प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी क्याबिनेटका लागि ८ जनाको नाम घोषणा गरेका छन् भने सिनेटबाट पारित गर्नुपर्ने अन्य ४ पदका लागि पनि नामहरु घोषणा गरिसकेका छन् । मन्त्रिपरिषद स्तरका सबै पदका लागि सिनेटबाट पारित हुन आवश्यक हुनेछ ।
ट्रम्पले विदेश मन्त्रीमा मार्को रुबियोलाई छनौट गरेका छन् । फ्लोरिडाका सिनेटर रुबियो २०१० मा नयाँ पुस्ताका रूढिवादी टी पार्टी नेताहरूको हिस्साको रूपमा निर्वाचित भएका थिए भने २०१६ मा रिपब्लिकन राष्ट्रपतिको उमेदवारको लागि प्रतिस्पर्धा गर्दा ट्रम्पले “लिटिल मार्को” भनेर व्यंग्य गरेका थिए।

त्यस्तै ट्रम्पले महान्यायाधिवक्ता अर्थात् न्यायमन्त्रीमा म्याट गेट्जलाई छानेका छन् । गेट्ज फ्लोरिडाका रिपब्लिकन सांसद हुन् । उनले २०२३ मा केभिन म्याककार्थीलाई सभामुख पदबाट हटाउन सफलतापूर्वक अभियान चलाएका थिए । उनी ट्रम्पका कट्टर समर्थक हुन्। उनी यौन तस्करीबारे अनुसन्धानमा समेत परेका थिए । तर बाइडेन प्रशासनको न्याय मन्त्रालयले आरोप नलगाउने निर्णय गरेको थियो। ट्रम्पले मन्त्री बनाउने घोषणा गरेपछि उनले १३ नोभेम्बर २०२४ मा सांसद पदबाट राजीनामा दिएका थिए ।

ट्रम्पले रक्षामन्त्रीमा पीट हेगसेथलाई छानेका छन् । हेगसेथ फक्स न्यूजका होस्ट हुन् । उनी इराक र अफगानिस्तान युद्धका पूर्व सैनिक समेत हुन्। त्यस्तै ट्रम्पले होमल्याण्ड सेक्युरिटीमा सेक्रेटरीका लागि छानैट गरेका छन् क्रिस्टि नोएमलाई । उनी साउथ डकोटाकी गभर्नर हुन् भने ट्रम्पका विश्वासपात्र समर्थक हुन्। उनलाई उपराष्ट्रपतिका सम्भावित उम्मेदवारका रूपमा पनि हेरिएको थियो।
त्यस्तै जोहन राट्क्लिफलाई सीआईए निर्देशकका रुपमा ट्रम्पले घोषणा गरेका छन् । राट्क्लिफ टेक्सासका पूर्व संसद सदस्य हुन् जसले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा सेवा गरेका थिए। त्यस्तै राष्ट्रिय गुप्तचर निर्देशकमा ट्रम्पको छनौटमा परेकी तुलसी गबार्ड २०२० मा राष्ट्रपतिको लागि प्रतिस्पर्धामा थिइन् । त्यसपछि उनले डेमोक्रेटिक पार्टी छोडेकी थिइन् । पूर्व सांसद समेत रहेकी उनी सेनाको रिजर्व लेफ्टिनेंट कर्नल हुन् र इराकमा सेवा गरिसकेकी छन्।
वातावरण संरक्षण एजेन्सीका प्रशासकका रुपमा ट्रम्पले ली जेल्डिनको घोषणा गरेका छन् । लङ आइल्याण्डका पूर्व सांसद जेल्डिनले २०२२ मा गभर्नरको पदका लागि असफल प्रतिस्पर्धा गरेका थिए । उनी ट्रम्पका कट्टर समर्थक हुन्। उनले २०२० को निर्वाचन परिणामलाई प्रमाणित गर्नका लागि मतदान गरेका थिएनन्।
संयुक्त राष्ट्रसंघका राजदूतमा ट्रम्पले एलिस स्टेफनिकलाई रोजेका छन् । उनले न्यूयोर्कको एउटा डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छिन् भने संसदमा रिपब्लिकन नेतृत्वको सदस्य हुन् । उनी ट्रम्पको कट्टर समर्थकका रूपमा उभिएकी छन्। ट्रम्पको पहिलो महाभियोगको समयमा उनले प्रमुख सहयोगीको रूपमा भूमिका खेलेकी थिइन्।

ट्रम्पले स्वास्थ्यमन्त्रीका लागि रोजेका छन् रोबर्ट एफ केनेडी जुनियरलाई । केनेडी वातावरणीय वकिल हुन् भने अमेरिका कै प्रसिद्ध डेमोक्रेटिक परिवारका वंशज हुन् । उनी अमेरिकी राष्ट्रपति जोन अफ केनेडीका भतिज समेत हुन् । उनको स्वास्थ्य वा सार्वजनिक स्वास्थ्यमा कुनै डिग्री छैन। उनी खोपका आलोचक हुन् भने सीडीसीका समेत आलोचक हुन् । उनले एड्सको मुख्य कारण एचआईभी नभएको जस्ता सिद्धान्तको प्रचार गर्दै आएका छन् ।
ट्रम्पले आन्तरिक मन्त्रीका छानेका डग बर्गम नर्थ डकोटाका गभर्नर हुन् । बर्गमले संक्षिप्त रूपमा रिपब्लिकन राष्ट्रपतिको उम्मेदवारीको खोजी गरेका थिए । तर पछि ट्रम्पलाई समर्थन गरेका थिए। उनी लामो समयदेखि इन्धन कम्पनीहरूसँग सम्बन्धित छन्।
भेट्रान अफेयर्सका मन्त्रीका रुपमा ट्रम्पले डग कोलिन्सलाई छानेका छन् । कोलिन्स जर्जियाका पूर्व सांसद हुन् । उनले एयर फोर्स रिजर्वमा च्याप्लेनका रूपमा सेवा गर्छन्। उनले २००८ मा पाँच महिना इराकमा सेवा गरेका थिए । ट्रम्पको पहिलो महाभियोग जाँचको क्रममा उनी ट्रम्पका कट्टर समर्थकका रूपमा उभिएका थिए।
त्यस्तै उर्जामन्त्रीका लागि ट्रम्पले क्रिस राइटलाई रोजेका छन् । राइट डेनभरमा रहेको फ्र्याकिंग कम्पनी लिबर्टी इनर्जीका प्रमुख कार्यकारी हुन्। उनको सरकारी अनुभव छैन । उनी फक्स न्यूजमा देखापरेका कारण ट्रम्पको ध्यान आकर्षित गरेका थिए।