प्रकाशित मिति : भाद्र १२, २०८२ शुक्रबार
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि पहिलो सात महिनामै करिब ३ लाख ५० हजार कागजातबिहीन आप्रवासीलाई देश निकाला गरिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक वरिष्ठ अधिकारीका अनुसार, यस अवधिमा मात्र इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले करिब २ लाख व्यक्तिहरूलाई निर्वासन गरेको छ, जसले विगत दशककै उच्च दरमा देश निकाला भएको देखाएको छ।
जनवरी-जुलाई २०२५, सम्म कति जनाले अमेरिकी छाडे ?
– आइसद्वारा निर्वासन (जनवरी–जुलाई २०२५) : करिब २,००,०००
– कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन (सीबीपी)द्वारा निर्वासन : १,३२,००० भन्दा बढी
– स्वेच्छाले देश छोड्ने : १७,५००
– समग्र निर्वासन (७ महिना) : करिब ३,५०,०००
ट्रम्प सत्तामा आउनु अघिदेखि नै (२०२४ अक्टोबर–डिसेम्बर) आइसले ७१,४०० भन्दा बढी निर्वासन गरिसकेको थियो। ती तथ्याङ्क समेत समावेश गर्दा, चालु आर्थिक वर्ष २०२५ (सेप्टेम्बर ३० मा समाप्त हुने)मा निर्वासन संख्या ३ लाख पार गर्ने सम्भावना प्रबल छ। यति ठूलो संख्यामा निर्वासन सन् २०१४ पछि पहिलो पटक भएको हो, जब राष्ट्रपति बाराक ओबामाको कार्यकालमा करिब ३ लाख १६ हजार व्यक्तिलाई हटाइएको थियो।
ट्रम्प प्रशासनले आफ्नो “वृहत् निर्वासन अभियान”लाई सफल बनाउन आइस, सीबीपी र अमेरिकी कोस्ट गार्ड लगायतका संघीय निकायलाई देशव्यापी रूपमा सक्रिय बनाएको छ। विशेषगरी लस एन्जलस र वासिङ्टन डीसीमा यस अभियानको प्रष्ट प्रभाव देखिएको छ।
आइसका एक वरिष्ठ अधिकारीले भने, “सक्रिय न्यायाधीशहरूको ऐतिहासिक अवरोधबीच पनि आइस, सीबीपी र कोस्ट गार्डले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्न ऐतिहासिक प्रगति गरेका छन्। कागजतबिहीन आप्रवासीहरूले हाम्रो सन्देश सुनेका छन्, अहिले नै देश छोड वा कानुनी परिणाम भोग।”
तर, ह्वाइट हाउसभित्र भने अझै असन्तुष्टि छ। आन्तरिक गिरफ्तारी संख्या प्रशासनको लक्ष्यभन्दा कम रहेको छ।
– दैनिक गिरफ्तारी (हाल) : १,००० – २,०००
– ह्वाइट हाउसको लक्ष्य : ३,००० दैनिक
यो संख्या बाइडेन प्रशासनको तुलनामा करिब दोब्बर भए पनि, ट्रम्पले चुनावी अभियानमा गरेको “प्रति वर्ष १० लाख निर्वासन” गर्ने वाचा अझै टाढै देखिएको छ।
आगामी वर्षहरूमा भने निर्वासन अभियान झन् तीव्र हुने सम्भावना छ। ट्रम्पले यसै गर्मीयाममा आप्रवासी नियन्त्रणसम्बन्धी एजेन्डा विधेयकमा हस्ताक्षर गरेपछि, आइस अमेरिकी संघीय निकायहरूमध्ये सबैभन्दा बढी बजेट पाउने सुरक्षा निकाय बन्नेछ।
आइसको आगामी बजेट (२०२५–२०२९) : करिब ७५ अर्ब डलर
– हिरासत केन्द्र विस्तार : करिब ४५ अर्ब डलर
– नियन्त्रण र निर्वासन अभियान : करिब ३० अर्ब डलर
यो बजेटले आइसलाई अझ शक्तिशाली बनाउँदै आप्रवासी पक्राउ, हिरासत र निर्वासन प्रक्रियामा तीव्रता ल्याउने बताइएको छ।
मेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्वेच्छाले देश छोड्न लाखौं डलरको विज्ञापन अभियान सञ्चालन गरेको छ । साथै, वित्तीय प्रोत्साहन पनि दिइएको छ। यसै सन्दर्भमा, मेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले हालैको क्याबिनेट बैठकमा यी तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रपतिको “कडा सन्देश” लाई श्रेय दिएकी छिन्।



