिकाबाट देशनिकाला  गरिएको छ।

गत वर्ष ह्वाइट हाउस फर्किएलगत्तै ट्रम्पले आफ्नो चुनावी बाचा अनुसार ‘मास डिपोर्टेशन’  नीतिलाई प्राथमिकतामा राखेका छन्। यस अभियानका कारण आप्रवासी पक्राउ र थुनामा राख्ने क्रममा उल्लेख्य वृद्धि भएको छ। संयुक्त राष्ट्रसंघीय समितिले देशनिकालाको यो संख्याप्रति आश्चर्य र चिन्ता व्यक्त गर्दै अध्यागमन प्रवर्तनका क्रममा अत्यधिक बल प्रयोग र हिंसा भएको रिपोर्टहरू सार्वजनिक गरेको छ।

ट्रम्प प्रशासनको तारोमा केवल अवैध आप्रवासीहरू मात्र नभई, पहिलेदेखि नै कानुनी रूपमा अमेरिकामा बस्दै आएका व्यक्तिहरू समेत परेका छन्। प्रशासनले हाल लाखौँ आप्रवासीहरूको कानुनी हैसियत खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ। यस कदमले वैध कागजात भएका र वर्षौँदेखि अमेरिकालाई कर्मथलो बनाएका परिवारहरूमा त्रास फैलाएको छ।

आप्रवासन विरोधी यी अपरेशनहरूका क्रममा “आप्रवासी जस्तो देखिने” आधारमा व्यक्तिहरूलाई लक्षित गरिएको भन्दै राष्ट्रसंघले यसलाई ‘नश्लीय प्रोफाइलिंग’ को संज्ञा दिएको छ। यसै वर्ष मिनेसोटामा भएको संघीय अध्यागमन कारबाहीका क्रममा दुई जना अमेरिकी नागरिककै ज्यान गएपछि ट्रम्पको यो आक्रामक नीतिको चौतर्फी आलोचना भइरहेको छ। तर, ह्वाइट हाउसले भने यी कारबाहीले अमेरिकालाई सुरक्षित बनाएको दाबी गर्दै आएको छ।





Source link

Leave a Comment