ट्रम्प अमेरिका फर्किएपछि जेलेन्स्की क्यानडामा, रूसविरुद्धको युद्धमा अझ सशक्त समर्थनको माग



प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई स्वागत गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नी।
तस्बिर : जियोफ रोबिन्स/एएफपी-रासस

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मंगलबार क्यानडा पुगेका छन्। उनको भ्रमणको मुख्य उद्देश्य समूह-७ (जी-७) राष्ट्रहरूलाई रूसविरुद्धको युद्धमा अझ सशक्त समर्थन गर्न आह्वान गर्नु रहेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने मध्यपूर्वमा इरान र इजरायलबीचको तनावपूर्ण अवस्थाका कारण शिखर सम्मेलनको अन्त्य नहुँदै क्यानडाबाट फर्किएका छन्।

जेलेन्स्कीले आफ्नो भ्रमणको सुरुवात क्यानडाका प्रधानमन्त्री मार्क कार्नी सँग भेटबाट गरे। भेटपछि कार्नीले कीभलाई १ दशमलव ४७ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता दिने घोषणा गरे। साथै, उनले रूसविरुद्ध थप कडा वित्तीय प्रतिबन्धहरू लगाउने समेत जानकारी गराए।

ट्रम्प अमेरिका फर्किएपछि जेलेन्स्की क्यानडामा, रूसविरुद्धको युद्धमा अझ सशक्त समर्थनको माग

ट्रम्प अमेरिका फर्किएपछि जेलेन्स्की क्यानडामा, रूसविरुद्धको युद्धमा अझ सशक्त समर्थनको माग

‘कीभमा रातभर भएको रुसी आक्रमणले १२ जनाको ज्यान गएको घटनाले युक्रेनसँग पूर्ण ऐक्यबद्धता देखाउनुको अत्यावश्यकता पुष्टि गर्छ’, कार्नीले बताए।

सोमबार राति भएको जी-७ नेताहरूको भोजमा पनि रूसविरुद्ध अधिकतम दबाबको नीति अपनाउनुपर्नेमा सहमति भएको कार्नीले जनाए।

‘हामी बिना सर्त शान्तिवार्ता र युद्धविरामका लागि तयार छौं, तर त्यसका लागि अन्तर्राष्ट्रिय दबाब आवश्यक छ’, राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

जी-७ सम्मेलनको अन्त्यमा कार्नीले एक वक्तव्य जारी गर्दै रूसमाथि थप प्रतिबन्ध र अमेरिकाले अगुवाइ गरेको शान्ति प्रयासप्रति समर्थन व्यक्त गर्ने जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नै क्यानडा छाडे। उनले मध्यपूर्वमा इरान–इजरायल तनाव बढ्दै गएकाले आफू यथासक्य चाँडो वाशिङटन फर्किनु आवश्यक भएको बताए।

ट्रम्प अमेरिका फर्किएपछि जेलेन्स्की क्यानडामा, रूसविरुद्धको युद्धमा अझ सशक्त समर्थनको माग

तर, पछि उनले शिखर सम्मेलनबाट चाँडै फर्किनु इजरायल–इरानबीचको युद्धविराम वार्तासँग सम्बन्धित नभएको प्रष्ट पारे। ट्रम्पको यो भनाइ फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको भनाइसँग विपरीत थियो। म्याक्रोंले ट्रम्पको प्रस्थान संभावित सम्झौतासँग सम्बन्धित हुन सक्ने बताएका थिए।

ट्रम्पले भने इरान–इजरायल द्वन्द्व समाधानका लागि जी-७ को सामूहिक वक्तव्यमा हस्ताक्षर गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘हामी चाहन्छौं कि इरानी संकटको समाधानले गाजालगायत सम्पूर्ण मध्यपूर्वमा तनाव न्यूनिकरण गरोस्।’

यस वक्तव्यमा इरानलाई क्षेत्रीय अस्थिरता र आतंकको मुख्य स्रोत भनिएको छ भने इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाइएको छ।

एक युरोपेली अधिकारीका अनुसार, ट्रम्पसँगको वार्तापछि जी-७ राष्ट्रहरूबीच रूसमाथि थप दबाब दिन सहमति बनेको छ। तर, तेलको मूल्य उच्च भएको कारण रूसको तेल मूल्य सीमामा कटौती गर्ने प्रस्तावलाई हाललाई स्थगन गरिएको छ।

यसैबीच ट्रम्पले सन् २०१४ मा रूसलाई समूह-८ (जी-८) बाट निष्कासन गर्नु गलत निर्णय भएको दोहोर्याएका छन्। यसबारे प्रतिक्रिया दिँदै क्रेमलिनले जी-७ समूह अब रूसका लागि ‘अप्रासंगिक’ र ‘निष्प्रभावी’ भएको बताएको छ।

जी ७ सम्मेलनमा प्रवासन, कृत्रिम बुद्धिमत्ता (एआई) र महत्वपूर्ण खनिजसम्बन्धी मस्यौदा दस्तावेज तयार गरिएको छ। तर, अमेरिकी स्वीकृतिविना ती दस्तावेजहरू आधिकारिकरूपमा जारी भइसकेका छैनन्।

ट्रम्पको अनुपस्थितिमा सम्मेलनबाट औपचारिक संयुक्त घोषणापत्र आउने–नआउनेबारे अन्य युरोपेली कूटनीतिज्ञहरूले शंका व्यक्त गरेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सम्मेलनमा जी-७ बाहेकका देशहरू (मेक्सिको, भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र ब्राजिल)लाई पनि आमन्त्रित गरेका छन्। उद्देश्य भनेको क्यानडाको कूटनीतिक सम्बन्ध विस्तार गर्नु र अमेरिकामाथिको आर्थिक निर्भरता घटाउनु हो।





Source link

Leave a Comment