प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वाशिङ्टन डीसीको क्यापिटल वन एरिनामा हजारौं समर्थकहरूको अगाडि कैयन कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
उनले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन् ।
ट्रम्पले एरिनामा हस्ताक्षर गरेका अन्य आदेशहरूमा नियामक स्थगन रहेको छ, जस अनुशार ट्रम्प प्रशासनले पूर्ण रूपमा सरकारको नियन्त्रण नलिएसम्म अधिकारीहरूले कुनै नयाँ नियम जारी गर्न पाउनेछैनन् । त्यस्तै नियुक्ति स्थगन अन्तरगत संघीय नियुक्तिमा रोक लगाइनेछ, तर सेनाका लागि र केही विशेष श्रेणीहरूका लागि अपवाद रहनेछ।
संघीय कर्मचारीहरू पूर्णकालीन काममा फर्कनुपर्नेछ । रिमोट तरिकाले काम गर्दै आएका सबै संघीय कर्मचारीहरू तत्काल पूर्णकालीनरुपमा कार्यालयमा फर्कनुपर्ने कार्यकारी आदेश ट्रम्पले जारी गरेका छन् । त्यस्तै ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अलग हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जस अनुशार अमेरिका फेरि पेरिस जलवायु सम्झौताबाट बाहिरिनेछ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो सम्झौताबाट बाहिरिएका थिए, तर बाइडेनले अमेरिकालाई पुनः सम्झौतामा सामेल गराएका थिए। ट्रम्पले संयुक्त राष्ट्रसंघलाई सम्झौताबाट फिर्ता हुने पत्रमा पनि हस्ताक्षर गरेका छन् ।
यो सम्झौता जलवायु परिवर्तन विरुद्ध लड्न एक अन्तर्राष्ट्रिय सम्झौता हो । जसमा लगभग २ सय देशहरूले ग्लोबल वार्मिङ २ डिग्री सेल्सियस भन्दा कम र आदर्श रूपमा १ दशमलव ५ डिग्री भन्दा कम राख्न प्रतिबद्ध छन्। प्रत्येक देश प्रतिबद्धता कायम राख्न आफ्नै योजना विकास गर्न जिम्मेवार छन् ।
संघीय सरकारलाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न निर्देशन दिने कार्यकारी आदेशमा समेत ट्रम्पले हस्ताक्षर गरेका छन्, जसले सरकारी स्तरमा अभिव्यक्ति स्वतन्त्रताको सेन्सरशिपलाई रोक्नेछ। अमेरिकी संविधानको पहिलो संशोधनले पहिले नै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्छ।
ट्रम्पले सरकारी शक्तिको दुरुपयोग अन्त्यको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसले सरकारलाई विपक्षीहरूमाथि राजनीतिक प्रतिशोधको रूपमा प्रयोग गर्न रोक लगाउने निर्देशन दिन्छ । हस्ताक्षरपछि ट्रम्पले प्रयोग गरेका कलमहरू समर्थकहरूको भीडमा फ्याँकेका थिए ।