ट्रम्पले सार्वजनिक गरे पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्वीर



प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

ट्रम्पले सार्वजनिक गरे पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्वीर

पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोलाई युएसएस इवो जिमा युद्धपोतमार्फत अमेरिका ल्याइँदै । तस्वीर : राष्ट्रपति ट्रम्पको ट्रुथ सोसलमार्फत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ परेपछि युएसएस इवो जिमा युद्धपोतमा रहेको उनको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पको ट्रुथ सोसल एकाउन्टमा पोस्ट गरिएको उक्त फोटोमा मादुरो स्वेटसर्ट र ट्र्याक पाइन्ट लगाएको, आँखामा कालो चश्मा जस्तो वस्तु राखिएको र हातमा पानीको बोतल समातेको अवस्थामा देखिन्छन्। उनी हत्कडी लगाइएका जस्तो देखिन्छन्।

यसअघि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस युएसएस इवो जिमामा रहेको र न्यूयोर्कतर्फ लैजाँदै गरिएको पुष्टि गरेका थिए। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पनि शनिबार पुष्टि गर्दै ट्रम्प प्रशासनको भेनेजुएलामा गरिएको सैन्य कारबाहीका क्रममा रातारात पक्राउ परेका ती दम्पतीविरुद्ध न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दर्ता गरिने जानकारी दिएकी छन्।

ट्रम्पका अनुसार मादुरोलाई पक्राउ गर्ने बेला उनी कडा सुरक्षा भएको “किल्ला” जस्तो स्थानमा थिए। उनले अमेरिकी सेनाले मादुरो रहेको भवनसँग ठ्याक्कै मिल्दोजुल्दो संरचना पहिल्यै निर्माण गरेको दाबी गरे। “उनीहरू प्रवेश गरेको घरसँग ठ्याक्कै उस्तै, सेफ र चारैतिर स्टिल भएको घर बनाइएको थियो,” ट्रम्पले भने।

उनले मादुरो पक्राउ पर्नुअघि “सुरक्षित स्थान” तर्फ जान खोज्दै गरेको तर अत्यन्त छिटो घेराबन्दी गरिएकाले त्यहाँ पुग्न नसकेको पनि बताए। उक्त कारबाही अमेरिकी विशेष अभियान इकाइ डेल्टा फोर्सले गरेको भनिए पनि ट्रम्पले त्यसको औपचारिक पुष्टि गरेनन्।

ट्रम्पले तस्बिर सार्वजनिक गर्नु केही घण्टाअघि भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो दम्पती जीवित छन् भन्ने प्रमाण सार्वजनिक गर्न अमेरिकी प्रशासनसँग माग गरेकी थिइन्। यसैबीच, ट्रम्पले आक्रमण देखाइएको दाबी गरिएको एउटा संकलित भिडियो पनि सेयर गरेका छन्।





Source link

Leave a Comment