प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार

कट्टरपन्थी अध्यागमन अधिकारी टम होमनले आगामी रिपब्लिकन प्रशासनमा अमेरिकाको सिमानाको निरीक्षण गर्ने जिम्मेवारी लिने भएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले होमनलाई सीमा प्रमुख नियुक्त गर्ने घोषणा गरेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गर्दै आईसका पूर्व निर्देशक र सीमा नियन्त्रणका अगुवा टम होमन राष्ट्रको सीमानाको इन्चार्जका रुपमा ट्रम्प प्रशासनमा सामेल हुने बताएका हुन् । टमलाई आफूले लामो समयदेखि चिनेको र उनी कागजपत्रविहीन विदेशीहरूलाई तिनीहरूको मूल देशमा फिर्ता पठाउने जिम्मेवारीमा हुने ट्रम्पले जनाएका छन् ।
यस्तो भूमिका अमेरिकी सिनेटबाट स्वीकृत गर्न आवश्यक छैन। ७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालको पहिलो दिनमा अमेरिकी इतिहासमा कागजातविहीन आप्रवासीहरूको सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने वाचा गरेका छन्। ट्रम्पले आगामी जनवरी २० मा कार्यकाल सुरु गर्नेछन् ।
२०१७ मा ट्रम्पको पहिलो प्रशासनको समयमा होमन आइसका कार्यवाहक निर्देशक थिए, त्यो बेला अघिल्लो वर्षको तुलनामा पक्राउ परेका आप्रवासीको संख्या लगभग ४० प्रतिशतले बढेको थियो।
पदभार ग्रहण गरेको भोलिपल्ट आप्रवासी हस्तक्षेप समाप्त हुने ट्रम्पले गत हप्ता नर्थ क्यारोलिनाको एक र्यालीमा बताएका थिए । जहाँ उनले आप्रवासीहरूलाई दुष्ट र रक्तपात गर्ने अपराधी भनेर वर्णन गरेका थिए र उनीहरूलाई देशबाट निकाल्नेवाचा गरेका थिए ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सिमाना व्यवस्थापन गर्न वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले हस्तक्षेप गरिरहेको दाबी गरेका छन् । आप्रवासीहरूले अमेरिकीहरूको बलात्कार र हत्या गरिरहेको ट्रम्पको दावी छ ।
र्यालीमा भएका भाषणहरूमा उनले स्थानीय तनावलाई बढाइचढाइ गरेका थिए अध्यागमन तथ्याङ्क र नीतिको बारेमा आफ्ना दर्शकहरूलाई बहकाएका थिए । हिंसात्मक अपराध ट्रम्पको कार्यकालमा बढेको थियो भने राष्ट्रपति जो बिडेनको प्रशासनको प्रत्येक वर्षमा घटेको थियो । यद्यपि महिला र बालबालिकामाथिका हिंसक आक्रमणका केही हाईप्रोफाइल घटनाहरूमा विदेशी संदिग्धहरू संलग्न भएको देखिएको छ ।
मेक्सिकोबाट अवैध रूपमा सिमा पार गर्ने आप्रवासीहरूसँगको अमेरिकी सीमा गस्ती मुठभेडको संख्या अब २०२० कै जस्तो छ । जुन ट्रम्पको राष्ट्रपतिको अन्तिम वर्ष थियो । तर यो संख्या डिसेम्बर २०२३ मा भने महिनाको लागि सबैभन्दा उच्च २ लाख ५० हजारमा पुगेको थियो ।
ट्रम्पले १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई कारवाही गर्ने वाचा गरेका छन् । जसले संघीय सरकारलाई शत्रु देशका विदेशीहरूलाई पक्राउ गर्न र देशनिकाला गर्न अनुमति दिन्छ । सामूहिक निर्वासन अभियानको एक भागको रूपमा उनले यसलाई अपरेशन अरोरा नाम दिएका छन् ।
