प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार
अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ड्रग एन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) प्रमुखका लागि छान्नुभएको फ्लोरिडाको हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरले आफ्नो नाम फिर्ता लिएका छन् ।
हिल्सबरो काउन्टीमा बसोबास गर्ने उनले जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै जिम्मेवारी लिन असमर्थ भएको बताएका हुन ।
क्रोनिस्टरले तीन दशकभन्दा बढी समय स्थानीय कानूनी निकायमा काम गरेका छन् । तर अन्तर्राष्ट्रिय अपरेशनको अनुभव नभएको कारण डीईएका केही एजेन्टहरूले उनको नाम मनोनयन हुँदा आश्चर्य व्यक्त गरेका थिए ।
डीईएले लागूऔषध नियन्त्रणसम्बन्धी कानूनको कार्यान्वयन गर्छ । यसले ६८ देशमा ९१ विदेशी कार्यालयहरू सञ्चालन गर्दछ ।
क्रोनिस्टरलाई मनोनयन गरिएको तीन दिनपछि मात्र उनले आफ्नो नाम फिर्ता लिएका हुन् । ट्रम्पले क्रोनिस्टरलाई मनोनयन गर्दै उनलाई सीमामा कडाइ गर्ने र लागूऔषध तस्करी रोक्न मद्दत गर्ने व्यक्ति भनेर प्रशंसा गरेका थिए ।
तर, ट्रम्पका केही समर्थकहरूले क्रोनिस्टरको आलोचना गरेका थिए । महामारीको समयमा लागू गरिएको लकडाउनको नियम उल्लङ्घन गर्ने फ्लोरिडाका एक पादरीलाई पक्राउ गरेपछि उनी आलोचित भएका थिए ।
२०२३ को एउटा भिडियोमा क्रोनिस्टरले आफ्नो समुदायको धार्मिक विविधता को प्रशंसा गर्दै संघीय आप्रवासन अधिकारीहरूसँग सहकार्य नगर्ने बताएका थिए ।
क्रोनिस्टरका परिवारको पृष्ठभूमि पनि विवादित छ ।