कुनै पनि मुलुकको कार्यकारी अधिकार प्राप्त व्यक्ति अर्थात् राष्ट्रप्रमुखले आफ्नो मुलुकको हित र समृद्धिका लागि नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नुलाई कुनै नौलो कदम मान्न सकिँदैन । यो एउटा नियमित कार्य हो । कल्याणकारी राज्यको सरकार प्रमुखले आफ्नो मुलुक र बासिन्दाहरूप्रति जिम्मेवार भएर योजनाहरू तथा कार्यक्रमहरू तयार गरेका हुन्छन् भन्ने सर्वमान्य धारणा छ । तथापि, जब कुनै सरकार प्रमुखले अगाडि सारेका योजनाहरूले अन्य मुलुकलाई समेत प्रभाव पार्ने देखिन्छ । त्यसपछि भने त्यो चासोको विषय बन्छ । यस्तै विषय अहिले सर्वत्र चर्चामा छ । विशेषगरी, पछिल्लोपटक अमेरिकाको राष्ट्रपतिका रूपमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले एकपछि अर्को गर्दै लिइरहेका अप्रत्याशित एवं कठोर निर्णयहरूले विश्वमा तरंग नै पैदा गरेको छ ।
पछिल्लोपटक शपथग्रहणलगत्तै उनले सयभन्दा बढी कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशमा आप्रवासन, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, सीमा सुरक्षा, विदेश नीति, गर्भपतनलगायतका मुद्दा समावेश भएको देखिन्छ । ट्रम्पले आफूले जारी गरेका ऐतिहासिक कार्यकारी आदेशहरूले अमेरिकाको पूर्ण पुनःस्थापना र क्रान्तिको सुरुवात हुने बताएका छन् । उनले आफ्नो कार्यकालमा अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । आफ्नो कार्यकालदेखि अमेरिकामा स्वर्ण युगको सुरुवात भएको उनको दाबी छ । तथापि, पछिल्लोपटक उनले जारी गरेका कार्यकारी आदेशले भने सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ ।
ट्रम्पले शपथलगत्तै अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट बाहिरिएको घोषणा गरेका छन् । अमेरिका ५ वर्षभन्दा कम समयमा दोस्रोपटक डब्लूएचओबाट अलग भएको छ । ट्रम्पको पहिलो कार्यकालमा समेत संगठनबाट अलग हुने निर्णय गरिएको थियो । उनको पछिल्लो निर्णयले एचआईभी एड्स, मलेरिया र क्षयरोगजस्ता संक्रामक रोगविरुद्ध दशकौंदेखि प्राप्त उपलब्धिलाई निरन्तरता दिन कठिन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । सन् १९४८ मा डब्लूएचओमा आबद्ध भएको अमेरिकाले गएको १ दशकमा वार्षिक १६ करोडदेखि ८१ करोड ५० लाख अमेरिकी डलरसम्म आर्थिक सहयोग गरेको बताइएको छ । हाल डब्लूएचओको वार्षिक बजेट २ अर्बदेखि ३ अर्ब अमेरिकी डलरसम्म हुने गरेको छ । सन् २०२३ मा डब्लूएचओको कुल बजेटको २० प्रतिशत हिस्सा अमेरिकाले बेहोरेको थियो । अमेरिकी सहयोग गुमाउँदा पोलियो उन्मूलन गर्ने प्रयास, मातृ तथा बाल स्वास्थ्य कार्यक्रम र नयाँ भाइरसको खतरा पहिचान गर्ने अनुसन्धानसहितका विश्वव्यापी स्वास्थ्य पहलमा प्रत्यक्ष असर पुग्ने आकलन गरिएको छ । ट्रम्पको पछिल्लो निर्णयले नेपालजस्ता विकासशील मुलुकमा प्रत्यक्ष असर पर्ने देखिन्छ । नेपालमा डब्लूएचओ मातृ तथा प्रसवकालीन मृत्यु, नवजात र बालबालिकासम्बन्धी रोग, प्रजनन तथा महिला स्वास्थ्य र खोप तथा पोलियो, दादुरा, रुबेला र नवजात शिशुमा हुने टिटानसलगायतका क्षेत्रमा क्रियाशील छ ।
डब्लूएचओलाई दिने सहयोग स्थगन मात्र नभई अमेरिका जलवायु सम्झौताबाट समेत बाहिरिने ट्रम्पको निर्णयले विश्वलाई चकित बनाएको छ । शपथग्रहणलगत्तै ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पको यो निर्णयबाट जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका विज्ञ र सरोकारवालाले गहिरो चिन्ता व्यक्त गरेका छन् । पेरिस सम्झौताको दस्तावेज धरापमा पर्ने जोखिम बढेको उनीहरूको तर्क छ । जलवायु परिवर्तनका प्रभावसँग जुध्न नीतिगत प्रक्रिया र पद्धति निर्माणमा विश्वभर पेरिस जलवायु सम्झौतालाई एउटा महŒवपूर्ण दस्तावेजका रूपमा लिइन्छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूले सन् २०१५ डिसम्बर १२ मा फ्रान्सको राजधानी पेरिसमा यो सम्झौता गरेका थिए । जलवायु परिवर्तनसँग जुध्न आवश्यक वित्तीय स्रोत खोजी, पहिचान र उपलब्धताका साथै जलवायु न्यायलाई समेत यो सम्झौताले समेटेको छ । जलवायु परिवर्तनबाट विश्व नै आक्रान्त बनिसकेको छ । विश्वका धनी–गरिब, साना–ठूला, विकसित–अल्पविकसित, भूपरिवेष्टित–समुद्र तटीय सबै राष्ट्र कुनै न कुनै रूपमा प्रभावित छन् । ट्रम्पको पछिल्लो निर्णयले जलवायु परिवर्तनका कारण निम्तिने जोखिमसँग जुध्ने रणनीति निर्माण गर्नेलगायतका अभियानमाथि कालो बादल मडारिएको छ ।
अमेरिकाको आप्रवासन र कस्टम इन्फोर्समेन्ट (आईसीई) ले अवैध आप्रवासीको खोजी गर्दै धमाधम देश निकाला गरिरहेको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १४ लाख ४५ हजार ५ सय ४९ जना अवैध आप्रवासी परेका छन् ।
करिब ४ वर्षपछि ह्वाइट हाउस फर्किएका ट्रम्पले अमेरिकाले विश्वभर दिँदै आएका सबैखाले आर्थिक सहयोग तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छन् । अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेसँगै सहयोग रोकिएको हो । सरकारी तथ्यांकअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलरबराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो । अहिले तत्काल यस्तो सहायता रोक्दा धेरै देशलाई असर पर्ने देखिएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, मानवीय सहायता, लैंगिक समानता, जलवायु परिवर्तन, मानवअधिकार, शरणार्थीलगायतका क्षेत्रमा प्रतिकूल असर पर्ने आकलन गरिएको छ । ट्रम्पको निर्णयले सबैभन्दा बढी युक्रेन प्रभावित हुने आकलन गरिएको छ । रसियासँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले सैन्य र आर्थिक सहयोग गर्दै आइरहेको छ । सन् २०२३ मा अमेरिकाले युक्रेनलाई १७ अर्ब ७१ करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो निर्णयले नेपालमा समेत असर परिसकेको छ । नेपालमा यूएसएआईडीबाट सञ्चालित सबै कार्यक्रम स्थगित भइसकेका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि सबैभन्दा बढी अमेरिकाबाट आर्थिक सहायता पाउने देश नेपाल हो । सबैभन्दा बढी सहयोग पाउने देशहरूको सूचीमा नेपाल १६औं स्थानमा पर्छ । सन् २०२३ मा अमेरिकाले नेपाललाई ६९ करोड ६१ लाख ७० हजार अमेरिकी डलर सहयोग गरेको थियो । सन् २०२४ मा यो रकममा वृद्धि गरिएको थियो ।
ट्रम्पले राष्ट्रपतिको पद सम्हालेसँगै अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीप्रति कठोर नीति लिएका छन् । त्यहाँको आप्रवासन र कस्टम इन्फोर्समेन्ट (आईसीई) ले अवैध आप्रवासीको खोजी गर्दै धमाधम देश निकाला गरिरहेको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १४ लाख ४५ हजार ५ सय ४९ जना अवैध आप्रवासी परेका छन् । यसमा सबैभन्दा बढी मध्यअमेरिकी मुलुक होन्डुरसका नागरिक छन् । त्यहाँका २ लाख ६१ हजार ६ सय ५१ जना सूचीमा छन् । यसैगरी, मध्यअमेरिकाकै ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित सूचीमा परेका छन् । निष्कासित हुनेमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना परेका छन् । यसैगरी निष्कासनको सूचीमा परेका अवैध आप्रवासीमा १३ सय ६५ नेपाली समेत परेका छन् । अमेरिकामा गैरकानुनी रूपमा बसिरहेका आप्रवासीको संख्या साढे १४ लाख मात्र भने भने होइन । यो संख्या करिब ११ मिलियन अर्थात् १ करोड १० लाखभन्दा बढी रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । यसरी लाखौं आप्रवासीहरूलाई रातारात देश निकाला गर्दा धेरैको उठिबास हुने पक्का भएको छ ।
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापारलाई प्रभावित पार्न सक्ने नीतिहरू समेत अगाडि सारेको छ । उनले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क लगाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार मेक्सिको र क्यानडाका लागि समान २५ प्रतिशत र चीनका लागि १० प्रतिशत नयाँ आयात शुल्क लगाइएको जनाएको छ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् । गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । उता क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् । ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताउँदै आएका छन् । युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेकाले आयात शुल्क लगाउनुपरेको बताएका छन् । यसले एकातिर व्यापार युद्धको खतरा देखिन्छ भने अर्कोतर्फ आयातमा लगाइएको थप शुल्कले विश्वभरका उपभोक्ता मारमा पर्ने आकलन गर्न सकिन्छ ।
अमेरिका विश्वकै शक्तिशाली मुलुकका रूपमा परिचित छ । आर्थिक, सामाजिक एवं राजनीतिक रूपले मात्र नभई सैन्य शक्तिका दृष्टिकोणले समेत अन्य मुलुकभन्दा अब्बल देखिन्छ । यसैकारण यस मुलुकका राष्ट्रपतिले लिने कुनै पनि निर्णयले आम विश्वसमुदायलाई कुनै न कुनै रूपले प्रभाव पार्ने देखिन्छ । पछिल्लो समय ट्रम्पले अगाडि सारेका कार्यक्रमहरूले सकारात्मक सन्देश दिन नसकेको धेरैको बुझाइ छ । अमेरिकाले आर्थिक सहायता रोक्दा विकासशील मुलुकहरूमा सुशासन, मानव विकास, शिक्षा, स्वास्थ्य र जनसंख्या, वित्तीय सुधार, प्रशासन सुधारका क्षेत्रमा सञ्चालित परियोजनाहरूमा प्रतिकूल प्रभाव पर्ने देखिन्छ । यसको असर विश्वसमुदायले भोग्नुपर्ने कुरामा दुईमत छैन । ट्रम्पको पेरिस सम्झौता र डब्लूएचओजस्ता संस्थाहरूबाट बाहिरिने घोषणा, आप्रवासीप्रतिको कठोर नीति तथा आयातित वस्तुहरूमाथि गरेको भेदभावपूर्ण व्यवहारले उनी गैरजिम्मेवार भएर शक्तिको प्रदर्शन गर्न खोजेको आभास दिलाएको छ । यसैगरी, क्यानडा, ग्रिनल्यान्ड, मेक्सिको खाडी कब्जा गर्ने अभिव्यक्तिहरूले ट्रम्पको एकतर्फी र विस्तारवादी दृष्टिकोणलाई झल्काएको छ । यसले सम्पूर्ण विश्व समुदायलाई चिन्तित तुल्याएको छ । अहिलेको २१औं शताब्दीमा कुनै शासक अराजक भएर अधिनायकवाद र विस्तारवादको दिवा सपना पूरा गर्छु भनेर अगाडि बढ्छ भने त्यसको परिणाम सोच्नसमेत नसकिने कुरामा सबैको ध्यान जानुपर्ने जरुरी देखिन्छ ।
(Visited 25 times, 1 visits today)