प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार

तस्वीर: एआई जेनेरेटेड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको १ बर्षमा अमेरिकाबाट ५८३ नेपाली डिपोर्ट भएका छन् । नेपालको अध्यागमन विभागका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म ५८३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका हुन् ।
डिपोर्ट हुनेहरुमध्ये अधिकांश पुरुष छन् भने महिला संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडान मार्फत ठूलो संख्यामा नेपालीहरूलाई एकै पटक फर्काइएको छ।
अधिकांश डिपोर्ट भएकाहरू अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए । उनीहरुले मानवतस्करहरुलाई ८० लाखदेखि १ करोड नेपाली रुपैयाँसम्म तिरेको पाइएको छ।

नोभेम्बरमा ८० र डिसेम्बर ९५ं जना नेपालीहरुलाई डिपोर्ट गरेको अमेरिकाले जनवरी २०२६ मा जनवरी २० सम्म ९८ जना नेपालीहरुलाई डिपोर्ट गरिसकेको छ । ट्रम्पको कार्यकालको १ बर्ष पूरा भएकै दिन जनवरी २० मा एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गरिएका ८० जना नेपालीहरु काठमाडौं पुगेका थिए । जसमा १ जना महिला र अरु पुरुषहरु थिए ।
डिसेम्बरमा पनि एकै दिन ७५ जना नेपालीलाई डिपोर्ट गरिएको थियो, जसमा ६९ जना पुरुष र ६ महिला रहेका थिए । डिसेम्बरदेखि हरेक महिना कम्तीमा एउटा चार्टडविमानमार्फत नेपालीहरुलाई अमेरिकाले डिपोर्ट गर्न सुरु गरेको देखिन्छ ।
डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोलाई जिम्मा लगाउँछ। ब्यूरोले सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाउँछ, तर लिखित उजुरी परेमा मात्र अनुसन्धान हुन्छ।
हालसम्म २४ वटा उजुरी परेका छन्। अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमै सीमित रहेको छ । डिपोर्ट संख्याको तुलनामा उजुरी निकै कम छ। अर्थात् डिपोर्ट हुनेहरुमध्ये अधिकांशले उजुरी गरेका छैनन् ।