प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको भेट वार्तामा चर्काचर्की भयो । दुई राष्ट्रपतिबीच आफ्ना–आफ्ना अडान राख्ने क्रममा चर्काचर्कीको अवस्था सिर्जना भएको हो ।
वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा युक्रेनी समकक्षी जेलेन्स्कीले असहमति जनाएपछि ट्रम्प आक्रोशित बनेका थिए । आक्रोशित ट्रम्पले युक्रेन सम्झौता गर्न तयार हुनुपर्ने बताउँदै अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको जिकिर गरे । ट्रम्पले जेलेन्स्की लाखौँ मानिसहरूको जीवनसँग जुवा खेलेको बताउँदै उनले गरेको काम देशप्रति अपमानजनक रहेको बताएका थिए ।
ओभल अफिसमा भएको चर्काचर्कीले विश्व समुदायको ध्यान तानेको छ । विभिन्न देशहरूले विभिन्न प्रतिक्रिया समेत दिएका छन् ।
ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले आफ्नो एक्समार्फत अमेरिकालाई धन्यवाद व्यक्त गर्दै भनेका छन्, “धन्यवाद अमेरिका, तपाईँको समर्थनका लागि धन्यवाद । यस भ्रमणका लागि धन्यवाद । धन्यवाद संयुक्त राज्य अमेरिकाका राष्ट्रपति (पीओटीयूएस), काँग्रेस र अमेरिकी जनतालाई । युक्रेनलाई न्यायसङ्गत र स्थायी शान्ति आवश्यक छ । हामी त्यसैका लागि काम गरिरहेका छौँ।“
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि एक्समार्फत प्रतिक्रिया दिएका छन् । उनले रुसले गैर कानुनी र अन्यायपूर्ण रूपमा युक्रेनमाथि आक्रमण गरेको बताउँदै युक्रेनी जनताहरू तीन वर्षदेखि साहस र धैर्यका साथ सङ्घर्ष गरिरहेको बताए । उनले लोकतन्त्र, स्वतन्त्रता, र सार्वभौमिकताको लागि युक्रेनी जनताहरूको सङ्घर्ष सबैका लागि महत्त्वपूर्ण रहेको बताउँदै क्यानडा न्यायसङ्गत र स्थायी शान्ति हासिल गर्न युक्रेन र युक्रेनीहरूसँग सधैँ उभिने जिकिर समेत गरे ।
उनले लेखेका छन्, “रुसले गैर कानुनी र अन्यायपूर्ण रूपमा युक्रेनमाथि आक्रमण गर्यो । तीन वर्षदेखि युक्रेनीहरूले साहस र धैर्यका साथ सङ्घर्ष गरिरहेका छन् । लोकतन्त्र, स्वतन्त्रता, र सार्वभौमिकताको लागि उनीहरूको सङ्घर्ष हामी सबैका लागि महत्त्वपूर्ण छ । क्यानडा न्यायसङ्गत र स्थायी शान्ति हासिल गर्न युक्रेन र युक्रेनीहरूसँग सधैँ उभिनेछ ।”
जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनका नागरिकहरू शान्ति चाहिएका बताएका छन् । एक वक्तव्य जारी गर्दै उनले आफूहरू संयुक्त रूपमा स्थायी र न्यायसङ्गत शान्तिको मार्ग खोजिरहेको बताए ।
एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, “युक्रेनका नागरिकहरूभन्दा बढी कसैलाई शान्ति चाहिएको छैन ! त्यसैले हामी संयुक्त रूपमा स्थायी र न्यायसङ्गत शान्तिको मार्ग खोजिरहेका छौँ । युक्रेनले जर्मनी र सम्पूर्ण युरोपमाथि भर गर्न सक्छ ।“
त्यस्तै, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पोर्चुगलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्पष्ट रूपमा युक्रेनप्रति समर्थन जनाए । उनले रुस नै आक्रामक रहेको र युक्रेन पीडित राष्ट्र भएको जिकिर गरे ।
उनले भने, “रुस नै आक्रामक हो । युक्रेन पीडित राष्ट्र हो। तीन वर्षअघि हामी सबैले युक्रेनलाई सहयोग गर्ने र रसियामाथि प्रतिबन्ध लगाउने निर्णय सही थियो, त्यो निरन्तर जारी राख्नुपर्छ । हामी, संयुक्त राज्य अमेरिका, युरोपियन राष्ट्रहरू, क्यानडा, जापान र धेरै अन्य देशहरूले युक्रेनलाई सहयोग गरिरहेका छौँ । हामी ती सबैलाई धन्यवाद दिनुपर्छ जसले सहयोग गरे । ती सबैको सम्मान गर्नुपर्छ जसले सुरुदेखि नै सङ्घर्ष गरिरहेका छन् । किनभने उनीहरू आफ्नो सम्मान, स्वतन्त्रता, आफ्ना सन्तान, र युरोपको सुरक्षाका लागि लडिरहेका छन् । यी कुरा सरल लाग्न सक्छन्, तर यस्तो कठिन समयमा सम्झनु आवश्यक छ ।
अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानेजले युक्रेनलाई समर्थन गरेका छन् । उनले आफूहरू युक्रेनसँग जबसम्म आवश्यकता पर्छ, तब सम्म साथमा उभिइरहने बताएका छन् । उनले भनेका छन्, “हामी युक्रेनसँग तबसम्म उभिरहनेछौं, जबसम्म आवश्यक पर्छ । किनकि यो एक लोकतान्त्रिक राष्ट्र र भ्लादिमिर पुटिनको नेतृत्वमा रहेको अधिनायकवादी शासनबिचको सङ्घर्ष हो । पुटिनको साम्राज्यवादी सोच केवल युक्रेनसम्म सीमित छैन, उनी सम्पूर्ण क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन् ।”
ब्रिटिस प्रधानमन्त्री कीर स्टार्मरका प्रवक्तालेले प्रधानमन्त्रीले युक्रेनप्रति आफ्नो अटल समर्थन कायम राखेको जानकारी दिएका छन् । उनले प्रधानमन्त्री स्टार्मरले युक्रेनको सार्वभौमिकता र सुरक्षामा आधारित स्थायी शान्तिको मार्ग खोज्न आफ्नै भूमिका निभाइरहेका बताएका हुन् ।
उनले भनेका छन्, “प्रधानमन्त्रीले युक्रेनप्रति आफ्नो अटल समर्थन कायम राख्नुभएको छ । युक्रेनको सार्वभौमिकता र सुरक्षामा आधारित स्थायी शान्तिको मार्ग खोज्न उहाँले आफ्नै भूमिका निभाइरहनुभएको छ ।”
क्यानडाली विदेश मन्त्री मेलानी जोलीले एक्समा लखेकी छिन्, “क्यानडा युक्रेनको सुरक्षा, सार्वभौमिकता, र सहनशीलता सुनिश्चित गर्न आवश्यक सहायता प्रदान गर्न प्रतिबद्ध छ ।”
युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डर लेयेनले एक्समा लेखेकी छिन्, “तपाईँको आत्मसम्मानले युक्रेनी जनताको साहसलाई सम्मान दिन्छ । बलियो रहनुहोस्, निडर रहनुहोस् । तपाईँ कहिल्यै एक्लो हुनुहुन्न, प्रिय राष्ट्रपति । हामी न्यायसङ्गत र स्थायी शान्तिका लागि तपाईँहरूसँग निरन्तर काम गरिरहनेछौँ ।”
मोल्डोभाकी राष्ट्रपति माइआ सान्दुले पनि आफूहरु युक्रेनको पक्षमा रहेको बताएकी छिन् । त्यस्तै, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले लेखेका छन्, “युक्रेन, स्पेन तपाईँको साथमा छ ।”
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्पको प्रशंसा गर्दै एक्समा लेखेका छन्, “बलियो मानिसहरूले शान्ति कायम गर्छन्, कमजोर मानिसहरूले युद्ध गर्छन् । आज अमेरिकी ट्रम्पले शान्तिका लागि साहसिक रूपमा उभिनुभयो, जुन धेरैलाई पचाउन गाह्रो भयो । धन्यवाद, श्रीमान् राष्ट्रपति!“
नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कोफले भने, “नेदरल्यान्ड्स युक्रेनलाई निरन्तर समर्थन गर्नेछ । विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौँ । रसियाले सुरु गरेको यो आक्रामक युद्ध अन्त्य गर्न चाहन्छौँ ।”
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले एक्समा छोटो तर बलियो सन्देश लेखे, “प्रिय जेलेन्स्की, प्रिय युक्रेनी मित्रहरू, तपाईँहरू एक्लो हुनुहुन्न ।”