प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार
ट्रम्पको रक्षामन्त्रीमा पिट हेगसेथको मनोनयनमा सिनेटमा बराबर मत खसेपछि उपराष्ट्रपति जेडी भान्सले टाइब्रेक गर्दै हेथसेथको मनोनयनलाई अनुमोदन गराएका छन् । ३ जना रिपब्लिकन सिनेटरहरुले नै हेगसेथको मनोनयनविरुद्ध मतदान गरेपनि सिनेटबाट उनको नाम अनुमोदनमा हम्मे हम्मे भएको हो । जेडी भान्सले टाइब्रेक गरेपछि मनोनयनका पक्षमा ५१ र विपक्षमा ५० मत खसेको थियो ।
फक्स न्युजका कार्यक्रम संचालक पिट हेगसेथ भूतपूर्व अमेरिकी सैनिक समेत हुन् । हेगसेथले अफगानिस्तान र इराकमा सेवा गरेर लामो सैन्य अनुभव बटुलेका थिए । मिनेसोटा निवासी हेगसेथले प्रिन्सटन विश्वविद्यालयबाट स्नातक गरेका थिए । जहाँ उनी द प्रिन्सटन टोरी नामको एक रूढिवादी पत्रिकाका प्रकाशक थिए । त्यसमा उनले बगदादमा २००३ मा सद्दाम हुसेनको मूर्ति ढालेको देखेको बारेमा लेखेका थिए।
उनले हार्वर्ड केनेडी स्कूलबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका थिए । हेगसेथको पुस्तक न्यु योर्क टाइम्सको बेस्ट सेलर “द वार अन वारियर्स: बिहाइन्ड द बिट्रेयल अफ द मेन हु किप अस फ्री” जुनमा प्रकाशित भएको थियो।
उनले अनौपचारिक सल्लाहकारको रूपमा पनि वर्षौंदेखि ट्रम्पलाई सहयोग गरेका थिए । पहिलो कार्यकालमा उनलाई विभिन्न पदका लागि विचार गरिए तापनि अन्ततः उनी छनोटमा परेनन् ।