ट्रम्पको दोस्रो इनिङ : हनिमुन पिरियडमै हल्लियो विश्व


डोनाल्ड ट्रम्पले  २० जनवरी २०२५ मा विश्व महाशक्ति अमेरिकाको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि पदभार सम्हालेका थिए। जसको एक सय दिन नाघेको छ। 

ट्रम्पले आफ्नो एक सय दिन (हनिमुन पिरियड)मा लिएका नीतिगत प्राथमिकताले उनको बाँकी कार्यकाल कस्तो रहनेछ भन्ने स्पष्ट पारिसकेका छन्। उनले यसबिच लिएका निर्णयहरूले अमेरिका र विश्वलाई तरंगित पारेका छन्।

ट्रम्पले यो अवधिमा १४३ कार्यकारी आदेश जारी गरे। जुन अमेरिकी आधुनिक इतिहासमा सबैभन्दा धेरै हो। यी आदेशहरूले आप्रवासनमा कडाइ, आर्थिक संरक्षणवाद र अन्तर्राष्ट्रिय सहयोगमा कमी ल्यायो। यहीबिचमा ट्रम्प प्रशासनले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउने र युक्रेनसँगको खनिज सम्झौताले विश्वव्यापी ध्यान खिचेको छ।

ट्रम्पले ‘अमेरिका पहिलो’ नीतिलाई निरन्तरता दिए। पहिलो कार्यकालका धेरै नीतिहरू फेरि लागू गरे। नयाँ र विवादास्पद कदमहरू पनि चालेका छन्। ट्रम्पको सरकारमा अर्बपति एलन मस्कको भूमिका पनि चर्चाको विषय बन्यो। मस्कले ट्रम्प सरकारको दक्षता अभियानमा महत्वपूर्ण भूमिका खेले। ट्रम्पले नीतिहरूका कारण अमेरिकाभर विरोध प्रदर्शनको सामना पनि यो हनिमुन पिरियडमा गर्नु परेको छ। 

आप्रवासन नीति
ट्रम्पले आप्रवासनमा कडा नीति अपनाएका छन्। यसबिचमा उनले ठूलो निर्वासन कार्यक्रम सुरु गरे। राष्ट्रिय गार्ड र प्रहरीले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्यो। आप्रवासीहरूलाई मूल देश फर्काइयो। अमेरिकाबाट अवैध आप्रवासीको निर्वासन पहिलो पटक भएको होइन। तर अजेन्डा नै बनाएर पहिलो पटक कसैले गम्भीर भएर अभियान चलाएको देख्न पाइयो।

इरान, सिरिया, यमन, लिबिया, र सोमालियाका नागरिकमाथि भिसा प्रतिबन्ध लाग्यो। ट्रम्पले जन्मसिद्ध नागरिकताको १४औं संशोधनलाई समाप्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे, जुन अहिले अदालतले रोकेको छ।

ट्रम्पका कारण अहिले अमेरिकामा रहेका आप्रवासी समुदायमा त्रास छ। अमेरिकी नागरिक बालबालिकाहरू निर्वासनको जोखिममा छन्। श्रम बजारमा कामदार अभावले कृषि र सेवा क्षेत्र प्रभावित छ। मेक्सिको, क्यानडासँग तनाव बढेको छ। ल्याटिन अमेरिकी देशहरूमा सामाजिकदेखि आर्थिक दबाब छ।

आर्थिक नीति
ट्रम्पले कर कटौती नीति विस्तार गरेका छन्। व्यवसायलाई लाभ पुग्ने अपेक्षासहित कम्पनी कर २१ प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ। अमेरिकाको सरकारी ऋण बढ्ने जोखिम छ। २ अप्रिल  २०२५ मा विश्वभरका देशमा पारस्परिक आयात कर घोषणा गरे। यो देशअनुसार फरक थियो। 

एक हप्तापछि चीनबाहेक सबै देशका लागि ९० दिनको लागि कर स्थगन भयो। चीनबाट आयातमा कर ३४ प्रतिशतबाट १४५ प्रतिशत पुर्‍याइयो। यो फेन्टानिल तस्करीको लागि चीनलाई जिम्मेवार ठहराएर गरेको उनको दाबी थियो। यसबाट कार्गो ढुवानी ६० प्रतिशतले घट्यो। अमेरिकामा साना व्यवसाय संकटमा पर्ने डर छ। जोन अरेन्समेयरले मूल्यवृद्धि र कर्मचारी कटौतीको चेतावनी दिए।

ठूला टेक कम्पनीको दबाबमा आएर ट्रम्पले इलेक्ट्रोनिक सामानमा कर छुट दिए, जसमा चीनबाट हुने आयातमाथि विशेष जोड दिइएको थियो। एप्पलसहित धेरै ठूलो अमेरिकी कम्पनीको उत्पादन चीनमा हुने भएका कारण करबाट प्रभावित हुने भएपछि उनले दबाबमा आएर टेक उत्पादनमा छुट दिएका हुन्। चीनले अमेरिकामाथि जवाफी १२५ प्रतिशत शुल्क लगायो। तर इथेन, सेमिकन्डक्टर, र औषधिमा छुट दिएकाे छ। 

ट्रम्पले व्यापार वार्ता भइरहेको दाबी गरिरहेका छन्। उनी चीनमाथि लगाइएको शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको समाचार पनि आइरका छन्। चीनले शुल्क शून्य हुनुपर्ने अडान लिइरहेको छ। चीनले वार्ता भइरहेको र ट्रम्पले सी जिनपिङसँग फोनमा कुराकानी गरेको भन्ने दाबी अस्वीकार गरेको छ। गोल्डम्यान साक्सले अमेरिकी करका कारण चीनमा १ करोड ६० लाख रोजगारी जोखिममा रहेको अनुमान गरेको छ। दक्षिण कोरिया, जापान, र युरोपेली युनियनले शुल्कको आलोचना गरे पनि जवाफ दिएनन्। दक्षिण–पूर्वी एसियाली देशहरू व्यापार युद्धको चपेटामा परेका छन्। 

विदेश नीति
ट्रम्पको ‘अमेरिका पहिलो’ नीति स्पष्ट छ। ट्रम्प अब अमेरिकाले बाँकी विश्वका बारेमा चिन्ता गर्न छोडेर आफ्नो आन्तिरक मुद्दामा ध्यान दिनुपर्ने बताउँछन्। विश्वमा चलिरहेका कुनै पनि समस्यासँग जुध्नका लागि अमेरिका एक्लैले भन्दा अन्य देशले पनि आर्थिकदेखि सबै कुरामा अपनत्व लिनुपर्ने उनको नीति छ। जसरी यसअघि अमेरिका विश्वभर नै मानवधिकार, महिला र अल्पसंख्यकबारे खुलेर आवाज बुलन्द गर्थ्यो, अब त्यो छैन। ट्रम्पको अमेरिका अमेरिकालाई पुनः महान बनाउने बाटोमा लागेको छ, उसलाई बाँकी दुनियाँसँग कुनै खास लगाव छैन।

गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ओभल अफिसमा भएको तनावपूर्ण भेट एक सय दिनमा भएका महत्वपूर्ण भेटमा एक थियो। युक्रेनसँग ढिलागरी भए पनि ३० अप्रिलमा खनिज सम्झौतामा हस्ताक्षर भएको छ। यसले युक्रेनको खनिज स्रोतमा लगानी कोष स्थापना गर्ने जनाइएको छ। यो १७५ अर्ब डलर सहायताको प्रतिफल हो। सम्झौतापछि रूसविरुद्ध युक्रेनको रक्षा बलियो बनाउँछ। ढिलाइले ट्रम्पको रूसप्रति नरम नीतिको आलोचना भयो।

नेटोमाथि रक्षा खर्च बढाउन दबाब छ। विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिएको छ। ट्रम्पले अमेरिकाले दिँदै आएको वैदेशिक सहायता ९० दिनका लागि रोकेपछि अफ्रिका र दक्षिण एसियालाई असर गर्‍यो। अहिले अमेरिकी नेतृत्व कमजोर र अस्थिर भएको छ। अमेरिकामाथि आँखा चिम्लिएर भरोसा गर्ने कुरामा विश्वका कुनै पनि देशले एकपटक सोच्नुपर्ने भएको छ। अहिले चीनले विश्वमा आफ्नो प्रभाव विस्तार गर्नुका साथै आफूलाई नेताका रूपमा स्थापित गर्ने सुनौलो अवसर पनि पाएको छ। 

एलन मस्कको भूमिका र प्रदर्शन
ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी’ (डोज) को नेतृत्व सुम्पेका छन्। उनीमाथि सरकारी खर्च कटौती गर्ने जिम्मेवारी दिइएको छ। मस्कले संघीय खर्चमा कटौतीको लक्ष्य राखेर युएसएडजस्ता अमेरिकी सहयोग प्रदान गर्ने सबै एजेन्सीहरू बन्द गरे। त्यसको प्रत्यक्ष असर नेपालले पनि महसुस गरेको छ।

उनले दुई लाख भन्दा धेरै सरकारी कर्मचारी कटौती गरेका छन्। अमेरिकामा ७५ हजार कर्मचारीले स्वैच्छिक राजीनामा दिएका छन्। मस्कको टोलीले संवेदनशील डेटा र ट्रेजरीको भुक्तानी प्रणालीमा पहुँच पाएको आरोप पनि लाग्यो।

उनको आक्रामक कटौतीले विरोध निम्त्याएको छ। मस्कको ट्रम्पसँगको निकटताले गर्दा अमेरिका, युरोपसहित विश्वभर टेस्लाविरोधी प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले कम्पनीलाई निशाना बनाउँदा ठूलो नोक्सानी पनि भएको छ। 

मस्कले उच्च कर शुल्कको विरोध गर्दै आएका छन्। टेस्लाको नाफा ७१ प्रतिशतले घटेपछि उनले डोजका लागि दिने समय कम गर्ने घोषणा हालै गरेका छन्। अब उनको ध्यान व्यवसायमा फर्किएको छ। मस्कको प्रभावले ट्रम्पको नीतिलाई गति दियो, तर उनको विवादास्पद शैलीले प्रशासनलाई राजनीतिक जोखिममा पार्‍यो।

ट्रम्पले पहिलो एक सय दिनमा अमेरिकाभर विरोध प्रदर्शनको साक्षी बन्नुपर्‍यो। आप्रवासन नीति, सरकारी कर्मचारी कटौती, र मस्कको भूमिकालाई लिएर प्रदर्शन भयो। विरोधमा राजधानी वासिङ्टनसहित ५० राज्यमा प्रदर्शन भयो। अप्रिलमा ‘ह्यान्ड्स अफ’ र्यारलीहरू न्युयोर्क, शिकागो, र बोस्टनमा भए। अप्रिल ६ मा सबै राज्यका एक हजार २०० भन्दा धेरै स्थानमा प्रदर्शन भयो। प्रदर्शनकारीहरूले ट्रम्प र मस्कलाई देशको स्वामित्वमाथि कब्जा गरेको आरोप लगाए। टेस्ला शोरूमहरू निशानामा परे। 

मार्च ३० मा अमेरिका र युरोपका टेस्ला शोरूमबाहिर प्रदर्शन भयो। ‘टेस्ला टेकडाउन’ आन्दोलनले मस्कको प्रभाव घटाउने प्रयास गर्‍यो। प्रदर्शनकारीहरूले आप्रवासन नीति, डेटा दुरुपयोग, र सरकारी सेवामा कटौतीको विरोध गरेका थिए। डेमोक्रेटिक नेताहरूले प्रदर्शनलाई समर्थन गरेका छन्। बर्नी स्यान्डर्सजस्ता दिग्गज डेमोक्रेटिक नेताहरू यी विरोधहरूलाई नेतृत्व गरेर अगाडि बढेका छन्। 

अन्य नीतिमा देखिएको परिवर्तन 
ट्रम्पले सामाजिक र सांस्कृतिक नीति तथा कार्यक्रममा पनि व्यापक परिवर्तन गरेका छन्। उनको कदमले अल्पसंख्यक समुदाय प्रभावित भयो। ट्रान्सजेन्डर विद्यार्थीलाई महिला खेलकुदमा प्रतिबन्ध लगाइयो। लैंगिक–पुष्टिकरण हेरचाह रोकियो। अमेरिकामा एलजीबीटीक्यू समुदाय प्रभावित भयो। 

गर्भपातलाई कम प्राथमिकता दिइयो, जसलाई नीतिगत यूटर्न मानिएको छ। अमेरिकामा सामाजिक विभाजन बढेको छ। अन्तर्राष्ट्रिय मानवाधिकार संगठनले आलोचना गरे पनि ट्रम्पले सुन्ने गरेका छैनन्। अमेरिकामा अंग्रेजी भाषा आधिकारिक भाषा घोषित भयो, जुन एक महत्वपूर्ण कदम हो। 

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिएका छन्। ट्रम्प सरकारमा अमेरिकाले तेल, ग्यास, र कोइला उत्पादनलाई प्रोत्साहन दिइएको छ। इलेक्ट्रिक वाहन प्रोत्साहन हटाइयो। अघिल्ला सरकारले ल्याएका इन्धन कार्यक्षमता मापदण्ड खारेज गरिएको छ।

राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेर जीवाश्म इन्धन अन्वेषण तीव्र पारिएको छ। यसले जलवायु परिवर्तनलाई गति दिन सक्छ। वातावरणीय जोखिम बढ्ने खतरा छ। ट्रम्पका कारण वैश्विक जलवायु सहकार्य कमजोर छ। चीन र युरोपेली युनियनले नेतृत्व लिने प्रयास गरे पनि अमेरिकाको अनुपस्थितिले उत्सर्जन वृद्धिको जोखिम बढाउने कुरालाई इन्कार गर्न सकिँदैन। 

नेपालजस्ता जलवायु–संवेदनशील देशमा यसको दीर्घकालीन असर पर्न सक्छ। ट्रम्पले धेरै नीतिगत यूटर्न पनि लिएका छन्। १४५ प्रतिशत चिनियाँ शुल्कमा कडा अडान लिएका उनले चीन पछाडि नहटेपछि शुल्क कम गर्ने संकेत दिएका थिए। वैदेशिक सहायता कटौतीले नेपालजस्ता देशमा शिक्षा, स्वास्थ्य क्षेत्रका विकास परियोजनालाई असर गरेको छ। अमेरिकी सहायता गरिब देशहरूमा पूर्वाधार र सामाजिक क्षेत्रमा महत्वपूर्ण मानिन्छ। 

ट्रम्पको जन्मसिद्ध नागरिकता र आप्रवासन नीति अदालतमा रोकियो। आप्रवासी, एलजीबीटीक्यूं, र पर्यावरण समुदायले विरोध गरे। १४५ प्रतिशत शुल्कले मन्दीको जोखिम बढाएको छ। कार्गो ढुवानी ६० प्रतिशतले घट्यो। आपूर्ति श्रृंखलामा समस्या आएको छ। युक्रेन सम्झौताको ढिलाइले अमेरिकी नेतृत्वको कमजोरी विश्वभर नै चर्चाको विषय बन्यो। डेमोक्रेटिक पार्टीले कर कटौतीको आलोचना गर्यो । धनी वर्गलाई मात्र लाभ पुर्‍याउन यस प्रकारको कदम चालेको आरोप छ।

सामाजिक सेवामा कटौतीले नयाँ चिन्ता उत्पन्न भएको छ। पर्यावरणविद्ले ट्रम्पका नीतिहरूको विरोध गरेका छैन। थिंक ट्याङ्कहरूले दीर्घकालीन नकारात्मक परिणामको चेतावनी पनि दिएका छन्। ट्रम्पका नीतिले विश्वमा दीर्घकालीन प्रभाव पार्न सक्छ। अमेरिकामा राष्ट्रिय ऋण बढ्न सक्छ। चीनसँगको व्यापार युद्धले वृद्धिदर सुस्त हुन सक्छ। आय असमानता बढ्न सक्ने देखिन्छ। 

स्वास्थ्य सेवामा पहुँच सीमित हुन सक्छ। जलवायु परिवर्तनकाे प्रभाव गम्भीर हुन सक्छ। विश्वमा अमेरिकी प्रभाव कमजोर हुन सक्छ। विश्वव्यापी शक्ति सन्तुलन परिवर्तन हुन सक्ने कुरा पनि असम्भव छैन। अमेरिकाको अस्थिरता र द्वन्द्वको जोखिमले गर्दा विश्वका प्राय: देश उसको विकल्प खोजिरहेको अनुमान गर्न थालिएको छ। अमेरिका पनि आफूलाई विश्वको नेताका रुपमा चिनाउने होडमा भएको बेला यसबाट लाभ लिन सक्ने विज्ञको बुझाइ रहेको छ। 

ट्रम्पको पहिलो एक सय दिनले आक्रामक र विवादास्पद दृष्टिकोण देखाए। १४५ प्रतिशत चिनियाँ शुल्क र युक्रेन खनिज सम्झौताले विश्वमा प्रभाव पर्‍यो। मस्कको भूमिका र विरोध प्रदर्शनले प्रशासनलाई जटिल बनाएको छ। नीतिगत यूटर्नले अस्थिरता पनि देखाउँछ। कानूनी चुनौती र जनविरोधले नीति कार्यान्वयन गर्न कठिन छ। नेपालले आप्रवासन, व्यापार, र सहायता क्षेत्रमा प्रभाव निगरानी गर्नुपरेको छ। ट्रम्पको दोस्रो कार्यकालको यो हनिमुन समय हो। अब बाँकी कार्यकालले विश्व परिदृश्यलाई कसरी आकार दिन्छ त्यो समयले बताउनेछ।  एजेन्सीको सहयोगमा

प्रकाशित: २० वैशाख २०८२ १३:४४ शनिबार





Source link

Leave a Comment