प्रकाशित मिति : असार २३, २०८२ सोमबार
फोटो : रासस
अमेरिकाको टेक्सासमा आएको बाढीले अहिलेसम्म १०० जनाभन्दा बढीको ज्यान गएको छ । दर्जनौं अझै बेपत्ता रहेका छन ।
शुक्रबार मध्य टेक्सासमा आएको आकस्मिक बाढीमा ज्यान गुमाउनेको संख्या १०० नाघिसकेको छ । अझै कति बेपत्ता छन् भन्ने स्पष्ट छैन।
बचाउ टोलीहरू हिलोले भरिएको नदी किनारमा उद्धार प्रयास जारी राखिरहेका छन् । तर चार दिनपछि अझ जीवित मानिस भेटिने आशा कमजोर हुँदै गएको छ । सो क्षेत्रमा थप वर्षा र आँधी आउने पूर्वानुमान छ।
इसाई बालिकाको ग्रीष्मकालीन शिविरका अनुसार उनीहरूका २७ बालिका र कर्मचारीहरुले बाढीमा परी ज्यान गुमाएका छन् । अझै १० बालिका र एक क्याम्प काउन्सिलर बेपत्ता छन्।
यसबीच, ह्वाइट हाउसले बजेट कटौतीका कारण उद्धार कार्य प्रभावित भएको भन्ने दाबी अस्वीकार गरेको छ। काउन्टी शेरिफ कार्यालयका अनुसार २२ वयस्क र १० बालबालिकाको अझै पहिचान भएको छैन ।
पछिल्लो मौसम पूर्वानुमान अनुसार टेक्सासमा अझै केही दिनसम्म बिस्तारै सर्ने आँधी र भारी वर्षा हुने सम्भावना छ । यसले थप बाढी ल्याउन सक्छ भन्ने चेतावनी दिइएको छ ।
ट्रम्प प्रशासनका आलोचकहरूले हजारौं जागिर कटौतीलाई यस विपत्तिसँग जोडेर आलोचना गरिरहेका छन्। तर, त्यो क्षेत्रका लागि जिम्मेवार कार्यालयमा त्यो रात पाँच कर्मचारी ड्युटीमा थिए । जुन सामान्य रूपमा तीव्र मौसम पूर्वानुमानको बेला हुने संख्या हो ।
टेक्सास उप–गभर्नर ड्यान प्याट्रिक ले साइरन प्रणाली भएको भए धेरैको ज्यान जोगिन सक्थ्यो भनेका छन । उनले अर्को गर्मी मौसमसम्म यस्तो प्रणाली लागू गर्नुपर्ने बताए।