प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा फ्लोरिडाका प्रतिनिधि माइकल वाल्ट्जलाई चयन गर्नुभएको छ ।
ट्रम्पले विदेश र राष्ट्रिय सुरक्षा नीतिको निरीक्षण गर्न चीनप्रति कडा दृष्टिकोण राख्ने पूर्व ग्रीन बेरेट वाल्ट्जलाई रोज्नु भएको हो ।
५० बर्षीय वाल्ट्ज सशस्त्र सेवा, गुप्तचर, र विदेशी मामिलासम्बन्धी समितिहरूका सदस्य समेत हुनुहुन्छ । ट्रम्प प्रशासनमा रहेर उहाँले युक्रेनमा रुसको युद्ध, मध्यपूर्वको द्वन्द्व, र बढ्दो आक्रामक चीनको सामना गर्न चालिने रणनीति तय गर्नुहुनेछ ।
२०२० मा ट्रम्पले ईरानी मेजर जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणको अनुमति दिदा उक्त आक्रणको जानकारी पाउने मध्ये वाल्ट्ज पनि एक हुनुहुन्थ्यो ।
वाल्ट्ज चीन र ईरान दुवैप्रति कडा नीति अपनाउने व्यक्तिको रुपमा चिनिनुहुन्छ । उहाँले अफगानिस्ताबाट सेना फिर्ता गर्ने राष्ट्रपति बाइडेनको निर्णयको कडा आलोचना गर्नुभएको थियो ।
उहाँले अमेरिकाले युक्रेनलाई सहयोग गर्नुपर्ने कुरा बताउँदै अमेरिकी करदाता रकमको प्रयोगमा अझ निगरानी आवश्यक रहेको धारणा पनि राख्नुभएको छ ।
