ट्रम्प प्रशासनको नयाँ निर्णय : थप १२ देशका लागि ‘भिसा बन्ड’, बुझाउनुपर्नेछ १५ हजार डलर धरौटी



प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार

ट्रम्प प्रशासनको नयाँ निर्णय : थप १२ देशका लागि ‘भिसा बन्ड’, बुझाउनुपर्नेछ १५ हजार डलर धरौटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा नीतिमा थप कडाइ गर्दै ‘भिसा बन्ड’ कार्यक्रममा नयाँ १२ देश थपेको छ। यससँगै अब कुल ५० देशका नागरिकहरूलाई अमेरिकामा प्रवेशका लागि आवेदन दिँदा १५ हजार डलर जमानत राख्नुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार यसअघि ३८ देश समेटिएको सूचीमा कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मंगोलिया, मोजाम्बिक, निकारागुवा, पापुआ न्यू गिनी, सेशेल्स र ट्युनिसिया थपिएका हुन्।

यो व्यवस्था अप्रिल २ देखि लागू हुनेछ। व्यवसाय (बी १) र पर्यटन (बी२) भिसा लिन चाहने विदेशी नागरिकहरूले १५ हजार डलर बन्ड तिर्नुपर्नेछ। अधिकारीका अनुसार यस कदमको उद्देश्य भिसा अवधि नाघेर बस्ने समस्या नियन्त्रण गर्नु हो।

भिसा धारकले नियमअनुसार समयमै आफ्नो देश फर्किएमा वा यात्रा नै नगरेमा उक्त रकम फिर्ता गरिनेछ।

पहिले नै समावेश ३८ देशहरूमा अल्जेरिया, अंगोला, एन्टिगुआ एण्ड बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भेर्डे, केन्द्रीय अफ्रिकी गणतन्त्र, कोट द’इभोर, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, गाम्बिया, गिनी, गिनी(बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नेपाल, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे रहेका छन्।

ट्रम्प प्रशासनले पछिल्लो समय आप्रवासन नीतिमा कडाइ गर्दै आएको छ। यसअन्तर्गत निर्वासन अभियान तीव्र बनाउने, भिसा तथा ग्रीन कार्ड रद्द गर्ने र आप्रवासीहरूको गतिविधिमा निगरानी बढाउने जस्ता कदमहरू समावेश छन्।

मानव अधिकार समूहहरूले भने यस्तो नीतिले नागरिक स्वतन्त्रता र कानुनी अधिकारमा असर पार्ने भन्दै विरोध जनाएका छन्। तर प्रशासनले देशको सुरक्षा मजबुत बनाउन यस्तो नीति आवश्यक रहेको दाबी गरेको छ।





Source link

Leave a Comment